ताप्लेजुङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ताप्लेजुङ जिल्ला
—  जिल्ला  —
देश  नेपाल
विकास क्षेत्र पुर्वाञ्चल
अञ्चल मेची
भौगोलिक अवस्थिति हिमाली, पहाडी
गा.बि.स.संख्या ४८
नगरपालिका संख्या
सदरमुकाम ताप्लेजुङ
क्षेत्रफल
 - जम्मा ३,६४६ किमी (१,४०७.७ वर्ग मी)
अवनति(अधिकतम) ८,५९८ मी (२८,२०९ फिट)
जनसङ्ख्या (२०६८[१])
 - जम्मा १२७,४६१
 - जनघनत्व ३५/किमी (९०.५/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२४
मुख्य भाषाहरू नेपाली, राई, लिम्बु
प्रमुख जातिहरु लिम्बु, किराँत, राई, भोटे, लेप्चा बाहुन, क्षेत्री
वेबसाइट www.ddctaplejung.gov.np

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सब भन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलामपाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार यहाँको जनसङ्ख्या १३४,६९८ गणना थियो, जसमा महीला/पुरुष्को अनुपात ०.९७को हाराहारीमा छ। जिल्लामा भएका २ वटा निर्बाचन क्षेत्रलाई यहाँको सबभन्दा ठूलो नदी तमोर नदी, सप्तकोशी नदीको एउटा प्रमुख सहायक नदी,ले छुट्याएको छ।

नामाकरण[सम्पादन गर्ने]

ताप्लेजुङ जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा ताप्लेजुङ्ग शब्द दुई शब्दको संयोजन भइ बनेको मानिन्छ। मध्यकालिन समयमा "ताप्ले" नाम गरेका राजाले यस क्षेत्रमा शासन गर्ने गर्दथे। लिम्वु भाषामा "जुङ्"को अर्थ किल्ला वा सैनिकले घरेको किल्ला हुन आएबाट ताप्लेजुङ्ग अर्थात ताप्ले नाम गरेका राजाले शासन जमाएको किल्ला हो भनिन्छ। त्यस्तै कतै कतै ताप्लेजुङ जिल्लाको नाम किराँत भाषाको ताप्लिङचुङ शब्दबाट आएको हो। ऐतिहासिक किराँत राजा "ताप्ले"को "चुङ" अर्थात किल्ला (किराँत भाषामा) भएकोले यस जिल्लाको नाम "ताप्लेजुङ्ग" रहन गएको कुरा उल्लेखित छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

ताप्लेजुङ् पूर्वी नेपालमा इलाम जिल्ला पछिको सबैभन्दा सुन्दर जिल्ला हो | विकट तर मनोरम धरातलीय बनोट, उच्च हिमाली भूभाग र त्यहा भएका बहुमूल्य जडीबुटीहरू पोट्लीङ्गो; गुराँस, धुपी, चिराइतो जस्ता उल्लेखनीय वनस्पति पाइनुले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तीकै उच्च रहेको छ। बिश्वकै तेस्रो अग्लो हिमाल कन्चनजङ्घा (८,५९८ मी.) पनि यसै जिल्लामा रहनु र हरिया घाँसे मैदान, चट्टानी भू-बनोट तथा घना जङ्गलले यस जिल्लालाई सुन्दर पारेका छन। जिल्लामा रहेको पाथीभरा देवीको मन्दिर (३७९४ मी.) हिन्दू , बौद्ध तथा किराँत धर्मालम्बीहरूको साझा गन्तव्यस्थल हो।

प्रशासनिक विभाजन[सम्पादन गर्ने]

ताप्लेजुङ जिल्लामा ५० वटा गाविसहरू छन। यस जिल्लाको सदरमुकाम जिल्लाको सबै भन्दा बढी जनसङ्ख्या रहेको गाविस फुङ्लिङ हो। यहाँ झापा जिल्लासँग जोड्ने मेची राजमार्ग हुदै वा विराटनगरकाठमाडौंबाट हवाईमार्ग हुदै पनि जान सकिन्छ। ताप्लेजुङ जिल्ला हिमाली जनजीवन, लिम्बू संस्कृति, प्राकृतिक छटा र प्रसीद्ध धार्मिक स्थल पाथीभरा रहेका कारणले नेपालका अन्य जिल्ला माझ मात्र नभएर छिमेकी राष्ट्र भारतमा समेत सुप्रसीद्ध रहेको छ।

