माईपोखरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माईपोखरी
Mai Pokhari
Mai Pokhari(2).JPG
माईपोखरी
Mai Pokhari wetland
रहेको स्थान Ilam District, Nepal
क्षेत्रफल ९० ha (२२० एकड)
स्थापना October 2008
नामाङ्कित 20 October 2008
सन्दर्भ क्रम सङ्ख्या 1850[१]

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरीसुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको छ। माइपोखरी गा.वि.स. ६ मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँ सम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख लाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरीपर्ूण्ा यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ यहाँ एउटा अखण्ड धुनी बलिरहेको छ । [२]

हाल यहाँ सम्म कच्चि बाटो बनिसकेकाले सवारी साधनका साथ पुग्न सकिन्छ। यो पनि अर्को धार्मिक स्थलका रूपमा परिचित स्थल हो। नेपाली परम्परा अनुसार बिभिन्न किसिमका बिपत्ति पर्दा देवी देवताको स्मरण गरी उनीहरूलाई खुशी पार्न केही दान गर्ने तिर्थाटन गर्ने मनमनै कसम खाने चलन पाइन्छ। यसलाई भाकल गर्ने भन्ने चलन छ। यसरी भाकल गरी सकेपछि उपयुक्त समयमा भाकल पुरा गर्ने तिर्थाटन गर्नु पर्ने हुन्छ। यही क्रममा स्थानीय तिर्थालुहरू यहाँ आउने गर्दछन्। यो पोखरी समुन्द्री सतह देखि ७२०० फिटको उचाईमा रहेको छ। अत्यन्तै मनमोहक जंगलले घेरिएको यो स्थानमा बिसं १९५४मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ। हरीशयनी एकादशी र हरीबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ। माईपोखरीमा कहिले कहिले आउने छाललाई स्थानीय बासीहरू अनिष्टको संकेतको रूपमा लिन्छन् र सम्भाबित अनिष्टबाट देशलाई जनतालाई बचाउन मन्दिरमा पूजा आजा गर्ने पोखरीमा दुध चढाउने गरिन्छ। शिव पार्वती बन बिहार र जलक्रिडा गर्ने गरेको भनी स्कन्ध पुराणमा बर्णित थलो यहीं हो भन्ने भनाई पनि रहेको छ। यसको नवरात्रसँग नजीकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ।

यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ। खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्छ । त्यसबाहेक दर्शनार्थी दिनहुँ पनि आइरहन्छन् । ९ कुने पोखरीका हरेक कुनामा माइभगवतीको पूजा हुन्छ । पूर्वको प्रसिद्ध यो सिमसार क्षेत्र २०६५ कात्तिक १२मा रामसार क्षेत्रमा सूचीकृत भयो ।

माइपोखरी सिमसार जैविक विविधतामा धनी छ । समुद्री सतहबाट करिब २१ सय मिटर उचाइको यहाँ समशीतोष्ण हावापानी पाइन्छ । बढीमा १८ डिग्री र कम्तीमा २ डिग्री सेल्सियस तापक्रम पुग्छ । जंगल क्षेत्रसहित यो क्षेत्र ९० हेक्टरमा फैलेको छ । त्यसमध्ये २ हेक्टर सिमसार क्षेत्र छ । बाँकी ठाउँमा घना जंगल छ । लौठ सल्ल्ाा, सुनाखरी, गलैंचे झ्याउ जस्ता अन्तर्राष्ट्रिय महत्त्वका वनस्पति यहाँ पाइन्छन् । सुलुत्त बढेका रूख कलमी गरेर मिलाएका जस्ता देखिन्छन् । ती रूख हेर्दा मनमोहक देखिन्छन् । वनस्पति, चराचुरुंगीको चिरीबिरी सुन्दै जंगल सफारी गर्दा बेग्लै आनन्द हुन्छ । वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस क्षेत्रमा २ सय प्रजातिका फूल फुल्ने बिरुवा छन् । ३ प्रजातिका चाँप, ४ थरी गुराँस र ६२ थरीका जडीबुटी पत्ता लागेका छन् । रूखका हाँगामाथि फस्टाउने विभिन्न थरीका सुनाखरीले धार्मिक वनलाई आकर्षक बनाएका छन् ।

यो क्षेत्र जलचर, नभचरस्थलचरको बासस्थान हो । धार्मिक वन समूहको तथ्यांकअनुसार यस क्षेत्रमा ३ प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिकासरिसृप र १४ प्रजातिका स्तनधारी पाइन्छन् । ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रूख भ्यागुतो जस्ता उभयचर प्रसस्तै पाइन्छन् । हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र । माइ उपत्यका धेरै चराचुरुंगीको बासस्थान भएको क्षेत्रका रूपमा चिनिन्छ । उपत्यकामा ३ सय प्रजातिका पक्षीको अभिलेख गरिएको छ । त्यसमध्ये २ सय प्रजातिकाले यही क्षेत्रमा प्रजनन् गर्छन् । बाँकीचाहिँ बाहिरबाट बेलाबेलामा आउने गर्छन् । पीतमुहार चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख गरिएको छ । काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्धलगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन् । साइबेरियादेखि श्रीलङ्कासम्म बसाइ सर्ने चराहरूसमेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ ।

परापूर्वकालदेखि धार्मिकस्थलको रूपमा परिचित यो क्षेत्रको संस्थागत विकासको प्रयास २०५० सालबाट भएको हो । त्यही वर्ष माइपोखरी संरक्षण समिति गठन भयो भने २०५६ सालदेखि वनस्पति उद्यान बनाउन सुरू भयो ।

२०५९ मा उत्तरी क्षेत्रको विकास र पर्यटन विकासको योजना बनाइएको थियो । यहाँ रक गार्डेन, चिमाल प्रजनन् अनुसन्धान, जडीबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जडीबुटीका बिरुवा उत्पादन, डोमेस्टिकेसन तथा जर्मप्लाजम, शोभनीय बगंैचा जस्ता संरचना बनेका छन् । स्थानीयवासीका अनुसार मूलको र वर्षादकफ पानी मुख्य स्रोत भएको पोखरी भने सुक्दै गएको छ । सुख्खायाममा करिब ७ मिटर गहिरो हुने पोखरी फोहोर हुँदै गएको छ भने जताततै गलैंचे झ्याउ उम्रेर पोखरीको अधिकांश भाग ढाकिसकेको छ ।[३]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Mai Pokhari", Ramsar Sites Information Service, अभिगमन मिति २५ अप्रिल २०१८ 
  2. http://www.tourismofficekvt.gov.np/places/maipokhari/
  3. http://ekantipur.com/nep/2069/7/25/full-story/357274.html

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]