अछाम जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अछाम जिल्ला
Achham district location.png
अञ्चल: सेती अञ्चल
सदरमुकाम: मंगलसेन
क्षेत्रफल: १,६८० वर्ग कि.मि.
जनसंख्या: २,३१,२८५ (सन् २००१)
गाविस संख्या: ६५
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: ४१६८ मिटर
सबै भन्दा होचो स्थान : ५४४ मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री आदि
प्रमुख भाषाहरू: नेपाली आदि
मानव विकास सूचाङ्क स्थिति: - (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०९७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

अछाम, नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेन्‌अबाट आठ घण्टा पैदल दुरीमा पर्दछ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

अछाम नामाकरण सम्वन्धमा विभिन्न आधारहरू पाइन्छन्। यी मध्ये केही आधारहरू निम्न अनुसार छन।

  1. अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अली ठूलो र कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नकोलागी माथिको जुन मुहानवाट पानी आउंछत्यसलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ। त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व-अछाम्म र अछाम भयो भनि एउटा मत निर्माण भएको पाइन्छ।
  2. डोटी जिल्लाको ब्राह्मण खानदानका गोपाल खतिवडाभट्ट भनिने का चार जना भाइ छोराहरू थिए। कान्छा छोरा प्रभाषका छोरा देवेन्द्र सँग प्रसिद्ध जुम्ली राजा अशोक मल्लकी छोरी हर्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे।पछि नौखुवा राज्यपाई नौखुवामै शासन गर्न थाले उनीवाट जन्मेका छोरा राजाहुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकाले उक्त अचम्म शव्द कालान्तरमा अपभ्रंस हुंदै अछाम कहलिन थालियो।
  3. प्राचिन कालमा तत्कालिन मुगल सम्राज्यको चर्का दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भए। घुम्दै हिंड्ने क्रममा तिनीहरू नेपालको पश्चिमी क्षेत्रको नौखुवा - वर्तमान अछाम पुगे। त्यस ताका नौखुवा क्षेत्र प्रशस्त मिठो आँप पाईने क्षेत्रको रूपमा परिचित थियो। अनुकुल हावापानी र प्रशस्त मिठो आँप पाईने भएको कारण भारतीयहरू नौखुवामैं बसोवास गर्न थाले। हिन्दी भाषामा मिठो आँपलाई अच्छा आँप भनिने हुँदा उक्त शब्द पछि अपभ्रंश हुँदै अछाम कहलिन थाल्यो।

[१]

जिल्लाको इतिहास[सम्पादन गर्ने]

प्राचीनतम नेपालको इतिहास सँगसँगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ। नेपालको सुदुरपश्चिम विकास क्षेत्र अन्तर्गत सेती अंचलमा पहाडी जिल्लाको रूपमा रहेको अछाम जिल्लको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रहेको छ। प्राचीन कालमा हालको अछामलाई "नौखुवा"को नामले चिनिन्थ्यो। नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने वुझिन्छ। त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स-साना राज्यहरू संचालनमा रहेका थिए। नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रूपमा रहेको थियो। कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरूले शासन गर्नूपूर्व अछाममा पालहरूले शासन गरेका थिए। त्यसपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो। तत् पश्चात उनीहरूको शक्ति कम हुदै जादा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दू राज्यको रूपमा स्थापना भएको थियो। अछाम क्षेत्र मध्य कालमा बिकसित भएको खस सभ्यताको उद्गम स्थलको रूपमा रहेको थियो। [१]

राणा कालमा अछामको कैलाश नदी पूर्वको भू-भाग दैलेख जिल्ला र पश्चिम तिरको भू-भाग डोटी जिल्ला अन्तर्गत रहेको थियो। त्यस समयमा अछाम डोटीमा खाद्यान्न आपुर्तिको प्रमुख केन्द्रको रूपमा रही आएको थियो। बि.स. २०१४ सालमा अछामका दुवै भाग मिलाएर डोटी अन्तर्गत राखिएको थियो। पछि जब वि.सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो अछाम पनि छुट्टै जिल्लाको रूपमा अस्तित्वमा आएको थियो। त्यस बखत अछालाई ३९ वटा गाउँ पञ्चायतमा विभाजित गरिएकोमा हाल अछामलाई ७५ वटा गा.वि.स. हरूमा विभाजित गरिएको छ।

