राजेन्द्र क्षत्री
महारथी श्री राजेन्द्र क्षत्री | |
---|---|
नेपालको ४२औँ प्रधान सेनापति | |
कार्यकाल २०७२ भदौ २४ गते – २०७५ भदौ २४ गते | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
सहायक | पूर्णचन्द्र थापा |
पूर्वाधिकारी | गौरव शमशेर जङ्गबहादुर राणा |
उतराधिकारी | पूर्णचन्द्र थापा |
व्यक्तिगत विवरण | |
जन्म | तनहुँ जिल्ला, नेपाल |
राष्ट्रियता | नेपाली |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
शाखा/सेवा | नेपाली सेना |
सेवाको वर्षहरू | सन् १९७८- २०१८ |
राजेन्द्र क्षत्री (जन्म:राजेन्द्र खत्री क्षत्री) नेपाली सेनाका अवकाशप्राप्त प्रधान सेनापति हुन्। गौरव शमशेर जङ्गबहादुर राणाको अवकाश पश्चात उनी प्रधान सेनापति बनेका थिए।[१] उनलाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि भारतीय राष्ट्रपतिले प्रदान गरेका थिए।[२] उनी सन् १९७८ मा नेपाली सेनाको राजदल गणमा आयुक्त भएका थिए।[३]
जीवनी
[सम्पादन गर्नुहोस्]तनहुँ जिल्लाको चिसापानी गाविसको दुधेकुनामा जन्मेका क्षत्री नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधान सेनापति वन्ने पहिलो व्यक्ति हुन। २०३५ सालमा सैनिक अधिकृतका रूपमा सेनामा प्रवेश गरेका क्षत्रीको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो। क्षत्रीले प्रतिविद्रोह तथा जङ्गल युद्धकला,जुनियर स्टाफ,गुल्मपति र गणपति तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थिए। सेनाको ४२ औ प्रधानसेनापती हुन सफल भएका क्षत्री पुस्तैनी सैनिक परिवारबाट आएका हुन्। राजा महेन्द्र र रानी रत्नको शाही पाश्र्ववर्ती समेत रहेका महासेनानी गोपालबहादुर खत्रीका छोरा राजेन्द्रका हजुरबा सेनानी बलिन्द्रबहादुर नुवाकोट धादिङ र रसुवाको बडाहाकिम थिए। उनका जिजुहजुरबा जमदार नाहरसिंह खत्री पाल्पा र बुटवल क्षेत्रमा खटेर काम गरेका थिए।
क्षत्रीका सहोदार दाइ रमिन्द्र क्षत्री हाल सेनाको मानार्थ उपरथीका रूपमा कार्यरत छन् भने भाइ रतिन्द्र खत्रीले महासेनानिबाट अवकास पाइसकेका छन्। पूर्व सैनिक प्रवक्ता समेत रहेका उपरथी क्षत्री माओवादी आक्रमणमा परेर अपाङग भएपनि उनले त्यसको बावजुत पनि निरन्तर सेनामा सेवा गर्दै आएका छन्। उनी माओवादी आक्रमणमा नपरेको भए सेनापति हुने लाइनमा समेत थिए भने भाइ रतिन्द्रको पनि तत्कालीन प्रधान सेनापति छत्रमानसिंह गुरुङको गलत नियतका कारण महासेनानीबाट अवकास हुन पुगे। उनै खत्री पनि आफ्नो ब्याजमा प्रथम भएकाले उनलाई भावि सेनापतीका रूपमा सेनामा हेरिएको थियो। यसरी तिनै भाइ सेनामा सेनापतिका दावेदार रहेपनि अन्ततः प्रधान सेनापतिकोे फुली लगाउने ऐतिहासिक सौभाग्य भने राजेन्द्रलाई प्राप्त भएको छ। सेनामा कम बोल्ने, सबैका कुरा सुनेर मात्र निर्णय गर्ने क्षत्री स्वभावलाई धेरैले मन पराउने गरेका छन्।
