मगर भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली मगर भाषा
मगर ढुट, मगर खाम, मगर काईके र मगर पुईके
मूलभाषीनेपाल
क्षेत्रनेपाल, भारत, सिक्किम, भुटान, म्यानमार
रैथाने(हरू)१९ लाख (नेपाल)
मातृभाषी वक्ता८४०,०००
सरकारी दर्जा
आधिकारिक भाषा
नेपाल
सिक्किम, भारत, भुटान, म्यानमार
भाषा सङ्केतहरू
आइएसओ ६३९-३कुनै:
mgp – पूर्वी मगर
mrd – पश्चिमी मगर
ग्लोटोलगmaga1261[१]

नेपाली मगर भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा खासगरी मगर जातिको बसोबास भएको क्षेत्रमा बोलिने भएता पनि देशका सबै भेकमा बस्ने मगरहरूले बोल्ने गर्दछन्। अचेल नेपाली मगर भाषा बिस्तारै माध्यम भाषाको रूपमा विकसित हुंदै गएको छ। यो नेपालमा बोलिने नेपाली मगर भाषा हो। हालका दिनहरूमा नेपाली मगर भाषाले सञ्चार क्षेत्रमा पनि राम्रै स्थान पाएको छ। यसरी नेपाली मगर भाषा सबै जातिहरूको सर्ब स्वीकार्य भाषाको रूपमा विकसित हुंदै गैरहेको छ। त्यसो त नेपाली मगर भाषा पनि खस नेपाली भाषाजस्तै नेपाली भाषा हो। हालै कर्णाली प्रदेशमा नेपाली मगर (ढुट) भाषालाई प्रचलनमा ल्याएको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपाली मगर (ढुट, खाम, काईके र पोईके) भाषा नेपालमा बोलिने भाषाहरूको सूचीमा आठौं स्थानमा पर्दछ। जनगणना २०६८ को प्रतिवेदनमा नेपाली मगर भाषा बोल्नेहरूको जनसङ्ख्या ७,८८,५३० जना थिए जुन जनसङ्ख्याको २.९ प्रतिशत थियो। [२]

मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत अथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने ३ वटै मगर भाषा बोल्दैनन्। आफ्नो भाषा नबोल्नुको कारण भने नेपाल एकिकरणको समयपछि मगरात राज्यहरू माथिको आक्रमणपछि मगर भाषा बोलेमा दण्ड जरिवाना हुने डरले त्यो क्षेत्रको मगरहरूले भाषा बोल्न छाडेको कुरा उल्लेख छ। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ जस्तै म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस्, म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्ह्याक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङडीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्ह्याक्डी) विर्सिएको पानी र मूल्यवान (मीराङडी) मूल्यवान् पानी भनेर आफ्नो भाषामा नामाकरण गरे।

वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

जनगणना २०५८ को तथ्याङ्क अुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि 'एथ्नोलग-२००५'ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ। नेपाल आदिबासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ। जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ। कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन्। नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ। कुनै पनि भाषा बचाउने भनेको त्यस भाषाको साहित्य नै हो। मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ। विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ।

साहित्य[सम्पादन गर्नुहोस्]

नेपाली मगर भाषा साहित्यको प्रारम्भ काल बिक्रम सम्बत् २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापामगरद्वारा 'मगर भाषाङ ल्ङीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो। त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगर (पाल्पा)को 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगर (तनहूँ)को सम्पादनमा 'सेहेच लामाङ ह्वाईङ' प्रकाशित भयो। मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रह्यो। मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ। अथार मगरात क्षेत्रमा खामपाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन। यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो।

आधुनिक काल[सम्पादन गर्नुहोस्]

२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४८ सालपछि पुनः अगाडि बढेको देखिन्छ। खासगरी लोकबहादुर थापामगरद्वारा मगर भाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका थिए। यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो। 'बैरागी' नाता मगरको 'छीनीकूङ प्रूङ' कविता सङ्ग्रह (२०४८) र 'मोइँओ मीराप' खण्डकाव्य (२०४९) यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो। यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ। २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो।

गद्य कविता/गीत गजल (रीक रील्हीङ/ल्हीङ गजल)[सम्पादन गर्नुहोस्]

मगर भाषाका विधागत साहित्यिक प्रकाशनहरूमा कविता विधा‌मा नै सबैभन्दा धेरै कृति प्रकाशन भएको विधा‌ मानिन्छ। मगर भाषा साहित्यमा कविता (रील्हीङ) विधाको उत्थान ७० को दशकमा जति भयो त्यसको दाँजोमा ८० को दशकमा निकै कम भएको देखिन्छ।

मगर भाषाको गीत कविता ५० को दशक[सम्पादन गर्नुहोस्]