अछामी राजाको मुलथलो बड्ढी (बुढो) अछाम अर्थात हाल सेरा गा.वि.स.को कवालेख भन्ने ठाउँमा थियो। त्यस पछि बान्नी गढी, पुनः कवालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ। मंगलसैनमा तत्कालीन समयमा बनेको भब्य दरवार २०५८ सालमा द्वन्दका क्रममा ने.क.पा माओवादीको आक्रमणमा ध्वस्त भई हाल अवशेष विहिन रूपमा रहेको छ।

अछामको इतिहास परापूर्व कालदेखि नै द्धन्द्ध खेप्दै आएको छ। नेपाल एकीकरण भएकै बेला वि.सं. १८४७मा नै अछाम राज्य विशाल नेपालमा गाभिए पनि १८४८को चैत्रे दशैका राती देवचन्द्र शाह (द्धितीय)ले विद्रोह गरी पुनः बान्नीगढी कब्जागरी अछाम राज्यको अस्तित्व राखेका हुन्। त्यसपछि गएर मध्ये कालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ। यही मध्यकालयुद्ध खेपेको जयगढ नामक क्षेत्रमा शान्तिको सन्देशको रूपमा रहेको महामण्डलेश्वर यशोव्रह्मद्धारा लिखित सिलालेख यहाँको पुरानो अभिलेख हो। उक्त शीलालेखमा निम्न पङ्क्तिहरू उद्घृत गरिएका छन्।

  1. ॐ मपिद्मे हुँ। महामण्डलेश्वर
  2. बुद्ध कुलावतार यशोव्रहमचिरंजयतु।। श्री श्वादे १२७६।।

अछाम जिल्लामा साहित्य विकासको इतिहाँस[सम्पादन गर्ने]

लोक साहित्यका दृष्टिले अछाम जिल्ला सम्पन्न मानिन्छ। यहाँका प्राचीन अभिलेख प्राचीन ग्रन्थ र प्राचिन देवलहरूमा लेखिएका अभिलेखहरूले पनि यहाँको चिनारी दिन्छ। यस जिल्लाको साहित्यिक इतिहास निकै पुरानो छ। अछाम राजा श्रीभोर शाहका कान्छा छोरा बाकाबीरको अगुवाइमा सुदूरपश्चिममा विद्रोह हुँदा जंग बहादुर राणाको आदेशमा वि.सं. १९०६मा बाँकावीर (बलदेव शाही) काटिएका थिए। यिनै राजवंशका काजी खलकका सन्तति पहलमानसिंह स्वाँरले नेपाली भाषामा प्रथम दुःखान्त नाटक अटल बहादुर लेखी देश भरीमामात्र नभई साहित्यिक क्रान्ति ल्याएका थिए। यसरी मौफिक साहित्यमा मात्रनभै लिखित साहित्यको पनि प्राचीन इतिहास बोकेको अछाम जिल्ला साहित्यिक त्यसमा पनि अझ लोक साहित्यक सामग्रीका दृष्टिले अत्यन्तै सम्पन्न रहेको छ। त्यस्ता सामग्रीहरूमा अछाम जिल्लामा लोकगीत लोकगाथा लोककथा, लोकनाटक, लोकोक्ति आदि पर्छन्। जसलाई साहित्यका अमूल्य निधिमान्न सकिन्छ। यिनले नै अछाम जिल्लाको लिखित साहित्यको पूर्वाधार तयार गर्नु ठूलो सघाउ पुर्याएका छन्। यसका साथै यहाँका देउडा, रतेउडी, हुडकेनाचा, पुतला, होरी, भूओ, पञ्चेबाजा, लोकगीत तथा लोकलय आदि संस्कृतिका प्रादायक मौफिक रचनाहरूले अझ अछामको साहित्यलाई महाजल छरी मौलाउन सहयोग गरेको देखिन्छ। जुन अछाम जिल्लाको साहित्यिक योगदानकै रूपमा मानिन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

