प्युठान जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्युठान जिल्ला
Pyuthan district location.png
अञ्चल: राप्ती अञ्चल
सदरमुकाम: खलङ्गा,
क्षेत्रफल: १,३०९ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ४९
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 


प्युठान जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रराप्ती अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँचीगुल्मी , पश्चिममा रोल्पादाङ, उत्तरमा बाग्लुङरोल्पा र दक्षिणमा अर्घाखाँचीदाङ जिल्ला रहेका छन।

समुन्द्र सतहवाट ३०५ मीटर देखि ३६५९ मीटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ। विश्वमान चित्रमा प्युठान जिल्ला २७ डिग्री ५२ मिनेट देखि २८ डिग्री २१ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ३६ मीनट देखि ८३ डिग्री ३६ मीनट पूर्वी देशान्तरमा अवस्थित छ। यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलीएको छ।यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ।

राजनैतिक विभाजन अनुसार २ निर्वाचन क्षेत्र , ११ इलाका, ४९ गाविसमा विभाजित यो जिल्लामा जनमोर्चा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव रहेको पाइन्छ।

विषयसूची

नामाकरण[सम्पादन गर्ने]

प्यूठान शव्दको उत्पति बारे मतैक्यता पाईदैन। कर्कपेट्रीकले प्रार्थाना (पूरथाना)बाट अपभ्रंश हुदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना बाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन। अर्थात - प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको हो। पृथ्वीनारायण शाहले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ। सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।

जिल्लाको इतिहास[सम्पादन गर्ने]

प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ आदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४ औं शताब्दी सम्म रहयो। पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए। यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ। विक्रम संवत १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिए। खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ।

मोती चन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकिकृत अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ। प्यूठानको सर गरि सकेपछि खुँग्री र उदयपुरका शासकहरू नेपाल नरेशको छत्रछायाँमा रजौटाको रूपमा रहे। खुग्री र उदयपुरका राजालाई राज्य रजौटाको ऐन २०१७ले आजीवन राजाको पदवी प्रदान गरेको थियो।

२०१९ साल पूर्व प्यूठान भित्रीकोट नारीकोट उदयपुरकोट माडी खोला कालाशेष र बाईसखुवा गरी ६ थुममा विभाजित भएकोमा २०१९मा कालाशेष र वाईसखुवा रोल्पामा गाभिए।

पश्चिम विजय अगाडिको प्यूठानको राजनैतिक स्थिति[सम्पादन गर्ने]

प्यूठान चौबिसे राज्य अन्तरगतको एउटा शक्तिशाली राज्य थियो। पृथ्वीनारायण शाहको नेपाल राज्यको स्थापना पश्चात पश्चिमको चौबिसे राज्यलाइ नेपाल राज्यमा गाभ्नु अगाडि प्यूठानको मुख्य राज्य र राजाको रूपमा भित्रिकोटमा चन्द वंशीय राजालाइ लिइन्छ। प्यूठानलाइ १४००० प्यूठान भन्ने चलन पनि थियो। प्यूठानलाइ नेपाल राज्यमा गाभ्न पाल्पा राज्यको सन्धिले सहयोग गरेको देखिन्छ। हालको‍ सदरमुकाम खलंगालाइ नेपाली फौजीले आफ्नो केन्द्र बनाएको कुरा देखिन आउछ। भित्रिकोटका अन्तिम राजा रुद‍ प्रताप चन्द हुन। नेपाली फौजीका प्रधान सेनापति काजी दामोदर पाण्डे , काजी जगजीत पाण्डे, तथा सरदार फौजी सिंह र वादल सिं थापाले नोभेम्वर १७८६ इश्वी सन ( कार्तिक १९, १८४३ वि. सं.)मा भित्रिकोट राज्यलाइ नेपालमा मिलाएका थिए।

नेपाल राज्यमा गाभिएपछिको प्रशासनिक स्थिति[सम्पादन गर्ने]

लडाइ सकिएपछि यस क्षेत्रको प्रशासनिक कार्यहरू मिलिसिया सैनीक प्रमुखबाट चलेको देखिन्छ हालको सदरमुकाम रहेको सम्पूर्ण क्षेत्र सेना नियन्त्रणमा थियो। खलंगामा मिलेसिया सैनिक आवास बाहेक पहिलो मन्दिर खलंगा ४ स्थित श्री रामेश्वर महादेवको मन्दिर हो। जंगबहादुर राणाका बाजे रामकृष्ण कुंवर मेगजिन स्थापनाको सिलसिलामा प्यूठान आउदा सन १७७१ मार्च २१मा प्यूठान मै मृत्यु भएको थियो। रणजित कुंवरबाट नै महादेवको मन्दिर आफ्नो बुबाको सम्झनामा स्थापना गरेको देखिन्छ। पछि जंगबहादुर राणा श्री ३ भएपछि रणोद्धिप सिंहको आज्ञा अनुसार आफ्नो वाजेले प्यूठान खलंगामा बनाइ वक्सेको श्री रामेश्वर महादेव मन्दिरमा २ धार्नीको घण्ट चढाइ दिनु भन्ने हुकुम भए अनुसार तत्कालीन मेगजिनका कप्तान घोलक सिं वस्न्यातले वि.सं. १९२४ कार्तिक १४ रोज १मा चढाएको पाइन्छ।

