ललितपुर जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ललितपुर जिल्ला
Lalitpur district location.png
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: ललितपुर
क्षेत्रफल: ३८५ वर्ग किलोमिटर वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ४१
नगरपालिका(हरू): ललितपुर
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: २,८३१ मिटर मिटर
सबै भन्दा होचो स्थान : ४५७ मिटर मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddclalitpur.gov.np
 हे  वा  सं 

ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा रहेको काठमाडौं उपत्यकाका तीन जिल्लाहरू मध्ये ऐतिहासिक तथा पुरातात्विक रूपले सम्पन्न जिल्ला हो। नेपालको मानचित्रमा ७५ जिल्लाहरू मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ। धार्मिक रूपले पनि प्रसिद्ध कृष्ण मन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरवार क्षेत्र लगायत विभिन्न मठ, मन्दिर, पाटि-पौवा र स्तम्भहरू पनि यस जिल्लामा रहेको हुनाले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेको छ। यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरूको रहन-सहन, भेष-भुषा आदिको विविधता रही यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छवीकालमा यसलाई यूपग्रामद्रङ्ग भनिन्थ्यो। लिच्छवीकालका जनताले त्यसवेला प्रायः एकै ठाउँमा गुजमुच्चिएर नबसी छरिएर आनन्दसँग बस्ती बसाएर रहने इच्छाले विभिन्न भेकमा संगसंगै जस्तै अनेक विकसित ग्रामहरू बनाएर त्यसलाई जोड्ने मूल सडक बिच-बिचमा मान बिहार आदि अनेक प्रसिद्ध विहारहरू बनाएका थिए। पछि यी ग्रामहरू र बिहारहरू संगै गांसिएपछी एक शहरको रूप लियो। पहिलेकाग्रामहरू पछि टोलको रूपमा परिणत भए। ठूल-ठूला कमलपोखरीहरू धारा पाटीपौवा उद्योग व्यवसाय आदिले गर्दा रमणीय शहरको रूपमा परिणत भएपछी यसलाई ललितपुरको नामांकरण गरेको हो भन्ने उल्लेख पाइन्छ।

त्यस्तैगरी पौराणिक कथाअनुसार एक समय उपत्यकामा १२ वर्षसम्म जलबृष्टि नभै सुख्खा परेको हुनाले त्यसबाट छुटकारा दिलाउन मत्स्येन्द्रनाथले मात्र सक्ने भन्ने निधो भएपछी भक्तपुरका राजा कान्तिपुरका आचार्य र ललितपुरका एक कृषक ज्यापू भारतका आसाम प्रदेशको कामारुकामक्षमा गई साधनाको बलले उपत्यकामा ल्याएको मत्स्येन्द्रनाथलाई कुन नगरमा स्थापित गर्ने भन्ने विषयमा तिनवटै नगर बिच मतभेद हुँदा तिन नगरको सबैभन्दा बयोवृद्ध जो छ त्यसलाई निर्णय गराउने निधो भएछ। त्यस अनुसार ललितपुरका ललित भन्ने एक कृषक बढी उमेर भएकोलाई ७ ओटा ओखलमाथि चढाई उपस्थित जनसमूहलाई निर्णय सुनाउन लगाउँदा उनले भक्तपुरका राजा तथा कान्तिपुरका आचार्यको भूमिका समेत वास्ता नगरी मत्स्येन्द्रनाथ बोकेर ल्याउने मानिस ललितपुरको भएकोले सोही व्यक्तिको नगरमा स्थापित गर्नुपर्दछ भनी निर्णय दिएको हुंदा सातैवटा ओखल समेत उक्त वृद्ध भांसिएको हुनाले उक्त स्थानलाई ललितपत्तन भन्ने नामांकरण गरिएको थियो। कालान्तरमा सोही ठाउँको नामवाट ललितपुर तथा पटन भन्ने नामहरू देखा परेको भनिन्छ। त्यस्तै गरी अर्को किम्बदन्ती अनुसार ललितारण्य भन्ने वन फाँडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको हो पनि भनिन्छ।