प्रमुख व्यापारिक केन्द्र[सम्पादन गर्ने]

साँफेबगर, विनायक, कमलबजार, मंगलसेन, वयलपाटा, जयगढ, ढुंगाचाल्ला, तुर्माखाँद, वुढावगर, चौरपाटी, ठाँटी, चौखुट्टे, गैरिटाड बजार,मुजाबगर , दर्ना र शान्तडा।

प्रमुख नदीहरू[सम्पादन गर्ने]

कर्णाली नदी, सेती नदी, बृद्धगंगा, कैलाश खोला

प्रमुख पर्यटकिय स्थलहरू तथा पुरात्वातिक समपदाहरू[सम्पादन गर्ने]

धार्मीक तथा पर्यटनको दृष्ठीकोणमा छुट्टै भुमिका बोकेको अछाम जिल्लामा विभिन्न पर्यटकिय स्थलहरू र प्राकृतिक तथा पुरात्वातिक सम्पदाहरू रहेका छन्। जस मध्य केही स्थानहरू यस प्रकार रहेको छन्।

दर्नाका पञ्चदेवल[सम्पादन गर्ने]

दर्नाका राजाको दरबारको पश्चिमपट्टि लामो गरामा ढुङ्गै ढुङ्गाले बनेका पञ्चदेवलहरू रहेका छन्। पञ्चदेवल नजीकै एउटा शिलालेख भेटिएको छ। तर उक्त शिलालेखमा ग्वाला गोठालाहरूले आँसी (हँसिया) उदाउने गरेकाले घिसाएर नबुझिने बनाइदिएका छन् ? तर पनि साहित्यको इतिहास लेखनमा यस शिलालेखले सहयोग नै गरेको पाइन्छ।

विनायकका पञ्चदेवल[सम्पादन गर्ने]

विनायक गा.वि.स अछामका प्रमुख स्थलमध्ये एक हो। यो धार्मिक ऐतहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। यस ठाउँमा रहेका पञ्चदेवल कुनै राजा महाराजाले बनाएको नभएर राजकुमार अक्षम मल्लले शाके १२०२ सम्वत् १३३७मा बनाएका हुन् भने कुरा प्रष्ट हुन आएको छ। तेस्रो केवलका प्रवेशद्धारको तोरणशीलामा उत्कीर्ण गरिएको अभिलेखमा निम्न कुराहरू उद्घृत गरिएको छ।

  • ॐ स्वस्श्रिमतः अक्षयमल्ल देवस्थल सपरिवारा
चिरंजयंतु आत्मन्निभिन्ताधै एकतारसा
  • पुरुषा निभिनानजैराज प्रासाद करायो शाके
१२०२ सुत्रधार नागदेव नाम कमायो।

कुच्चीकोटमा रहेको अभिलेख[सम्पादन गर्ने]

अछाम जिल्लाको कालिकास्थान गा.वि.स वडा नं. ८मा रहेको नाउलो (पानी भर्ने स्थल)को भित्रपट्टी तेस्रो पारिएर राखिएको ढुङ्गामा पनि निम्नानुसारको अभिलेख पाइएको छ। (१) ऊँ मणिपदमे हु (२) श्री शोक १२७६.......महाराजधिराज पृथ्वीमल्लपश्चिरंजयतु। शुष्टेत वर्षक्ष अपूण्ये नमः वेसात्वासुधिभरभाव कृता।।

घोडासैनको शिलालेख[सम्पादन गर्ने]

अछाम जिल्लाको घोडा सैन स्थित ॐ मणिपद्मे हुँ लेखिएको शिलालेखले पनि अछामको साहित्यिक लेखन तथा इतिहाँसलाई झल्काउने कार्य गरेको छ। यसरी अछाम जिल्लाको साहित्य लेखनको पृष्ठभूमि दुइको अभिलेखहरू द्धारा भएको पाइन्छ। तत्कालीन शिल्पको प्रदर्शन पनि यिनमा पाइन्छ। कतै कतै भूमिदान सम्बन्धि तामपत्र पनि पाइएको छ तर आज ती सबै सुरक्षित छैनन्। जो छन् तिनीहरूकैमाध्यमले नेपाली भाषा र साहित्यकोमात्र होइन नेपाली सांस्कृतिक र ऐतिहासिक सम्पदाको परिचय पाउन सकिन्छ। नेपाली भाषालाइ वर्तमान रूपमा पुर्याउने काम गर्न यी अभिलेखहरूले सघाएका छन्।

