गगनसिंह भण्डारी
गगन सिंह | |
|---|---|
| नेपालको प्रधान सेनापति | |
| पूर्वाधिकारी | माथवरसिंह थापा |
| उतराधिकारी | जंगबहादुर राणा |
| व्यक्तिगत विवरण | |
| जन्म | वि सं १८५३[१] |
| निधन | वि.सं. १९०३ भदौ ३२ काठमाडौँ ;आफ्नै निवास |
| नागरिकता | नेपाली |
| दम्पती | ३ |
| सन्तान | दुइ छोरा वजीर सिंह र बद्री सिंह भण्डारी |
| सैन्य सेवा | |
| निष्ठा | |
गगन सिंह भण्डारी नेपाली सेनाका सेनापति थिए। उनी राजा राजेन्द्रकी कान्छी रानी राज्य लक्ष्मीदेवीको विश्वासपात्र थिए । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । उनी प्रधान सेनापति भएपनि प्रधानमन्त्री भन्दा दरबारमा शक्तिशाली र प्रभावशाली थिए।
नेपाल दरबारमा भान्छाको सफासुग्घर गर्ने सामान्य काम लिएर पसेका गगनसिंह जङ्गी दरबन्दी पाएर जनरल सम्म भए। रानी लक्ष्मीदेवी आफूले जे भन्यो त्यहीँ आँखा चिम्लेर आज्ञापालन गर्ने सिपाही गगनसिंह मात्र आफ्नो भक्त भएको ठान्दथिन्। त्यसैले नेपाल दरबारमा गगनसिंहको ठाउँ फराकिलो हुँदै गएको थियो। माथवरसिंह थापाको हत्या पछि गगनसिंह दरबारमा प्रतिष्ठा प्राप्त भारदार हुन पुगेका थिए। उनी कर्तव्यनिष्ठ र राजारानीका भक्त पनि मानिएका थिए। दरबारमा यस्तै अस्मिता नभएको स्वविवेक मार्न सक्ने अन्धभक्तको कदर त्यसबेला हुन्थ्यो।
माथवर्सिंह थापाको हत्या
[सम्पादन]प्रधानसेनापति
[सम्पादन]प्रधानमन्त्री माथवरसिंहको हत्या पछि गगनसिंह प्रधानसेनापति भए। उनी नेपाल दरबारमा प्रतिष्ठा प्राप्त भारदार हुन पुगेका थिए। उनी कर्तव्यनिष्ठ र राजारानीका भक्त पनि मानिएका थिए। त्यसो हुनाले नै निजलाई श्रीनाथ, लेटर, राजदल, महिन्द्रदल, रामदल, कालीप्रसाद, शमशेरदल जस्ता ७ वटा पल्टनको तैनाथी दिइएको थियो। त्यसका साथै राज्य प्रशासन, परराष्ट्र, जङ्गीखाना र तराईको रेखदेख गर्ने जिम्मा पनि उनैलाई दिइयो। प्रधानसेनापति गगनसिंहको शक्ति प्रधानमन्त्रीको भन्दा पनि बढ्ता भएको थियो। प्रधानमन्त्री फत्तेजङको आदेश गगनसिंहले अटेर गरिदिन्थे। त्यसैमा फत्तेजङको गुनासो थियो।[२]
हत्या
[सम्पादन]वि.सं. १९०३ भदौ ३१ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो । गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन् । कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन् । गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन । तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवी बाहेक सबैले चाहेका थिए ।
