माघे सङ्क्रान्ति
विषयसूची |
[सम्पादन गर्ने] परिचय
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो।सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ| यो दिन देखि सूर्य दक्षिणि गोलार्दबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु रतरूल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरू, पुरोहित र ब्राहृमण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरू, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरूल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।
माघे मासि महादेव यो दाद घृतकंबलम।
स भुक्त्वा सकलान भोगान अंते मोक्षं च विदन्ति॥
भावार्थ :मकर संक्रान्ति का दिन धिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ|मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्दभावको आधारमा पनि पुष्टि गर्न सकिन्छ|
महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए|त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ|
[सम्पादन गर्ने] नेपालमा माघे संक्रान्ति
[सम्पादन गर्ने] उपत्यका
यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गरिन्छ। तिलमाधव नारायणको मन्दिरमा चढाइएको ध्यू सन्तान नभएका महिलाले नुहाई-धुवाई र शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास छ। माघे संक्रान्तिका दिन नारायणको मूर्तिभरि ध्यू दलेर तील चढाउने र उक्त ध्यू-तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ।
[सम्पादन गर्ने] पूर्वी नेपाल
माघे संक्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन्। संक्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ। कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरेको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलीगुढी, दार्जीलिङ र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काईमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन्।
यसैगरी माघे संक्रान्तिका दिन इलामको माइबेनीमा मेला लाग्छ। उक्त मेला वि. सं. १९५० देखि इलामका तत्कालीन बडाहाकिम हर्कजङ्ग थापाको पालादेखि लाग्दै आएको स्थानीय बुढापाका बताउँछन्। शुरूशुरूमा महिनौ दिन लाग्ने उक्त मेला केही वर्षयता खस्कँदै गएको छ। सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्रचीन र भारतका व्यापारीसमेत मेलामा आई पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्व छ। उक्त मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनीजस्ता परम्परागत नृत्य हेर्न पाइन्छ।
[सम्पादन गर्ने] तराई
यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले 'तिला संक्रान्ति' पर्वका रूपमा मनाउँछन्। यस पर्वमा परिवारका अग्रज र आमा-बाबुबाट आफ्ना सन्ततिलाई सख्खर र तील खुवाई बुढेसकालमा सेवा गर्नुपर्ने बचन सन्तानबाट लिने गर्छन्। खिचडी, तील र च्यूराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ। यी परिकार सर्वप्रथम घरका देवदेवीलाई पूजापाठ गरी चढाइन्छ। मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वमा बेग्लाबेग्लै लोककलाको प्रदर्शनी र चित्रांकन गर्ने कार्यअन्तर्गत माघे संक्रान्तिका दिन बिहानै भक्तजनले चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ-आफ्नो घर-आँगनमा कमलको फूलजस्तै शृङ्गार गर्छन्। कतिपय धर्मावलम्बी बिहान नुहाएर भगवतीको उपासना पनि गर्छन् भने कतिपयले भगवतीको प्रतिमा तेल, चामल, सख्खर चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ। यसरी मान्यजनबाट तिल र चामल लिएर उनीहरूप्रति श्रद्धा तथा आस्थाको भावना प्रकट गरिन्छ। धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ। यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई 'खिचडी पर्व' पनि भनिन्छ। यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ। ब्राह्मण दानका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ। यस पर्वमा तिल तथा च्युराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई 'तिलवा च्युरा' पनि भन्ने चलन छ। यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै, मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ। कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन्। उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि गर्ने परम्परा रहिआएको छ। खासगरी मैथिली महिलाका लागि 'तिला संक्रान्ति' पर्वको अझ बढी महत्वको छ। यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले 'तुसारी पर्व' प्रारम्भ गर्छन् भने विवाहित महिला 'पृथ्वी पर्व' प्रारम्भ गर्छन्। नवविवाहित दुलहाको घरबाट दुलहीको घरमा यस पर्वमा तिल वा च्युराको कोसेलीका साथै जाडोमा लगाउने वस्त्र आउने परम्परा रहिआएको छ। यस प्रथालाई मैथिलीमा 'जडाउर' भनिन्छ। यसबाट दुई परिवारबीच सौहार्दता, पारस्परिक सहयोग एवं सद्भाव वृद्धि हुने गरेको छ। आयु, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्ष आउने तिला संक्रान्ति पर्व हर्षोल्लासको वातावरणमा सम्पन्न हुन्छ। धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउ खिचडी खान्छन्। पुस महिनासम्ममा तिल, सख्खर पूर्णरूपले उत्पादन भइसक्नु र उक्त उत्पादित वस्तुबाट यो पर्व मनाउनुको अर्थ कृषि र संस्कृतिबीचको अभिन्न एवं अविभाज्य सम्बन्ध रहेको बुझिन्छ।
