उभौली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उभौली किराँत राई लिम्बु याक्खासुनुवार जातिको महान् चाड साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुँन्छ। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ।किरात हरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन्। कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन्। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ। स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन्। गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ |

प्रत्येक वर्ष चण्डिपूर्णि देखि यी जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी चण्डी नाच नार्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णीमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन्|

फलामे रेटि रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला होई सोई सोइला।

यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो। किराँत-राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन्। किराँत-राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन्। उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ। अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ। दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ।

खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ। बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव-जनावरको नक्कल गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो। किराँत राईहरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ।