टाङ्गाइल जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टाङ्गाइल
টাঙ্গাইল
—  जिल्ला  —
बाङ्लादेशको नक्शामा टाङ्गाइल जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग ढाका विभाग
क्षेत्रफल
 - जम्मा ३,४१४.२८ किमी (१,३१८.३ वर्ग मी)
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 - जम्मा ३,७४९,०८५
 - स्तर बाङ्लादेशमा पाँचौँ
 जनघनत्व १,०९८.१/किमी (२,८४४/वर्ग मी)
साक्षरता दर
 - जम्मा ४६.८% (सन् २०११)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक कोड १९००
वेबसाइट টাঙ্গাইল জেলা কাউন্সিলের ওয়েবসাইট

टाङ्गाइल (बाङ्ला: শরিয়তপুর জেলা) बङ्गलादेशको मध्यम भूभागमा पर्ने एक जिल्ला हो।[१] यो जिल्ला ढाका विभाग अन्तर्गत क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला र जनसङ्ख्याको आधारमा दोस्रो ठूलो जिल्ला हो। यो जिल्लाको मुख्य सहर टाङ्गाइल हो।[२]

भूगोल[सम्पादन गर्ने]

टाङ्गाइल जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°०१' देखि २४°४७' उत्तर अक्षांश र ८९°४४' देखि ९०°१८' पुर्वी देशान्तरणमा अवस्थित छ। टाङ्गाइल जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३७५ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई जामालपुर जिल्लाले उत्तर, ढाकामानिकगञ्ज जिल्लाले दक्षिण, मयमनसिङ्हगाजीपुर जिल्लाले पूर्व र सिराजगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ। जलेश्वरी, जमुना, मेघना, अादि यस जिल्लाका प्रमुख नदिहरू हुन्। यस जिल्लाको अौसत तापक्रम २५.५ डिग्री हुन्छ। यस जिल्लामा वार्षिक १८७२ मिलिमिटर पानी पर्ने गर्छ।

इतिहास[सम्पादन गर्ने]

सन् १९६९ मा टाङ्गाइल जिल्ला मयमनसिंह एक भाग थियो। टाङ्गाइल जिल्ला पछि मयमनसिंहबाट छुट्टिएको थियो। मयमनसिंह ६ उपजिल्लामा विभाजन भन्दा पहिला मयमनसिंह जिल्लाको आर्थिक वृद्धि राजधानी ढकाको भन्दा बढी थियो। मयमनसिंह जिल्लामा रहेका ७ मध्य ६ उपजिल्लालाई (शेरपुर, जामालपुर, नेत्रकोना (हाल बङ्गलादेशका जिल्लाको रुपमा परिचित) छुट्ट्इएको थियो भने उक्त उपजिल्लालाई ढाका जिल्लासँग जोडिएको थियो जसका कारण टाङ्गाइल जिल्लाको उत्पत्ति भएको थियो।

बङ्गलादेश मुक्ति अभियान[सम्पादन गर्ने]

