गौतम बुद्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गौतम बुद्ध

सारनाथमा रहेको बुद्धको मूर्ति
जन्म ५६३ ई.पू.
लुम्बिनी,नेपाल
मृत्यु ४८३ ई.पू.(उमेर ८०) वा ४११ र ४०० ई.पू.
कुशीनगर, भारत
जातीयता शाक्य
चिनारीको कारण बौद्ध धर्मका प्रवर्तक
अग्रज कस्यप बुद्ध
उत्तराधिकारी मैत्रेय बुद्ध

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन ।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

जन्म[सम्पादन गर्ने]

बुद्धको जन्म भएको शीला, लुम्बिनी[४].
रानी मायादेवी कुमार सिध्दार्थलाई जन्म दिदै

सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो ।

बाल्यकाल र विबाह[सम्पादन गर्ने]

सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो । यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो । गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ ।

बैराग्यता र प्रयाण[सम्पादन गर्ने]

बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए ।

तपस्या र बुद्धत्त्व[सम्पादन गर्ने]

बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ ।

बुद्धका शिक्षा[सम्पादन गर्ने]

बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए । यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ ।

बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न् ।

बुद्धले दु:ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय ।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:

  1. दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
  2. दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
  3. दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
  4. दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।

धार्मिक सिद्धान्त[सम्पादन गर्ने]

  1. बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमा जान्छु ।
  2. धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु ।
  3. संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु ।

निर्वाण[सम्पादन गर्ने]

भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए ।

बुद्धको ख्याती[सम्पादन गर्ने]

बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ ।आज भोलि धेरै देश का मानिस गौतम बुद लाई मान‍दछन्।

भगवानको रूपमा गौतम बुद्ध[सम्पादन गर्ने]

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतार मध्यको एक अवतार मानेर पूजा गर्छन् भने बौद्ध धर्मावलम्बी हरूले सम्यक सम्बुद्धको रूपमा पूजा गर्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
  2. The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
  3. नेपालको इतिहास र संस्कृति
  4. "Lumbini, the Birthplace of the Lord Buddha"