त्यस्तै खलंगग ४ स्थित सम्बत १८६१मा बनेको अर्को घर पौवा हो। पछि हाल माल कार्यालय अगाडिको भिमसेनको मन्दिर बनेको देखिन आउँछ। मन्दिरको निमार्ण सम्बत १८८२मा भएको कुरा मन्दिरमा रहेको शिलापत्रमा उल्लेख छ। भिमसेनको मन्दिर संभवत: न्यायिक शक्तिको लागि, मिलियासको शक्तिको रूपमा स्थापना गरिएको अड्कतल गर्न सकिन्छ। श्री रामेश्वर महादेव मन्दिरको स्थापना संगै खलंगा ४ स्थित श्री गणेशको मन्दिर पनि रणजीत कुंवरले स्थापना गरेको देखिन्छ। उक्त गुठी पत्रमा उल्लेख भए अनुसार रणजीत कुंवरले रामेश्वर महादेव १, श्री दुर्गा ज्यू १ र श्री गणेश २ स्थापना गरेको पाइन्छ र राजा सुरेन्द्र विक्रम शाहबाट थप गुठी बक्सेको कुरा उल्लेख नभएकोले व्यारेकमा रहेको दुर्गा भगवती हो कि भन्ने कुरा आउछ। (हाल प्यूठान खलंगा गुल्ममा रहेको दुर्गा भगवतीको पूजा आजाको लागि दल कम्पनीबाट नै सामाग्री खर्च प्राप्त हन्छ)। साथै तुषारा प्यूठानमा रहेको गुठी जग्गाबाट तिरो प्राप्त हुने हुदा सोहि दुर्गा भगवति भएको कुरा देखिन आउछ। मन्दिरको पूजा (आजाको लागि प्यूठान मेगजिनका कृष्ण नेवारलाइ सम्बत १८८२मा श्रावण ८ गते पुजारी तोकी बक्सेको लालमोहरमा उल्लेख गरेको पाइन्छ। संम्भबतः त्यस्तै बेला देखि खलंगा, प्यूठानमा नेवार जातीको बस्ती शुरु भएको तथ्य पनि अगाडि आँउछ। खलंगा ४मा रणजीत कुंवर मार्फत बनेको रानी पौवाको सञ्चालनको लागि सम्बत १८६१ भाद्र ३ रोज ६मा नब्बे मुरी खेत लालमोहर गरि बक्सेको छ।

प्यूठान खलंगा सामरिक महत्वको मात्र ठाउँ नभएर लडाइको लागि आवश्यक पर्ने वारुद, बन्दुक, तोप आदि बनाउने प्रमुख केन्द्रको रूपमा रहेको पाइन्छ। यहाँ दिनको १ नाल तयारी बन्दुक बनाउने मेगजिन थियो। मेगजिन इ. १७८६ तिर बहादुर शाहले स्थापना गर्न लगाएका थिए। मेगजिनका प्रमुख मिस्त्री शिवलाल नकर्मी भक्तपुरका थिए। उनका पुस्तौनि मिस्त्री अम्बर प्रसाद नकर्मी समेत प्यूठान गौडा अन्तरगत रहेको मेगजिनमा २०१८ साल सम्म कार्यरत रहेको देखिन्छ। वि.सं.१८७१ देखि १८७३मा अंग्रेज नेपालको विचमा युद्ध हुंदा प्यूठानको फलाम प्रयोग गरी संगिन तोप वनाएको कुरा पाइन्छ। २०१६ साल सम्म हाल खलंगा प्यूठानमा रहेको व्यारेक क्षेत्रमा हजारौं मुरीको वारुदको भण्डार थियो। त्यस्तै बिजुवार गा.वि.स. पुण्यखोलाको सैनिक क्षेत्रभित्र लगभग ५ हजार मुरी वारुदको भण्डार थियो। खलंगा प्यूठानको जिल्ला कार्यालय देखि प्रहरी कार्यालय सम्मको सबै माटो, कालो देखिनु वारुद तोप बनाउने कारणले हुन सक्छ। यहाँ प्रशस्त मात्रामा बन्दुक तथा पचासौं संख्यामा तोपको नाल थियो। वि.सं. १९१५ सालमा कप्तान धोलक सिं वस्न्यात मार्फत प्यूठान मेगजिनमा बनाएको १४६ धार्नीको बम अद्यापि खलंगा प्यूठान (व्यारेक)मा सुरक्षित छ। यस प्रकार खलंगा प्यूठानमा पश्चिम विजयको लागि र अंग्रेजसंगको युद्धको निमित्त आवश्यक वारुद, शस्त्र निमार्णको केन्द्र र भण्डार समेत भएको स्पष्ट हुन्छ। प्यूठानको पश्चिमको विजयमा भवानी वक्स गुल्म, श्री नाथ, रामदल, नयाँ श्री नाथ आदि कम्पनीले लडाइमा भाग लिएको देखिन्छ।

मिलेसिया सैनीकले गुरुजुपल्टनको जस्तो कालो भोटो, सुरूवाल र कालोफेटा प्रयोग गरेको पाइन्छ युद्ध सामाग्रीको निर्माण स्थल तथा भण्डार र मिलिसिया सैनिकको वसोवास मात्र रहेको खलंगामा प्यूठानमा लडाइ पछि अस्थायी रूपमा झुपडी बनाइ बन्द व्यापारको लागि आइ बसेको, नेवार जातिका महाजनहरूलाइ अस्थायी घरलाइ पक्की स्थायी घर बनाउन आवश्यक हुदैं गएपछि पक्की घर बनाइ बजार विस्तार गरी पाउँ भनी सम्बत १८९०मा काजी कीर्तिध्वज पाण्डे मार्फत र सम्बत १८९७मा सर्दार रणभद्र वस्न्यात मार्फत महाराजाधिराजमा जाहेर हुँदा अमालिबाट झिगटी ल्याइ आफु बस्ने घर पक्का बनाउन इजाजत प्राप्त भएको र सो बेला सबै काम मिलिसिया सैनिक प्रमुखबाट हुने गरेको देखिन्छ। नेपालमा जंगबहादुर राणाको उदय पछि २००७ साल भन्दा अगाडि सम्म यो जिल्ला पाल्पाको कमाण्डीङ अन्तरगत पर्दथ्यो। त्यसै बेला जिल्लालाइ प्रशासकीय रूपमा ६ थुनामा बांडीएको पाइन्छ।

जनसंख्या विवरण[सम्पादन गर्ने]

वि.स. २०५८ सालको राष्ट्रिय जनगरणा अनुसार यस जिल्लाको कुल जनसंख्या २,१२,४८४ रहेको छ। जसमध्ये १,१४,०९४ जना महिला र ९८,३९० जना पुरुष छन। कुल ४०,२६३ घरधुरी रहेका छन। सरदर परिवार संख्या ५.२८ जना र जनघनत्व २.१२ प्रति वर्ग कि.मी. तथा हालको जनसंख्या वृद्धिदर २.१२ प्रतिसत रहेको छ।

मुख्य वोलिने भाषाहरू[सम्पादन गर्ने]

जिल्लामा मातृभाषाको रूपमा वोलिने मुख्य भाषाहरूमा नेपाली १,९०,१७३ जना ( ८९.५ प्रतिशत ), मगर १९,१२४ जना ( ९ प्रतिशत ), नेवार ३१८७ जना ( १.५ प्रतिशत ) रहेका छन।

जनजाती विवरण[सम्पादन गर्ने]

जिल्लामा सवभन्दा धेरै मगर/गुरुङ जाती ६६१६७ जना (३१.१४ प्रतिशत) रहेका छन। त्यसपछि क्षेत्री ५१,७४० जना ( २४.३५ प्रतिशत ), वाहुन २८,३०३ जना (१३.३२ प्रतिशत), सुनार कामी २७,९४२ जना (१३.१५ प्रतिशत ), अन्य ३८,३३२ जना ( १८.०४) रहेका छन।

जनजीवन[सम्पादन गर्ने]

धार्मिक हिसावले यहाँ मुख्यतया हिन्दुहरू वढी छन। वौद्ध इस्लाम, धर्म मान्नेहरू पनि केही मात्रामा पाइन्छन्। जातीगत रूपमा क्षेत्री, वाहुन, मगर, गुरुङ, नेवार, सार्की, गाइने, वादी, कुमाल, धामी आदी जातका मानिसहरू एउटै घर्म भाषा सं‌‌स्कृती भित्र रहेर विभिन्न समूहमा वसेका छन। सामान्यतया लेक, डाँडाकाँडामा मगर, गुरुङ, वेशी समथर उर्वरा भूमीमा क्षेत्री, वाहुन, कामी, सार्की र व्यापारिक नाका केन्द्रहरूमा नेवारहरूको वस्ती वढी छ।

यातायात[सम्पादन गर्ने]

