शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
Shivapuri Nagarjun National Park (Wide Gate and Board).jpg
सुन्दरीजल स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेश द्वार
रहेको स्थान नेपाल
नजिकको सहर काठमाडौं
निर्देशांक २७°४७′४२″उत्तर ८५°२३′२४″पूर्व / २७.७९५° उत्तर ८५.३९° पूर्व / 27.795; 85.39निर्देशाङ्क: २७°४७′४२″उत्तर ८५°२३′२४″पूर्व / २७.७९५° उत्तर ८५.३९° पूर्व / 27.795; 85.39
क्षेत्रफल १५९ किमी2 (६१ वर्ग माइल)
स्थापना बि.सं. २०५८(सन् २००२)
सरकारी संस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय
नेपालको नक्सामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ ।[१] यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौंको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।[२]

निकुञ्ज व्यवस्थापनको उद्देश्य

  • नेपालको मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
  • निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर काठमाण्डौ उपत्यकाका बासिन्दालाई दिगोरुपमा पिउनेपानी उपलब्ध गराउने ।
  • निकुञ्जलाई जैविक विविधता संरक्षण शिक्षा केन्द्रको नमुनाको रुपमा विकास गर्ने ।
  • पर्या पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने ।
  • मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।

इतिहास

यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनैतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनैतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।[३]

धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको महत्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि. मा फैलाइएको थियो ।

धरातलिय अवस्थिति

यो निकुञ्ज समुद्र सतह देखि १३५० – २७३२ मिटरको उचाईमा अवस्थित छ। भौगोलिक रुपमा शिवपुरी क्षेत्र २७°४५' देखि २७° ५२ ' उत्तरी अक्षांस तथा ८५° १६ ' देखि ८५° ४५' पूर्वी देशान्तर र नागार्जुन क्षेत्र २७° ४३ ' देखि २७°४६' उत्तरी अक्षांस तथा ८५°१३ ' देखि ८५° १८' पूर्वी देशान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञ्ज हो।

राजनीतिक अवस्थिति

  • यस निकुञ्जले वागमती अञ्चलको काठमाण्डौ, धादिङ, नुवाकोटसिन्धुपाल्चोक जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये काठमाण्डौका १४, धादिङको १, नुवाकोट को ९ र सिन्धुपाल्चोक जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
  • जिल्ला अनुसार निकुञ्ज फैलिएको क्षेत्रफलको विवरण यस निकुञ्जले शिवपुरी क्षेत्र अन्तर्गत काठमाण्डौ जिल्लाको ९५ वर्ग कि. मि. भूभाग, नुवाकोट जिल्लाको ३६ वर्ग कि.मि. भूभाग र सिन्धुपाल्चोक जिल्लाको १३ वर्ग कि. मि. भूभाग गरी कुल १४४ वर्ग कि. मि. भूभाग ओगटेको छ । यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अन्तर्गत काठमाण्डौ जिल्लाको ७.७ वर्ग कि. मि. भूभाग र धादिङ जिल्लाको ७.३ वर्ग कि. मि. भूभाग गरी कुल १५ वर्ग कि. मि. भूभाग ओगटेको छ । यसरी दुवै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ वर्ग कि. मि भूभाग ओगटेको छ ।

भौगोलिक अवस्थिति

  • यस निकुञ्जको धरातलीय उचाई १३५० मिटरदेखी २७३२ मिटरसम्म रहेको छ । यस निकुञ्ज क्षेत्रको शिवपुरी, विष्णुद्वार र अल्लेको लेकमा पौष माघ महिनामा छोटो समयको लागि हिमपात हुने

गर्दछ ।

  • यस निकुञ्जको शिवपुरी क्षेत्रको सरदर लम्बाई २० कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ । यस्तै गरी नागार्जुन क्षेत्रको सरदर लम्बाई ६ कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ ।

वनको किसिम र वनस्पति

निकुञ्जमा पाईने सिल्कको रुख
  • वनको किसिम धरातलियअवस्थितिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरू छन् ।
  • यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मिटर देखि १५०० मिटरको उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष आदि पर्दछन् ।[४][५]
  • यस निकुञ्जको १३५० मि. देखि १६०० मि. सम्मको उचाईमा खोटेसल्लो वन अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे/रानी सल्लो, मयल, मुसुरेकट्टुस, काफल आदि पर्दछन् ।
  • यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखि २७०० मि.को उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी, उत्तिस, वैस, खसु्र, अर्खौलो आदि पर्दछन् ।
  • यस निकुञ्जका २३०० मि. देखि २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति पाइन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाइन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छन् ।
वनको किसिम उचाई( मि.) वनस्पति
तल्लो मिश्रित चौडापाते १३५० मि. देखि १५०० मि. चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष

आदि

खोटेसल्लो १३५० मि. देखि १६०० मि. खोटे\रानी सल्लो, मयल,मुसुरेकट्टुस, काफल आदि
खस्रु २३०० मि. देखि २५०० मि. खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति

पाइन्छन्,जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाइन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छन् ।

वन्यजन्तु तथा पंक्षी

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने चराचुरुङ्गी
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने चराचुरुङ्गी
निकुञ्जमा पाईने हिमाली कालो भालुको बच्चा

यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् । यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पति पाईन्छन् ।

