दैलेख जिल्ला
| दैलेख जिल्ला | |
| अञ्चल: | भेरी अञ्चल |
|---|---|
| सदरमुकाम: | नारायण नगरपालिका |
| क्षेत्रफल: | १५०२ वर्ग कि.मि. |
| जनसंख्या: | २६१७७० (२०६८)[१] |
| गाविस संख्या: | ५५ |
| नगरपालिका(हरू): | नारायण नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबै भन्दा अग्लो स्थान: | ४१६८ (महाबुलेक) मिटर |
| सबै भन्दा होचो स्थान : | ५४४ (डुङ्गेश्वर) मिटर |
| प्रमुख जातिहरू: | क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ्ग (१.४३५) आदि |
| प्रमुख भाषाहरू: | नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५), अन्य (०.५६५) आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८९ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् ।
इतिहास [सम्पादन गर्ने]
दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ । [२] जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । [२] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। [२] दैलेख जिल्लाले २००७ सालको क्रान्तीमा पश्चीम नेपालको लागी अग्रीम स्थान हासिल गरेको छ। तत्कालीन भुमीगत नेपाली काँग्रेसका दैलैख छिउडीका शेर सिंह खड्काले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पच्शिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमा उल्लेख गरिएको छ। २०३६ को जनमत संग्रहमा र २०४६ जन आन्दोलनमा पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पुर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क. चिदानन्द स्वामी जस्ता अधिकांश नेताहरूले साथ दिएका थिए। त्यस्तै २०६३ को जन आन्दोलनमा पनि माथी उल्लेखित व्यक्तिहरूका साथै केही नयाँ नेताहरू जस्तै:- थिर ब. कार्की, रत्नेश श्रेष्ठ, कृष्ण बी.सी. राज ब. बुढा, राम प्रसाद जैसी आदी नेताहरूले साथ दिएका थिए। हाल सम्म यो जिल्लाबाट सांसदमा निर्वाचीत भएर प्रतिनिधित्व गर्ने व्यक्तीहरूको विवरण यस प्रकार छ।
- १- राष्ट्रिय पंचायत सदस्य (२०४६ अघाडी)
- कर्ण ब. सिंह
- केशव ब. शाह (२ पटक)
- डा.प्रेम ब. शाही
- गगन ब. शाही
- २- प्रतिनिधी शभा सदस्य (२०४६ पछाडी)
- गणेश ब. खड्का (प्र. स. स. निर्वाचन क्षेत्र नं. १ चार पटक)
- रंग ब. शाही ((प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
- बिनोद कुमार शाह (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
- शिव राज जोशी (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
- राज ब. बुढा (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
- रत्न बहादुर बि.क. (रा.स.स.)
- रंग नाथ जोशी (रा.स.स.)
- कुन्ती शाही (शभासद)
- जग्य ब. शाही (शभासद)
- भरत रेग्मी (शभासद)
माथी उल्लेखित व्यक्तीहरूमा केशव ब. शाह, गणेश ब. खड्का, बिनोद कुमार शाह र शिव राज जोशी नेपालको मंत्री परिषदमा मंत्री बनेका छन्।
नामाकरण [सम्पादन गर्ने]
यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तिहरू पाइन्छन् [२]
- पौराणिक कालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट "दधिलेक" नाम रहन गएको र पछि अपभंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको
- यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंस हुदै दैलेख नामाकरण हुन गएको
- यहाँ प्रशस्त मात्रामा दहि-दुध पाइने भएकाले "दहिलेक" भनिदै गइ पछि दैलेख नाम रहन गएको
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षांस: २८.३५" देखि २९.८" उत्तर
- देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमा
- सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
- क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
- होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
- अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)
भूगोल [सम्पादन गर्ने]
राजनैतिक हिसावले यस जिल्लालाई ५५ गा.वि.स., १ नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- [२] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:[२]
- नदी निर्मित तट (५४४–१०००मि.),
- मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
- महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)
यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवम् बस्ती केन्द्रित छ। [२]
प्रशासनिक विभाजन [सम्पादन गर्ने]
- निर्वाचन क्षेत्र संख्या=२
- इलाका क्षेत्र संख्या=११
दैलेख जिल्लामा जम्मा ६० वटा गा.वि.स.हरू थिए। ५ वटा गा.वि.स.लाई जोडेर नारायण नगरपालिका बनाइएको छ। हाल यस जिल्लामा ५५ गाविस र एक नगरपालिका रहेका छन्।
पर्यटन [सम्पादन गर्ने]
जिल्लाको मध्यपश्चिम हुदै बग्ने छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा र रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्म, सातखम्म, पटङ्गेनी दरबार लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकिय स्थानहरू हुन्![२]
अर्थतन्त्र [सम्पादन गर्ने]
आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ। [२] यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू यस प्रकार रहेका छन्।:-
- दैलेख बजार
- चुप्रा
- नौमूले
- तल्लो डुङ्गेश्वर
- माथिल्लो डुङ्गेश्वर
- बेस्तडा
- डांडीमाडी
- दुल्लु
- टुनीबगर
- राकम कर्णाली
- लकान्द्रा
- रामाघाट
- धरम पोखरा
- गुरांसे
- खम्बगाडे
- खिडकी जिउला
पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण [सम्पादन गर्ने]
मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्ट स्थान कायम गरेको जिल्ला हो जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र खस सभ्यताले सृजना गरेका पुरातात्यिक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति विविधता भित्र रमाउने चाहना राजनैतिक सामाजिक आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यकता पर्दछ। नेपालको ऐतिहासिक धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनैतिक दलका प्रमुख तथा कार्यकर्ताहरू सरकारी निकायहरू विकासका साझेदार संस्थाहरू गै।स।स सचेत नागरिक समाज नीजि क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ
दैलेख जिल्लामा उद्गम भएका विभिन्न जातीहरू [सम्पादन गर्ने]
दैलेख जिल्लालाई विभिन्न जात जातीहरूको उद्गम स्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै :-
- दुल्लूबाट दुलाल
- बासीबाट बस्याल
- बडबाट बराल(बडाल)
- लम्जीबाट लम्जेल
- नेपाबाट नेपाल
- लामीछानीबाट लामिछाने
- लयाँटीबाट लुईँटेल
- भुर्तीबाट भुर्तेल
- दवडाबाट दवाडी
- पराजुलबाट पराजुली
- दहबाट दाहाल
- कट्टीबाट कट्टेल
- रिजुबाट रिजाल
- हुमेगाउँबाट हुमागाई
- लम्सुबाट लम्साल
इत्यादी ठाउँहरूबाट माथि उल्लेखित जातीहरूको उद्गम भएको मानिन्छ । माथी उल्लेखित जातीहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्।
दैलेख जिल्लाका पर्यटकिय स्थानहरू [सम्पादन गर्ने]
दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकिय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ । नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लु स्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ । साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानि पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ । प्राचिन मत अनुसार डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ । यस्तै बैकको लेकलाई महाभारत र रामायणमा बर्णन गरिएको द्रोणाचल पर्बत मानिएको छ । यस्ले पनि दैलेखको महत्व बढाउने देखिन्छ।
दैलेख जिल्लाका संपदा तथा प्रमुख जडीबुटीहरू [सम्पादन गर्ने]
विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरूको खानी मानिन्छ।
प्राकृतिक सम्पदाहरू [सम्पादन गर्ने]
- मदानताल (बिशाला)
- नाके गुफा (बिशाला)
- रामगाड
- भुतगाड
- कर्णाली नदी
- लोहोरे खोला
- छामगाड खोला
- पादुका खोला
- द्वारी झरना
- खरिगैरा झरना
- लाँकुरी झरना
- कुशापानी झरना
- खुनगाड खोला
- कानेगाड खोला
धार्मिक सम्पदाहरू [सम्पादन गर्ने]
- बुकि माईको थान
- भुवान थान
- पञ्चकोशी पञ्चकोशीमा शिरस्थान नाभिस्थान पादुका धुलेश्वर र तल्लो डुंगेश्वर पर्दछन् ।
- कोटिलास्थान
- नारायण मन्दिर ना. न. पा.
