वीरेन्द्र बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीरेन्द्र बहुमुखी क्याम्पस
स्थापनावि.स २०२२
ठेगाना,
भरतपुर
,
वेबसाइटbmc.edu.np

वीरेन्द्र बहुमुखी क्याम्पस नेपालको चितवन जिल्ला स्थित भरतपुर १० मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित क्याम्पस हो। यो क्याम्पसको स्थापना वि.सं. २०२२ सालमा भएको थियो। नारायणगढ बजारबाट भरतपुर उकालोको देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरको केन्द्रमै अवस्थित छ। हाल ९-१० वर्षदेखि क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षाहरू भरतपुरको वडा १०,११ र १२ को बीचमा बाइपास सडकसँगै रहेको क्याम्पसको जग्गामा भवन बनाई सञ्चालन गर्दै आएको छ। यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो।[१]भरतपुरमा मात्र नभई समग्र चितवन र यसको वरपरका जिल्लाको उच्च शिक्षामा समेत वीरेन्द्र बहुमुखी क्याम्पसको अतुलनीय योगदान रहेको छ। हाल यस क्याम्पसका क्याम्पस प्रमुख अध्यापक दयाराम पौड्याल हुन्। [२]

यस क्याम्पसले वि.सं २०३५ सालमा कला विषयको स्नातक तहको कक्षालाई सञ्चालनमा ल्याएको थियो भने त्यसपछिका दिनहरूका क्याम्पसले वि.स २०५० मा विज्ञान स्नातक, वि.सं २०६२ मा व्यावसायिक अध्ययन स्नातक, वि.सं २०६४ मा शिक्षामा १ वर्षे स्नातक, वि.सं २०६८ मा परजीवी विज्ञान विषयको स्नातक, वि.सं २०६९ मा कम्प्युटर विज्ञानमा स्नातक, वि.सं २०६९ मा प्राविधिक विज्ञानमा स्नातक र वि.सं २०७४ मा कृषि स्नातकका[३][४] कक्षहरूलाई सञ्चालनमा ल्याएको थियो। क्याम्पसले वि.सं २०४५ सालमा स्नातकोत्तर कार्यक्रम अन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तर शैक्षिक गतिविधिलाई सञ्चालनमा ल्याएको थियो भने यसैगरी क्याम्पसले वि.सं २०५३ मा नेपाली विषयको स्नातकोत्तर, वि.सं २०६३ मा अङ्ग्रेजी विषयको स्नातकोत्तर, २०६४ मा व्यावसायिक अध्ययन विषयको स्नातकोत्तर, वि.सं २०६५ मा कला विषय अन्तर्गत समाजिक तथा नृविज्ञान विषयको स्नातकोत्तर, वि.सं १०६६ मा जनसङ्ख्या अध्ययन विषयको स्नातकोत्तर र सोही वर्ष रसायन विज्ञानको स्नातकोत्तर कक्षालाई सञ्चालनमा ल्याएको थियो।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

वीरेन्द्र बहुमुखी क्याम्पस चितवन जिल्लाकै सबैभन्दा पुरानो सरकारी उच्च शिक्षा अध्यापन गराउने क्याम्पस हो। वि. सं २०११ सम्म चितवन बस्ती बसाउनका लागि उपयुक्त हुँदै गएको थियो। यस क्याम्पसको स्थापना हुनु अगाडि चितवन जिल्लाका शिक्षाविद्, समाजसेवी, दाता र स्थानीय संस्थाहरूले जिल्लाको बढ्दो जनसङ्ख्याको लागि मध्यनजर गरी एक शैक्षिक संस्थाको आवश्यकता महसुस गरेका थिए। सन् २०२२ वैशाख १ का दिन यस क्याम्पसको स्थापना गरिएको थियो। वीरेन्द्र मध्यवर्ती कला क्याम्पसको रूपमा स्थापना गरिएको यस क्याम्पसको नाम पछि परिवर्तन गरी वीरेन्द्र बहुमुखी क्याम्पस राखिएको थियो।[६]यसको स्थापनाकालमा क्याम्पससँग आफ्नै भवन र परिसर नभएका कारण विभिन्न समस्याहरू देखिएका थिए। चितवन उच्च विद्यालयको भवनमा मात्र १४ जना विद्यार्थीहरूको साथमा यस क्याम्पसको स्थापना गरिएको थियो भने पछि यसलाई नारायणगढको भाडाको घरमा सारिएको थियो।