निकुञ्जको विशेषता

  • राजधानीवाट सबैभन्दा छोटो दुरीमा(१२ कि.मी.) रहेको राष्ट्रिय निकुञ्ज ।
  • काठमाण्डौ उपत्यकाको प्रसिद्ध नदीहरु वागमती र विष्णुमतीको उद्गम स्थल ।
  • चिसापानी क्षेत्रबाट हिम श्रृङ्गखलाको अवलोकन गर्न सकिने दृश्यमवलोकन बिन्दु ।
  • काठमाण्डौको बासिन्दालाई पिउने पानी उपलब्ध गराउने जलाधार क्षेत्र ।
  • संरक्षण शिक्षा, अध्यन अनुसन्धान एवं पर्या– पर्यटन प्रवद्र्धनको लागि प्रचुर संभावना रहेको क्षेत्र ।
  • स्थानीय वातावरण शुद्धीकरण काठमाण्डौ उपत्यकाबाट निःसृत कार्वनडाईअक्साइडलाई शोषण गर्ने क्षेत्र ।
  • नेपालको मानव निर्मित लामो पर्खाल शिवपुरी १११ कि.मि. ,नागार्जुन २९ कि.मी.
  • लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्ज जाने प्रवेशद्धार ।
  • दुईवटा वन क्षेत्र मिलाईएको राष्ट्रिय निकुञ्ज ।
  • चट्टान आरोहणको अभ्यास क्षेत्र ।

भ्रमणको लागि आकर्षण र महत्वपूर्ण क्षेत्र

धार्मिक सम्पदा

यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका धार्मिक आकर्षण र महत्वका क्षेत्रहरु छन् । बागद्वार, कागेश्वरी, मणिचूड, तारकेश्वर, सुन्दरीमाई, विष्णुपादुका, नागीगुम्बा, पचलीभैरव शान्तिगुफा, नागदेवता, जामाचो गुम्वा गणेश मन्दिर आदि यहाँका प्रसिद्ध धार्मिक सम्पदामा पर्दछन् ।

सांस्कृतिक सम्पदा

यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हिन्दु र बौद्ध धर्मालम्बीहरुको सांस्कृतिक संगमस्थल पनि रहिआएको छ ।

पद यात्रा मार्गहरु

क्र.सं स्थान दूरी (कि.मि.)
पानीमुहान–सित्रे १२
गुर्जे–बागद्वार
पानीमुहान–नागीगुम्बा–बागद्वार
नागीगुम्बा–बागद्वार–चिसापानी १८
झूले–चिसापानी
पानीमुहान–शिवपुरी चुचुरो १२
ककनीशिवपुरी चुचुरो १८
नागीगुम्बा–शिवपुरी चुचुरा
सुन्दरीजल–चिसापानी २२
१० नागार्जुन फुलवारी–जामाचो १६

राष्ट्रिय निकुञ्जभित्र निषिद्ध कार्यहरु

अधिकार प्राप्त अधिकारीवाट लिखित अनुमति नलिई कुनैपनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायका काम गर्न पाउने छैन ।[१]

  • यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु र पंक्षीको शिकार गर्न पाइने छैन ।
  • जुनसुकै पदार्थको घर, छाप्रो, आश्रम वा अरु आकार बनाउन वा भोग गर्न पाइने छैन ।
  • यस राष्ट्रिय निकुञ्ज भित्र कुनै भू–भाग कब्जा गर्न, सफा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न पाइने छैन ।
  • यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी ख्वाउन पाइने छैन ।
  • रुख, विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पु¥याउन मनाई छ ।
  • यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, कंकट वा अन्य यस्तै पदार्थ हटाउन पाइने छैन ।
  • यस राष्ट्रिय निकुञ्ज भित्र वन, पैदावार, वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पु¥याउन पाइने छैन ।
  • यस राष्ट्रिय निकुञ्ज भित्रहात हतियार, खर खजाना वा विषसाथमा लैजान वा प्रयोग गर्न पाइने छैन ।
  • यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्जभित्रको प्रचालित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमका जीवजन्तु वा आखेटोपहार लैजान पाइने छैन ।
  • यस राष्ट्रिय निकुञ्जभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानीकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्न पाइने छैन ।

दण्ड सजाँय

यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैर कानुनी तरिकाले वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद–बिक्री गर्ने वा अन्य संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद–बिक्री गरेमा निजलाई रु. ५०,०००(पचास हजार) देखी रु. १००,०००(एक लाख) सम्मको जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाँय हुनेछ ।

सन्दर्भ सामाग्रीहरू

  1. १.० १.१ Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5
  2. Pandey, B. P. (2010). A report on presence absence survey of clouded leopard (Neofelis nebulosa) in Shivapuri Nagarjun National Park, Nepal. Submitted to Government of Nepal.
  3. Kunwar, K. J. (२००८), "Payment for Environmental Services in Nepal (A Case Study of Shivapuri National Park, Kathmandu, Nepal)", The Initiation 63: ६३–७२। 
  4. Majupuria, T.C., Kumar, R. (1998). Wildlife, National Parks and Reserves of Nepal. S. Devi, Saharanpur and Tecpress Books, Bangkok. ISBN 974-89833-5-8. Pages 200–204.
  5. Sigdel, S.R. (2009). Altitudinally coordinated pattern of plant community structure in the Shivapuri National Park, Nepal. Banko Janakari 18 (1): 11–17.

बाह्य लिङ्कहरू