पूर्व पश्चिम राजमार्गको भालुवाङवाट पूर्व उत्तर दरवान, वडडाँडा, चकचके, विजुवार, वाग्दुला हुदै सदरमुकाम खलंगा जाने ७२ किलोमीटर सडक बर्षभरी नै वस सञ्चालन हुने पक्की वाटोको रूपमा निर्माण भैसकेको छ। चकचके देखि भिंग्री हुदै रोल्पा तर्फ वस सेवा सञ्चालन भएको छ। सहायक मार्गको रूपमा वाग्दुलावाट मच्ची गौमुखी हुदै गुल्मी जाने ४७ किलोमीटर सडक निर्माण भैरहेको छ भने वाग्दुलावाट दम्ति, वहाने हुदै स्याउलीवाङ सम्म जाने ४५ किलोमीटर सडकको निर्माण कार्य जारी छ। त्यसरी नै खलंगा जोगीटारी देखि २१ किलोमीटर सडकलाइ अर्घाखाँची जोडने सडक निर्माण भैसकेकोछ। चेरनेटावाट खैरा हुदै खलंगा जोडने १४ कि.मी. वाटो पनि करीव सम्पन्न भैसकेको छ र् चेरनेटा देखि बरौला सम्म १६ कि.मि.बाटो विकास जसले गर्दा झिमरुक बासीहरूलाई आवात जावात गर्न निकै सजिलो बनाएको छ । यस सडकले तिग्रा, धुमाङ, हर्नघाट, झिवाङ, पकला, टिकुरी बरौला हुदै अर्घाखाँची सम्म जोडिएको छ । जिल्ला स्थित अन्य वाटाहरूको पनि निर्माण कार्य भैरहेको छ।

पूलहरू[सम्पादन गर्ने]

वि.वि.एल.एल. मार्फत यस जिल्लामा झोलुङ्गे पुल निर्माण गर्ने कार्य तीव्र रूपमा अगाडी वढेको छ। २०५० साल देखि हालसम्म ३७ वटा झोलुङ्गे पुलहरूको निर्माण कार्य सम्पन्न भैसकेको छ। आ.व. २०६१/२०६२मा थप १० वटा पुलहरू एघारौ जिल्ला परिषदले निर्माणको लागि छनौट गरेको छ।

भू–बनावट[सम्पादन गर्ने]

जिल्लाको दक्षिणी भाग चुरे क्षेत्र, पश्चिमी भाग महाभारत क्षेत्र पर्दछ भने उत्तरी भूभाग मध्य–हिमाल क्षेत्रमा पर्दछ। यस जिल्लाको चट्टानहरूमा फाइलाइट, डोलामाइट, स्लेट, चुन ढुंगा, क्वार्जाइट आदि पर्दछन भने वलौटे, दोमट र चिम्लाइलो प्रकारको माटो वढी मात्रामा पाइन्छ।

भू–उपयोग[सम्पादन गर्ने]

जिल्लाको कुल क्षेत्रलाइ उपयोगको हिसावले हेर्ने हो भने खेती योग्य जमीन २८,१७१ हेक्टर (२२ प्रतिशत) , वन जंगल ७२,६९४ हेक्टर (५६ प्रतिशत), चरन २७,७८९ हेक्टर (२२ प्रतिशत) रहेको छ।

नदीनालाहरू[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य नदीहरूको रूपमा भिमरुक र माण्डवी ( माडी ) रहेका छन। यी नदीहरूको सहायक नदीहरूमा भिमरुक अन्तर्गत लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँतरे खोला, खप्रङ खोला, हरिया खोला, पतेरे खोला, छापे खोला आदी रहेका छन भने माण्डवी नदी अन्तरगत धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला पर्दछन। भिमरुक खोलामा धेरै फाँटहरू रहेका छन जस्तै विजुवार दाखा फाँट, वाग्दुला फाँट, चुनाफाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदी रहेका छन भने माण्डवीमा तुलनात्मक रूपमा अति नै कम फाँटहरू रहेका छन। चिदीबास फाँट, हंसपुर फाँट, माझीदमार भिग्रीफाँट आदी फाँटहरू रहेका छन।

शैक्षिक अवस्था[सम्पादन गर्ने]

जिल्लाको शैक्षिक अवस्थालाइ हेर्दा महिलाको तुलनामा पुरुष धेरै अगाडी भएको पाइन्छ। जिल्लाको कुल साक्षरता ४७.४ प्रतिशत रहेको छ जसमा ६२.४ प्रतिशत र महिला साक्षरता ३४.०२ प्रतिशत छ। जिल्लामा एक मात्र अस्थाथी क्याम्पस विजुवार पुण्यखोला अवस्थित छ। एक उच्च माध्यमिक विद्यालय, ३१ माध्यमिक विद्यालय, ३४ निम्न माध्यमिक विद्यालय र २३३ प्राथमिक विद्यालय विभिन्न स्थानमा रहेका छन।

स्वास्थ्य[सम्पादन गर्ने]

जिल्ला स्वास्थ्य कार्यालय १, जिल्ला अस्पताल १, प्राथमिक स्वास्थ्य केन्द्र २ , स्वास्थ्य चौकी ११, उपस्वास्थ्य चौकी २९, आयुर्वेद औषधालय ३ सञ्चालित छन।

सञ्चार[सम्पादन गर्ने]

जिल्लामा सञ्चारका लागि पि.सि.ओ. २४, व्यक्तिगत टेलिफोन २८१, कार्यालय टेलिफोन ७८, भिसेट २ गरी जम्मा ३८५ टेलिफोन सेवा उपलव्ध छन।