क्याम्पसको स्थापनाकालका केही वर्षहरूको उतारचढाव पश्चात् क्याम्पसले आफ्नो परिसर र भवन निर्माणका लागि वि.सं. २०२८ मा १० बिगाहा क्षेत्रफल प्राप्त गरेको थियो भने वि.सं. २०३२ मा क्याम्पसलाई आफ्नै भवनमा सारिएको थियो जसलाई वि.सं. २०३४ माघ ६ का दिन तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए। पछि यहाँ थप विकासका कार्यहरू अघि बढेसँगै वि.सं. २०३५ सालमा क्याम्पसले स्नातक तहको कार्यहरूलाई सञ्चालनमा ल्याएको थियो भने वि.सं. २०४० मा क्याम्पसले आइएससी तहको कक्षाहरूलाई सञ्चालनमा ल्याएकाले यो चितवन जिल्लाको पहिलो बहुमुखी क्याम्पस बन्न सफल भएको थियो। पछिका दिनहरूमा दिनप्रतिदिन क्याम्पस शैक्षिक हिसाबले विस्तार हुँदै गएको थियो भने यसको सन्दर्भमा क्याम्पसले आफ्नो शैक्षिक गतिविधिमा ठूलो छलाङ मार्दै वि.सं. २०४५ सालमा अर्थशास्त्रमा स्नातकोत्तर तहको सुरुवात गरेको थियो। यस पछिका दिनहरूका क्याम्पसले वि.सं. २०५० मा विज्ञानमा स्नातकोत्तर र वि.सं. २०५३ मा नेपाली विषयमा स्नातकोत्तरका शैक्षिक गतिविधिहरूलाई सञ्चालनमा ल्याएको थियो।[७] त्यसबेलादेखि स्नातक र स्नातकोत्तर स्तरका विभिन्न शैक्षिक कार्यक्रमहरू एक पछि अर्को गर्दै कुनै बाधा बिनानै थपिएका थिए।

सुविधाहरू[सम्पादन गर्नुहोस्]

पुस्तकालय[सम्पादन गर्नुहोस्]

क्याम्पसको मुख्य भवनको बायाँ पट्टी एउटा छुट्टै आधुनिक पुस्तकालय अवस्थित छ जहाँ कम्प्युटर प्रणालीले विशेष सफ्टवेयरको साथ विद्यार्थीहरूलाई पुस्तक निकाल्न पाइने व्यवस्था गरिएको छ। हाल यस पुस्तकालयमा ४० हजार भन्दा बढी विभिन्न भाषा र विषयका पुस्तकहरू रहेका छन् जसमध्ये नेपाली विषयका १०,२९०, अर्थशास्त्रका ४,२५६, राजनैतीक विज्ञानका २,३५६, ४,६०४ अङ्ग्रेजी विषयका, २,२१५ इतिहास सम्बन्धित, ३२५ संस्कृति विषयका, ३,६८१ व्यवस्थापन विषयका, ११७ शिक्षाका, २०४८ गणितका, १९४५ भौतिक विज्ञानका, ९२३ रसायन विज्ञानका, ३११ जीव विज्ञानका, ३१७ तथ्याङ्क शास्त्रका, २९८ भूगोल सम्बन्धित, १९१९ सामाजिक विज्ञान विषयका, ६६७ जनसङ्ख्या विषयका र १९०७ अन्य विषयका पुस्तक उपलब्ध रहेका छन्। [१]

प्रयोगशाला[सम्पादन गर्नुहोस्]

