सुन्दरीजल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुन्दरीजल

Sundarijal
सुन्दरीजलमा अवस्थित छहराको एक मनोरम दृष्य
सुन्दरीजलमा अवस्थित छहराको एक मनोरम दृष्य
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाण्डौ जिल्ला
क्षेत्रफल
 • जम्मा५.१८ किमी (२.०० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२५५२
 • घनत्व४९०/किमी (१,३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोष्टल कोड
44603
क्षेत्रीय सङ्केत(हरू)०१

सुन्दरीजल नेपालको बागमती अञ्चल अन्तर्गत काठमाण्डौ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।

इतिहास[सम्पादन गर्ने]

हिन्दुहरुको पूज्य देवी श्री सुन्दरीमाईको मन्दिर भएको स्थान भएकाले पनि यस गाविसको नाम सुन्दरीजल रहन गएको मान्यता छ ।[१]यसका साथै कञ्चन र सुन्दर बागमती नदी बग्ने स्थान भएकाले पनि यस ठाँउलाई सुन्दरीजलको नामले चिनिन्छ ।

विकास संरचना[सम्पादन गर्ने]

यस सुन्दरीजल गाविसमा नेपालको दोस्रो जलविद्युत गृह सुन्दरीजल जलविद्युत गृह पनि अवस्थित छ । ६४० किलो वाट क्षेमता भएको यस जलविद्युत गृहको निर्माण वि.सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए ।

काठमाण्डौ उपत्यकामा रहेको पिउने पानीको अत्याधिक अभाव र सो अभाव पूर्तीको लागि ल्याउने भनिएको मेलम्ची खानेपानी आयोजनाको प्रमुख द्वार पनि यसै गाविसमा पर्दछ । सुरुङ्गमार्ग द्वारा सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाण्डौको सुन्दरीजलसम्म पानी ल्याउने भनिएको सो आयोजनाको दूरी करिब २७.६ व.कि.मी रहेको छ । जसमध्ये ६ व.कि.मी सुन्दरीजलवाटै निर्माण गरिदै छ भने बाँकी २१.६ व.कि.मी सुरुङ्गमार्ग सिन्धुपाल्चोक लगायत अन्य विभिन्न स्थानवाट निर्माण गरिदै छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११को जनगणना अनुसार सुन्दरीजलमा ५४७ घरहरू र जनसङ्ख्या २५५२ छ ।[२]

धरातलीय, भौगोलीक एवं राजनीतिक अवस्थिति[सम्पादन गर्ने]

सुन्दरीजलमा अवस्थित बागमती नदीको एक मनोरम दृष्य

सुन्दरीजल गाविस राजधानी काठमाण्डौवाट करिब ९+ कि. मि उत्तर तर्फको दुरीमा अवस्थित छ । यस गाविसको पश्चिममा नयाँपाटि र बालुवा गाविसहरू अवस्थित छन् भने पूर्वमा गागलफेदीआलापोट गाविसहरू अवस्थित छन् । यसका साथ–साथै यस गाविसको उत्तरी सिमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्जले नुवाकोटसिन्धुपाल्चोक जिल्ला समेत छोएको छ । सुन्दरीजल गाविसले सरदर ५.२८ व. कि. मि भु–भाग ओगटेको छ भने स्यालमती र नागमती नदिको संगममा रहेको प्रसिद्ध नदि बागमतीको मूल द्धार समेत यसै स्थानमा रहेको छ ।

आर्थिक पक्ष[सम्पादन गर्ने]

कृषि[सम्पादन गर्ने]

धान रोप्दै सुन्दरीजलका स्थानिय महिलाहरू

विभिन्न प्राकृतिक भू–बनावटका कारण यस सुन्दरीजल गाविसको वडा नं ८ मा मात्र विशेष गरी धान, गहुँ, मकै, कोदो, आलु, केराउ लगाएतका उब्जाउ खेती गरिन्छ भने माथिल्लो भू–भागमा अवस्थित वडाहरुमा मकै, कोदो, मास, भटमास, बेसार, अंरिसो आदिको खेती गरिन्छ । सुन्दरीजल गाविसमा कृषि प्रयोजनका लागि सिमित स्थानमा मात्र आधुनिक स्रोत साधनको प्रयोग गरेको पाईन्छ ।

पर्यटन[सम्पादन गर्ने]

