मानदेव
लिच्छवीकालको इतिहासमा राजा मानदेवको शासनकाललाई महत्त्वपूर्ण मानिएको छ। मानदेवको समयदेखी प्राचीन इतिहास भरपर्दो स्पष्ट र प्रमाणीत भएको छ, त्यसैले यिनलाई प्रमाणिक राजा भनेर चिनिन्छ।
शासन
[सम्पादन गर्नुहोस्]राज्यारोहण
[सम्पादन गर्नुहोस्]त्यो समय नारायणहिटी लगायत काठमाडौँका ढुंगेधाराहरूमा पानी आउन बन्द भयो। राज्य काकाकूल हुने परिस्थिति आएपछि राजा धर्मदेवले तान्त्रिकहरू डाकेर पानी खुलाउने युक्ति बुझ्दा ‘ढुंगेधारामा लगेर बत्तीस लक्षणले युक्त पुरुषको बलि दिए पानी रसाउँछ।’ भने
धर्मदेवलाई अप्ठ्यारो पर्यो। राज्यमा बत्तीस लक्षणले युक्त पुरुष कि उनी स्वयं थिए, कि उनका पुत्र मानदेव थिए। उनले राज्यलाई काकाकूल हुनबाट बचाउन आफ्नै बलि दिने निधो गरे।
छोरा मानदेवलाई बोलाएर ‘राति ढुंगेधारामा जो मान्छे सुतिरहेको भेटिन्छ, उसको अनुहार हेर्दै नहेरी काटिदिनू।’भने
मानदेव पिताको आज्ञाअनुसार त्यसै रात नारायणहिटी गए। धारामाथि एक जना व्यक्ति ओढ्ने ओढेर सुतिरहेको थियो। मानदेवले ती व्यक्तिको अनुहारसम्म नहेरी शीर काटे। नरबलि दिनासाथ ढुंगेधाराबाट कलकल पानी रसायो।
मानदेवले भोलिपल्ट बिहान मात्र थाहा पाए, जसलाई उनले अघिल्लो रात काटेर आए, ती उनकै पिता थिए। पितृहत्याको पाप प्रायश्चित गर्न उनी बज्रयोगिनीको शरण परे। पूजाआजामा लीन भए।
विद्रोह दमन
[सम्पादन गर्नुहोस्]मानदेव कच्चा उमेरका ठानेर पूर्व र पश्चिम तिरका सामन्तहरूले स्वतन्त्र हुने चेष्टा गरे। उनीहरूलाई दमन गर्ने विचारले मानदेवले आफ्ना मामासँग सैनिक सहयोग मागे। आफ्नी आमाको आज्ञा लिई ससैन्य पूर्वी क्षेत्र का शठसामन्तहरूलाई दमन गरी उनीहरूको क्षेत्रबाट कर उठाई सामन्ती राज्य थमौती गरिदिए।
पूर्वतिरका सामन्तलाई विजय गरेपछि मानदेवको हौसलला बढेकाले पश्चिममा सामन्तहरूलाई दमन गर्न उनी हिँडे। पूर्वका सामन्तहरूसँग युद्ध गर्न नपरेकोमा पश्चिमतर्फ का मल्लहरूसँग पनि मानदेवले सजिलै दमन गर्ने आशा गरे जस्तो भएन। उनले आफ्ना मामालाई गण्डकी तर्न लगाई मल्लपुरी घेर्न लगाए। आफ्नो विजययात्रापश्चात यज्ञ आदि गरी ब्राह्मणहरूलाई प्रशस्त दाङ दिएर चाँगुनारायणमा पुजा चलाए साथै शिलालेख समेत राख्न लगाए।
अहिलेसम्मको प्रमाणहरूको आधारमा मानदेवको समय सम्वत् ३८६-४१३(ई.स. ४६४-५०५) सम्मलाई लिएको छ।[१] यिनले नेपालमा शान्त र स्थिर शासन व्यवस्था कायम गरेको पाइन्छ। चाँगुनारायण मन्दिरको अभिलेख अनुसार उनको पालामा राज्यको सीमाना उत्तरमा हिमालय पश्चिममा गण्डकीपारि र पूर्वमा कोशी प्रदेशसम्म फैलिएको थियो। चाँगुनारायण मन्दिरको स्थापना, मानगृहको निर्माण र मानाङ्क नामक मुद्रा प्रचलनमा ल्याएका थिए।[२] काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक मन्दिर पनि मानदेवकै पालामा निर्माण भएको हो। आफू बैष्णव भए पनि बौद्ध धर्मको प्रचारमा कुनै बाधा विरोध नगरेको हुनाले यिनलाई धार्मिक सहिष्णुतावाला व्यक्ति मानिन्छ। यिनको समयमा आर्थिक उन्नतिको साथ साथै विद्या र कला क्षेत्रमा विकास भएको थियो। राजा मानदेव दानी हुनुको साथसाथै प्रजालाई पुत्रवत् माया गर्दथे। त्यसैले उनको शासन व्यवस्थालाई लोककल्याणकारी शासन व्यवस्था भनिन्छ। यिनले गोकर्णमा मानव बस्ति बसाल्नुका साथै नाग बासुकीको पुजा गर्ने चलन पनि चलाए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shaha, Rishikesh. Ancient and Medieval Nepal. (1992), p. 122. Manohar Publications, New Delhi. ISBN 978-81-85425-69-6.
- ↑ Sati Was Not Enforced in Ancient Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०९ मिति, Jayaraj Acharya