दाङ जिल्ला
| दाङ जिल्ला | |
| अञ्चल: | राप्ती |
|---|---|
| सदरमुकाम: | घोराही |
| क्षेत्रफल: | २,९५५ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ३९ |
| नगरपालिका(हरू): | घोराही, तुल्सीपुर |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ५ |
| भौगोलिक अवस्थिति: | भित्री मधेश |
| सबै भन्दा अग्लो स्थान: | २०५८ मिटर |
| सबै भन्दा होचो स्थान : | २१३ मिटर |
| प्रमुख जातिहरू: | थारू, ब्राह्मन, क्षेत्री आदि |
| प्रमुख भाषाहरू: | नेपाली, थारू , अबधी आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८२ |
| प्रमुख जिल्ला अधिकारी: | ऋषिराम ढकाल |
| वेबसाइट: | www.ddcdang.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
विषयसूची |
दाङ जिल्लाको संक्षिप्त परिचय [सम्पादन गर्ने]
दाङ जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरीएको यो जिल्ला समुद्र सतहदेखि २१३ मीटर उचाइबाट शुरु भई २०५८ मीटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल २९५५ वर्ग किलोमीटर रहेको छ। यस जिल्लको पूर्व पश्चिम लम्बाई ९० कि.मी.र उत्तर दक्षिण चौडाइ ७२ कि.मी.छ। यस जिल्लामा कूल ३९ गाउँ विकास समिति र २ नगरपालिका छन्। यस जिल्लको सबै भन्दा कम उचाइ भएको ठाउँ सिसहनिया गा.वि.स.अन्तरगत पर्ने भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मीटर उचाइमा रहेको छ। त्यस्तै यस जिल्लको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुर गा.वि.स.अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मीटरको उचाइमा रहेको छ।[१]
भित्रि मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ। दङ्गालीहरूले यो एसियाकै ठूलो उपत्यका हो भन्ने गरेको सुनिन्छ तर यसको वास्तविकता पुष्टि हुन बाँकि छ। दाङ जिल्लामा उपत्यका लगायत देउखुरी पनि पर्दछ।
दाङमा उल्लेख्य संख्यामा थारुहरू बस्दछन्। पहिले औलो लाग्ने भएकोले दाङमा थारुहरूको मात्र बस्ति थियो। तर औलोको औषधि हुन थालेपछि बिभिन्न जातका मान्छेहरू बसाई सरे। बसाइ सर्नेहरूलाइ साधारणतया पहाडी वा पहाडिया भन्ने गरिन्छ। अहिले दाङमा थारुहरू अल्पसंख्यकमा पर्दछन्। कतिपय मानिसहरू दाङमा पहिले थारु राज्य थियो भन्दछन्।
दाङ जिल्लाको ऐतिहासिक पृष्ठभूमि [सम्पादन गर्ने]
हापुर रतनपुर बगिया निवासी श्री टेकनाथ गौतमका अनुसार दाङ जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ। पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि– लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो।
पश्चिम–दक्षिणबाट यहाँ आइ पहिले बस्ने जाति थारु हुन्। ती पछि बाहुन र अनि पछि अरु जातिका पहाडबाट यहाँ आई बसेको बुझिन्छ। २०१४ सालसम्म यहाँ बढी संख्या थारुको, दोस्रो बाहुनको र अनि अरु जातको थियो। नयाँजमीन आवाद गर्न पाइने व्यवस्थाले बढी संख्यामा थारुहरू नयाँ मुलुकतर्फ सर्न लागे। बिर्ता उन्मुलन तथा भूमि सुधार थोरै समयका अन्रालमा भएको हुनाले थारुहरूले बाहुनलाई धमाधम जमीन बेच्न लागे। त्यसैबेला दाङबाट औलो उन्मूलन गरियो। औलोको डर रहेकोले थारुले छाडेको जमीनमा पहाडबाट मानिसको ओइरो लाग्यो। फलस्वरूप थारुहरूको संख्या घट्दै गयो।
अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतनपाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए।
केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।
पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि.सं.१८६५मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डीत भयो।
नेपाल एकिकरण पश्चात् दाङ सल्यान गौंडाका मातहतमा थियो। वि.सं. १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका, १९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगंज गोश्वाराका मातहतमा गराइएको थियो। २००७ सालसम्म यहाँ माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए। २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले। २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले।
फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङमा मिलेपछि दाङ आजको अवस्थामा आयो। [१]
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षांश: २७.३७" उत्तर देखि २८.२९" उत्तरसम्म
- देशान्तर: ८२.२" पूर्व देखि ८२.५४" पूर्वसम्म
- सिमाना: पूर्व कपिलवस्तु अर्घाखाँची र प्युठान, पश्चिम बाँके र सुर्खेत, उत्तर सल्यान र रोल्पा, दक्षिण भारतको उत्तर प्रदेश
- क्षेत्रफल: २९५५ वर्ग कि.मी.
- औषत लम्बाइ: ९० कि. मी.
- औषत चौडाइ: ७० कि.मी.
- भौगोलिक विभाजन: पहाडी गा.वि.स.: हाँसीपुर, लोहारपानी, काभ्रे, सैघा, र स्यूजा , भित्री मधेशः अन्य ३४ गा.वि.स. र २ नगरपालिका
- सबभन्दा अग्लो भाग: हाँसीपुर गा.वि.स. अर्खले (समुन्द्र सतहदेखि २०५८ मी. उचाईमा)
- सबभन्दा होँचो भाग: सिसहनिया गा.वि.स. (भानपुर समुन्द्र सतहदेखि २१३ मी। उचाइमा)
प्रमुख नदी र तालहरू [सम्पादन गर्ने]
- प्रमुख नदीहरू: राप्ती र बबई
- प्रमुख तालहरू: बाह्रकुने दह, चरिङ्गे दह, ज्यामिरे ताल, तत्त्व कुण्ड, भोटे दह, जखेरा ताल, पुरन्धारा झरना आदि।
धार्मिक तथा पर्यटकीय क्षेत्र [सम्पादन गर्ने]
चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका-मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर आदि।
व्यापारिक महत्वका स्थानहरू [सम्पादन गर्ने]
घोराही, तुलसीपुर, लमही, भालुबाङ, नारायणपुर, कोइलाबास आदि
सम्बन्धित लेखहरू [सम्पादन गर्ने]
सन्दर्भ [सम्पादन गर्ने]
|
|||||
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||