गाउँ विकास समितिहरु (गाविसहरू)[सम्पादन गर्ने]

लालीगुराँस
कंचनजंघा

हावापानी[सम्पादन गर्ने]

ताप्लेजुङ जिल्लाको ५,००० मिटर भन्दा माथी टुन्ड्रा हावापानी पाइन्छ। हिमाली भागमा बाह्रै महिना हिउँ जमी रहन्छ। ८०० मीटर देखि १४०० मीटर सम्मको उचाईमा सुन्तला जात फलफूल तरकारी र अन्न बालीहरूको खेती गरिन्छ। १४०० मीटर देखि २५०० मीटर सम्मको उचाईमा आलु, मकै, कोदो र लेकाली फलफूलको खेती गरेको पाइन्छ। उत्तरी भेगमा वर्षा याममा बादलले ढाकीराख्ने जाडो समयमा ३२०० मीटर भन्दा तलसम्म हिउँ पर्ने र हिउँदमा हिमाली क्षेत्र खुल्ला हुने भएको हुँदा जाडो हुने यस जिल्लामा न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखि लिएर अधिकतम २६.३ डिग्री सेल्सियससम्म तथा औषत तापक्रम १६.३९ डिग्री सेल्सियस, औषत वर्षा १,३७२ मिलिलिटर हुनेगरेको पाइन्छ।

जैविक विविधता[सम्पादन गर्ने]

जैबिक विविधताको दृष्टिले यो जिल्ला धनी छ। यहाँ ५८ प्रजातिका बन्यजन्तु २५३ किसिमका चराहरू, विभिन्न प्रकारका सरिसृपहरू, उभयचरहरू, पुतलीहरू ११ किसिमका सल्लाहरू, १२७३ प्रजातिका फूलफुल्ने बिरुवाहरू, २४ किसिमका गुराँसहरू, ६९ प्रजातिका सुनगाभाहरू, लगायत विभिन्न प्रकारका जडिबुटीहरू र गैरकाष्ठ पैदावारहरू पाइन्छन्। ताप्लेजुङ जिल्ला होचो भाग ७७७ मीटरदेखि लिएर विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्घा ८,५९८ मीटरसम्मको उचाई सम्म फैलिएको हुँदा यहाँ विभिन्न प्रकारका वन्यजन्तुहरू पाइन्छन्। जिल्लाको कूल क्षेत्रफलको ३९.८५ प्रतिशत जङ्गलले ढाकेको छ। जिल्लाको सम्पत्ति जैविक विविधतालाई कायम राख्न बिक्रम सम्वत २०३९ देखि यस जिल्लाका २० गाविसमा बृक्षारोपण हुँदै आएको छ। हाल सम्म ताप्लेजुङ जिल्लाको ६५८.५ हेक्टरमा बृक्षारोपण भैसकेको छ। विषम हावापानीको कारणबाट यस जिल्लामा उष्ण प्रदेशीय सदावहार जंगलदेखि लिएर ३,५०० मीटर माथिको उचाईमा लेकाली वनस्पति, झाडी पोथ्रा जस्ता रुखहरू पाइन्छ भने ५,००० मीटर भन्दा माथिको उचाईमा हर हमेशा हिउँले ढाकेको हुँदा वनस्पति प्राय हुदैनन।

प्रमुख नदीनालाहरू[सम्पादन गर्ने]

ताप्लेजुङ जिल्लाका मुख्य नदीहरूमा तमोर र कावेली हुन। त्यस्तै अन्य खोलाहरूमा मेवाखोला, मैवाखोला, याङ्माखोला, फावाखोला, घुन्साखोला, कालीखोला, हेल्लोक, सिस्नेखोला, सोबुवाखोला, फुंगुवाखोला आदि हुन। हिमनदीहरू कञ्चनजङ्घा हिमनदी, कुम्भकर्ण हिमनदी, तमोर हिमनदी, यलुङ हिमनदी हुन।

