सुभद्रा अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुभद्रा अधिकारी बरिष्ठ नेपाली कलाकार हुन्। वि.सं.२००४ सालमा काठमाडौंको असनमा जन्मे, हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन्। पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक 'कचिमचा' (काँचो माटो)बाट अभिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै रगंमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बाँध हो। मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अधिकारी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन्। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले चिनो, कन्यादान, बासुदेव, बाटो मुनिको फूल, मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।[१]

उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्। सानैमा बुवालाई गुमाएकी अधिकारीको अधिकांश समय मामाघरमा बितेको थियो। मामाघरको साहित्यिक,सांगीतिक वातावरणले उनलाई सानो उमेरदेखी नै कलाकार बनायो। उनले नाचघरमा लामो समय काम गरेकी थिइन्। वि.सं. २०५८ सालसम्म उनी नाचघरको जागिरे थिइन्। उनको ६३ वर्षौ कलायात्रालाई समावेश गरेर कलाकार सुभद्रा अधिकारी जीवनगाथा पुस्तक पनि प्रकाशित छ।

अन्य नेपाली चलचित्रहरु जीवनरेखा,बदलिदो आकाश,पिरती,माया प्रीति,भाउजू,मंगलसूत्र,बेहुली,बसन्ती,कर्जा,सौभाग्य,चोर सिपाही,स्वर्ग,कन्यादान,काठमाण्डु,दशगजलगायत करिब सय फिल्मका विभिन्न भूमिका अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको विशेष पहिचान अभिनेता सुनिल थापालाई राते काँइलाका रूपमा चिनाउने फिल्म चिनोमा 'लेडी हिरो'को भूमिकाबाट बन्यो। चिनो निर्देशक तुलसी घिमिरेले सुभद्राको भूमिकामा भारतीय नायिका माला सिन्हालाई खेलाउने सोच बनाउनु भएको थियो तर मालाले समय दिन नसक्ने भएपछि घिमिरेले सुभद्रालाई छान्नुभएको हो। नाचघरमा पनि उनले दर्जनौँ नाटकमा अभिनय गरेकी थिइन्। बालकृष्ण समले लेखेका नाटक 'बुहार्तन','नालापानी','भक्त प्रल्हाद','हिरण्य कस्यपु' लाई आफैँ निर्देशन गरेका थिए र आफैँ खेलेका पनि थिए। समकै नाटक 'मुटुको व्यथा','अमिट वासना','रणदुल्लभ'मा पनि उनले अभिनय गरिन्।[२]

गायिका तारादेवीको संगतले रेडियो नेपालमा गएर गीतसमेत गाएकी सुभद्राले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मदनकी दिदी बनेर सर्वाधिक लामो समय ६-७ महिना सम्म अभिनय गर्नुभयो। वि.सं. २०६६ सालमा पति कृष्णप्रसाद अधिकारीलाई गुमाएपछि शोकसन्तप्त सुभद्राले ६ दशक लामो फिल्मी यात्रामा कहिल्यै हार्नुभएन। तर,यस क्षेत्रमा लागेर सम्मान पाउन नसकेको अनुभूति सुनाउने उहाँमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ लाख ५१ हजार १ सय ११ रुपियाँ सहित चलचित्र दीर्घ साधना सम्मान पाएपछि प्रसन्नता छाएको थियो।

धेरै कलाकारका लागि उत्प्रेरणा हुन् सुभद्रा। नेपाली कलाकारले नगरेको अर्को काम उनले गरिन्। उनले लेखेका दुईवटा पुस्तक प्रकाशित-'एकपाङ्ग्रे रथ' र 'कलाकार सुभद्रा अधिकारी जीवनगाथा'। यी किताबले नेपाली नृत्य र चलचित्रका धेरै लुकेका तथ्य,काम र नामलाई खोलिदिएका छन्। अत्यन्तै प्रतिभाशाली हुँदाहुँदै भद्रता र शालीनता उनको अर्को गहना हो। उनले विद्यालयसम्म औपचारिक अध्ययन पूरा नगरेता पनि नेपाली र नेपाल भाषा दुवैमाथिको दक्खल निक्कै बलियो छ। उनी भाषा र परिस्थिति खेलाएर 'इम्प्रोभाइजेसन' गर्न सक्ने शक्तिशाली कलाकार हुन्। उनको निधन वि.सं.२०७६ साउन ३२ शनिवारको दिन बिहानको समयमा आफ्नै डल्लु स्थित निवासमा भएको हो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मनोरञ्जन", अन्तिम पहुँच जनवरी १९, २०२० 
  2. "अनायास", अन्तिम पहुँच जनवरी २१, २०२० 
  3. "सुभद्रा अधिकारी", अन्तिम पहुँच जनवरी २१, २०२०  वेब्याक मेसिन अभिलेखिकरण जुन १४, २०२० मिति