सुरुङ्गा क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
झापा जिल्ला नेपालको सूर्योदयको जिल्ला हो । यसको आफ्नै गरिमा र महत्त्व रहेको छ । यसबाहेक यहाँका धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरू यस जिल्लाका प्रमुख पहिचान हुन् । झापामा धेरै गा.वि.स छन् । तिनमध्ये सुरुङ्गा पनि एक हो । धार्मिक, पौराणिक तथा पर्यटकीय दृष्टिबाट सुरुङ्गा महत्त्वपूर्ण मानिन्छ । सुरुङ्गा क्षेत्रका केही धार्मिक एवं पर्यटकीय महत्त्व बोकेका स्थानहरूका बारेमा सामान्य विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
सुरुङ्गा झापाको मध्यभागमा रहेको एउटा महत्त्वपूर्ण स्थान हो । ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय दृष्टिबाट यो स्थान उल्लेख्य रहेको छ तापनि अद्यावधि यसको अध्ययन, अनुसन्धान हुन सकेको देखिदैन ।
सुरुङ्गा शब्दको व्युत्पत्तिगत अर्थ पहिल्याउँदै जाँदा महाभारत कालसम्म पुग्न सकिन्छ । सो समयमा पाँच पाण्डवद्वारा सुरुङ खनिएको क्षेत्र भएकाले यसको नाम सुरुङ्गा भएको हुनसक्ने प्रशस्त आधारहरू छन् । “सुरुङ्गा” अथवा “सुरङ्गा” शब्दको अर्थ सुरुङमार्ग भन्ने रहेको पाइन्छ । (आप्टे, १९६९ : १११६)[१]
यो पङ्क्तिकार यस क्षेत्रमा आउँदा पनि सुरुङ्गा खोला धेरै गहिरिएर बगेको थियो र झलक्क हेर्दा सुरुङजस्तै देखिन्थ्यो (जि.देवीप्रसाद उप्रेती) । सुरुङ्गाका आदिवासी सन्थालहरूको भनाइ पनि यस्तै रहिआएको पाइन्छ । आजभन्दा ४० वर्षअघि यस पङ्क्तिकारले पनि सुरुङ्गा खोला निकै गहिरिएर बगेको देखेको थियो । वर्तमान समयमा पनि अन्य खोलाका तुलनामा यो खोलो गहिरिएरै बगेको छ । यस दृष्टिबाट पनि यहाँ सुरुङमार्ग थियो भन्न सकिन्छ ।
उपर्युक्त कुरालाई मध्यनजर गर्दा सुरुङ्गा क्षेत्र र यसको उत्तरमा रहेको पहाड अनि त्यसको उत्तरमा रहेको “गरुवा” नामको स्थानलाई पाण्डवहरू गुप्तवास बसेका बेला उपभोग गरिएको स्थानका रूपमा लिन सकिन्छ । गरुवा को शब्दगत व्युत्पत्तिलाई हेर्दा पनि यसको पुष्टि हुन आउँछ । उदाहरणका लागि गो+हरा = गोहरा भएको र अपभ्रंश हुँदै गोहरुवा > गोरुवा > गरुवा शब्द प्रचलनमा आएको हुनसक्छ । यसरी हेर्दा विराट राजाका गाईहरू हरण गरी लुकानीमा लुकाएर सुखानी हुँदै गरुवातिर गोठ सारिएको हुनसक्ने कुरा मान्न सकिन्छ । यो कुरा यस क्षेत्रका वयोबृद्ध व्यक्तित्त्वहरूबाट सुनिदै आएको छ ।
सुरुङ्गा (सुरुङ्गा) शब्द बह्वर्थक देखिन्छ । मूलत “सुरुङमार्ग” भन्ने नेपाली अर्थ बोकेको सुरुङ्गाको अर्को अर्थ पनि लाग्छ । महाभारत कालमा यसलाई सुरगङ्गा भनिन्थ्यो । सुरगङ्गा लाई षष्ठी तत्पुरुष समास अन्तर्गत सुरस्य गङ्गा = सुरगङ्गा भनेर विग्रह गर्न सकिन्छ । त्यही सुरगङ्गा अपभ्रंश भएर अर्थात् ग लोप भएर सुरङ्गा (सुरुङ्गा) भएको हो । सुरगङ्गा को व्युत्पत्तिगत अर्थ हुन्छ देवगङ्गा । भागिरथी गङ्गालाई सुरगङ्गाका रूपमा पवित्र मानेझैं यसलाई पनि सोही पवित्र नाम दिइएको हुनसक्छ । अर्को कुरा पाँच पाण्डवद्वारा खनिएको सुरुङमार्गबाट यो नदी बगेको र कुनै समयमा पवित्र माई (कनकाई) गङ्गा समाहित भएर बगेको कारणबाट पनि यो नदी सुरगङ्गाका नामबाट प्रख्यात भएको हुनसक्छ । यस अतिरिक्त सुरुङ्गाको पुरानो नाम सुरगङ्गा हुनसक्ने अर्को कारण पनि छ । महाभारत पहाडको दक्षिणतिर पूर्वपश्चिम फैलिएर रहेको यो चुरे क्षेत्र महाभारतकालीन देवभूमि पनि हो । देवभूमिबाट बगेको नदीलाई देवगङ्गा अथवा सुरगङ्गा भनिन्छ । यसरी हेर्दा सुरुङ्काले महाभारतकालीन महत्त्व बोकेको कुरा स्पष्ट हुन्छ ।
“सुरुङ्गा” क्षेत्रको अर्को पौराणिक महत्त्व पनि छ । महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको यसै भूमिको आसपासमा गाण्डिव धनुर्धारी अर्जुनले कठोर तपस्या गरेको, किरातेश्वर महादेव र तपस्वी अर्जुनको लडाइ भएको, धनुको टुप्पो (धनुषकोटि) शिवमा लय भएको, शिवलाई चिनेर अर्जुनले स्तुति गरेको, सो स्तुतिबाट प्रसन्न भई शिवजीले अर्जुनलाई वरदान दिएको र सो क्षेत्रलाई “धनुषकोटि महातीर्थ”का रूपमा शिव भगवान् स्वयंले उद्धोष गर्नुभएको कुरा हिमवत्खण्ड र शिव पुराणमा वर्णित छ
उपर्युक्त विविध प्रसङ्गहरूबाट “सुरुङ्गा” क्षेत्र पुराण कालीन एवं महाभारत कालीन प्राग्भूमि हो भन्ने कुरा प्रस्ट भएको छ ।
सुरुङ्गा क्षेत्रका केही महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरू यस प्रकार छन्: –