[सम्पादन गर्ने] पश्चिम नेपाल
चर्चित माघे संक्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिन लाग्छ। धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी संक्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो। मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ। कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गएबराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन्। ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण तानसेन बजारदेखि ३६ किलोमिटर दक्षिण-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै पुरानो ऋषिकेश मन्दिर छ। रूरू क्षेत्र कृषकका लागि आवश्यक सामग्री दरी, काम्ला, ठेकी आदि किनबेच गर्ने व्यापारिकस्थलका रूपमा पनि परिचित छ।
[सम्पादन गर्ने] देवघाट
देवघाटमा हरेक वर्ष लाग्ने मकर सक्रान्ति मेला बाँसको लिङ्गो गाडेर शुभारम्भ गरिन्छ। भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्व बोकेको देवघाटमा माघे सक्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ। धार्मिक र पर्यटकीय महत्व बोकेको देवघाटमा दुई दिन वा तीन दिन मेला लाग्छ। मेलासँगै गलेश्वर आश्रममा लक्ष्य हवन गरिन्छ। यसैगरी प्रसिद्ध धार्मिक तिर्थस्थल सुनसरीको बराहक्षेत्रमा माघे संक्रान्तिका बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधनासँगै आफ्ना पितृको सम्झनामा सत् वीज छर्ने गर्छन्। हिन्दू धार्मिक विश्वासका आधारमा उक्त दिन मकर नुहाई सात थरीका अनाज मिश्रण गरी बिहानै शुद्ध जलले शरीर स्वच्छ बनाई शिवालयमा सत् वीज छरी पितृका नाममा अर्पण गर्नाले पितृले मोक्ष पाउने विश्वास गरिन्छ।
[सम्पादन गर्ने] थारू समुदाय
यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ।
[सम्पादन गर्ने] मगर जाति[१]
नेपालका मगर जातिहरू बीच माघे संक्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ|
मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरु गर्छन्।वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन्। अबेर वन-तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।
[सम्पादन गर्ने] पहिलो दिन
माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल-कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई 'निस्रो'ले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई 'निस्रो' भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ-ठाउँमा पुगेका दिदीबहिनीलाई 'निस्रो' बाँड्दै घर-घरमा पुग्छन्।
[सम्पादन गर्ने] दोस्रो दिन
- दोस्रो दिन युवतीहरू 'माघ खान' (वनभोज जस्तै) समूह-समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन्। दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५/६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन्। गाउँमा धान नहुने भएर पनि होला, चामलको भात 'चिज' हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन्। कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै 'माघ खान' गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन्।
दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर 'होम्पई' (परम्परागत जातीय नृत्य) नाच्छन्। यसमा डोकोलाई सारी-चोलो लगाइदिएर पोते-तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ। होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन्। जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन्। मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन्। युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको 'पैसारु/पैचारु' नाच सुरु हुन्छ। यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाच्ने गरिन्छ। युवा सिकारुहरूले नाइकेलाई पछ्याउँदै पैचारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाएर उत्साहित पार्ने पनि गरिन्छ।
[सम्पादन गर्ने] अन्तिम दिन
- माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर 'तारो हान्ने' चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिह्नलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिह्नमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स-साना केटाकेटी जम्मा भएर घर-घरमा गई 'बासी आन्द्रा पाई कि नपाई' भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ। यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा 'माघे सङ्क्रान्ति' हर्षोल्लासपूर्वक मनाइन्छ।