सीता

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Sita

हनुमान साथमा सीता
देवनागरी सीता
संस्कृत Sītā
वर्ग: लक्ष्मीको अवतार
जीवनसाथी: राम
ग्रन्थ रामायण
यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन
सीता अपहरण गर्दा रावणले जटायूको पखेटा काटिदियो
जाभाको यो सांस्कृतिक नाचले लंकामा चौकीदार हरूका बीचमा सीताको बन्दी जीवन देखाउँछ।

सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याको राजा दशरथको ज्येष्ठ सुपुत्र राम सित स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।

भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिर् जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।

सिताको जन्म[सम्पादन गर्ने]

आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्। साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्। हुन त सीता नामले उनका बारेमा जान्नचाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ। विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्। सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ। यज्ञभूमि तयार पार्न राजषिर् जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ।

सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण -तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।

  • देवी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान (कन्या)लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो। मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो। अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो। ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो। तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो। गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए। उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो। रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्। मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो। यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्। राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।
  • आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए। त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो। गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-'म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।' आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी 'पद्मा' राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्। केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।
  • कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्।
  • अन्य किम्बदन्ति का आधारमा सीतालाई मिथिलाका राजा जनककी छोरी भनिएता पनि रामायणका अनुशार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो।[१] त्रेतायुगमा लंकाका तत्कालीन राजा रावणले आफ्नो ताकतको घमण्डमा पृथ्वी भरी उत्पात मचाएको थियो। रावणले प्रत्येक दिन जनताहरूबाट कर असुलेर एक सेर सुन ल्याउने गर्थ्यो। यसरी बिथिती गरेका कारण सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंश नास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा एक सेरको तौल बराबर बनाएर राखे। केही दिन पछि रावण कर असुली गर्न ऋषिहरू भए ठाउँ गयो। ऋषीहरूले रगतको डिब्बा रावणलाई दिएर भने "महाराज हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुस्।" यो सुनेर रावणले त्यो डिब्बा तराजुमा राखेर तौल गर्दा एक सेर पुरा भएकाले न खोलेरै आफ्नो घर ल्याएर आयो। रावणले सँधैको जस्तै त्यो डिब्बा आफ्नी धर्म पत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले आज पञ्चरंगी डिब्बामा के रहेछ भन्ने बिचारले खोलेर हेर्दा रगत देखियो। मन्दोधरीले रगत रावणकी कोही अरु रानी अथवा कोही पर स्त्रीको भएको ठानेर रिसले त्यो रगत पिईन्। केही दिन पछि मन्दोधरीलाई गर्भ रहयो। मन्दोधरीको पेटमा धेरै पिडा भएका कारण रावणले ज्योतिषहरूलाई बोलाएर लक्षण हेर्न लगायो ज्योतिषहरूले मन्दोधरीको गर्भबाट रावणकुलको नास गर्ने एक पुत्रीको जन्म हुने संकेत दिए। यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराएर एक घडामा राखि आफ्नो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लाग्यो। यसरी हेर्दा उसले जनकपुरमा राम्रो तलाउ देख्यो तलाउ गहिरो भएका कारण शिसु बाँच्ने सम्भावना कम भएको विश्वासले घडा तलाउमा छोड्यो। केही दिन पछि जनकपुरमा ठूलो खडेरीका कारण तलाउको पानी सुकेर गयो। यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो। राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाए। राजा जनकका अरु सन्तान नभएका कारण ती कन्याको पालन पोषण गरे। पछि गएर कन्याको नामकरण गरे। पहिले कन्याको जन्मको आधारमा "सिया" नाम राखे। पछि गएर "सिता" भन्ने गरियो। सितालाई "जानकी" पनि भनिएको छ।

सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ। नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो। राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो। यज्ञका लागि जमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ। जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ। रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ। राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन।

वाल्यकाल र विवाह[सम्पादन गर्ने]

जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन्।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए। रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन। अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो। यो बिहेको सम्झना अद्यापि गरिँदैछ। मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ। यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ। यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ।

राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरि दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरू सिताको वर्णन गर्दै थिए। उनीहरू एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान विष्णुको मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र रामसँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरू सँग ती पंक्षीहरूलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले। भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी सुवा उड्न नसकेका कारण सिताको सखिहरूले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सित "राम भनेकोको हो ? मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सित गरिदिने निश्चय गरेका छन् तिमीहरू जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ" भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रूपमा पुनर्जन्म भयो।[२] कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह रामसँग भयो|

उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन्। यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो। माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन्।

वनवास[सम्पादन गर्ने]

रानी केकैको वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वन जाँदा जिद्दी गरेर सीता पनि सँगै गइन्। साथमा लक्ष्मण पनि गएका थिए। अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयासँग पातिव्रत्यधर्मको उपदेश लिएकी थिइन्। लक्ष्मणले नाक काटिदिएपछि रावणकी पत्नी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याई तर रामका प्रतापका अगाडि ती टिक्नसकेनन्। शूर्पणखाले दाजु रावणलाई उचाल्नपुगी। एकदिन राम वनमा गएका बखत 'मारिच'ले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकार्दा सीता विहृवलित भई लक्ष्मणलाई कर गरी त्यतै पठाउँछिन्। मौका ढुकिरहेको रावण जोगीको भेष गरी आएर लक्ष्मणले बनाएको रेखा पार गरेमात्र भिक्षा लिने बताउँछ। सीताले त्यसै गर्दा रावणको फन्दामा पर्छिन्। आकाशमार्ग हुँदै रावणले सीताहरण गर्दा अगाडि आएका जटायुलाई घाइते बनाई अशोक वाटिकामा पुर्‍याउँछ र अर्धाङ्गिनी बनाउन अनेक तिगडम चाल्नथाल्छ। सीताको सतीत्व डगमगाउन ऊ सफल हुँदैन। मन्दोदरी र त्रिजटाको कोमल वाणीले सीतालाई केही राहत पुग्छ।सीताको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तयार गर्छन्। रामद्वारा पठाइएका दूत हनुमानलाई देख्दा उनी दङ्ग पर्छिन्। सीता सतीसाध्वी भएकीले हनुमानको पीठमा बसेर पतिछेउ पुग्न अस्वीकार गर्छिन्। राक्षसद्वारा पुच्छरमा आगो लगाइएपछि हनुमानलाई लङ्कादहन गर्ने अवसर प्राप्त हुन्छ। रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ। मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन्। सन्तस्वभावका विभीषणलाई लङ्काको राजा बनाइन्छ।

सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन्। अग्निपरीक्षामा सीता निष्कलङ्क ठहरिएपछि आफ्नो पतिका साथ पुष्पक विमानद्वारा अयोध्या पुग्छिन्। लोकापवादले त्यहाँ पनि उनलाई छाड्दैन। रामले सीतालाई पुनः वनबास पठाउँछन्। गर्भवती सीतालाई महषिर् वाल्मीकिको आश्रय प्राप्त हुन्छ। यहीँ उनले लव र कुश सन्तान जन्माउँछिन्। रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन्। सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन्। दरबारमा यी बालकले रामायण सुनाउँदा राम विहृवल हुनपुग्छन्। आफ्नो छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन्।

अन्तर्ध्यान (स्वर्गाहरण)[सम्पादन गर्ने]

सीता धर्तीको गर्भमा प्रवेश गर्छिन्।

वाल्मीकिको आश्रममा पुगेर सीतालाई अयोध्या र्फकन भन्छन् तर त्यसपूर्व सतीत्वको किरिया खान आग्रह गरिएपछि सीता ज्यादै द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार्छिन्, धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन्। यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीमा कथा समाप्त हुन्छ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ। पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्शनारी कोही देखिँदैन। सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ-उनलाई भगवतीको दर्जा प्राप्त छ। उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ। जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि महागौरवको कुरो हो।

चित्रावली[सम्पादन गर्ने]

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]

विवाह पञ्चमी

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. भानुभक्तीय रामायण
  2. बाल्मिकी रामायण

यो पनि हेर्नुस[सम्पादन गर्ने]