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो। तात्कालिक समयमा यस जिल्लाका एक व्यक्तिले बङ्गलादेशको मुक्तिको लागि लड्न १७००० स्थानीय मानिसहरूको एक सङ्गठन बनाएका थिए जसले बङ्गलादेशको विभिन्न स्थानहरूमा पाकिस्तानी सेना विरुद्ध केही सफल आक्रमण पनि गरेका थिए। २८ मार्च १९७१ का दिन सर्भ दलियो सङ्ग्राम परिषद्ले सहिद मिनारमा रहेको एक क्याम्पसमा बङ्गलादेशको राष्ट्रिय झण्डा माथी उठाएका थिए। ३ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच मिरजापुर उपजिल्लामा युद्ध भएको थियो जहाँ ३३ लडाकु र केही पाकिस्तानी सेनाको मृत्यु भएको थियो। अप्रिल महिनामा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरूले गोपालपुर प्रहरी थानालाई कब्जामा लिई सबै हात हतियाहरू कब्जामा लिएका थिए भने उनीहरूले त्यस थानामा आगजनी पनि गरेका थिए। १९ अप्रिल १९७१ का दिन टाङ्गाइल जिल्लाको कालहाटी उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीचको युद्धमा ३५० पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने ११ लडाकु बङ्गलादेशी लडाकुको पनि मृत्यु भएको थियो। सोही महिनामा यस जिल्लाको मधुपुर उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच युद्ध भएको थियो जहाँ ५ पाकिस्तानी सेना सहित उक्त सेनाका एक अधिकारीको पनि मृत्यु भएको थियो। ११ अगस्टका दिन बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनाको लागि हात हतियार र बन्दुक बोकिरहेको एक पानी जहाजमा आक्रमण गरि त्यहाँ रहेका सबै हातहतियारहरू कब्जामा लिन सफल भएका थिए भने उनीहरूले उक्त पानी जहानलाई ध्वस्त पारिदिएका थिए। शखिपुर उपजिल्लाको बलहा भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच भएको युद्धमा चार लडाकुको मृत्यु भएको थियो। १७ नोभेम्बरका दिन पाकिस्तानी सेनाले भुयाँपुर उपजिल्लाको एक गाउँमा ३२ जना स्थानीय मानिसहरूको बीभत्स हत्या गरेका थिए भने सेनाले ३५० घरहरूमा आगजनी गरेका थिए। १० डिसेम्बरका दिन भारतीय सैनिक बलले पाकिस्तानी सेनामाथी आक्रमण गरेको थियो जसको फल स्वरूप ३७० पाकिस्तानी सेनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी पाकिस्तानी सेना घाइते भएका थिए। भारतीय सैनिक बलले ६०० भन्दा बढी पाकिस्तानी सेनालाई हिरासतमा लिएका थिए। १३ डिसेम्बरका दिन पाकिस्तानी सेनाले नगरपुर उपजिल्लाको एकै परिवारका ७ सदस्यको सामूहिक हत्या गरेका थिए। बङ्गलादेश मुक्ति अभियानका बेला पाकिस्तानी सेनाका लागि हातहतियार बोकिरहेको एक डुङ्गालाई कब्जामा लिई सबै हातहतियारहरू बङ्गलादेशी लडाकुहरूले बरामत गरेका थिए। त्यसपछिको युद्धमा ३० पाकिस्तानी सेनाको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३२९०६९६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६६९७९४ छ भने महिलाको जनसङ्ख्या १६२०९०२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३०४२९३७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३४०८८ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १२८२०, इसाई धर्मको ११० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७४१ रहेको छ। यस जिल्लामा कोल, बाङ्शी, गरो अादि जनजातिहरू बसोबास गर्छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

टाङ्गाइल जिल्ला कृषि प्रधान जिल्ला हो र यस जिल्लाका अधिकांश मानिसहरूको कृषि पेशामा संलग्न छन् भने अन्य पेशामा पनि मानिसहरू संलग्न रहेका छन्। यस जिल्लामा मुख्यतः गहुँ ,धान, जुट, आलु, बोडी, खैनी र अन्य मौसम अनुसारका बालीहरू उत्पादन हुने गर्दछ। यस जिल्लाको कुल क्षेत्रफल मध्ये ३३८६.५३ वर्ग किलोमिटर क्षेत्रमा खेती योग्य जमिन रहेको छ। यस जिल्लामा केरा, आँप, नरिवल, बेल, रुख कटर, भुइँकटर, मेवा, लिच्ची आदि फलफूलहरू उत्पादन गरिन्छ। यस जिल्लाका मानिसहरू कृषि लगायत माछापालन, दुग्ध सङ्कलन, कलकारखाना, अौजार निर्माण अादि क्षेत्रमा पनि क्रियाशील छन् जसले जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। टाङ्गाइल जिल्ला टाङ्गाइल सारीको लागि प्रख्यात छ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५७.२८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८७% मजदुरी, व्यापार र उद्योगमा ३.४२%, वाणिज्यमा १३.०७%, सञ्चार र यातायातमा ३.६३%, रेमिटेन्समा २.१२%, निर्माण क्षेत्रमा १.१३%, अन्य क्षेत्रमा ६.४१%, धार्मिक सेवा ०.१९% र अन्य ८.२५% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकिय टाङ्गाइल उप विभागको स्थनपना सन् १८७० मा भएको थियो भने पछि सन् १९६९ मा यसलाई जिल्लामा परिणत गरिएको थियो।[३] यस जिल्लामा हाल १२ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला घाटाइल (४५०.७१ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला धनबाडी (१२७.९१ वर्ग किलोमिटर) हो। यस जिल्लामा ११ नगरपालिका, १०८ वडा, १०८ सङ्घ परिषद्, २५१६ गाउँहरू रहेका छन्।

यस जिल्लामा रहेका उपजिल्लाहरू यस प्रकार छन्;[४]