- वेलाशपुर मन्दिर
साँस्कृतिक सम्पदाहरूः देवलहरू [सम्पादन गर्ने]
- भूर्तिमा रहेका
- रावतकोटमा रहेका
- भैरबी
- रानीबन
- अन्य विभिन्न गा।वि।स।मा छरिएर रहेका देवलहरू
- किर्ति खम्ब शिलालेख दुल्लु
- दुल्लु दरबार पटांगिनीका देवल तथा अभिलेखहरू
- दामुपालको शिलालेख
- सातखम्ब गमौडी
- प्राचिन दुल्लुकोट
- दैलेख बजारको कोतगडी
- दैलेख बजारको भैरब मन्दिर्
पर्यटकीय दृष्टिकोणले माथि उल्लिखित सबै जसो सम्पदामा सडकको पहुँच छ। हिउँदमा सवारी साधनबाट यात्रा गर्न सम्भव छ। यी सम्पदा सम्मको पहुँचकालागि जिल्ला विकास समिति र गाऊँ विकास समितिहरूले निरन्तर लगानी गरिरहेका छन्। जति पहुँचकालागि सडकमा लगानी भएको छ त्यसको तुलनामा ती सम्पदाको संरक्षण र सम्बर्धनमा लगानी हुन सकिरहेको छैन भने स्थानीय समुदायलाई पनि यसको महत्वको विषयमा बुझाउन नसकिएको कारण अमूल्य सम्पदाहरू जीर्ण अवस्थामा पुगेका छन्।
यसको दिगो संरक्षण र संबर्धनका लागि के गर्नु पर्ला त ?
- प्राकृतिक संपदाको संरक्षणका लागि विकास कार्य गर्दा विशेष ध्यान पुगाउने।
- वातावरणीय विनास रोक्ने।
- धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीय समुदायलाई यसको महत्वको विषयम आत्मबोध गराउने।
- जनजागरण कार्यक्रम मार्फत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि मर्मत संभारलाई विशेष जोड दिने।
- यी सबै सम्पदाको दिगो विकास र संरक्षणका लागि ब्यवसायिक रूपमा विकास गरी पर्यटकहरूको आकर्षण गर्न दैलेख भन्दा बाहिरका तर संभाव्य क्षेत्रहरू जस्तैः कोहलपुर सुर्खेतमा विभिन्न माध्यमबाट सम्पदाहरूको प्रचार प्रसार गर्ने।
- विशेष पर्यटकीय क्षेत्रका रूपमा पंचकोशी भूर्तिका देवल र वेलाशपुरलाई विकास गर्ने।
- हॊटल व्यवसायीलाई अतिथि सत्कार र खानाको विविधिकरणका लागि जागरुक गराउने।
- यस्ता पर्यटकीय क्षेत्रमा पुग्ने सडकमा अझबढी लगानी गरी यसलाई बाह्रै महिना चल्ने बनाउने।
- सार्वजनिक निजी साझेदारी अन्तरगत पर्यटन पूर्वाधारमा लगानी गर्ने।
यसरी माथि उल्लिखित कार्यहरू योजनाबद्ध तरिकाले गरेमा हाम्रा प्रकृति र पूर्वजले सुम्पिएका धरोहरलाई जिल्लाको आम्दानीको श्रोतको रूपमा उभ्याउन सकिने अवस्था छ। छालाको लागी प्रख्यात भनेर चिनिने दैलेख जिल्लाको अधिकांस भूभाग जंगल क्षेत्रमा पर्दछ यहाँका जंगलमा बाघ, भालु, स्याल, चितुवा, दुम्सी, लोखर्के, खरायो, मलसाँप्रो, फ्याउरो, रतुवा, बँदेल, बाँदर, घोरल, कस्तूरी मृग, थारल, सर्प आदी जंगली जनावरका साथै कालिज, लोइचे, परेवा, ढुकुर, भँगेरा, काग, कोइली, चिल, गौँथली जस्ता हजारौं जंगली चराहरू पाईन्छन्।
जनसंख्या [सम्पादन गर्ने]