अन्य पर्यटकिय स्थानहरू[सम्पादन गर्ने]

अछाम जिल्ला माथी उल्लेखित स्थलहरूका साथै थुप्रै प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जस्तै:- रामारोशन ताल, नेपालका चारधामहरूमा एक धाम मनिएको बैधनाथ क्षेत्र (बैजनाथ, कालिमाटि), तितौडाको लेख, साँफे बगर आदी स्थानहरूको साथै संसारमा कतै नपाइने नौ मुठे गाई पनि यसै जिल्लामा देख्न सकिन्छ।

अछाममा भेटिएका ताम्रपत्र अभिलेखहरू[सम्पादन गर्ने]

अछाम र त्यसको आसपासको क्षेत्रमा प्राप्त ताम्रपत्रहरूको सूची निम्नानुसार रहेको छ :-

  1. वि. सं. १४८८ सुमति वर्माको ताम्रपत्र
  2. वि. सं. १४८५ इन्द्रवर्मा र चन्द्रवर्माको ताम्रपत्र
  3. वि. सं. १५२७ कीर्ति मल्लको ताम्रपत्र
  4. वि. सं. १७०१ पहाडी शाहीको ताम्रपत्र
  5. वि. सं. १७०४ बहादुर शाहीको ताम्रपत्र

प्रमुख खोलाहरू[सम्पादन गर्ने]

चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसि खोला, तालागाड खोला, चिल्ताडागाड खोला आदि।

संस्कृती[सम्पादन गर्ने]

सुदूर पश्चिमकै चर्चित मानिने अछाम जिल्लाको आफ्नै किसिमको संस्कृति रहेको छ यहाँको आफ्नै लोक संस्कृती छ। जस मध्य यहाँको विशेष संस्कृतीलाई यसरी लिन सकिन्छ।

लोकगीत[सम्पादन गर्ने]

लोकगित लोकसाहित्यको अत्यन्तै निकट रहेको जनप्रिय विधा हो। यसलाई लोक साहित्यको पुरानो विधा मानिन्छ। लोक गीतले अरु विधा भन्दा धेरै क्षेत्र ओगटेको छ। लोकगीत जन जीवनको हाँसो, आँशु, भोगाइ, रहन सहन, संसकृति, धर्म, परम्परा आदिले सिर्जित हुन्छ। “लोक भन्नाले ती सम्पूर्ण जनताहरू हुन् जो नगर र गाउँमा फैलिएर बसेका छन् र जसको व्यावहारिक ज्ञानको आधार किताब होइन।” पाश्चातय धारणा अनुसार लोक शब्दलाई असंस्कृत जनसामान्यको आधारमा प्रयोग गरिएको छ। लोक शब्दको उत्पती यहाँ बाट भएको हो। यो एग्लो सेक्शन शब्द हो जसलाई जर्मन भाषामा ख्यपि भनिन्छ अङ्ग्रेजी प्रयोगका दृष्टिमा हेर्दा फोक असंस्कृत र मुढ समाज जातिको द्योतक हो। तर विवेचनात्मक रूपमा हेर्ने हो भने यसलाई साह्रै संकुचित र एकपक्षीय दृष्टिकोण व्यक्त गर्ने शब्द भनिन्छ। अङ्ग्रजी विश्वकोषमा फोक शब्दबारे यसरी भनिएको छ – “आदिम ति सबै व्यत्तिः जसको मेलबाट यो समाज बनेको छ लो हो।” योगी नरहरिनाथका अनुसार “लोक साहित्यले इतिहासको कटुसत्यको यथार्थ प्रतिबिम्ब प्रस्तुत गरेको हुन्छ।” अछाममा पनि लोकगीतहरू धेरै पुरानो समयदेखि गाइँदै आएका छन् भन्दा पनि परापूर्वकालदेखि नै चल्दै र एक पिढीबाट अर्को पिँढीमा हस्तान्तरित हुँदै आएको हो। मान्छेलाई बाँच्न हावापानी चाहिए जस्तै मानवताको विकासका लागि पनि सामाजिकता र संवेदनशीलता चाहिन्छ। यसै कुरालाई लिएर डोटेली लोकसाहित्यका अध्येता जयराज पन्तले मानवजातिले नाकको एउटा प्वालबाट ग्रहण गर्न श्वासप्रश्वासलाई संवेदनशीलता भनेका छन्। त्यसै गरी लोकगीत भनेको त्यो संगीत वा गीत हो जुनमानव समाजमा मातृभाषाका नाताले मानिसहरूमा नैसर्गिक रूपले सुखदुखको अनुभवमा दयामाया, प्रेमभाव अभिव्यक्त हुँदा स्वयमभेव उद्गारका रूपमा निस्केर लयदार तरजमा काव्यमयी शैलीमै सिर्जना हुन्छ। अछाम जिल्ला पनि लोकगीतका लागि प्रसिद्ध जिल्ला हो। जहाँको चिनारी नै हरेक ठाउँमा लोकगीतका माध्यमबाट दिने गरिन्छ। जसका केही उदाहरणहरू यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ।

  • डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे
मलाई पनि उडाइलैजा हिउँचुलिका डाँफे
  • हुम्लो जाँच्या जुम्लो जाँच्या अछाम जाँचियान
धन साँचिया मन साँचिया जोवन साँचियान
  • बान्नी राम्रा बरदा देबी कोटघर कालिका
अछाम त बैकुण्ठ रैछ धन्य होमालिका।

यसरी अछाम जिल्लाको चिनारी त्यहाँको लोकगीत र लोकभाकाले र लोकगीतको चिनारी अछाम जिल्लाले दिएर अछामको साहित्यकोमात्रै हैन नेपाली साहित्यको पनि सेवा गर्न भ्याएको छ।

लोककथा[सम्पादन गर्ने]

लोककथा लोकसाहित्यको प्रमुख विधा हो। गाउँघरमा फुर्सदका समयमा मेलापात, जुनेलीरातमा र अन्य समयमा समय काट्न हाँसो वा मनोरञ्जन गर्न होस् अनेक कथा हाल्ने चलन हाल मुद्रणयुग आइसकेपछि पनि विद्यमान रहेकै छ। लोककथा लोकले भन्दै सुनाइ आएका केही तथ्य र केही काल्पनिक घटनावलीको सयुक्त सिलसिला बुद्धपर्ने लोककथा हो लोककथा, नैतिक शिक्षा उपदेशत्मक शिक्षा दिने खालका हुन्छन्। समालोचक रत्नध्वज जोशी लोककथाका प्रचलनबारे यस्तो भन्दछन्। “कथासित कुनै शिक्षा सन्देशआदिको सम्बन्ध राख्ने प्रथा पछिबाट मात्र आएको हुनु पर्छ यो भन्दा पहिले कुनै वक्ता अथवा वीरको सफलता विजयको उल्लास आदि व्यक्त गर्नको लागि कथा भन्ने चलन आएको होला।” यी लोककथाहरूलाई केही समयपूर्व दन्त्यकथा भनिन्थ्यो। यस सन्दर्भमा तुलसी दिवस भन्दछन् – “लोककथा भन्ने हाम्रो परम्परा अत्यन्त प्राचीन हो। त्यसैले यसको प्रारम्भिक मानव सभ्यता तथा बोलिने भाषासँग घनिष्ट सम्बन्ध हुन्छ। मौखिक परम्परामा जीवित भएकाले केही काल अघिसम्म नेपाली समाज लोककथालाई दन्त्यकथाका रूपमा बढी चिन्दथ्यो।” कुनै चाडपर्वमा भेला भएका बेला होस् या कृषिकार्यहरू सकेर सबै जना सँगै बसेका बेला होस् केटाकेटीलाई झुलाउने बेलामा होस् या यहाँका स्थानीय पर्वमा जमघट भएका बेला होस थकाइमार्ने बेला होस् लोककथा भनिने गरिन्छ। यसको उठान एकादेशबाट गरिन्छ र सुन्नेलाई सुनकोमाला, भन्नेलाई फूलकोमाला यो कथा बैकुण्ठ जाला, फेरी फेरी फर्की आउला भनेर टुङ्ग्याइन्छ। अछाममा पनि यस्ता थुप्रै लोक कथा छन् जसमा कोही नितान्त काल्पनिक छन् भने कोही सत्य भनाइमा आधारित पनि छन्। यहाँ प्रचलनमा आएको केही लोककथाहरू निम्नानुसार छन्