२०४८ सालमै झुस्या मगरको 'रङ्सीचकूङ ल्ङीङ' प्रकाशन भयो। त्यसै वर्ष शिवलाल थापामगरको 'ग्याहोट लख छान्नी' प्रकाशन भयो। मगर भाषामा कविता सङ्ग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा 'बैरागी' नाता मगर (तनहुँ) 'छीनीकूङ प्रुङ' (आजको कोपिला -२०४८), 'मोईओ मीराप' (आमाको रोदन- २०४९), खड्क आलेमगर 'सेन टाहाके ?' (कहिले पुग्ने ? -२०५०), रुद्र हितान मगर (कास्की) 'लाङ्घाके आरमेट्नाङ' (गाउँलाई सम्झँदा-२०५०), गौमाया थापा मगरको 'मगर ढूटो झाम्रे ल़ीङको' (मगर भाषाका झाम्रे गीतहरू - २०५०) रहेका छन्।

मगर भाषाको गीत कविता ६० को दशक[सम्पादन गर्नुहोस्]

स्व. रेखबहादुर थापामगर (नवलपरासी) 'फुन्च ठलके' (जन्म भूमिलाई-२०५१) सन्तोष बुढामगर 'मोई' (आमा-२०५३), सन्जोग लाफामगर (उदयपुर) 'जीव-सीम' (बाँच्नु-मर्नु-२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) झुस्या मगर (स्याङजा) बुढा ईम (बुढो घर-२०५७) उजीर रानामगरको 'माम्याक्नी' (नबिर्स-२०५८) रहेका छन्।

मगर भाषाको गीत कविता ७० को दशक[सम्पादन गर्नुहोस्]

'लीस' - (देश-२०६१), उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही) 'उमेसओ सीरजनाको' (उमेशको सिर्जनाहरू-२०६१), जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) 'ल्हेस्म राहानाङ' (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) 'जीह्च ङऊ लीस' (तड्पिएको मेरो देश-२०६३), पूर्ण थापामगर 'ङा मगर' (म मगर २०६४) (तनहूँ), मेकबहादुर पुनमगर रूपन्देही 'भड्कोसचको' (बाँच्न चाहनेहरू-२०६४), कवियत्री मनु ठाडामगर (धनकुटा) 'काट लीसार' (एउटा कोपिला-२०६४), ए डाजे डईको (ए दाजु दिदीहरू-२०६४) 'मीकडीयाङ फोरझोच रीक्मा' (आँसुमा उफ्रिएको कलम-२०६४), सहीडकूङ मानाम (सहिदको सपना-२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) बीकोलेसा' (दुख्दो रहेछ-२०६५), पुर्ण बहादुर राना मगर 'माम्हीन्च'को 'नाङ सेन राहाले? - (तिमी कहिले आउंछौ? - २०६६) रहेका छन्। सबैभन्दा धेरै प्रकाशनहरू यही दशकमा भएको पाइयो।

यता मगर खाममा पनि निकै प्रकाशनहरू प्रकाशित भएकाछन्। जीवन रोका मगरको 'गीन्मी ङाता कोस्याली -२०६२' कविता सङ्ग्रह प्रकाशित छ।‌

मगर भाषाको गीत कविता ८० को दशक[सम्पादन गर्नुहोस्]

कवि भोज विवश मगरको 'लखन थापा नाको' (लखन थापा हजूर - मगर भाषा कविता सङ्ग्रह - २०७८) प्रकाशित छ। सबैभन्दा कम्जोर दशक यही देखियो।

फुटकर प्रकाशनहरू[सम्पादन गर्नुहोस्]

२०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा 'कोन्जा मोरुम' साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन्। नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति, ललितपुरले २०५३ सालदेखि आफ्नो वार्षिक उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। त्यसकासाथै २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता सङ्ग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छन्। प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ। फूटकर कबिता लेखनमा तनहूँका भाबुक मगर उर्फ रिखुराम थापा मगर छन्।

मगर भाषामा कविताहरूको सँगालो 'बैरागी' नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा 'मगर रील्हीङ गोमक' मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ। जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्ग्रहित गरी पाहुर (कोसेली-२०६३) प्रकाशित गरिएको छ। मगर खामपाङमा रोल्पाका जीवन रोक्कामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काईके मगर भाषामा कविता सङ्ग्रह प्रकाशित भएको छैन। रूपन्देहीका मेजन पुनमगरको भडकोसचको कविता सङ्ग्रहमा गरिएको मगर कविताले मगर खामपाङमा लेख्न हौस्याएको छ।

खामपाङमा रोल्पाको नवीन रोकामगरद्वारा लिखित 'वकी' (मगर जातिको ऐतिहासिक भूमि) कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ। मगरहरूको समारोहमा फाट्टफुट्टरूपमा डोल्पाकी टीना रोकामगरले काईकेमा कविता वाचन गरेर काईकेको प्रतितिधित्व जनाएबाहेक खासै कविताहरू लेखिएको छैन।