सेनाभित्र क्षमतावान र इमान्दार अधिकृतको रूपमा पनि उनलाई हेरिन्छ। क्षत्रीले अमेरिकाको फोर्ट लेवनवर्थ क्यानसस्बाट कमाण्ड एण्ड जनरल स्टाफ कलेज र अमेरीकी आर्मी वार कलेज काईलकल पेन्सलभानियाबाट आर्मी कलेज गरेका छन्। उनले भारत,पाकिस्तान र चीनवाट फिल्ड आर्टिलरी,एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स र भारतको डिफेन्स इन्सिच्युट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकल अधिकृत तालिम पनि हासिल गरेका छन्। क्षत्रीसंग राष्ट्रसङ्घको सुरक्षा परिषदमा विश्लेषकका रूपमा रणनीतिक तहको स्टाफ, ७ बाहिनीको बाहिनीपति, मध्य पृतना हेटौँडाको पृतनापती, पूर्व प्रधानसेनापती रूक्माङ्गद कटवालको सैनिक सहायक,प्रबन्धरथी,सैनिक विनय महानिर्देशक,बलाध्यक्ष र बलाधिकृतरथीको कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको अनुभव समेत छ।[४][५]
विवाद
[सम्पादन गर्नुहोस्]- ‘सेवा गर्ने उमेर छँदै अवकाशमा जानुपर्ने बाध्यतालाई सम्बोधन गर्ने’ वचनबद्धता जनाएका क्षत्रीले उल्टै सुबेदारभन्दा तलका दर्जाले सेवा गर्न पाउने उमेर हद ३ वर्ष कटौती गरिदिए। यसले सामान्य परिवार र तल्ला दर्जामा कार्यरत सिपाहीदेखि सुबेदारसम्मलाई ठुलो मार पारेको छ। सेनामा सुबेदारसम्मको सेवा अवधि ५५ वर्ष थियो। १४ फागुन ०७४बाट क्षत्रीले त्यो उमेर हद ५२ वर्षमा झारिदिए।
- क्षत्रीको कार्यकालमा सैन्य भर्ना र शान्ति सेनामा समेत अनियमितता भएको ठूलै आक्षेप छ। यसको उदाहरण हो, दुई महिनाअघि मात्र सेनाले मुख्यालयलगायत देशभरि भर्ना लिएको थियो। भर्नामा मोटो रकम उठाएको तथ्य आन्तरिक संयन्त्रमा खुल्यो।
- क्षत्री विदेश भ्रमण गर्ने प्रधान सेनापतिमध्ये सबैभन्दा अगाडि छन्। ३६ महिने कार्यकालमा उनले २० पटक विदेश भ्रमण गरेका छन्। भदौमा प्रधान सेनापति भएका क्षत्रीले पाँच महिनासम्म विदेश भ्रमण गरेनन्। उनले १९ माघ ०७२ मा पहिलो भारत भ्रमण गरेका थिए भने २४–२८ असार ०७५ मा चीन गए। यस हिसाबले अर्थात्, ३१ महिनामा उनका २० विदेश शयर गरेका थिए। औसतमा हेर्ने हो भने क्षत्री हरेक ४५ दिनमा विदेश गएको देखिन्छ। देशभित्र पनि हेलिकप्टरबाट भ्रमण गर्ने सबैभन्दा सोखिन सेनापति क्षत्री नै दरिएका छन्। प्रधान सेनापतिको भ्रमण खर्च नेपाल सरकार र सेनाको कल्याणकारी कोषले बेहोर्छ। क्षत्रीको भ्रमणको धनराशि मात्रै पनि निकै ठुलो थैली हुन्छ।
- सेनालाई व्यावसायिक, पारदर्शी बनाउनुको साटो क्षत्रीले विवादित बनाउने काममा इँटा थपे। यस हिसाबले उनको कार्यकाल सन्तोषप्रद रहेन।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://thehimalayantimes.com/kathmandu/prez-appoints-gen-rajendra-chhetri-as-new-army-chief/
- ↑ https://thehimalayantimes.com/nepal/nepal-army-chief-conferred-honorary-rank-from-india-president/
- ↑ https://www.nepalarmy.mil.np/page/coas_biography
- ↑ http://www.muldharnews.com/?p=27738[स्थायी मृत कडी]
- ↑ http://dainiknepal.com/2015/88810.html वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-२३ मिति
- ↑ विवादित महारथी वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-११ मिति