  1. कदु मुल्याको लोककथा
  2. सुनकेस्रो रानीको लोककथा
  3. बटुके मूल्याको कथा,
  4. चलाख राजकुमारको कथा,

लोकगाथा[सम्पादन गर्ने]

लोकगाथा लोकसाहित्यको अर्को महत्पूर्ण विधा हो। लोकका परम्परागत मूल्य र मान्यतालाई वा घटना परिघटनाहरूलाई गीतमा उनेर साहसी वीर पुरुषहरूका रोचक घटनाहरूलाई मौफीक रूपमा गाउँदै आएको पाइन्छ। लोकले परम्परादेखि मौखिक रूपमा गाउँदै भट्याउँदै आएका गीति कथालाई लोकगाथाका रूपमा चिन्न सकिन्छ। लोकगाथामा गित र कथा दुवै रहेका हुन्छन्। लोकगाथाहरू वीरगाथा, भक्तिगाथा, देशभक्ति गाथा, नैतिक शिक्षासम्बन्धी र धार्मिक, आर्थिक र सामाजिक विकृति र विसङ्गति सम्बन्धी गाथाहरूलाई गीतमा उनेर गाउने परम्परा छ। यस्तो चलन ग्रामीण समाजमै जीउँदो भेटाउन सकिन्छ। हुड्को बजाएर गाइने गाथा भएकाले यसलाई कतै हुड्केली र कतै भारत पनि भन्ने गरिन्छ। भारतको परिचय दिंदै डोटेली लोकसाहित्यका अन्वेषक जयराजपन्त भन्दछन –“खास वाद्यशैलीमा हुड्को बजाउँदै एक जना प्रमुख गायकको नेतृत्वमा थप चार वा पाँच जना सहायक गायकाको सामूहिक स्वरलहरी बीच–बीचमा निश्चित अंशको गायनमा घन्काएर पर्याप्त अभिनय, नृत्य र कथावाचनका साथ प्रस्तुत गरिने आफ्नै किसिमको लोकरचनालाई भारत भनिन्छ।”

लोकनाटक[सम्पादन गर्ने]

लोक साहित्यका विभिन्न विधाहरू मध्ये लोकनाटक पनि महत्वपूर्ण विधा हो। लोकले विभिन्न चाडपर्व र अवसरहरूमा संस्कृतिको अनुकरण गर्नै सम्वादका माध्यमबाट प्रस्तुत गर्ने विधा लोकनाटक हो। लोकनाटकमा लोकका विभिन्न अनभुवनहरूको प्रतिविम्ब झल्किएको हुन्छ। मुखयतया नेपालका लोकगित र लोकनृत्यका माध्यमबाट लोकनाटकको जन्म भएको प्रतीत हुन्छ। भदौमा देखाइने गाइजात्रे नाच, इन्द्रजात्रामा देखाइने दशावतार, लाखेझ्याली नाच, मारुनी नाच–सोरठी नाच लोकनाटकका उदाहरण हुन्। कृष्णलीला, हरिषचन्द्र, रामलीलाजस्ता नाटकहरू पनि लोकनाटकका नमूना हुन्।

गाउँखाने कथा[सम्पादन गर्ने]