मगर खामपाङ र मगर काईकेभन्दा मगर ढुटमा साहित्यिक लेखन सङ्ख्यात्मक रूपमा अगाडि देखिए पनि मगर जातिको सङ्ख्याको दृष्टिकोणले मगर भाषा साहित्यको अवस्था नाजुक नै रहेको छ।

विगतको तुलनामा मगर भाषा साहित्यमा मगर ढुटमा लेख्ने मगर भाषी साहित्यकारको उपस्थिति उत्साहजनक देखिए पनि मगर काईके र मगर खामपाङ भाषा साहित्यलाई कसरी सँगै डोर्‍याउन सकिन्छ गम्भीर चिन्ताको विषय बनेको छ।

बालकविता (जजा-रील्हीङ)[सम्पादन गर्नुहोस्]

मगर भाषामा बालबालिकाको निमित्त भनेर बाल कविता सङ्ग्रह लेखेर प्रकाशित गरिएको छैन। 'बैरागी' नाता मगरले 'लीस' मगर भाषाको कविता सङ्ग्रहमा तीनवटा बच्चालाई गीत गाउँदै भुलाउने बालगीतलाई समावेश गरेको छ। पाठ्यक्रम विकास केन्द्रद्वारा मगर भाषाको पाठरयपुस्तक कानूङ मगर ढूटमा अनुवाद गरिएका र केही बालकविता समावेश गरिएको छ। बालबालिकाको लागि नै फुटकर रूपमा कविता लेख्ने कविहरूमा हेमबहादुर थापामगर (रामेछाप), राजु दर्लामीमगर (रामेछाप), राकेश दर्लामीमगर (रामेछाप) रहेका छन्।

खण्डकाव्य (छ्योट-रील्हीङ)[सम्पादन गर्नुहोस्]

मगर भाषामा लिखित खण्डकाव्य सङ्ग्रह हालसम्म 'बैरागी' नाता मगरद्वारा लिखित 'मैयो मीराप' (आमाको रोदन-२०४९) मात्र रहेको छ। शीर्षक मगर भाषा राखेर नेपालीमा शोषित मगर परिवारको कथावस्तुलाई आधार मानी लेखिएको 'बोई' (बाऊ) प्रगतिवादी कवि रामचन्द्र भट्टराईले लेखेका छन्। मगर भाषाका केही शब्दलाई मात्र प्रयोग गरिएको छ। अथार मगरात क्षेत्रका खाम मगर र काइके मगर भाषामा खण्डकाव्य लेखिएको छैन।

श्रव्य गीत (सेच-ल्हीङ)[सम्पादन गर्नुहोस्]

'बैरागी' नाता मगरको संयोजन र नेत्र बहादुर थापाको नेतृत्वमा 'मगर ढूटो ल्हीङ्' (मगर भाषाको गीत -२०४९) नै मगर भाषामा स्वरबद्ध गरिएको पहिलो गीतिसङ्ग्रह (एल्बम) भएको मानिन्छ। मगर भाषाको श्रव्य गीततर्फ मन बहादुर बगालेमगर (सुर्खेत)को 'कानूङ मेयोङ' (हाम्रो बेदना - २०५०), छविलाल चिडीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा 'सेनिस है लाफाको' (सुन्नुस् है साथीहरू - २०५१) गीतिसङ्ग्रह पहिलो व्यबसायिक गीतिसङ्ग्रह मानिन्छ। मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको 'लाङघौ रोह' (गाउँको माया - २०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ। गीतकार मन बहादुर बगालेमगर (सुर्खेत)को 'वाटा ग्याच सार' (फुल्यो रातो फुल - २०६४) गीतसङ्ग्रह (एल्बम) प्रकाशित छ। सङ्गीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झामर्‍या(२०६५) बजारमा आएको छ। फुटकर रूपमा मन बहादुर बगालेमगरको 'काँक्रेबिहाराङ' (काँक्रेबिहारमा -२०६६) दोहोरी गीत रेकर्डिङ गरिएको छ।

मगर भाषाको पहिलो चलचित्र 'लङ्घन' (प्रयास)को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी 'लङ्घन' गीति सङ्ग्रहको रूपमा प्रकाशित गरिएको छ। गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सीडीसहितको 'रोहसार' (प्रेमफूल­), बुद्ध भगवान्को स्तृतिमा आधारित मनु थापामगरको संयोजनमा 'बुद्धऔँ चरणाङ' (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको 'जोडी भाह्लेसा' (जोडी छुटेछ) र दुर्गा रायमाझीको संयोजनमा 'भूर्मह्वाच ग्वाजा' (उडिजाने चरी) गीति एल्बम रहेको छ। उजीर रानामगरको मगर ढूटमा गीति एल्बम आउँदैछ।

मगर भाषामा गीत लेखी रेकर्डिङ गरी सामाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मुख हुन थाल्नुले गीत-सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ। मगर खाम-पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ भने मगर काइके भाषामा गीत रेकर्डिङ गरिएको छैन। खाम-पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छेैन।

गजल[सम्पादन गर्नुहोस्]

मगर भाषामा मेकबहादुर रानामगरको 'बीक्च गीन' (दुखेको मन-२०६४) पहिलो गजल सङ्ग्रह हो। नवलपुरका जनक माकिम मगरको 'गालाम फोईङ' गजल सङ्ग्रह २०६५ प्रकाशित छ। नवलपुरकै अर्का गजलकार हेमा आले 'बोगी'को 'रीक्मा' (कलम - २०६६) गजल सङ्ग्रह प्रकाशित छ। दिनमान गूर्मछान मगर दिगुद्वारा लिखित मगर भाषा 'मगर भाषा गजल सङ्ग्रह' प्रकाशोन्मुख छ। आशीष सूर्यवंशी मगर निर्दोष (नवलपरासी), रोहितकुमार रानामगर (रूपन्देही) गजलकार भएर पत्रपत्रिकामा देखा परेका छन्।

हाइकु[सम्पादन गर्नुहोस्]

उजीर राना मगरले फुटकर रूपमा २०६२ सालमा मगर भाषाका हाइकु प्रकाशन गरेका छन्। तनहुँका मीन थापामगरले 'मगर ढूटाङ १०१ हाइकु' मगर भाषामा १०१ हाईकु (२०६४)मा प्रकाशन गरेका छन्। यो नै मगर भाषाको पहिलो हाइकु सङ्ग्रह हो। यसबाहेक मगर भाषामा हाइकु लेखिएको पाइएको छैन।

मुक्तक (टुर्ल्हीङ)[सम्पादन गर्नुहोस्]

मगर भाषामा मुक्तकहरू पनि सङ्ग्रहका रूपमा प्रकाशित भएको देखिन्छ। रुद्रबहादुर हितानमगरद्वारा लिखित 'लाङघाके आरमेट्नाङ-२०५०' कविता सङ्ग्रहभित्र केही मुक्तकहरू रहेका छन्। उनकै मुक्तकहरू पत्रपत्रिकामा छापेर मगर भाषाको मुक्तकले मुक्तकको प्रतिनिधित्व गरिरहेका छन्। फुटकर रूपमा टिकाटोली थापामगर (उदयपुर) गणेश ठाडामगर (धनकुटा) का मुक्तक प्रकाशित छन्। गीतकार शिवशङ्कर थापामगरको 'पाइतालाका डोबहरू' (मीहीलऊ मीठापको-२०६३) मुक्तक सङ्ग्रह मगर भाषामा अनुवादसहित प्रकाशित भएको छ। कवि‌ भोज विवश मगरको 'ऐंसेलु' (डिघाँसी - मगर भाषा मुक्तक सङ्ग्रह - २०७६) प्रकाशित छ। कवि रीम राना मगरको 'बरनौली' (बरनौली - टुर्ल्हीङ गोम्होक - २०७९) प्रकाशित भएको छ। जनक माकीम मगरको गालाम फोईङ मुत्तक प्रकाशोन्मुख छ।

कथा (आहान)[सम्पादन गर्नुहोस्]

मगर भाषामा लेखिएको टेकबहादुर सारुमगरद्वारा लिखित बडहरे साहिंली (बडहरे साईली-२०५०) मगर भाषाको कथा सङ्ग्रहको रूपमा पहिलो रहेको छ। 'बैरागी' नातामगरको सम्पादनमा नेपाल मगर संघ जिल्ला कार्यसमिति तनहुँद्वारा प्रकाशित मगर कथा सङ्ग्रह "मगर ढुटओ आहान गोहोमोक, -मगर भाषाको कथा सङ्गालो (२०६४) र विष्णुकुमार सिञ्जालीमगरको 'ल्हुङ' (ढुङ्गा- २०६४), 'बैरागी' नातामगरद्वारा लिखित 'फेरफेन ड नमखान' (पूर्व र घाम-२०६४), उजीर रानामगरको 'मोई झाओ रोहाङ' (जन्मभूमिको मायामा-२०६४), शिवलाल थापामगरको 'लुप्च रह' (गहिरो दह २०६५), दुर्गा ढेंगाको सम्पादनमा 'याँभु' (इन्द्रेणी - २०६९), हरिकला थापा मगर 'हरिता'(पाल्पा)'हरीटौ आहानको - (हरिताका कथाहरू) - २०६९', हेमा आले 'बोगी' (नवलपुर) 'लर्फूओ मिच्याट' (पछ्यौरीको एक टुक्रा - २०७०), दुर्गा ढेंगा (पाल्पा)को 'छेटेन' (बन्दुक - कथा सङ्ग्रह -२०७३) सहित गरी ८ वटा कथासङ्ग्रह प्रकाशित भएका छन्। सञ्जोग लाफामगरको 'फोक्सिङ वाट्नाङ (साल फुल्दा) कथासङ्ग्रह प्रकाशोन्मुख छ। फुटकर कथा विभिन्न पत्रिकामा प्रकाशित गरेर कथा विधामा योगदान दिनुहुने कथाकार तनहूँका भाबुक मगर हुन्।