पर्यटन व्यवसायलाई सुन्दरीजल गाविसको प्रमुख व्यवसायको रुपमा लिईन्छ । विभिन्न प्राकृतिक हराभराको संगम स्थलका साथै सबै धर्म र जातीको परमपरागत कला तथा संस्कृति नै यस सुन्दरीजल गाविसको पर्यटक भित्राउने प्रमुख आर्कषणको पक्ष रहि आएको छ । विशेष गरी यस सुन्दरीजल गाविसको शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको नदि, नाला, ठूला चट्टान र त्यस चट्टान हुँदै बग्ने छहरा तथा झरनाहरु पनि स्वदेशी तथा विदेशी पर्यटक आर्कषण गर्ने उत्कृष्ट नमुना हुन् । बार्षिक हजारै स्वदेशी तथा विदेशी पर्यटक भित्राउने यस सुन्दरीजल गाविसमा हरेक हप्ताको अन्तिममा घुम्न आउने स्थानीय क्षेत्रका युवा र युवतीको घुईचोले पनि सुन्दरीजल गाविसको पर्या–पर्यटनमा टेवा पु¥याउदै आएको छ । काठमाण्डौको धुला–धुवाँ र कामको व्यस्ततालाई विर्सेर साथिभाई तथा परिवारका साथ केही क्षणको लागि भएपनि गाँउको हावापानी तथा गाउँले परिभेषको अनुभूति गर्नको लागि पनि एक उत्कृष्ट नमुना बन्दै आएको छ यस सुन्दरीजल गाविस । सुन्दरीजलमा रहेको स्वच्छ हावापानी र रमणीय स्थलका साथसाथै यस स्थानमा रहेको ठूला–ठूला चट्टानले पनि यस क्षेत्रको आर्कषण बढाएको छ । रक क्लाईम्बिङ जस्ता सहासीक खेलको अनुभूती प्राप्त गर्न सकिने यहाँका चट्टानले स्वदेशी तथा विदेशी पर्यटकको मन जित्न सफल भएको छ । यसका साथसाथै सुन्दरीजल देखी चिसापानी सम्मको २२ व. कि. मि दुरीको पदयात्रा मार्ग पनि सुन्दरीजललाई चिनाउने मुख्य आर्कषणको विषय बन्दै आएको छ ।

धार्मिक स्थल[सम्पादन गर्ने]

सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य

सुन्दरीजल प्रवेश गर्ने प्रमुख नाका सुन्दरीजल बसपार्कवाट मात्र केही मिटरको दुरीमा कृष्ण मन्दिर र गणेश मन्दिर अवस्थित छ । यसैगरी यस गाविसको चिनारी बन्दै आएको सुन्दरीमाई मन्दिर सुन्दरीजल बसपार्कबाट निकुञ्जको मार्ग हुदैँ केही कि. मि दुरीमै अवस्थित छ । हिन्दु नेपालीहरुको महान चाड दशैँको ९ दिनसम्म नै यस मन्दिरमा दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्दछ । यसका साथै यस गाविसमा निर्मित स्तुपा, बौद्ध धर्मसम्बन्धि पाठशालाले पनि धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । सुन्दरीजलमा हरेक वर्षको साउन महिनाको प्रत्येक सोमबार बोल–बम मेला मनाईने गर्दछ । हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतिक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागीता हुने गर्दछ । विशेष गरी नेपालको तराई क्षेत्रबाट लाखौँका संख्यामा हिन्दु धर्मावलम्बीहरु सुन्दरीजलमा मेला भर्न आउने गर्दछन् । यस मेलामा सुन्दरीमाई मन्दिर क्षेत्रबाट लोटामा जल भरी नाङ्गो खुट्टा पैदल नै पशुपति मन्दिर परिसर सम्मको यात्रा गरी जल चढाईन्छ । यसका साथै प्रत्येक वर्ष दशहरा पर्वमा दशहरा स्नानका लागि पनि यहाँका नदिमा हिन्दु धर्मावलम्बीहरुको ठूलो घुँईचो लाग्ने गर्दछ ।

वन ,वन्यजन्तु तथा पंक्षी[सम्पादन गर्ने]

सुन्दरीजलमा पाइने चराचुरुङ्गी
सुन्दरीजलमा पाइने चराचुरुङ्गी

सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस गाविसको वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छ । यस सुन्दरीजल गाविसमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास रहेको पाईन्छ । यस सुन्दरीजल गाविसमा करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस सुन्दरीजल गाविसमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पनि पाईन्छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "http://oneclicknepal.com/sundarijal/"
  2. http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]