सेतो दरबार
सेतो दरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | नवशास्त्रीय वास्तुकला, मुगल एवम् यूरोपेली वास्तुकलाको मिश्रण |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
निर्माणकार्यको थालनी | १८८३ |
भत्काइएको | १९९० आगलागी र भूकम्प |
लागत | त्यस समयको एक करोड रुपैया जुन बेला जमलमा राजदरबार तथा अन्य दरबार आसपास ६० रुपैया मा एक रोपनी जग्गा आउथ्यो |
ग्राहक | वीर शमशेर |
प्राविधिक विवरण | |
बनावट | Brick and Mortar ईट |
आकार | ३७५ रोपनी |
योजना तथा निर्माण | |
वास्तुकार | जोगबीर स्थापित |
सेतो दरबार प्राईम मिनिस्टर तथा ३ महाराज वीरशमशेरले वि.सं. १९४२ मा आफ्ना छोरा गेहेन्द्रशमशेरका लागि बनाउन लगाएको दरबार हो। नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार बनाएका वीरशमशेरले योसँगै फोहोरा दरबार, चारबुर्जा दरबार र लाल दरबार पनि बनाए।
हालको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । अहिले ३ सय ७५ रोपनी जमिनमा फैलिएको उक्त दरबारको नामोनिसान छैन । त्यहाँ अहिले दर्जनौं घर देखिन्छन् । सेतो दरबार वि.सं. १९९० को वैशाखमा भएको आगलागी तथा माघमा आएको महा भू-कम्पको चपेटामा परेको थियो ।
निर्माण
[सम्पादन गर्नुहोस्]वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार इटालियन मार्वलको टेबल, बेल्जियमका ऐनाहरु बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए। यूरोपबाट मगाइएका यी सामानहरू भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा, बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए। यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे।
स्वामित्व
[सम्पादन गर्नुहोस्]महाराज वीरशमशेरको निधनपछि मुख्य दरबार उनका जेठा छोरा जनरल गेहेन्द्र शमशेरको भयो र उनको मृत्यु (हत्या)पछि त्यो उनका जेठा छोरा लीलाशमशेरको स्वामित्वमा पुग्यो। तर उनका भाइ सूरशमशेरसँग राजा त्रिभुवनकी बहिनी 'शाहजादी' को विवाह भएपछि सेतोदरबारका मालिक सूरशमशेर भए। उनैको मालिकीमा छँदा त्यो दरबार आगलागीमा परेको हो।[१]
आगलागी
[सम्पादन गर्नुहोस्]वि.सं. १९९० मा आगलागी भएर ध्वस्त भएको यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । १९९० साल वैशाख त्यस दिन नेपालले ठूलो क्षति बेहोर्यो । तोप हानेर दरबारको पूर्व भाग भत्काइदिएको भए सेतो दरबारका बैठकहरू बच्थे। तर पछिल्तिर महाराजाधिराजको दरबार भएकाले श्री ३ महाराज जुद्धशमशेरले तोप हान्ने आदेश दिइहाल्ने आँट गरेनन् ।[१]
त्यहाँ आगलागी हुँदा जंगबहादुरले बेलायतमा बनाएर ल्याएका आफ्ना ठूलठूला मुहारचित्रहरू पनि जलेर खरानी भए । त्यहाँ रहेका अत्तर फुटेर बग्दा त्यसको वासनाले तीनै सहर मगमगाएको थियो भन्ने कथन रहेको छ। त्यही सेतो दरबार आगलागीमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक जुद्ध वारुणयन्त्र दमकल झिकाएका हुन् ।[२]
आगलागीपछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आई.डी.सी. विकास बैङ्कको कार्यालय रहेको छ । जमल–दरबारमार्ग ओहोर–दोहोर गर्दा विश्वज्योति हलको छेउमा देखिने पुरानो द्वार त्यस्तै एउटा संरचना हो, जसभित्रको ३७५ रोपनी जमिनमा कुनै बेला कलकत्ताको वेल्भेडियर प्यालेस जस्तै भव्य सेतो दरबार र फोहोरा दरबार थिए।
चारबुर्जा दरबारमा बाल्यकाल बिताएका इतिहासकार पुरुषोत्तम शमशेर राणा १९९० वैशाखमा आगलागी र माघमा महाभूकम्पको चपेटामा परेको सेतो दरबारको मूल बैठक कक्षको पुनर्निर्माणमा मात्र ऊबेला रु.१ करोड लाग्ने अनुमान गरिएको सम्झ्न्छन्। इतिहासकार राणा धेरै दरबार बनाउने राणा प्रधानमन्त्री वीरशमशेरका पनाति हुन्।
फोहोरा दरबार
[सम्पादन गर्नुहोस्]वीर शमशेरले वि.सं. १९५४ मा बनाएको चारबुर्जा दरबारको उत्तरी भागले अहिले निर्वाचन आयोग र उप–राष्ट्रपतिको कार्यालयको काम गरिरहेको छ भने वि.सं. १९५५ मा बनाएको फोहोरा दरबार भएको ठाउँमा अमेरिकीहरूको 'रिक्रिएसन सेन्टर' छ। लाल दरबारमा अहिले होटल याक एण्ड यती छ भने सेतो दरबार भएको क्षेत्रमा अन्नपूर्ण होटल लगायतका निजी भवनहरू छन्।