हुलाक तर्फ[सम्पादन गर्ने]

जिल्ला हुलाक १, इलाका हुलाक १०, अतिरिक्त हुलाक ३८, हुलाक प्रतिनिधि ३८, पत्र वितरक ३३, पत्र वाहक ४६ रहेका छन।

वन[सम्पादन गर्ने]

जिल्ला वन कार्यालय १, इलाका वन कार्यालय १, रेञ्ज पोष्ट ८, सामुदायिक वन संख्या २८०, सामुदायिक वन क्षेत्र २,४९?४४.५ हेक्टर छ। जिल्लाको कुल वन क्षेत्रफल ७२,६९४.३ हेक्टर रहेको छ।

विद्युत[सम्पादन गर्ने]

जिल्लामा विद्युत सेवा दिने श्रोतहरू झिमरुक जलविद्युत केन्द्र ( जिल्ला भित्र नै उत्पादीत विद्युत केन्द्र हो।) र नेपाल विद्युत प्राविधिकरण रहेका छन। झिमरुक जल विद्युत केन्द्र मार्फत ११ गा.वि.स. र नेपाल विद्युत प्राविधिकरण मार्फत १७ गा.वि.स.गरी जम्मा २८ गा.वि.स.मा आंशिक विद्युतीकरण भएको छ।

धार्मिक[सम्पादन गर्ने]

जिल्ला स्थित धार्मिक तथा पर्यटकीय स्थलहरूमा देश भित्र र वाहिर सम्म चर्चित भएको तिर्थ तथा पर्यटकिय स्थल स्वर्गद्धारी यसै जिल्लाको स्वर्गद्धरीखाल गा.वि.स.मा पर्दछ। त्यस पछि एरावती, गौमुखी, कालिका मन्दिर, झाकिरिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह,त्रिवेणी आदी स्थलहरू तिर्थ स्थलको रूपमा प्रसिद्ध छन।

पर्यटकीय स्थल[सम्पादन गर्ने]

जिल्ला स्थित पर्यटकिय स्थलहरूमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरू पर्यटकिय स्थलको रूपमा परिचित छन।


खलंगाका जात्राहरू[सम्पादन गर्ने]

डल्ले सराँए[सम्पादन गर्ने]

लुङको देवाली[सम्पादन गर्ने]

मुख्य लेख : लुङको देवाली

प्युठान जिल्लाका मठ मन्दिरहरू[सम्पादन गर्ने]

खलंगा शिवालय मन्दिर[सम्पादन गर्ने]

प्युठान खलंगा सिकुवा डाँडामा अवस्थित रामेश्वर महादेवको मन्दिर स्थापना पूर्व पौवा वनेको थियो। अनुश्रीत अनुसार इशाको पन्ध्रौ सताव्दी तिर जय मल्ल नामक राजाले पाटी पौवा चौतारी वनाइ गुठी राखि दिएका थिए। सिकुवा डाँडाँमा पौवा स्थापना गरी अक्षय तृतियाको दिनमा भोज भत्यार खुवाउन र नित्य पुजाको निम्ति ९०० मुरी खेत गुठी राखेकोमा यसैवाट कट्टी गरी शिवालय गुठी राखियो। वि.स. १८६१को रुक्का पत्रमा यसको गुठी वारे उल्लेख छ। मन्दिरमा नित्य पुजा आजा गर्दा वजाइने नगरा , रासा, धोपा आदिको व्यवस्था गर्न वैशाख महिनाभर वटुवाको लागि सर्वत खुवाउन र जात्रा खर्चको समेत स्थानिय जनताहरूलाइ उछाउनी, पछाउनी, झारा, वेगारी नलागोस भनी ३५० मुरी जग्गा गुठी राखिएको थियो। यहाँ विभिन्न भक्तजनहरूले विभिन्न वस्तुहरू चढाउने क्रममा वि.स. १९२४को हुकुम मर्जी वमोजिम कप्तान धोलक सिं वस्नेतले घण्टा चढाएका थिए। यहाँको प्यागोडा शैलीको मन्दिर वर्गाकारको जगातीमा आधारित छ। एकतले तथा दुइ छाने यस मन्दिरको आधारको आधार पेटीका भु सतह देखि करीव २ फिटको उचाइमा छ। स्थानिय भेगमा पाइने काठ, ढुंगा, टायल तथा धातुको उपयोग गरी वनाइएको यस मन्दिरको वरीपरी कलात्मक काठको स्तम्भवली छन। यसको वरण्डा नै प्रदक्षिण पथको रूपमा प्रयोग गरिएको छ भने पूर्व र पश्चिम पट्टी प्रवेशद्धार, उत्तर र दक्षिण पट्टी आँखी झ्यालहरू छन। काठमाडौं उपत्यकाका अधिकांश शिवालयहरूको चारैतिर प्रवेशद्धार हुन्छन् भने यसको आफ्नै विशेषता छ। पूर्वपट्टीको प्रवेशद्धारको दायाँ वायाँ भित्तामा भैरव तथा पार्वतीका मुर्ति राखिएका छन। दुवै छाना टायलले छाइएको यस मन्दिरको माथिल्लो पट्टी कलात्मक गजुर छ। माथिल्लो तलाको झ्याल पनि सामान्य छ भने तोरण तथा टुँडालहरूमा कलात्मक आकृतीहरू अंकित गरिएका छन। मन्दिरको गर्भगृहमा शिवलिंग स्थापना गरी वरिपरि प्रस्तुत मुर्ति तथा साँढेको आकृति वनाइएको छ। यो मन्दिर आधुनिक कलाको कलात्मक कृति भए पनि पुरानो शैली र ढाँचा जगेर्ना गरेको हुँदा वास्तुकलाको दृष्टिले महत्वपूर्ण छ।