खाम-पाङ भाषामा फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। खाम-पाङ र काईके मगर भाषामा कथासङ्ग्रह प्रकाशित भएको छैन।

बालकथा (जजा-आहान[सम्पादन गर्नुहोस्]

मगर भाषामा लेखिएको हेमा आले 'बोगी' (नवलपुर) 'बोपरा खुया' (बिचरा खुया - २०७१) बालकथा सङ्ग्रह प्रकाशित छ। बालमनोविज्ञानलाई लिएर यो भन्दा अर्को कुनै बालकथाकृति प्रकाशन भएको पाइएको छैन।

लघुकथा (टुनाहान)[सम्पादन गर्नुहोस्]

मगर भाषामा लेखिएको छोटा कथा, लघुकथा सङ्ग्रह प्रकाशित भएको देखिँदैन। फुटकर रूपमा अमृता थापामगर, सिंह रानामगर (स्याङजा) टिकाटोली थापामगर (उदयपुर)का लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित भएका छन्।

लोककथा (ङेराहान)[सम्पादन गर्नुहोस्]

'बैरागी' नातामगरद्वारा लिखित 'खीस्सा ङेराहान ड पीहिनी, २०५५'मा केही लोककथा सङ्ग्रहित छन्। मगर दन्त्यकथा मगर भाषामध्ये रणप्रसाद घर्तीमगरद्वारा लिखित खाम-पाङ मगर भाषामा खाम मगर दन्त्य कथा (२०६२) रहेको छ। अन्य मगर ढुट र काईके मगर भाषामा प्रकाशन भएको छैन।

उपन्यास (लोट्च-आहान/नामरीही)[सम्पादन गर्नुहोस्]

मगर (ढुट) भाषाको उपन्यास सञ्जोग लाफामगर 'रेवस' (चलन, २०५१), 'माहाञ्जौ लुमरा' (स्वास्नीको चिहान, २०५६), झुस्या मगर 'जजा वखत' (बाल्यावस्था, २०५२), फूलकुमारी थापामगरको 'यीटन लेसा मास्टोकुङ कथा र व्याथा' (यस्तै रहेछ महिलाहरूको कथा-व्यथा, २०५७), 'आखीरीआङ भगूमान मालेलेसा' (आखिरीमा भगवान रहेनछ, २०६५), 'बैरागी' नातामगरको उपन्यास 'रोरा नीराओ काट जूग' (रोरा नीराको एक युग, २०६५), विप्लव मगरको 'लीसोबारी, 'रेन्झाकूङ ल्हीङ', (देशको लागि र तन्नेरीहरूको गीत- २०६६), लोयाट, अधिकार' गरी ९ वटा उपन्यास प्रकाशित छन्।

मगर (खाम) भाषामा जीवन रोकामगरको 'आछिम का सिल - २०६८' र 'गे मगराँत खै (हाम्रो मगराँत खै) - २०७१ उपन्यास प्रकाशनबाट शुरु भएको छ। हालसम्म मगर (खाम) भाषामा दुईवटा मात्र उपन्यास प्रकाशन भएको पाईयो। मगर (खाम) भाषामा नवीन रोकामगरको उपन्यास प्रकाशनको सङ्घारमा रहेको छ।

मगर काइके भाषामा उपन्यास अहिलेसम्म लेखिएको छैन।

नाटक (बाहट)[सम्पादन गर्नुहोस्]

मगर भाषामा नाटक विधामा युवराज मास्की रानामगरद्वारा अङ्ग्रेजीमा लिखित मगर नाटकलाई कृष्णबहादुर पुलामीमगरले मगरद्वारा मगर ढुटमा अनुवाद गरिएको 'मोई' (आमा-२०५०) नाटक र मोदनाथ प्रश्रितद्वारा लिखित प्रगतिशील नाटक 'पचास रूपियाँको तमसुक'लाई लोकबहादुर थापामगरले अनुवाद गरी प्रकाशित गरेको 'पीराङ् रूप्यौ लूरीक' (२०५०) अनुवादित नाटक नै मगर भाषा नाटकको रूपमा प्रतिनिधित्व गरिरहेको छ।

