पोर्टल:इतिहास/परिचय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोर्टल:इतिहास/परिचय/2इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन) को तात्पर्य हो "यो निश्चय थियो" । ग्रीसमा इतिहास लाई "हिस्ट्री" (History) शब्दको प्रयोग गर्थे । "हिस्ट्री" को शाब्दिक अर्थ "बुन्नु" थियो । अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढङ्गबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसम्बद्ध बन्न सकोस । यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा, बीरगाथा, महाभारत) अथवा ऐतिहासिक साक्ष्य । इतिहास अन्तर्गत हामी जुन विषयको अध्ययन गर्छौ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग सम्बन्ध राखने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ । अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो ।

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

थप…