खलंगा भिमसेन मन्दिर[सम्पादन गर्ने]

नेवारहरूको वाहुल्यता भएको खलंगा तथा विजुवार वजारमा भिमसेनका कलात्मक एवं आकर्षक प्यागोडा शैलीका मन्दिरहरू छन्‍। खलंगाको भीमसेन मन्दिरको गर्भगृहमा शास्त्रीय आख्यान अनुकूलका प्रस्तर मूर्ति र यसको आपसमा काठ ढुङ्गाका मूर्तिहरू पनि रहेका छन्‍।। स्थानीय भक्तजनहरूले यी मुर्तिहरूलाइ भीमसेनका दाजु भाइ भन्दछन्‍। मुर्तिमा भीमसेनलाइ उभिएको आकृतिमा तरवार र ढाल लिएको देखाइएको छ। दुइ तले पूर्व पट्टि प्रवेशद्धार भएको यो मन्दिरको तल्लो तल्लामा गर्भ गृह छ भने प्रदक्षिणको निमित्त सामान्य आधार पेटिका वनाइएको छ। एउटा मात्र प्रवेशद्धार भए पनि कलात्मक दृष्टिले विशेष उल्लेखनिय छ। यसको माथिल्लो पट्टी अर्ध चन्द्रकारको तोरणले फुल वुट्टा पशु पंछी तथा भयावह आकृती अंकित गरी तान्त्रिक प्रभावको प्रतिनिधित्व गरेको छ। यसको पुजा आजा जनसाधारणवाट हुदै आएकोमा वि.स. १८८२मा धोवाघाट बाँझवारी र काफलवोटमा ४५ मुरी खेत गुठी राखिएको थियो।

खलंगा गणेश मन्दिर[सम्पादन गर्ने]

खलंगा वजारमा अवस्थित गणेशको मन्दिरको जगती वर्गाकारको छ। भु सतह देखि १ फीट माथि अवस्थित यो मन्दिर एक तले तथा दुइ छाने प्यागोडा शैलीमा आधारीत छ। मन्दिरको तल्लो तहको दक्षिण पट्टी भित्तामा एउटा ढोका र पूर्व पश्चिममा दुइवटा आँखि झ्यालहरू वनाइएका छन। यसको तोरणमा धातुको जलप वनाइ कलात्मक एवं आकर्षक वुट्टा सहित सजाइएको छ। मुलद्धारको माथिल्लो पट्टी पित्तलको कलात्मक तथा आकर्षक गजुर वनाइएको छ। यसको गर्भ गृह उत्तर पट्टी अवस्थित गणेशको प्रस्तर मुर्तिकाल क्रममा निकै खिर्इएको छ। यहाँ भिमसेनको प्रस्तर मुर्ति पनि देखिन्छ। यसको सञ्चालन तथा मर्मत संभारको निम्ति गुठी राखिएको छ।

निर्मलनाथको मन्दिर[सम्पादन गर्ने]

दाखाक्वाडीमा अवस्थित निर्मलनाथलाइ प्युठानी राजा पृथ्वीपति शाहले गुठी दिइ ताम्रपत्र वनाइ दिएका थिए। वि.स. १७६०मा यसलाइ खोलाखेत एकसय मुरी र डिहीवारी समेत गुठी दिइ कसैले अवरोध खडा नगरोस भनी ताम्रपत्र वनाइ दिएका थिए। यहाँ अवस्थित प्यागोडा शैलीको मन्दिर स्थानिय काठ, ढुंगा, टायल आदी भौतिक सामाग्रीहरूको संयोजनले वनाइएको छ। वर्गाकारको जगती माथि अवस्थित यस मन्दिरको पश्चिम पट्टि मूल प्रवेशद्धार छ। वर्गाकारको जगती माथि अवस्थित सामान्य शैली र ढाँचामा आधारीत देखिन्छ। यसका दुइ छाना टायलले छाइ बीचमा माटोको गजुर राखिएको छ। यसको तोरण र टुँडालहरू सादा र सामान्य छन। यसको गर्भगृहको विचमा योगी निर्मलनाथको र छेउमा शिष्यको समाधि र त्यसको उत्तर पूर्व कुनामा भैरवको मुर्ति राखिएको छ। काठमाडौं उपत्यकाका भैरव आदि केही तान्त्रिक देवताहरूको केही मन्दिरहरूमा आयतकार पनि छन त्यस्ता मन्दिरमा मुर्ति माथिल्लो तलामा राखि तल्लो तलामा वस्ने स्थान वनाएको देखिन्छ। तर यस थानको समाधि र कुनामा चलायमान भैरवको मुर्ति छ। भैरवको उल्लेख भने एतिहाँसिक कागजपत्रमा देखिए पनि खास शैलीगत आधारमा मध्यकालीन देखिन्छ।