यो जिल्लाका मुख्य जनजाति यस प्रकार छन्: खस क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ् (१.४३५), जैसी आदि जातीहरू यो जिल्लामा बसोवास गर्दछन् भने नेपालमा अहिले सम्म आदीवासीको रूपमा चिनिने राउटेहरू पनि यो जिल्लामा कहिले काहीं अस्थाइ रूपमा बसेको पाइन्छ। [२] यो जिल्लाको प्रमुख भाषाहरू नेपाली(९८.९८५), गुरुङ्ग/मगर (०.४६५) र अन्य (०.५६५) हुन्। [२] धार्मिक रूपमा यो जिल्लामा हिन्दू धर्म(९८.३२५), बौद्ध धर्म (१.४५५), इस्लाम धर्म(०.०८५), अन्य (०.१५५) धर्मावलम्बी छन्। दैलेख जिल्लावासीहरू व्यापार व्यवसाय र नौकरी पेशा गरे पनि अधिकतर कृषि पेसा अपनाउछन्। यो जिल्लाका कृषकहरू मुख्य रूपले पशुपालनमा भैंसीपालन, गाईपालन, बाख्रापालन कुखुरापालन, मौरी पालन, बंगुरपालन, तथा खेती पातीमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर जस्ता अन्नबालीको खेती गर्दछन् भने आलु, पिँडालु, फर्सी, काँक्रो, भंटा, काउली, मुला, गोल भेंडा जस्ता तरकारी खेतीका साथै अलैंची, अदुवा, उखु, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी आदी नगदे बालीको खेती गर्दछन्। फलफूल खेतीमा दैलेख जिल्लामा स्याउ, नास्पती, आरु, ओखर, सुन्तला, केरा आदी फलफूलको खेती गरिन्छ। यसका साथै यहाका कृषकहरू मास, मुसुरो, सिमी, भटमास, चना, केराउ जस्ता दालको खेती गर्दछन्।
संस्कृति [सम्पादन गर्ने]
दैलेख जिल्लामा थरी थरीका जात जातीका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतीमा धेरै भिन्नता पाइन्छ। अलग अलग जात जातीका मान्छेहरू सबैले आफ्नो आफ्नो रिती रिवाज अनुशार आफ्नो आफ्नो परम्पराले मनाउदै आएका चाड पर्वहरू मनाउने गर्दछन्। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच पैंसेरी नाच, हुड्के नाच, फुर्का नाच, आदीको सुन्दर झलक देख्न पाइन्छ। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरू यस प्रकार रहेका छन्।
- दशैं
- तिहार
- माघे संक्रान्ति
- जनैपूर्णिमा
- तीज
- गाइजात्रा
- कृष्णाष्टमी
- फागु पूर्णिमा
- शिवरात्री
- चैते दशैं
- स्वस्थानी
- भस्सि जात्रा
- भैले जात्रा
- भैनी
- पुष पन्ध्र
- गल्लौडी
- मालिका चतुर्दशी
- रोपाईं जात्रा
- सोह्र श्राद्ध
माथी उल्लेखित प्रमुख चाडपर्वहरूका साथै विभिन्न जनजातीहरूले अन्य थुप्रै आफ्नो आफ्नो परम्परा अनुशारका चाडपर्व तथा उत्सवहरू मनाउछन्। यस्ता चाडपर्वमा यहाँ खानपान नाचगानका साथै फुटबल, भलिबल, बुद्धिचाल, दौड प्रतुयोगीता जस्ता खेल तथा अन्य कार्यक्रमहरूको आयोजना पनि गरिन्छ। तिहारको बेला यहाँ तास खेल्ने चलन पनि रहेको छ।
श्रोत [सम्पादन गर्ने]
|
||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||