वीरेन्द्र बहुमुखी क्याम्पको परिसरमा विभिन्न विषयगत प्रयोगशाला रहेका छन्। वि.सं. २०४० सालमा विज्ञान विषयको अध्यापन कार्यक्रम सञ्चालन गरिएपछि क्याम्पसले विज्ञान भवनमा भवनमा भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान प्रयोगशाला स्थापना गरेको थियो। प्रयोगशालाहरूलाई वि.सं. २०५० मा बिएससीका कक्षाहरू सञ्चालन गरिएपछि विस्तार गरिएको थियोे। पछि र प्राणी र वनस्पति विज्ञानको लागि छुट्टै प्रयोगशालाहरू पनि स्थापना भएको थियो। हाल क्याम्पसको ९ बिगाहा भवनमा विभिन्न आधुनिक प्रयोगशालाहरू रहेका छन् जहाँ विद्यार्थी र विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले अन्वेषण गर्ने गरेका छन्। प्रयोगशालाहरूले पर्याप्त शैक्षिक उपकरण, रसायन, र विभिन्न संरचनाहरू समावेश गर्दछ। प्रयोगशालामा भण्डार कक्ष र रसायन भण्डारका लागि अध्यारो कोठा रहेको छ। त्यस्तै क्याम्पसले भर्खर परजीवी विज्ञान प्रयोगशालाको पनि स्थापना गरिसकेको छ भने यहाँ जीवविज्ञान र कम्प्युटर प्रयोगशालाको स्थापना भैरहेको छ। क्याम्पसले यी सबै प्रयोगशालाहरू नौबिगाहामा छुट्टै विज्ञान र प्राविधिक भवनमा स्थापना गर्ने योजना बनाइरहेको छ। त्यस्तैगरी क्याम्पसमा भौगोलिक प्रयोगशाला पनि रहेको छ।[१]

अतिरिक्त क्रियाकलापहरू[सम्पादन गर्नुहोस्]

क्याम्पसले विद्यार्थी सङ्घ र अन्य सहयोग संस्थाको सहयोगमा विभिन्न खेलहरू र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।क्याम्पसले वार्षिक रूपमा अन्तर क्याम्पस फुटबल प्रतियोगिता, अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता, अन्तर क्याम्पस भलिबल प्रतियोगिता, अन्तर क्याम्पस बास्केटबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, गजल प्रतियोगिता सञ्चालन गर्दै आएको छ। क्याम्पसले मानवीय पक्ष अन्तर्गत युवा रेडक्रस समूहको समन्वयमा रक्तदान कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। क्याम्पसको परिसर भित्र पर्याप्त खेल मैदानको सुविधा रहेको छ।[१]

यातायात[सम्पादन गर्नुहोस्]

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको मध्य भागमा अवस्थित भएकाले यसले पूर्व पश्चिम राजमार्गले छोएको छ। क्याम्पससम्म पुग्नका लागि जिल्लाका विभिन्न क्षेत्रबाट नियमित सार्वजनिक यातायात सुविधा उपलब्ध रहेका छन्। क्याम्पसको प्रवेशद्वारदेखि लिएर क्याम्पस परिसरसम्म बाटोको दुवै पक्षहरूमा रूखविरुवाहरू लगाइएका छन् भने प्रवेशद्वारदेखि मूख्य भवन परिसरसम्मको बाटोलाई कालोपत्रे गरिएको छ।[१]

घटनाहरू[सम्पादन गर्नुहोस्]

वि. सं. २०७६ श्रावण ३ का दिन वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका थिए। अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएको भन्दै त्यसको विरोधमा भट्टराईका समर्थकहरूले आगजनी र तोडफोड गरिएको कारण क्याम्पसमा रहेका थुप्रै कर्सी र टेबुलहरू पूर्णरूपमा नष्ट हुनाका साथै कोठामा रहेका झ्यालका सिसा र दराजलाई पनि तोडफोड गरिएको थियो। बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेका थिए गरेसँगै आगोलाई विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो। [८][९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "वीरेन्द्र बहुमुखी क्याम्पस"आधिकारिक वेबसाइट। २४ नोभेम्बर २०२०। 
  2. "वीरेन्द्र बहुमुखी क्याम्पक‍ जानकारी"एजुकेसन सञ्जाल 
  3. "वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि स्नातक पढाई हुने"। नमस्ते टेलिभिजन। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  4. "त्रिविले पुनः कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने"। क्लिकमान्डू। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  5. "Birendra Multiple Campus"इडियु सञ्जाल 
  6. "वीरेन्द्र बहुमुखी क्याम्पसको जानकारी"कलेज नेपाल 
  7. "Birendra Multipla Campus"नेपालकलेजसर्च 
  8. "चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड"सेतोपाटी। सङ्ग्रह मिति १९ जुलाई २०१९ 
  9. "भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड"। रेडियो नेपाल। सङ्ग्रह मिति १९ जुलाई २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट