थारु जाति

नेपाली विकिपीडियाबाट
(थारू जाति बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
थारू महिला
परम्परागत पोषाकमा थारू महिलाहरू
थारू पुरुष

थारू नेपालको आदिवासी जाती हो। यिनीहरू नेपालको मध्य-पश्चिम पहाड स्थित सुर्खेत उपत्यका भित्री तराई भनिने, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यका का साथै नेपालको समग्र तराईमा बसोबास गर्दछन।

यो तराईमा सबैभन्दा बढी जनसंख्या भएको जाती पनि हो। यो नेपालको ऐतिहासिक जातीले नेपाल निर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागि थारू सेना ल्याएपछि क्रमशः गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्तसम्म भाग लिइ रहयो साथै नेपालले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य क्षेत्री, मगर, गुरुङ, बाहुन, तामाङ, राई, लिम्बू, कामी, दमाईँ, गन्धर्व, योगी लगायतका जाति जत्तीकै बहादुरिपूर्वक लडेर मातृभुमी नेपाललाई विदेशी शक्तीहरूबाट बचाएको इतिहास पाइन्छ।

यिनीहरू कैयौ वर्ष पहिलेदेखि तराईको घना जंगलको बीच-बीचका बसोबास गर्दै आएका छन्। दाङ्गमा बस्ने थारू थारूलाई 'दङ्गौरा थारू' भनिन्छ भने त्यहाँ तिनीहरूको राज्य नै रहेको प्रमाण पनि फेला परेको छ। आकृतिले मंगोलजस्तै देखिए पनि दक्षिणतर्फका आर्यनहरूको सम्पर्कमा परेकाले थारूहरूको जनजीवन र रहनसहन निकै फरक पाइन्छ। ठाउँअनुसार थारूहरूको थर र भाषामा पनि अन्तर छ। भौगोलिक विभाजनअनुसार यिनीहरूका केही थर हुन् : लालपुरिया, सोलरिया, राना, मर्दनिया, कडरिया मोरङगीया, राजहटीया, रौतार, चितौनिया, मझौरा, दाङ्ग बर्दिया खस, लामपुछुवा, बुचविहारी, डगौरा आदि।

थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलीरहेका हुन्छन्। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो दसै, तिहारका अलावा थारूहरू धुमधाम सँग माघी, जितीया आदी पर्व मनाउने गर्दछन।

थारू जातिको पुरोहितलाई 'गुरुवा' वा 'भर्रा' पनि भनिन्छ। थारूहरूको पारिवारिक र सामाजिक चाड पर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ। यिनीहरू 'देउरहार' भन्ने ईष्ट देवताको पूजा गर्छन्। विवाहमा केटी पक्षले/केटीका साथी-सङ्गनिले-जन्ती वा केटा पक्षलाई जथाभावी सराप दिने र गाली गर्ने चलन छ। बेहुली अन्माउँदा अन्य चीजको अतिरिक्त एउटा कचौरा पनि दिने गरिन्छ, जुन बेहुलीलाई अत्यन्तै दुःख पर्दा विषपान गर्न दिइएको हो भन्ने विश्वास गरिन्छ।

ऐतिहासिक रूपमा थारूलाई राजपूत स्त्रीहरूसँग सम्बन्धित देखाइएको छ। मुलसमानहरूले राजपूतमाथि आक्रमण गर्दा राजपूत महिलाहरू थारूहरूसँग भागेर आएको आख्यानका आधारमा हाल पनि थारू महिलाले आफ्नो श्रीमानलाई भात दिँदा खुट्टाले धकेलेर दिइ आफ्नो जातीय प्रभुत्व कायम राख्न खोजेको पाइन्छ। थारूहरू बिहानको खाजाहरूलाई 'कलेवा', दिउसोको खानालाई 'मिङ्ग' र साँझको खानालाई 'वेरी' भन्छन्। थारूहरूको कुलदेवता काली भगवती, मैयागोरैया हुन्। हरेक घरमा कुल देवता रहन्छन्। कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ। यिनीहरूका सामूहिक देवता 'बरदम' र 'भूइहार' हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ। यिनीहरूको मुख्य चाड 'माघी' हो, जुन माघ महिनाको सुरूमा मनाइन्छ।

थारूहरूको मृत्युसंस्कार ठाउँअनुसार फरक-फरक पाइएको छ, पूर्वी तराईका थारूले लास जलाउँछन्। पश्चिम तराईका थारूहरूले गाड्छन्। लास गाड्दा पुरुषको भए घोप्टो पारेर र महिलाको भए उत्तानो पारेर गाडिन्छ। क्रिया गर्दा पूर्वका थारूले ब्राहृमण लगाउँछन् भने पश्चिमकाले भर्रा लगाउँछन्। परिश्रमी र इमान्दार थारू जातिको एक विशिष्ट पहिचान हो। उनीहरू सरल मिजासका मेहनती र इमान्दार हुन्छन्। खेतीपातीपशुपालन नै मुख्य पेशा भए पनि आजकल व्यापार र नोकरी गर्न पनि थालेका छन्। यिनीहरूको ठूलो बस्ती भएको ठाउँलाई थरूवान, थरूहट वा थरोट पनि भनिन्छ। थारू जातिको एउटा मुख्य विशेषता संयुक्त परिवारको पनि हो। ३-४ पुस्तासम्मका थारू परिवारहरू एउटै संयुक्त परिवारमा रहेको र एउटै परिवारमा १ सय ५० जना सदस्य रहेको पनि पाउन सकिन्छ। खासगरी पश्चिम तराईका थारू जातिमा संयुक्त परिवारको अवधारणा व्याप्त छ। यसबाट खेती र पशुपालनजस्ता सामूहिक जीविका चलाउन सजिलो भएको छ।

वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। २०५७ साउन २मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा 'कमलरी' का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि यिनीहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले उनीहरूको अवस्थामा सुधार हुँदै आएको छ।

प्रमुख लोक बाजाहरू[सम्पादन गर्ने]

थारू जातिका सखियामादल, झुमरी मादल, कारा, टिम्की, ठेकारा, बौसी, मजैरा, मनार, मुरली, तमौरा, रेउनी, ढ्वाल, डफा, झर्रा, नारा, झाइल, पिपही, पिङरी, पिलरू-माटोको बाजा, चट्कौली, कस्टार, डिग्री मुख्य बाजाहरू हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'" 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी लिंकहरू[सम्पादन गर्ने]