जनसंख्या[सम्पादन गर्ने]

२०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,३७,७८५ मध्ये १,६५,३३० (४८.९५%) महिला र १,७२,४५५ (५१.०५%) पुरुष रहेका छन्। विगत १० वर्षको अन्तरालमा जनसंख्या ८०,६९९ जनाले व्रीद्धी भएको छ। यस जिल्लाको वार्षिक जनसंख्या व्रिद्धिदर २.७३% रहेको छ भने लैङ्गिक अनुपात १०४.३१ रहेको छ। यस जिल्लाको जनघनत्व ८५९.८५ वर्ग कि.मी. रहेको छ। यहाँको घरधुरी संख्या ६८,९२२ रहेको छ भने औसत परिवार संख्या ४.९० रहेको छ। यहाँको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ। साथै यहाँको शहरी जनसंख्या १,६२,९९१ छ भने ४१ वटा गा.वि.स. हरूको जनसंख्या १,७३,६३६ रहेको छ।

इतिहास[सम्पादन गर्ने]

काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरू मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ। यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ। जस्तै यल, युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, पाटन आदी। साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो। उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम "यल" पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो। जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरूको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ। क्वालखु स्थित पट्को डोँ (किरात दरवार -), ८०० किराती मारिएको ठाउँ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरू वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरू, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ।

यस शहरको प्राचीनताको बारेमा प्रमाणित रूपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरूको अभाव छ। तर केही वंशावलीहरूले भारतका मौर्य सम्राट अशोकर् इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन। हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरू रहेका छन। जुन अशोक स्तुपको नामले प्रख्यात छ।

ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रूपमा विकास भैसकेको कुरामा दुइमत छैन। लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो। यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ। त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ। लिच्छवी कालका पुरातात्विक श्रोतहरू अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रूपमा विकास भै सकेको बुझिन्छ। यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरूको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ। हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरू पाइएका छन। आजसम्म प्राप्त शिलालेखहरू मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११को अभिलेखलाई पनि लिन सकिन्छ।

त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ। यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो। यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रूपमा रहेको थियो। मध्यकालको बौद्ध धर्मसंस्कृतिको केन्द्रको रूपमा विकास हुनुको साथै कलासंस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रूपमा रहिरह्यो। यसैले आज यस नगरलाई City of fine Artsको नामले चिनिन सफल भएको हो। ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरू नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै रहेका छन्। बंशावली तथा अन्य केही स्रोतहरूले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरू पाइएको छ।

भूगोल[सम्पादन गर्ने]

चित्र:ललितपुरको नक्शा.jpg
ललितपुर जिल्लाको नक्शा

भौगोलिक स्थिति

नेपालको मानचित्रमा ललितपुर जिल्लाको फैलावट २७ डिग्रि २२ मिनेट देखि २८ डिग्रि ५० मिनेट उत्तरी अक्षांश र ८५ डिग्रि १४ मिनेट देखि ८५ डिग्रि २६ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ। यस जिल्ला समुद्री सतह देखि ४५७ मिटर उचाई देखि २८३१ मिटरसम्म रहेको छ। यस जिल्लाले नेपालको करिब ०.२६६% भू-भाग ओगटेको छ। यस जिल्लाको भु-धरातल मध्ये करिब एक तिहाई भाग उपत्यका भित्र र दुई तिहाई पहाड तथा दुर्गम क्षेत्रमा पर्दछ। यस जिल्लाका दुर्गम स्थानहरूमा ठुलादुर्लुङ, कालेश्वर, प्युटार, माल्टा, आश्राङ, गिम्दी, चन्दनपुर आदी पर्दछन्।

भौगोलिक सिमाना

ललितपुर जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिममा काठमाडौं, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लाहरूसँग सिमाना जोडीएको छ। यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि. मी. रहेको छ।

