नेपालमा क्यान्योनिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सुन्दरीजलमा क्यान्योनिङको मज्जा लिँदै एक पर्यटक
नेपालमा क्यानोनिङ

क्यानोनिङ नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको साहसिक खेल हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिदै हाम्फाल्दै चिप्लिदै झरनाखोलाका छाँगाबाट खस्दै खेलिने साहसिक खेल क्यान्योनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदँछ । युरोपअमेरिकामा निकै लोकप्रिय यो अति साहसिक खेल नेपालका पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा हुने झरना र खोलाको छाँगाका कारण नेपाल नयाँ पर्यटकीय आकर्षणका रूपमा विदेशीहरूको रोजाइमा परेको छ । साहसिक खेलको रूपमा विकसित क्यान्योनिङ अग्ला झरनाबाट डोरीको सहायताले झुण्डिदै झर्ने अवरोहण गर्ने खेल हो । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता हो । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोला सहितका सामग्री आवश्यक पर्दछ ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा र रमणीय प्राकृतिक सौन्दर्यका कारण विकसित नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समयमा पर्यटक लोभ्याउने नयाँनयाँ गन्तब्य सम्पदा र खेलले पर्यटक तान्ने क्रममा क्यान्योनिङको प्रवर्द्धन हुन थालेको हो । राफ्टिङ, प्याराग्लाईडिङ, अल्ट्रालाईट बेलुनमा उड्ने, बन्जी जम्पिङका साथै ज्यानकै बाजी लगाएर खेलिने क्यान्योनिङ खासगरी युरोप अमेरिका र अपि्रुकी मुलुकका पर्यटकका लागि आकर्षण बनेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङ्दी उपत्यका, भोटेकोसी नदी, सुनकोसी नदी, सुन्दरीजलककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारीको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५,२१५ मिटर उचाइको लुगा खोलाको छाँगा क्यान्योनिङको लागि विश्वकै सबैभन्दा उचाइको भनी पहिचान भएको छ । नेपाली प्राविधिक प्रशिक्षक टोलीले सो छाँगा व्यवहारिक रूपमै क्यान्योनिङ गर्न उपयुक्त भएको सफल परीक्षणपछि नेपाल विश्वमा क्यान्योनिङका लागि नयाँ र सर्वाधिक रोमाञ्चक गन्तब्य बन्ने भएको छ । उक्त झरनाको सिधा लम्बाई ५२५ मिटर छ । खेल गर्ने झरनाको शिर ५२३६ मिटर र फेद ४६९० मिटर उचाइमा पर्छ । सानो ठूलो गरी झरनामा १५ स्टेप छन् दुई ठाउँमा मात्र उद्धार गर्न सकिने खोँच छ ।

क्यान्योनिङको व्यावसायिक तालिम फ्रान्सबाट लिएका राजेश र कविन्द्र नेपालकै पहिलो क्यानोनर प्राविधिक प्रशिक्षक मानिन्छन् । क्यानोनर प्राविधिक र गाइड नेपालमा नगन्य छन् । एडभान्स तालिम लिएका जनक लामा दोमी शेर्पा जाङवु शेर्पा सुमेक अधिकारी रत्नमान तामाङ प्रशिक्षकका रूपमा कार्यरत छन् । अन्य १२ जनाले यस सम्बन्धी आधारभूत तालिम लिएको बताइन्छ ।

बर्षेनी लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नेपालमा अरनिको राजमार्गमा पर्ने भोटेकोसी उपत्यकालाई क्यान्योनिङप्रेमीका लागि लुकेको स्वर्गझै अद्वितियस्थलका रूपमा लिइन्छ । राजधानी काठमाडौंबाट १०० करिब किमी टाढा यो उपत्यका बाह्रबीसेबाट १५ किमी दुरीमा पर्छ । यहाँका काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला क्यान्योनिङ गर्ने प्रसिद्ध प्रमुख आकर्षकस्थल हुन् । सडक नजीक, छोटो यात्रा, उपयुक्त तापक्रम तथा सिकारु र व्यावसायिक सबैलाई भोटेकोसी सजिलो र सस्तो गन्तव्य मानिन्छ । नेपालमा स्वदेशी विदेशीको ६० प्रतिशत क्यान्योनिङ भोटेकोसीमै हुने बताइन्छ । औसत चार दिनको प्याकेज हुने यहाँ सिकारुको लागि तीन गाइडले १६ जना सम्मलाई खेलाउन सक्छन् ।

पदयात्राको लागि विश्वमै प्रख्यात अन्नपूर्ण चक्रीयमार्गको लमजुङमा पर्ने मर्स्याङ्दी उपत्यका छेउछाउका खोला र झरना पनि क्यान्योनिङप्रेमी पर्यटकको रोजाइमा पर्छन् । लमजुङको सदरमुकाम बेसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे तालसाचुप झरना साहसिक एवम् व्यावसायिक खेलाडीले बढी रुचाउँछन् । एउटा गाइडले छ जनासम्मलाई खेलाउन सक्ने यहाँको चार हजार २०० मिटरमा पर्ने च्याम्चे झरना क्यान्योनिङ गर्न संसारकै सबैभन्दा लामो दूरीको मानिन्छ । दुर्गम पहाडी हिमाली क्षेत्रको यहाँको प्याकेज हप्ता दिनको हुन्छ । तर खेलाडीको सङ्ख्या यस क्षेत्रमा न्यून हुने गरेको बताइन्छ ।

छोटो समयको लागि काभ्रेपलाञ्चोकको सुनकोसी-तिमालक्षेत्रमा पर्ने बोल्दे, कल्लेरी, बन्दिवा र टाङटुङ खोला पनि यो साहसिक खेलको केन्द्र बनेको छ । काठमाडौंबाट ३५ किलोमिटर दुरीको नुवाकोट जिल्लाको ककनीमा पर्ने सिस्नेरी छहरे १४५ मिटर र फुङफुङे १८५ मिटर पनि व्यावसायिक छोटा र सहज मानिन्छन् ।

वार्षिक एक हजार २०० जतिले नेपालमा क्यान्योनिङको मज्जा लिने गरेको अनुमान छ । यस रोमाञ्चक खेलका लागि उपकरण सामग्री गाइड खानेबस्ने र प्राविधिक सहित दैनिक एक विदेशी पर्यटकलाई ८० डलर खर्च लाग्छ । दुर्गम बस्ती प्रविधि उपकरण र समूहमा नहुँने हुँदा यो खर्चिलो छ । असोजदेखि जेठसम्मको मौसम यो खेलको लागि उपयुक्त मौसम हो । नेपालमा बोर्डरल्यान्ड र द लास्ट रिसोर्ट जस्ता कम्पनीले सन् १९९६ देखि भोटेकोसीमा क्यान्योनिङको व्यावसायिक सुरूवात गरेका हुन् । भोटेकोसीमा बन्जी जम्पिङ आउनेलाई एक दुई समूह गर्दै प्राकृतिकस्थलमा डोरी बाँधेर भोटेकोसी क्षेत्रमा यो खेल सुरू गरिएको हो । सन् २००२ देखि २००७मा फ्रान्सेली टोलीसँग मिलेर फ्रेन्डस एडभेन्चर टिम प्रालि लगायतले मर्स्याङ्दी र काभ्रेका नयाँ क्षेत्र क्यान्योनिङको लागि उपयुक्त भएको भनी यसको विकास गरे । नेपाल क्यान्योनिङ एशोसिएसनले पनि फ्रान्सेली टोलीसँग मिलेर भोटेकोसी जस्ता क्षेत्रहरूमा यसको विकास गरेको छ । सन् १९९९मा फ्रान्सबाट आएका मौरिस डुमेन जो गुफा सम्बन्धी विशेषज्ञ थिए उनले अन्नपूर्ण पदयात्रामा जाँदा मर्स्याङ्दीको स्याँगे झरनाको फोटो लिएर आफ्नो देशमा गएपछि नेपालमा क्यान्योनिङ सम्बन्धी विस्तृत अध्ययन र सम्भावनाको खोजी प्रारम्भ भएको यसमा लागेका व्यवसायीहरू बताउँछन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]