हाट बजार[सम्पादन गर्ने]

ताप्लेजुङ जिल्ला एक दुर्गम र पहाडी जिल्ला भएको हुँदा प्रायः जिल्लाका सबै बासिन्दाहरूको किनवेच हुने ठाउँ जिल्ला सदरमुकाम नै हो। जिल्लाको पूर्वपट्टिका गा.वि.स.का मानिसहरू पाँचथर जिल्लाको सदरमुकाम फिदिमगोपेटार, थर्पुबाट आवश्यक सरसरमान किनबेच गर्छन भने अन्य मानिसहरू सदरमुकाममा नै सौदापात गर्छन। यस जिल्लामा लाग्ने विभिन्न ठाउँका साप्ताहिक, पाक्षिक, मासिक र बार्षिक बजारहरू निम्न अनुसार छन्:-

  • प्रत्येक शनिवार र मंगलबार जिल्ला सदरमुकाममा (तोक्मेडाँडा)
  • प्रत्येक विहीबार जिल्ला सदरमुकाममा (काहुले हाट)
  • लाखेजात्रा जिल्ला सदरमुकाममा प्रत्येक वर्ष लाखे पूर्णिमामा
  • पुषेमेला दोभानमा (प्रत्येक वर्ष पौष १ गते देखि ५ गते सम्म चाँगेमा)
  • माघे मेला सिंवामा (प्रत्येक वर्ष माघ १ गते देखि ३ गते सम्म लिमखिममा)
  • रामदुवाली खाम्लुङमा (औंसी र पूर्णिमा) पाक्षिक खाम्लुङमा)
  • चतुरे हाट चाँगेमा (चतुर्दशी) पाक्षिक।
  • प्रत्येक महिनाको १ गते सिनाममा

उपर्युक्त बजारहरू मध्ये जिल्ला सदरमुकामको बजारमा दैनिक उपभोगका सामानहरूको किनवेच हुन्छ भने गाउँस्तरमा लाग्ने बजारहरूमा मादक पदार्थहरू विक्री बढी भएको पाइन्छ।

यातायात[सम्पादन गर्ने]

झापा जिल्लाको चारआली हुँदै ताप्लेजुङ्ग सदरमुकामसम्मको (मेची राजमार्ग) बाटो कालोपत्रे भैसकेको छ। त्यहाँबाट सुकेटार सम्मको बाटो पनि कालोपत्र गरिएको छ। यस बाहेक ताप्लेजङ्ग जिल्ला भित्र ग्रामीण सडक या कृषि सडकको रूपमा कावेली-थेचम्बु, ताप्लेजुङ्ग-दोभान, सुकेटार-भालुगौंडे, ताप्लेजुङ्ग-फुरुम्बु, ताप्लेजुङ्ग-कामीडाँडा हुँदै थेचम्बु मोटरबाटोहरू आदि क्रमागत रूपमा विस्तार भैरहेका छन्। लम्बाईको दृष्टिले सवा २०० कि.मि.को बाटो तय गरेर झापा देखि ताप्लेजुङ्ग पुगिने भए पनि पिच भइ सकेको सडक पनि बढि घुमाउरो डाडाँका टुप्पा र नदी गर्दै धेरै पटक होचो अग्लो भाग भएर गुजि्रएको र साँघुरो सडक भएका कारण ८ घण्टाको अबिरल यात्रा तय गरे पछि मात्र बिर्तामोड देखि ताप्लेजुङ्ग पुग्न सकिन्छ।

हवाईमार्गः- आश्विन १५ गते देखि आषाढ १५ गते सम्म सञ्चालन हुने हवाई यातायात हप्ताको २ दिन सुकेटार विमानस्थलमा ताप्लेजुङ्ग विराटनगर हवाई यातायात सञ्चालन हुने गर्दछ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]