भू-उपयोग

यस जिल्लाको कुल क्षेत्रफल ३८५ वर्ग कि. मी. मध्ये भू-उपयोगको दृष्‍टिकोणमा कृषियोग्य क्षेत्रफल १४७.६२ वर्ग कि. मी., वनजङ्गलले ढाकिएको भू-भाग १९७.९७ वर्ग कि. मी. र बाँकी भाग चरन, झाडी तथा घाँसले ढाकिएको छ। यस जिल्लाको खाध्यान्न बालीहरूमा धान, मकै, गहुँ, कोदो, फापर, जौ, भटमास, केराउ, आलु र फल-फुल बालीमा स्याउ, ओखर, नास्पती, सुन्तला, केरा, कागती, कफी आदिको खेती गरिन्छ। यहाँको वनजङ्गलमा साल, सिसौ, उत्तिस, चिलाउने, कपुर, काइँयो, पैयुँ, कटुस, बाँस, निगालो आदी वनस्पती पाइन्छन्। यहाँको जङ्गलमा बाघ, भालु, बनेल, मृग, हरिण, चितुवा जस्ता जनावर लगायत नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर (Spiny Babblar), कालिज, तित्रा, भद्राई, बट्टाई, ढुकुर जस्ता पंक्षीहरू रहेका छन्।

जलवायू[सम्पादन गर्ने]

ललितपुर जिल्लाको औसत अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम १०.७ डिग्री सेल्सियस रहेको छ। यस जिल्लाको वार्षिक वर्षा सरदर १२३२.६ मिलिमिटर रहेको छ। यस जिल्लाको हावापानी समशितोष्ण किसिमको रहेको तथा औसत सापेक्षिक आद्रता ५० देखि ८० प्रतिशतसम्म रहेको छ।

सम-उष्ण प्रदेशीय हावापानी (Sub Tropical Climate)

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने समूद्र सतह भन्दा १,००० मिटर माथिसम्म रहेको भू-भाग विशेषतयाः जलाधार क्षेत्रको खोंचहरूमा यस प्रकारको हावापानी पाइन्छ। यस क्षेत्रमा वाषिर्क सरदर औषत तापक्रम २० डिरी सेल्सियस रहन्छ।

न्यानो समशितोष्ण हावापानी (Warm Temperate Climate)

ललितपुर जिल्लाको महाभारत पर्वत श्रृंखलाको १,००० देखि २,००० मिटरसम्मको भू-भागमा यस प्रकारको हावापानी पाइन्छ। वाषिर्क सरदर औषत तापक्रम १५ देखि २० डिग्री सेल्सियस रहेको छ भने यस क्षेत्रमा सरदर वाषिर्क वर्षा २,००० देखि २,४०० मिलिमिटर रहेको छ।

ठण्डा समसितोष्ण हावापानी (Cool Temperate Climate)

यस प्रकारको हावापानी विशेषतयाः महाभारत पर्वत श्रृंखलाको उच्च भू-भाग अर्थात २,००० मिटर भन्दा उचाईको क्षेत्रमा पाइन्छ। वाषिर्क सरदर औषत तापक्रम १० देखि १५ डिरी सेल्सियस रहने यो क्षेत्रमा वाषिर्क वर्षा भने १,३०० देखि २,००० मिलिमिटर रहेको छ।[१]

ललितपुर जिल्लाको प्रशासनिक व्यवस्था

राजनीति[सम्पादन गर्ने]

राजनैतिकको हिसाबले धेरै जसो नेपालमा अति राम्रो देखिन्छ।

धर्म[सम्पादन गर्ने]

ललितपुरमा धरै जसो बौद्ध धर्म मान्नेहरू छन। यसका साथै यहाँ हिन्दू धर्म, इस्लाम र क्रिस्चियन धर्मावलम्बीहरू पनि यो जिल्लामा बसोबास गरेका पाइन्छ।

यातायात[सम्पादन गर्ने]

यस जिल्लाको पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ। जिल्लाको सदरमुकामदेखि लामाटार ९ किलोमिटर, चापागाउँ ७ किलोमिटर र गोदावरी ७ किलोमिटर पक्की बाटो, भट्टेडाँडाको छपेलीसम्म ३२ किलोमिटर, गोटिखेल माथि चन्दनपुरसम्म ५३ किलोमिटर, बुंगमती-टिकाभैरव ७ किलोमिटर, लेले भञ्ज्याङ-चिहानडाँडा २ किलोमिटर, दल्चोकी-शङ्खु-इकुडोल सडक १५ किलोमिटर, बगुवा आश्रङ्ग-गिम्दी-ठूला दुर्लुङ्ग-ठाँटी भञ्ज्याङ १६ किलोमिटर, चन्दनपुर-ससिपा भञ्ज्याङ-ठाँटी भञ्ज्याङ ७.५ किलोमिटर र रातोमाटे खोर भञ्ज्याङ-कालेश्वर १५ किलोमिटर कच्ची बाटो निर्माण भएका छन्। यस्ता बाटाहरूमा हिउँदमा मात्र सवारी साधन चल्नुका साथै वर्षायाम्मा बाढी पहिरोको कारण यातायातमा अवरोध उत्पन्न भैरहेको छ। यस जिल्लामा १ उपमहानगरपालिका पनि रहेको कारणले गर्दा १२२ किलोमिटर कालोपत्रे सडक रहेको छ भने १२० किलोमिटर ग्राभेल सडक र करिव २३० किलोमिटर कच्ची सडक गरी जम्मा ४७२ किलोमिटर सडक रहेका छन। यस जिल्लामा पक्की पुल १२, अन्य झेालुङ्गे पुल ३० रहेका छन।

अन्यसडक योजनाहरू

वैकल्पिक राजमार्ग[सम्पादन गर्ने]

उपत्यकालाई तराईसँग जोड्ने जम्मा ८७ किलोमिटर लम्बाई भएको वैकल्पिक राजमार्गको रूपमा विकास गर्न सकिने कान्तिराजपथ (हाल ललितपुर मकवानपुर सडक)को अवधारणा विसं २०१३ सालमा आएको भएतापनि यातायात पुरै सञ्चालन हुन सकेको छैन। ३४ किलोमिटर पर पर्ने बागमती नदीमा करिव १०५ मिटर लम्वाई र ८.५ चौर्डाईको स्टील ट्रस (Steel truss)को पुल निर्माण गर्न सके यो बाटो सञ्चालनमा ल्याउन सकिने छ।

त्यसैगरी दुर्गम क्षेत्रका १२ वटा गाउँ विकास समितिहरू लाभान्वित हुने ४५ किलोमिटरको लेले-चन्दनपुर सडकले पूर्णता पाएमा त्यस क्षेत्रका कृषि तथा पशुजन्य उत्पादनले बजार प्राप्त गरी गरीबी निवारणमा ठूलो टेवा मिल्नेछ।

ललितपुरको ग्वार्को[सम्पादन गर्ने]

लामाटारबाट काभ्रेको पनौती जोड्ने करिब ३८ किलोमिटरको सडकले दुई जिल्लाका बासिन्दा मात्र नभई उपत्यकालाई नै लाभ पुग्ने देखिन्छ।

नख्खु करिडोर[सम्पादन गर्ने]

टिका भैरवदेखि बल्खु पुलसम्म नख्खु खोलाको किनारै किनारबाट करिडोरको रूपमा करिब १८ किलोमिटरको सडक निर्माण गर्न सकिएमा चापागाउँदेखि सातदोबाटोको बाटोमा पर्ने यातायात चापमा कमी आउनुको साथै नयाँ लिङ्क रोडको रूपमा विस्तार भै यस जिल्लावासीलाई निकै लाभ पुग्ने देखिन्छ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]