कालिका मन्दिर[सम्पादन गर्ने]

विजुवार वजारमा अवस्थित कालिका मन्दिर सत्रौ अठारौ शताव्दीको शक्ति पिठ हो। भारत तुल्सीपुर नजीकै अवस्थित पाटन देविको पर्वमा पूजा आजा गर्न प्युठानका भट्ट व्राहमणहरू जान्थे भने कालान्तरमा कालिका देवीको पुजा आजा गर्न थाले। राजगुठी पौवा गुठी ग्रहण गरी आएका पुजारीहरूले सामान्य ढंगले दायित्व पुरा गर्दछन। वि‌‌‌‌ स‌ १९६७को गुठी पत्र पाइए पनि यस भन्दा अधि देखि नै लोकपि‍‍य हुँदा संरक्षण तथा सञ्चालनको व्यवस्था सरकारी क्षेत्रवाट गरिएको प्रतित हुन्छ। यहाँ धर्मभिरु व्यक्तिहरूले विभिन्न सामग्रीहरू चढाउने सिलसिलामा पुराना सामाग्रीहरूको अस्तित्व फेला नपरे पनि वि.स. १९४४ र वि.स. १९६०मा घण्ट तथा चाँदी दिइएको देखिन्छ। प्युठान तथा अन्य छिमेकी क्षेत्रका जनताहरू आफ्नो फलोच्छा पुर्ति गर्ने कामनाले कालिका मन्दिरमा वली पुजा गर्ने प्रचलन छ। यो मन्दिर एक तले र एक छाने वनाइ वरीपरी प्रदक्षिण पथ वनाइएको छ। दक्षिण पट्टी प्रवेशद्धार भएको यस मन्दिरको वरीपरी प्रदक्षिण पथ वनाइ तोरण भने पुरानो मन्दिर कै वनाइएको छ। हालको परिवर्तित रूपमा टुँडालको आवश्यकता नदेखिदा भित्तामा टुँडाल सजाइएको छ। टुँडालहरूमा सिंह, अप्सरा, वृक्ष, लतापातका आदि अंकित छन। नयाँ मन्दिर भने पुरानो शैली भन्दा भिन्न ढंगले बनाइएको छ। यस क्षेत्रको महत्वपूर्ण शक्ति पीठ भएकोले अद्यापी यसको स्थान महत्वपूर्ण छ।

यस क्षेत्रमा जे जति मन्दिरहरू छन अधिकांश प्यागोडा शैलीमा आधारीत छन भने शिखर (देवल) चैत्य विहार नदेखिनु यहाँको आफ्नो विशेषता हो। भित्रीकोट दरवारको भौतिक अस्तित्व भु सतहमा छितर वितर छ। आवशिय भवनहरू पनि तला र तहै तहको छानो भएका छन भने आधुनिक शैलीको प्रभाव पारेकोले परम्परागत शैली लोप हुदै गएको छ। भित्रीकोट राज दरवार क्षेत्रमा पहाडको टाकुरामा जिण्रोदारको प्रतिक्षामा रहे पनि न त गुठी न प्रशासन पुरातत्व विभागको ध्यान यतातिर आकर्षित भएको छ। राजा मणिक चन्दले गुठी प्रदान गरी स्थापित मेहेलेनाथको मन्दिर पनि खिइदै गएको छ। यहाँ अठारौ शताव्दीमा भने विशाल मन्दिर भएको तथ्य प्राप्त एतिहासिक सामाग्रीहरूले संकेत गर्दछ। वाग्दुला तालको गुफा पनि वस्तु कला कै अभिन्न अंग हो। यहाँको प्राचिनता प्रमाणित गर्ने साधन र श्रोतको अभाव रहे पनि पाषण युगसँग सम्वन्ध देखिन्छ। हाल भने शिवानन्द नामक योगीले चित्र कोरी नजीकै शिव र गणेशको मन्दिर निर्माण गर्न थाल्नाले यसको प्राचिनता पुनर्जिवित हुन थालेको छ। स्वर्गद्धारीका शिवालय तथा आठकुने यज्ञशाला धार्मिक तथा वास्तुकलाको दृष्टिले पनि कम महत्वका छैनन।

कात्रे खोले झाक्री[सम्पादन गर्ने]