गाउँ खाने कथा पनि लोकसाहित्यको त्यक्तिकै महत्वपूर्ण विधा हो। गाउँखाने कथा लोकजीवनको मौखिक रूपले प्रश्नोत्तरात्मक कूट अभिव्यक्तिका रूपमा प्रचलनमा ल्याएको महत्वपूर्ण लोकोक्ति हो। यसले नेपाली लोकजीवनलाई प्रसस्त अनुप्राणीत पारेको छ। गाउँखाने कथाहरू प्रायः सबै ठाउँमा एउटै प्रकारका हुन्छनः गोठाला जाँदै, घाँस दाउरा गर्दा तथा मेलापात गर्दा वा गाउँघरमा साँझ सबै बसेका बेलामा गाउँखाने कथाको बीउ छर्ने काम हुन्छ। गाउँखाने कथाहरू विभिन्न प्रकृतिका हुन्छन्। सामाजिक, धार्मिक, आर्थिक, राजनीतिक, सांसकृतिक र नीति चेतना सम्बन्धी गाउँखाने कथाहरूको प्रचलन जताततै पाइन्छ। गाउँखाने कथामा ससाना रोचक प्रश्न वक्ताले गर्छ भने श्रोताले सटीक जवाफ दिनपर्छ। उत्तर नजानेमा कुनै गाउँ दिनुपर्छ अनिमात्र प्रश्नकर्ताले यसको जवाफ दिनुपर्छ। श्रोताले उत्तर दिदा दिमाग खियाउनु पर्छ।

लोसाहित्यको अर्को महत्वपूर्ण विधा लोकोक्ति हो। लोकोक्ति अन्तर्गत उखान र टुक्का पर्दछन्। हुन त उखान र टुक्कालाई अलग अलग विधा भनेर उल्लेख गरिएको पनि पाइन्छ, तर उखान र टुक्का दुवै लोकोक्तिकै उपज हुन्। उखान लोकसाहित्यको लोकोक्तिका क्रममा आउने महत्वपूर्ण उपविधा हो। उखानमा लोकजीवनका खारिएका अनुभवहरू पूर्ण उक्तिका रूपमा समेटिएर आएका हुन्छन्। नीति उपदेश, ज्ञान र अनुभवका कुराहरू यसमा समेटिएका हुन्छन्। उखान लोकले युगौंदेखि सँगालेका ज्ञानका भण्डार हुन्।

चाडपर्वहरू[सम्पादन गर्ने]

अछाम जिल्लामा थरी थरीका जात जातीका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतीमा धेरै भिन्नता पाइन्छ। अलग अलग जात जातीका मान्छेहरू सबैले आफ्नो आफ्नो रिती रिवाज अनुशार आफ्नो आफ्नो परम्पराले मनाउदै आएका चाड पर्वहरू मनाउने गर्दछन्। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच पैंसेरी नाच, हुड्के नाच, फुर्का नाच, पुतला नाच, रत्यौली आदी परमपरागत नृत्यहरूको सुन्दर झलक देख्न पाइन्छ। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरू यस प्रकार रहेका छन्।

माथी उल्लेखित प्रमुख चाडपर्वहरूका साथै विभिन्न जनजातीहरूले अन्य थुप्रै आफ्नो आफ्नो परम्परा अनुशारका चाडपर्व तथा उत्सवहरू मनाउछन्। यस्ता चाडपर्वमा यहाँ खानपान नाचगानका साथै फुटबल, भलिबल, बुद्धी चाल, दौड प्रतुयोगीता जस्ता खेल तथा अन्य कार्यक्रमहरूको आयोजना पनि गरिन्छ। तिहारको बेला यहाँ तास खेल्ने चलन पनि रहेको छ।

अछाम जिल्लाको प्रसाशनिक विभाजन[सम्पादन गर्ने]

अछाम जिल्लालाई दुई वटा सांसदीय क्षेत्रमा विभाजन गरिएको छ। हाल सरकारले गत आर्थिक बर्ष २०६७/६८मा मंगलसेन र साँफेबगर दुई वटा नगरपालिका घोषणा गरेको छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ डा. राजाराम सुवेदी अछामको इतिहास

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]