  • टाङ्गाइल सदर उपजिल्ला
  • सखिपुर उपजिल्ला
  • बासाइल उपजिल्ला
  • मधुपुर उपजिल्ला
  • घटाइल उपजिल्ला
  • कालिहाटी उपजिल्ला
  • नागरपुर उपजिल्ला
  • मिरजापुर उपजिल्ला
  • गोपालपुर उपजिल्ला
  • देलदुयार उपजिल्ला
  • भुयाँपुर उपजिल्ला
  • धनबाडी उपजिल्ला[५]

शिक्षा[सम्पादन गर्ने]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल साक्षरता दर ४७.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५०% छ भने महिलाको साक्षरता दर ४३.८% रहेको छ। बङ्गलादेश मुक्ति अभिनय पूर्व यस जिल्लाका केही प्रमुख व्यक्तिहरूले यस क्षेत्रमा केही विद्यालयको स्थापना गरेका थिए। सन्तोष जहनाबी उच्च विद्यालय यस जिल्ला सबैभन्दा पुरानो विद्यालय हो जुन सन् १८७० मा स्थापना गरिएको थियो भने मयमनसिंह जिल्लाको दोस्रो पुरानो विद्यालय हो। सन् १८८० मा यस जिल्लामा विन्दुवासिनी छात्र विद्यालयको स्थापना भएको थियो भने सन् १८८२ मा यस जिल्लामा विन्दुवासिनी कन्या उच्च माध्यमिक विद्यालयको स्थापना गरिएको थियो।

सन् १९२६ मा टाङ्गाइल जिल्लाका शिक्षा विद तथा जमिन्दार वाजिद अलि खान पेनीले यस जिल्लामा सरकारी सदत विश्वविद्यालय क्याम्पसको स्थापना गरेका थिए। यस क्याम्पसको नाम उनको हजुरबुबा सदत अलि खान पेनीको नामबाट राखिएको थियो। यस जिल्लामा मौलान अब्दुल हमेद खान बसेनीले टाङ्गाइलको कागमारी भन्ने स्थानमा सरकारी एम.एम. अलि कलेजको स्थापना गरेका थिए जुन बङ्गलादेशको एक प्रख्यात शिक्षण संस्था थियो। सन् १९४३ मा रानन्द प्रसाद शाहले टाङ्गाइल जिल्लामा कुमुदिनी क्याम्पसको स्थापना गरेका थिए जो यस जिल्लाका परोपकारक थिए। यस क्याम्पसको नाम उनले उनकी आमाको नामबाट राखेका थिए भने पछि यो क्याम्पसलाई कन्या क्याम्पस बनाइएको थियो। उनले सन् १९४५ मा उनले मिरजापुरमा पनि एक विद्या आश्रमको स्थापना गरेका थिए। सन् १९६३ मा बङ्गलादेशको तेस्रो ठूलो सैनिक प्रशिक्षण केन्द्रको स्थापना भएको थियो।

हाल यस जिल्लामा ३४१ गैर सरकारी उच्च विद्यालय, ५ सरकारी विद्यालय, ४८ गैर सरकारी क्याम्पस, ३ विश्वविद्यालय, १ मेडिकल क्याम्पस, १ कानून कलेज, १ आयुर्वेदिक कलेज, २ नर्सिङ शिक्षण संस्था, ४० माध्यमिक विद्यालय र २०२ मदरसा ९४१ सरकारी प्राथमिक विद्यालय, ३९५ गैर सरकारी प्राथमिक विद्यालय, १ शिक्षक शिक्षण संस्था र १३०४ गैरसरकारी विद्यालयहरू रहेका छन्। यस जिल्लामा मैलाना विज्ञान तथा प्राविधिक विश्वविद्यालय नामक एक प्राविधिक विश्वविद्यालय रहेको छ। टाङ्गाइल सदर उपजिल्लामा एक सरकारी मेडिकल क्याम्पस रहेको छ र सन् २०१४ मा टाङ्गाइल मेडिकल कलेजको स्थापना गरिएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "টাঙ্গাইল", বাংলাদেশ পরিসংখ্যান ব্যুরো, ११ जुन २०११, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  2. "Unesco: Bangladesh literacy rate reaches all-time high of 72.76% in 2016", ঢাকা ট্রিবিউন, २१ मार्च २०१८, अन्तिम पहुँच २० जनवरी २०१९ 
  3. "স্থানীয় সরকার প্রকৌশল বিভাগ", अन्तिम पहुँच १२ फेब्रुअरी २०१४ 
  4. जिल्ला प्रतिवेदन सन् २०११: टाङ्गाइल, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  5. শামসুল হক মিয়া (मार्च १९९९). টাঙ্গাইলে শিক্ষা. টাঙ্গাইল ফোরাম. pp. २६–२७. 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]