ज्यादै रिसाहा मानिने र प्रसन्न भएमा चाडै प्रभावित हुने भनी मानिने मध्य पश्चिमाअञ्चलका प्राय सवै जिल्ला र पश्चिमाअञ्चलका पनि केही जिल्लाका वासिन्दा प्रभावित भएका झाक्री महाराज र तिनको निवास मानिने प्रकृतीले पूर्ण प्युठानको सदरमुकाम खलंगा देखि दक्षिण पश्चिममा पर्ने कात्रे खोला प्युठानको महत्वपूर्ण तिर्थ स्थल मध्य एक हो। खलंगा देखि लगभग तिन किलोमिटर दक्षिण पश्चिम कात्रे खोलाको मध्य भाग तिर पूर्व भैरम डाँडा र पश्चिम वुढी चौर वस्तीको बिच भागमा साँगुरो गल्छी परेको ठाउँमा कात्रे खोले झाक्री वा झाक्री स्थान रहेको छ। यहाँको प्राकृतिक वनोट अत्यन्त सुरम्य छ। झाक्री स्थान प्रतिको श्रद्धा र डर दुवै कारणले गर्दा यहाँको हरियालीलाइ कसैले दखल दिन सक्दैनन। यसै शोभा भित्र खिर्रो र फलेदाको ठूलो रुख छ। तिनै रुखलाइ वरीपरी घेरेर चौपारीको आकार दिइएको छ। त्यही आकारलाइ झाक्री स्थान भनिन्छ। रुखको फेदमा पितलले वनाएको झाक्रीको मुकुट आकार छ। वरीपरि त्रिसुल र घण्टहरू भुण्डाइएका छन। ती वेला वेलामा श्रद्धालुहरूवाट अर्पण गरिएका हुन। झाक्रीको कुनै सरकारी वा व्यक्तिगतत गुठी र आजा पुजाको व्यवस्था छैन। केवल समस्याबाट मुक्ति पाउन गरिने वाचा कवोल र प्राप्ति पछि गरिने पूर्तिवाट मात्र अनियमित पुजा हुन्छ। वडा दशै र चैते दशैमा यहाँ वढी घुँइचो हुन्छ। यहाँ टाढावाट आउनेको वढी घुँइचो देखेर मन्दिर वनाउने चेष्टा गर्दा पूर्ण नहुदै पटक पटक भत्केको र झाक्री महाराज जेल जस्तै सानो मन्दिर भित्र खुम्चेर वस्न नचाहने कुरा पहिले कसैलाइ सपनामा भनेको किंवदन्ती पनि सुनिन्छ। यहाँ पुजामा मंगलवार र शनिवार वढी घुइचो हुन्छ। पुजा गर्न सकभर वार पार्ने चलन छ। झाक्रीलाइ वली दिने प्रचलन छ। वलीमा हाँस, कुखुरा, बोका, पाडा आदि दिइन्छ। अन्यमा रोटको पनि भोग दिइन्छ। गहुँ वा चामलको एक मानो पिठोमा औकाद अनुसार अन्य मरमसला राखी त्यसको एउटै ठोस रोटी वनाएकोलाइ रोट भन्ने प्रचलन छ। धुप धजाका साथै गाइको दुधको धार पनि दिइन्छ। खाँचो परेको बर माग्दा र कवोल पुरा गर्दा झाक्री केही वहिरो भन्ने विश्वास गरी साह्रो डाको गरी सुनाउने चलन छ। नजीकै पाटी भए पनि निर्जन ठाउँ हुँदा एक्लै दोक्लै जाँदा हपहपी लाग्छ र छुटपुट सामान सरनतरन गर्ने मौका मिल्दैन। खहरेको वायाँ पट्टी केही माथि जंगलका बिच ज्यादै चिसो पानी भएको एउटा सानो दह छ। त्यहाँ गाइको धार दिदा पशु फाप हुने विश्वास गरिन्छ। प्राय प्युठान भर र आस पास समेत अतिरिङ्क्त खाद्य वस्तु वनाउदा वा यज्ञ आदि गर्दा सिमे भुमे स्थाने मण्डली कुल कुलायनलाई अग्रभाग चढाउदा झाक्रीलाई पनि चढाउने चलन छ। केही दिने विश्वास दिलाइ मिच्चाइ अथवा भुलवाट न छुटोस भनी निकै सर्तकता अपनाइन्छ। उनी क्रोधित भएमा ठूलो क्षति वेहोर्नु पर्ने विश्वास गरिन्छ। अत पुजामा डरको भुमिका पनि रहेको छ। आस्तीकलाइ आस्था, प्रकृतिको आनन्द लिनेलाइ रमणिय वातावरण , एकान्त मन पराउनेलाइ निर्जनता, वन भोजमा रमाउनेलाइ मनोरम दृश्य भएको यो मनरोम ठाउँमा सुव्यवस्था गर्न सके पर्यटकिय स्थल हुन सक्ने र दक्षिणकाली जस्तै चम्कन सक्ने पर्याप्त सम्भावना छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]