धेरै बर्षको लामो अन्तरालपछि मगर भाषाले नयाँ मौलिक नाटक युवराज मास्की राना मगरद्वारा लिखित 'डेसान - २०६९' पाएको छ।

एकाङ्की नाटककारहरूमा बैरागी नातामगर (तनहुँ), लोकबहादुर थापामगर (स्याङ्जा) रहेका छन्।

खाम मगर भाषा र काईके मगर भाषामा नाटक कृतिको रूपमा लेखन र प्रकाशित भएको छैन।

चलचित्र[सम्पादन गर्नुहोस्]

मगर चलचित्र २०५१ मा 'लङ्घन' चलचित्रमा युवराज मास्की रानामगरले पटकथा लेखन, निर्देशन गर्नुभएको छ। संजोग लाफा मगरको कथामा आधारित यस चलचित्रमा अभिनय गर्ने कलाकारहरू राज थापामगर, नरेन्द्र आलेमगर, ईश्वर थापामगर, तारा थापामगर आदि रहेका छन्। यस चलचित्रका निर्माता डी•बी• पुलामीमगर हुन्। नरु थापाको उपन्यास सिमारेखाको कथामा किशोर राना मगरले निर्देशन गर्नुभएको ठूलो पर्दाको कथानक चलचित्र 'सिमारेखा - २०५४' बजारमा ठूलै तामझामकासाथ प्रदर्शन भयो। यस फिल्मका निर्माता डि. बी. बुढाथोकी मगर लगायत हुन्। सञ्जोग लाफा मगरद्वारा लेखन र निर्देशन गर्नु भएको 'लीसरा (फक्रन लागेको फूल- २०५८' रश्मी थापा मगरको मगर हर्टस् फिल्म प्रोडक्शन प्रा लिले बजारमा ल्यायो। यस फिल्मका सह-निर्देशक गीनसरा थापा मगर रहेका छन्।

सञ्जोग लाफा मगरद्वारा लेखन र निर्देशन गर्नु भएको 'आशे (उनी) - २०६१' रश्मी थापा मगरको मगर हर्टस् फिल्म प्रोडक्शन प्रा लिले बजारमा ल्यायो। यस फिल्मका सह-निर्देशक सन्तोष पिठाकोटे मगर रहेका छन्। मेक बहादुर पुन 'मेजन'द्वारा लेखन र निर्देशन गर्नु भएको 'एजु - २०६१' फिमला फिल्म प्रोडक्शन प्रा.लिले बजारमा ल्यायो। मौसम पुनको निर्देशनमा पुन फिल्म्स प्रोडक्शनले 'हर पलको बाध्यता - २०६२' प्रदर्शनमा ल्यायो। जमान सिं राना मगर र यम राना मगरको लेखन, निर्देशनमा फिल्माईएको फिल्म 'ङौ आर्मिट्मा - २०६४' बजारमा आयो। निर्मात्री बलिसरा थापा मगरको थोङ्ग्यासार फिल्म्स प्रालिले प्रितम गुरुङ्गको निर्देशनमा 'यानीमाया - २०६४' बजारमा ल्यायो। खिमन पुनको लेखन र मौसम पुनले निर्देशन गर्नु भएको फिल्म 'बाराही पुत्र - २०६५' पुन फिल्म्स प्रोडक्शन प्रालि बजार प्रवेश गऱ्यो। मेक बहादुर पुन 'मेजन'द्वारा लेखन र निर्देशन गर्नु भएको 'एजु २ - २०६५' फिमला फिल्म प्रोडक्शन प्रा लिले बजारमा ल्यायो। प्रितम गुरुङ्गको निर्देशनमा सङ्गीत, सम्बाद र निर्माता चेतन रजाली रहेको 'ङउ कर्म - २०६५' अस्तित्वमा आयो। सन्तोष पिठाकोटेको निर्देशनमा निर्माता छ्याम थापा, गोविन्द थापा, रविन्द्र थापा र इन्दु थापाद्वारा 'चिन्डियाक - २०६५' फिल्माईयो। सन्तोष पिठाकोटे र प्रतिमाया पुनको संयुक्त निर्देशनमा निर्मात्रीद्वय टिका पुन र प्रतिमाया पुनको 'साली ज्यू - २०६६' बजारमा आयो। नवीन रोका मगरको निर्देशनमा 'घाव़ नाङखर - २०६७' फिल्माईएको फिल्मका निर्माताहरू भीम प्रकाश पुन, नवीन रोका, जीवन रोका र दीपक रोका रहेकाछन्। श्याम थापाको लेखन र निर्देशनमा निर्मात्री रिमा थापाद्वारा 'वाङ्म मुले - २०६७' फिल्माईएको छ। ध्रुव पुन र विशेष बुढाको निर्देशनमा निर्मात्री सृष्टी पुनद्वारा 'मोड्याल्नी - २०६७' फिल्माईएको छ। भुवन थापाको निर्देशनमा निर्माता भुवन र सौगात थापाद्वारा 'कानुङ्ग क्रान्ती - २०६७' फिल्माईएको छ। यसरी हेर्दा ७० को दशकले राम्रै बजार गरेको पाईयो र यहीं बीट माऱ्यो।

हर्क आले मगर, तारामाया थापा मगर र अंकित पुन मगरको निर्माणमा मेक बहादुर पुन मगर 'मेजन'द्वारा फिल्माईएको 'रैंया - २०७३' आइम पुन मगरले छाँयाङ्कन गरेका छन्। मिनुज राना मगर र भुपेन्द्र मगरको 'कर्म - २०७८' बजारमा आइसकेको छ। सन्तोष पिठाकोटे मगरको निर्देशनमा 'मिझार (जेठा) - २०७८ फिल्म मेक्शोन फोर-डी स्टुडियोले बजारमा ल्याएको छ।

हालसम्म नेपाली (मगर) भाषा, संस्कृति र विभिन्न विषयमा आधारित कथानक चलचित्र ४५, वृतचित्रहरू करिब २५ र लघुचलचित्र करिव १५ निर्माण भइसकेका छन् भने निर्माणाधिन चलचित्रहरू पनि बग्रेल्ती छन्।

निबन्ध (मीरीक)[सम्पादन गर्नुहोस्]

मगर भाषामा शिवलाल थापा गुरुछानको 'मीरीक' (निबन्ध सङ्ग्रह, २०६६) प्रकाशित भएको छ। अन्य मगर निबन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ। लोकबहादुर थापामगर (स्याङजा), यमबहादुर आलेमगर (तनहुँ)ले निबन्ध विधामा कलम चलाएका छन्। त्यसैगरी खीम थापामगर (स्याङजा), धनसिं रानामगर (बाँके), पदमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी), प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा)ले फुटकर रूपमा निवन्ध लेखेका छन्। खामपाङ मगर र काईके मगर भाषामा निबन्ध सङ्ग्रह र निबन्धहरू लेखिएको छैन।

जीवन रोकामगरको 'आछिम चेतैक - २०७१' निवन्ध सङ्ग्रहबाट निवन्ध विधामा पनि मगर खाममा निवन्ध लेखन कार्य शुरुवात भएको छ।

चिनारी/जीवनी (चिनारी ड जीवारीक)[सम्पादन गर्नुहोस्]

मगर भाषामा मगर व्यक्तिहरूको जीवनीलाई आधार मानेर चिनारी लेख्ने कामको सुरुवात गरिए पनि निरन्तरता हुन सकेको छैन। मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई मगर भाषाका आदिकवि भनेर चिनारी गराउने उद्देश्यले लोकबहादुर थापामगरले 'मगराती ढूटाङ जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापामगर' पुस्तक लेखेका छन्। बीम्लीक पत्रिकामा उहाँद्वारा नै लिखित मिझार रील्हीङ्या रेखबहादुर ठापामगरबारे चिनारी लेखेका छन्।

समालोचना[सम्पादन गर्नुहोस्]

समालोचना विधामा कलम चलाउनेमा यामबहादुर थापामगर (स्याङ्जा) रहेको छ। लोकबहादुर थापामगरद्वारा लिखित 'रङसीचकुङ ल्हीङ' कविता सङ्ग्रहको समालोचना हो। समालोचनाका रूपमा उनीहरूमात्र अहिलेसम्म देखिएका छन्।

उखान टुक्का/गाउँखाने कथा/चुट्किला (खीस्सा, टुक्का, पीन्पीनी ड खेसेक)[सम्पादन गर्नुहोस्]

मगर भाषामा पहिलो उखानटुक्का र गाउँखाने कथासङ्ग्रहको रूपमा 'बैरागी' नाता मगरद्वारा लिखित 'खीस्सा ङेराहान ड पीहिनी, २०५५' रहेको छ। मगर समाजमा उखान टुक्का गाउँखाने कथाहरू प्रशस्त मात्रामा भए पनि लिखित परम्पराको विकास नभएको कारण कतिपय उखान टुक्काहरू लोप भइसकेका छन् भने बुढाबूढीहरूको मुखमा झुन्डिएको टुक्काहरू लोपोन्मुख हुने अवस्थामा रहेको छ।

मगर भाषा 'चुट्किला' लेखेको पाइएको छैन। सङ्ग्रहको रूपमा प्रकाशन भएको पनि देखिंदैन। उदयपुरका टिकाटोली मगरले 'राहा' पत्रिकामा लेखेको एकमात्र चुट्किला लेखिएको देखिन्छ।

लिपिको विकास (रीकओ उपटी)[सम्पादन गर्नुहोस्]

एम.एस. थापा मगरद्वारा अनुसन्धान गरी प्रकाशनमा ल्याएको हो। विभिन्न कोणबाट विवाद हुँदै आए पनि नेपाल सरकारद्वारा मुद्रित प्राथमिक तहसम्मको मगर भाषाको पाठ्यपुस्तकमा अक्खा रिका प्रकाशन भई अध्यापन गर्न थालिएको छ भने विभिन्न मगर जातीय सङ्घ संस्थाले यस लिपिमा तालीम दिई कतिपय व्यवहारमा समेत ल्याउने जमर्को गरेको पाइएको छ। अचेल यस अक्खा रिका लिपि तयार पारी साहित्यिक रचनाहरूलाई लिपिमा परिबर्तित गर्ने काम थालिएको छ।

मगर शब्दार्थ र शब्दकोश (मगर ङाक मेठोर्लोक ड ङाक गोम्होक)[सम्पादन गर्नुहोस्]

अयोध्या प्रसाद प्रधानको मगर ढुटमा पहिलो व्याकरण 'मगर कुरा शिक्षा - १९९६' प्रकाशित भयो। मगर ढुटमा इन्द्र बहादुर आलेमगरको शव्द सङ्ग्रह - २०६५ (मीङाक गोम्होक - २०६५) प्रकाशित भयो। मगर ढुटमा अर्को बृहत शव्दकोश संकलक, लेखक तथा प्रधान सम्पादक, हिरासिंह थापा (सोमेसेन मगर); सम्पादक मण्डल, युवराज मास्की रानामगर, नारायण तारुङमगर, विष्णुकुमार सिङ्जालीमगरको सह-सम्पादनमा 'मगर (ढूट)-खस-अङ्गरेजी आखर गोम्होक, मगर (ढुट)-खस-अंग्रेजी शव्दकोश, Magar (Dhut)-khas-English Dictionary' - २०६६ असारमा नेपाल मगर संघले प्रकाशन गरेको हो। विष्णु कुमार सिंजालीमगरको 'मगर ढुटआङ कुराकानी - मगर ढुटमा बोलचाल - २०६६' प्रकाशन भएको छ।

त्यसै गरी मगर खामपाङमा रणप्रसाद घर्ती मगर र कर्णबहादुर बुढामगर (रुकुम)को A Trilingual Dictionary of the Magar Language (Athara Magarat) - २०६७, शब्दकोश प्रकाशन भएको छ।

साहित्यको तुलना[सम्पादन गर्नुहोस्]

सिंगो वाङ्मयलाई हेर्दा साहित्यका कविता, लघुकथा, कथा, उपन्यास, निवन्धजस्ता विधाहरू लेख्य परम्परामा आधारित रहेर लेख्नु पर्दछ। मगर भाषाका मानक लेखन विवादमा परिरहने भएकाले प्रकाशनमा निक्कै ढिलासुस्ति आएको छ। गीत, सङ्गीत, वृत्तचित्र र चलचित्र विधाहरू कथ्य परम्परामा आधारित रहेर फिल्माउन पाइने वा मिल्ने भएकाले प्रकाशनमा गतिलै गति लिएको छ। ८० को दशकलाई मूल्याङ्कन गर्दा चलचित्र विधा भने निकै नै फस्टाएको छ।

समग्रमा मगर भाषा साहित्यको तुलना गर्दा मगर ढुटमा निकै नै पुस्तक प्रकाशन भई मगर ढुटको साहित्यमा विकास भएको छ। मगर खाममा पनि धेरै नै पुस्तकहरू प्रकाशन भएकाछन् र भाषा विकासमा टेवा पुगेको छ। मगर काईकेमा भने डोल्पाका कर्णबहादुर बुढामगर र लाजे बुढामगरको गोरखापत्रमा प्रकाशन भएको लेखबाहेक खासै साहित्य सिर्जना भएको छैन। उजीर रानामगरको संयोजनमा मगर काईकेको वर्ण पहिचान गोष्ठी गरी (२०६५)मा वर्ण पहिचान भएको पुस्तिका भने प्रकाशन भएको छ।

[३] [४] [५]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Magar", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. केन्द्रीय तथ्याङ्क विभाग (https://cbs.gov.np/wp-content/upLoads/२०१८/१२/Population-Monograph-V०२.pdf), "जनसांख्यिक प्रतिवेदन २०११", Population Monograph 2011, Central Bureau of Statistics Nepal, पृ: ५७, अन्तिम पहुँच १२/१/२०२२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०६ मिति
  3. विभिन्न समयमा विभिन्न व्यक्तित्त्वहरूद्धारा प्रस्तुत कार्यपत्रहरू
  4. लोकबहादुर थापामगर, लिखित 'मगर भाषामा क-कसले के-के गरे ?'
  5. युवराज मास्की राना-मगर, लिखित 'Magar film (मगर चलचित्र)'

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]