आफ्ना बाबुको पूजाकोठामा सन्ध्या गरिरहेको बेलामा अज्ञात व्यक्तिले बन्दुक हानी हत्या गरी भागेको कुरा गगनसिंहका छोरा बजीरसिंहले तुरुन्तै महारानीकहाँ रुँदै गएर पुर्याए। महारानीले तत्कालै राति नै बत्ती लिएर चार जना दरबारिया नानीसुसारे साथ हातमा नाङ्गो तरबार लिएर गगनसिंहको घरमा पुगिन्। गगनसिंहको शव गोली प्रहारबाट रक्ताम्मे भएको थियो, डरका कारण कसैले छोएको थिएन। त्यस्तो देखेर उनले दाह्रा किट्दै लामालामा सास तान्दै भनिन्- "यदि गगनसिंहको हत्याको बदला लिन सकिनँ भने म लक्ष्मीदेवी नै होइन।" त्यसपछि गगनसिंहको लास आर्यघाट लिएर जाने आज्ञा महारानीले गर्दै मूल ढुकुटीबाट किरिया खर्च स्वरुप १ लाख रुपियाँ निकासा गर्ने आदेश दिइन्।[३]
वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रीपरिषद्का सदस्य गगन सिंह खवासको रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ भदौ ३२ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।
कोतपर्व
[सम्पादन]कोतपर्व भइसकेपछि ढोकाटोलस्थित गगनसिंहको घरमा जङ्गबहादुर राणाका काहिँला भाइ कृष्णबहादुर राणा बस्न थालेका थिए । उनको सन्तान नरहेको हुनाले त्यही घर कृष्णबहादुरको मृत्यु पछि देव शम्सेरले पाए । [४]
नेपालको इतिहासमा चर्चित कोतपर्व उनकै हत्याका आधारमा घटेको मानिन्छ। उनका दुइ छोरा वजीर सिंह र बद्री सिंह भण्डारीले भण्डारखालमा षड्यन्त्र रच्दा उल्टा पर्न गई भण्डारखाल पर्व मच्चिएको थियो ।[५][६]
रानी राज्यलक्ष्मीसँगको सम्बन्ध
[सम्पादन]रानी राज्यलक्ष्मी एक क्षमतावान र राजनितिमा, राजकाजमा रुची राख्ने रानी थिइन । दरवारमा उनले रिजाएर राख्ने केहि भारदार थिए जसको आडमा उनी दरवार चलाउथिन । ति मध्ये एक थिए गगन सिं । गगन सिं निकै राम्रा, आकर्षक र प्रभावशाली व्यक्ति थिए । रानी उनको व्यक्तित्वबाट समेत आकर्षित थिइन । राजा राजेन्द्र राजकाजमा रुचि नराख्ने,दरवारिया रखौटिहरूसँग मात्र समय विताउने हुँदा रानीको मनमा पनि राजा प्रति रुचि घटेको आकलन गर्न सकिन्छ । रानी र गगन सिं विच प्रेम थियो भन्ने समेत दरवारमा गाँइगुइ चलेको थियो । साथै गगन सिंको आफ्नै एक प्रमिका थिइन र ति प्रमिकासँग गगन सिंलाइ नजिक हुन नदिन गगन सिंलाइ अनेक बहानामा आफ्नै वरिपरि राख्थिन । गगन सिं भने ति प्रेमिकाको प्रेममा पागल झै भएका थिए । यो कुरा औपन्यासिक ढङ्गले डाइमन सम्शेरले आफ्नो उपन्यास बसन्तीमा लेखेका छन । रानीसँगको बढ्दो हेलमेल दरवारमा एककान दुइ कान हुदै फैलियो । यसै कारण राजा राजेन्द्र युवराज सुरेन्द्र वा जंगबहादुर मध्ये एकले वा आपसि मिलेमतोमा गगन सिंको हत्या हुन गएको समेत आकलन गर्न सकिन्छ ।
चलचित्र
[सम्पादन]- चलचित्र वसन्तीमा गगन सिंहको भूमिका राजेश हमालले खेलेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ कोतपर्वकी महारानी
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २२७, आइएसबिएन 99933-2-406-X।
- ↑ बालचन्द्र शर्मा (२०२२), नेपालको ऐतिहासिक रुपरेखा, वाराणासी: कृष्णकुमारी देवी, पृ: ३०७।
- ↑ चर्चामा मोतीरामको घर प्रकाश ए. राज
- ↑ लेखक: श्रीकृष्ण श्रेष्ठ,पुस्तक:जंगबहादुर
- ↑ https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false