विषयसूची

कोटिहोम धाम[सम्पादन गर्ने]

कनकाईको पुल पूर्व–उत्तरतिर रहेको पवित्र स्थान कोटिहोम नामले परिचित छ । यो स्थान सुरुङ्गा गा.वि.स. वडा नं. ४ मा अवस्थित छ । २०४२ सालको पौष महिनामा यस ठाउँमा विशाल कोटिहोम भएको थियो । योगी नरहरिनाथको सक्रियता र अगुवाइमा सो महायज्ञ सम्पन्न भएको थियो भने यसमा १००८ स्वामी कैलाशानन्दको पनि महत्त्वपूर्ण सहभागिता र सहयोग रहेको थियो । उपर्युक्त दुई योगीका अतिरिक्त सुरुङ्गा र झापाका केही धर्मप्रेमी महानुभावहरूको पनि यस महायज्ञमा महत्त्वपूर्ण सदासयता र सहयोग प्राप्त भएको थियो ।
जुन अग्निमा कोटिहोम भएको थियो त्यही अग्नि अद्यावधि प्रज्वलित छ, निभेको छैन । हाम्रा लागि यो सर्वाधिक गौरवको कुरा हो । योगी नरहरिनाथद्वारा सम्पन्न शताधिक कोटिहोममध्ये कनकाई धामको अग्निमात्र बलिरहेको छ । यसको संरक्षण र संबर्धन कनकाई धाम धार्मिक विकास संस्था र यसमा आबद्ध व्यक्तित्वहरूबाट हुँदै आएको छ । कोटीहोमको प्रमुख मन्दिरको जीर्णोद्धारका रूपमा अहिले नयाँ मन्दिर निर्माण भएको छ । यो मन्दिर दमक २ का डिल्लिराम थापा–परिवार र अनारमनि ४ का नारायण थापा–परिवारद्वारा निर्माण गरिएको हो । त्यसै गरी दमक १० का पुष्कर थापाले कनकेश्वर शिवालयको जीर्णोद्धार गरी सहयोग गरेका छन् । यी नवनिर्मित मन्दिर र पुष्पवाटिका धामका सुन्दर आकर्षणका रूपमा रहेका छन् । धर्म, संस्कृति र पर्यटनका लागि कोटिहोम महत्त्वपूर्ण मानिन्छ ।
धामका आसपासमा रहेका वंशप्रतिष्ठानहरूले पनि धामको शोभा बढाएका छन् । विभिन्न थरगोत्रीय बन्धुहरूले आआफ्ना वंशोत्थानका निमित्त प्रतिष्ठान खडा गरी मन्दिर, धर्मशाला आदि निर्माण गरेका छन् । धामको अस्तित्वमा नै सबै वंशप्रतिष्ठानको अस्तित्व अडिएको छ भन्ने कुरा थरगोत्रीय संस्थामा आबद्ध सबैले बुझेको खण्डमा यो ठाउँ भारतको हरिद्वारभन्दा कम नहुने कुरा किटेर भन्न सकिन्छ ।
धामका क्षेत्रभित्र रहेका वंशप्रतिष्ठानहरूमा केहीले सक्रियताका साथ आ–आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधि बढाउँदै लगिरहेका छन् भने केहीले ठाउँ मात्र ओगटेका छन् । गतिविधिमा सक्रिय रहँदै आएका बन्धुहरूमा खरेल बन्धु, ढकाल बन्धु, निरौला बन्धु, मिश्र बन्धु, भेटवाल बन्धु, ढुङ्गेल बन्धु, घृतकौशिक गोत्रीय बन्धु, ठाडाराई अधिकारी बन्धु, काश्यप गोत्रीय अधिकारी बन्धु, फुयल बन्धु, मुडुला कार्की बन्धु, चापागाईं बम्धु, लामिछाने बस्नेत बन्धु, चिमरिया बन्धु, कोइराला बन्धु, बोहोरा बन्धु, गौतम बन्धु, खुलाल बस्नेत बन्धु, महाराजी खड्का बन्धु, दहाल कन्धु, विश्वकर्मा बन्धु, प्रसाईँ बन्धु, आदि छन् । यी बन्धुहरूमध्ये कुनै बन्धुका भवन मात्र छन् भने कुनै बन्धुका आआफ्ना कठमन्दिर पनि छन् । उपर्युक्तबाहेक अन्य केही बन्धुहरू पनि मन्दिर, धर्मशाला, बृद्धाश्रम निर्माणमा लागेका देखिन्छन् । बुद्धमार्गीहरूले एउटा सुन्दर बुद्धगुम्बा निर्माण गरी आफ्नो धार्मिक तथा सांस्कृतिक परम्परा कायम राख्दै आएका छन् । बुद्धमार्गीबाहेक अन्य बन्धुहरू हिन्दुवैदिक परम्परामा आबद्ध रहेका छन् ।

राधाकृष्ण मन्दिर (सुरुङ्गा ४)[सम्पादन गर्ने]

सुरुङ्गा ४ को राधाकृष्ण मन्दिर निकै पुरानो मानिन्छ । यो मन्दिर निम्बार्क सम्प्रदायमा आबद्ध वैष्णवहरूसँग सम्बन्धित छ तापनि अहिले यहाँ शाक्त तथा शैवहरू समेतको उपस्थिति र सक्रियता रहेको पाइन्छ । स्व. गोविन्दशरण खतिवडा यस मन्दिरका एकमात्र संस्थापक हुन् । वर्तमान समयमा यो मन्दिर श्री राधाकृण मन्दिर भक्ति साधना आश्रमका नामबाट परिचित एवं सञ्चालित छ । यस मन्दिरले समय समयमा धार्मिक क्रियाकलापहरू गरेर आफ्नो सक्रियता देखाउँदै आएको छ ।

श्री कृष्ण प्रणामी सत्सङ्ग सेवा आश्रम (सुरुङ्गा ४)[सम्पादन गर्ने]

यस क्षेत्रमा रहेका धार्मिक संस्थाहरूमा यसले निकै प्रगति गरेको छ । प्रणामी सम्प्रदायमा आवद्ध धर्मप्रेमीहरूको एकताका रुपमा यो संस्था रहेको छ । २०४६ सालमा संस्थागत भएको यस मन्दिरको पक्की भवनको शिलान्यास २०४९ सालमा भएको हो । यस मन्दिरको निर्मामा निकै ठूलो धनराशी खर्च भएको छ । यस मन्दिरको सभाभवन यस क्षेत्रकै सबभन्दा ठूलो सभाभवन हो । सभाभवनका अतिरिक्त यहाँ निजानन्द बाल आश्रम, बाइज्यूराज बृद्धाश्रम, गौशाला, पाठशाला, पाकशाला आदि आवश्यकीय कोठाहरू समेत निर्माण भएका छन् । भर्खरै यस संस्थाले एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ । यस मन्दिरको स्थापनामा स्व.लक्ष्मीप्रसाद मैनाली (ठुलो साधु) को महत्त्वपूर्ण योगदान रहेको पाइन्छ भने निर्माण, प्रगति र व्यवस्थापनमा प्रणामी सम्प्रदायका सर्वप्रमुख १०८ कृष्णमणि महाराज, मोहनानन्द शास्त्री, बालकृष्ण निरौला, पर्शुराम अधिकारी, लीलाप्रसाद सापकोटा, सविता उप्रेती, नरेन्द्र मैनाली, लक्ष्मीप्रसाद मैनाली र अन्य धेरै महानुभावहरूले आआफ्ना स्थानबाट उल्लेख्य योगदान गर्नुभएको देखिन्छ ।

कविर मन्दिर (सुरुङ्गा ४)[सम्पादन गर्ने]

यो यस क्षेत्रको पुरानो धार्मिक संस्था हो । वचनवंशी कविर धर्म उत्थान समितिले २०२५ सालदेखि यहाँको पर्ती जग्गामा आफ्ना सम्प्रदाय अनुरूपका धार्मिक क्रियाकलापहरू गरेर सक्रियता देखाउँदै आएको छ । यस संस्थाको संरक्षण र सम्बर्धन गर्नु हामी सबैको परम कर्तव्य हो ।

गायत्री मन्दिर (सुरुङ्गा ४)[सम्पादन गर्ने]

यो मन्दिर सबैको साझा मन्दिरका रूपमा रहेको छ । यहाँ गायत्रीको सुन्दर मूर्ति स्थापना गरिएको छ । यसले दैनिक एवं नियमित जप, पाठ, पूजा सञ्चालन गर्दै आएको छ । यो संस्था खडा गर्नमा ज्यो.पं. बोधराज मैनालीको प्रमुख भूमिका रहेको देखिन्छ । वर्तमान समयमा पं.विष्णुभक्त भण्डारीकाे अध्यक्षतामा गठित समितिले मन्दिर सञ्चालन गर्दैछ । यहाँ वृद्ध र अशक्तहरूका निमित्त भाेजनकाे पनि व्यवस्था गरिएकाे छ । दाताकाे सहयाेग र मुष्ठीदान यसकाे अायस्राेत हाे ।

श्री सत्य साई भजनसमूह (सुरुङ्गा ४)[सम्पादन गर्ने]

यस संस्थाको स्थापना २०६४ सालमा भएको देखिन्छ । यस भजनसमूहकी प्रमुख संस्थापिका लक्ष्मीदेवी कोइरालाले संस्थाको भवन निर्माणार्थ दुई लाख रुपयाँ दिएर ठूलो सहयोग गरेको कुरा संस्थाकी उपाध्यक्ष उर्मिला ओलीबाट थाहा भएको छ । अन्य भक्तहरूले पनि भवन निर्माणमा ठूलो सहयोग गरेको देखिन्छ ।

आर्य समाज (सुरुङ्गा ४)[सम्पादन गर्ने]

वेदोऽखिलो धर्ममूलम् भन्ने औपनिसदिक सूक्तिको अनुसरण गर्दै आएको यस समाजले एउटा यज्ञकुण्ड निर्माण गरेर त्यहाँ आफ्ना धार्मिक गतिविधि गर्दै आएको देखिएकाे छ । अन्य सम्प्रदायका तुलनामा यो संस्था भने त्यति सक्रिय रहेको पाइदैन ।

वशिष्ठ भन्डारी समाज (सुरुङ्गा ४)[सम्पादन गर्ने]

२०५१ सालमा स्थापना भएको वशिष्ठ भन्डारी समाजले पनि यसै क्षेत्रमा संस्थाको भवन बनाएको छ । प्रत्येक वर्ष पुराणको आयोजना गरेर यसले आफ्नो धार्मिक क्रियाकलापमा उत्कृष्ट सक्रियता देखाउँदै आएको छ । वंशावली र स्मारिका प्रकाशन यस संस्थाले गरेका प्रशंसनीय कार्य हुन् ।

श्रीलक्ष्मीनारायण मन्दिर (माईधार झापा)[सम्पादन गर्ने]

प्रमुख लेख :श्रीलक्ष्मीनारायण मन्दिर (माईधार)

सतासीधाम गाविसको गैंडेमा। लक्ष्मीनारायण मन्दिरका नामले परिचित यो मन्दिर एउटा महत्त्व पूर्ण धार्मिक प्रतिष्ठानका रूपमा रहेको छ । स्वामी कमलनयनाचार्यद्वारा संस्थापित यस प्रतिष्ठानले निकै वसन्त पार गरिसकेको छ । यो यस ठाउँको पुरानो मन्दिर हो । यस संस्थाले राम्रै प्रगति गरेको छ । श्रीसम्प्रदायका वैष्णवहरू यसमा आवद्ध छन् । यस संस्थामा मूलतः शाक्त, शैव, गाणपत लगायत वैष्णवइतर धर्मावलम्बीहरूको त्यति संलग्नता देखिदैन ।

धनुषकोटि धाम (सुरुङ्गा ८)[सम्पादन गर्ने]

प्रमुख लेख: धनुषकोटि धाम

हाम्रो देश पूर्व–पश्चिम फैलिएको छ । यसको तराई फाँटभन्दा उत्तरतिर पूर्वदेखि पश्चिम गएको पर्वतमाला छ । यो “महाभारत पहाड” का नामबाट प्रसिद्ध छ किनभने यही क्षेत्रमा महाभारत कालीन गतिविधि भएको हो । यसै पर्वतका आसपासमा पाण्डवहरूले आफ्नो गुप्तवासको समय बिताएका थिए । अर्जुनले तपस्या गरेका समयमा किरात रूपधारी शिवसँग लडाइँका क्रममा गाण्डिव धनुको टुप्पो शिवले आफैंमा लीन गराएपछि अर्जुनले शिवको परिचय पाएका थिए । अर्जुनको स्तुतिबाट प्रसन्न भएका शिवले यस स्थानलाई पवित्र स्थानका रुपमा परिभाषित गरी धनुषकोटि महातीर्थ भन्ने नामकरण गरेका थिए । यो कुरा माथि नै उल्लेख भइसकेको छ ।

देवघाट धाम, वराहक्षेत्र धाम, पिण्डेश्वर धाम, बुढासुब्बा, सताक्षीधाम, चिल्लागढ पोखरी जस्ता पवित्र धामहरू यसै महाभारत पर्वतमालाको काखमा अवस्थित छन् । यसरी नै कनकाई धाम, अर्जुनधारा धाम, कृष्णथुम्की धाम पनि यसै श्रृङ्खलामा रहेका छन् भने यहाँ पनि केही वर्षअधि “धनुषकोटि धाम” नामक तीर्थस्थलको जन्म भइ किरातेश्वर महादेवको प्राकृतिक शिवलिङ्ग स्थापना गरिएको छ । सो शिवलिङ्ग चुरे देवभूमिमै प्राप्त भएको हो । यस धनुष्कोटि धाममा २०६८ सालमा लगाइएको महापुराणबाट यसको गरिमा अझै बढेको छ । पहाडको फेदी, नदीकिनार, बनजंगल, शुद्ध एवं पवित्र पर्यावरणले यस स्थानको सुन्दरता अवर्णनीय भएको छ । यहाँ आएर अनुभव गर्दा पुराण तथा महाभारतमा वर्णन गरिएको सुन्दर एवं मनमोहक प्राकृतिक वातावरण यस्तै थियो होला भन्ने अनुमान गर्न सकिन्छ । यस धनुषकोटि धामका उत्तरतिर रहेको देवभूमि र पाण्डवहरूको क्रीडा भूमिको पुरातात्त्विक अध्ययन, अनुसन्धान हुनसकेको खण्डमा यसले धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थानका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउन सक्ने कुरामा दुई मत छैन । धामसंग आबद्ध समिति र झापा विकास मञ्चले यसको दु्रततर विकासमा अझ सक्रिय हुनुपर्ने देखिन्छ ।

गायत्री मन्दिर (चम्पापुर, घैलाडुब्बा-हाल कनकाई नगरपालिका-६)[सम्पादन गर्ने]

२०१६ सालमा मा स्थापित यस मन्दिरको आफ्नै किसिमको विशेषता रहेको छ ।घैलाडुब्बा गा.वि.स.को मध्यभागमा अवस्थित यो मन्दिर पूर्वाञ्चल क्षेत्रमा प्रतिष्ठापित पहिलो र पुरानो गायत्री मन्दिरका रूपमा रहेको छ । यस मन्दिरको स्थापना, व्यवस्थापन र सञ्चालनमा पण्डित भीमप्रसाद तिम्सिना, भूमिप्रसाद घिमिरे, बृद्धिलाल खतिवडा, मुक्तिप्रसाद उप्रेती र चम्पापुर क्षेत्रका धर्मप्रेमी व्यक्तित्वहरूको महत्त्व्पूर्ण योगदान रहेको छ । पं.कृष्णप्रसाद मिश्रले पुराणवाचनद्वारा मन्दिरलाई गरको सहयोग पनि अविस्मरणीय छ । मन्दिरको पूर्णतः अभाव रहेका बेला बनेको यस मन्दिरको गरिमा र महत्त्व रहेको छ ।स्थापना कालदेखि हाल सम्म नै यस मन्दिरमा दैनिक पाठ पूजा हुदै आएको छ। यस मन्दिरको व्यवस्थापन तथा सञ्चालन गायत्री मन्दिर धार्मिक विकास संस्थाबाट हुदै आएको छ। यसै क्षेत्रका स्थानीय वासिन्दाहरुको अग्रसरतामा यस मन्दिर परिसर भित्र एक शिव मन्दिर पनि स्थापना भएको छ।

दुर्गामन्दिर (सुरुङ्गा ५)[सम्पादन गर्ने]

यो मन्दिर यस क्षेत्रको अर्को देवस्थल हो । यस मन्दिरको स्थापना निकै अघि भएको हो तापनि २०४५ सालदेखि मात्र पक्की मन्दिरमा दैनिक पूजापाठ सुरु भएको छ । सुरुङ्गा निवासी धेरैले यस मन्दिरको निर्माणमा सहयोग गरेका छन् । मन्दिर निर्माणका सहयोगीहरूमध्ये श्रीप्रसाद ओलीेको योगदान अरूको भन्दा बढी रहेको पाइन्छ । मन्दिरमा दैनिक पूजापाठ चलिरहेको छ भने यससँग आबद्ध दुर्गा पाञ्चायन कीर्तन मण्डलीको सक्रियता पनि प्रशंसनीय छ । सुरुङ्गा गा.वि.स. र बजारवासीहरूको ध्यान मन्दिरको विकास निमार्णतिर नजानाले दिनप्रतिदिन मन्दिरको अवस्था बिग्रँदै गएको छ । यसो हुनु सम्बन्धित बजारवासीहरूकै कमजोरी देखिएको छ ।

सर्वेश्वर महादेव मन्दिर (सुरुङ्गा ९, एकान्त टोल)[सम्पादन गर्ने]

यस मन्दिरको स्थापना २०६४ मा भएको देखिन्छ । यसको पनि आफ्नै महत्त्व रहेको छ । यस टोलको जनसङ्ख्या निकै कम छ तापनि यहाँका भक्तहरूको सक्रियतामा यस मन्दिरको स्थापना भएको हो । मन्दिरको स्थापना र निर्माणमा योगदान गर्ने महानुभावहरूमध्ये तिलोत्तमा घिमिरे, प्रयागराज काफ्ले, नन्दलाल अधिकारी, नवराज ढकाल, रुद्र चिमरिया आदिको प्रमुख भूमिका रहेको छ ।

सरस्वती भवन तथा सरस्वती मन्दिर[सम्पादन गर्ने]

प्रमुख लेख सरस्वती मन्दिर (कन्काई नगरपालिका ३)

सुरुङ्गा ९ हाल कन्काई नगर पालिका ३ मा पर्ने सरस्वती टोलमा रहेको यो भवनको निर्माण हालै संम्पन भै मंदिरको निर्माण अहिले सुरु गरिएको छ । २०६१ साल देखि गाँउ कै सर्व साधारणले धार्मिक दृष्टिले प्रत्येक शुक्रवार भजन कीर्तन सुरु गरेका थिए र गाँउको पनि सरस्वती टोल नामाकरण गरिएको थियो । सरस्वती भवनमा धार्मिक कार्य विवाह वर्तबन्ध पूजा आदि कार्यका लागी पात्रा पंडाल कुर्सी आदिको उचित शुल्क निर्धारण गरिएको छ । सो अमदामी मंदिरको लागी खर्च गर्ने व्यवस्था गरिएको छ ।

जलेश्वर शिव मन्दिर (शिबगन्ज ५)[सम्पादन गर्ने]

यो मन्दिर शिवगन्ज गा.वि.स.वडा नं.५, लालपानीमा छ । यसको स्थपना केही वर्ष अगाडि भएको तापनि यसको प्राणप्रतिष्ठा भने २०६६ चैत्र ३१ गते भएको हो । मन्दिर निर्माणार्थ तीन परिवारबाट सोह्र कठ्ठा जग्गा प्राप्त भएको देखिन्छ, जसमध्ये स्व.नेत्रविनोद न्यौपानेका स्मृतिमा निजकी धर्मपत्निी जमुना न्यौपाने र छोराहरूबाट दश कठ्ठा, स्व. पत्नी मङ्गलसरी मर्डीका स्मृतिमा लखन मर्डीबाट तीन कठ्ठा, पिता भक्तिप्रसाद तथा माता तुलसा र हरिमायाका स्मृतिमा छोरा शिवप्रसाद शिवाकोटीबाट एक कठ्ठा प्राप्त भएको छ । अभिकतम नगद दान दिई सहयोग गर्नेमा शिवकुमार उपे्रती शिवगञ्ज ५ र बालकृष्ण उप्रेती, सुरुङ्गा ९ को नाम अग्र पङ्क्तिमा रहेको पाइन्छ । यस मन्दिरको स्थापनामा विष्णुप्रसाद दाहालको पनि महत्त्वपूर्ण योगदान रहेको छ ।

दुर्गा मन्दिर (शिवगन्ज ५)[सम्पादन गर्ने]

२०३४ सालमा स्थापना भई सञ्चालन हुँदै आएको यस दुर्गा मन्दिरको पुनर्निमाण र जीर्णोद्धार २०७०.१.६मा सम्पन्न भई सोही मितिमा उद्घाटन भएको देखिन्छ । यामनाथ बिमली, डिल्लीप्रसाद बिमली, जयप्रसाद बिमली, अर्जुन बिमली, तसलसीराम बिमली, बेनुप्रसाद बिमली र बिमली परिवारका अन्य सदस्यहरूको मन्दिर पुनर्निमाणमा महत्त्वपूर्ण योगदान रहेको देखिन्छ ।

गरमकाली मन्दिर (सुरुङ्गा ३)[सम्पादन गर्ने]

औपचारिक रूपमा यस मन्दिरको स्थापना २०५६ सालमा भएको देखिए पनि आजभन्दा धेरै वर्ष अघिदेखि रुखका फेदमा गरमकाली देवीका नाममा पूजाआजा हुँदै आएको कुरा पूर्व प्रधानपञ्च गणेशप्रसाद पोखरेल बताउनुहुन्छ । यस मन्दिरलाई पाँच जना दाताहरूले जग्गा प्रदान गरी सहयोग गर्नुभएको छ । उहाँहरूमध्ये गणेशप्रसाद पाखरेलले दश धुर, भीमकुमार श्रेष्ठले दश धुर, सहरमान श्रेष्ठले दश धुर, दुर्गादेवी श्रेष्ठले पाँच धुर र एकजना साधुले पाँच धुर जग्गा प्रदान गर्नुभएको छ । समग्रमा यो मन्दिर निर्माण र सञ्चालनमा सर्वश्री गणेशप्रसाद पोखरेल र मोहनप्रसाद पोखरेलको योगदान उच्चतम रहेको देखिन्छ ।

श्री दुर्गा भगवती मन्दिर (सुरुङ्गा १, दुर्गापुर)[सम्पादन गर्ने]

दुर्गापुर बजारको उत्तरतिर सुरुङ्गा १ मा रहेको मन्दिरको नाम हो । गणेशप्रसाद पोखरेल, पुष्पराज पोखरेल, कृष्णबहादुर खत्री, हरिध्वज खत्री, लक्ष्मीदेवी राउत समेतका प्रमुख संस्थापकत्वमा २०२६ सालमा यस मन्दिरको स्थापना भएको हो । यसै मन्दिरका नामबाट दुर्गापुर बजारको नामकरण गरिएको हो भन्ने कुरा मन्दिरका वर्तमान अध्यक्ष शम्भु पोखरेलबाट थाहा भएको छ ।
पुष्पराज पोखरेल, हेरम्बराज पोखरेल र मोहनराज पोखरेल समेतले मन्दिर निर्माणार्थ जग्गा प्रदान गर्नुभएको देखिन्छ भने मन्दिरको दैनिक पूजा सञ्चालनार्थ गुठीका रूपमा गणेशप्रसाद पोखरेलले दश कठ्ठा जग्गा प्रदान गर्नुभएको देखिन्छ । धर्मप्रेमी महानुभावहरूको सहयोगमा नयाँ सुन्दर तथा भव्य मन्दिरको निर्माण सम्पन्न भई २०६९ मा देवी पाञ्चायनका रूपमा प्राणप्रतिष्ठा समेत भइसकेको छ ।

श्री शिव पाञ्चायन मन्दिर (घैलाडुब्बा १ दुर्गापुर)[सम्पादन गर्ने]

यो मन्दिर यसक्षेत्रको निकै पुरानो मन्दिर हो । यस मन्दिरको स्थापना २०३१ सालमा भएको देखिन्छ । यसका संस्थापक हरियाणा (भारत) घर भई तत्कालीन समयमा दुर्गापुर बजारलाई आफ्नो कर्मथलो बनाएर व्यापार व्यवसाय गर्दै आएका खजान्चीलाल अग्रवाल हुन् । उनले आफ्नो निजी खर्चमा यस मन्दिरको निर्माण गरी पुजारी र दैनिक पूजाको खर्चको समेत व्यवस्था मिलाईदिएर प्रशंसनीय कार्य गरेका छन् । वर्तमान समयमा खजान्ची दुर्गापुरमा नभए पनि मन्दिर सञ्चालक समितिले राम्रोसँग मन्दिरको रेखदेख भएको छ ।

कृष्णप्रणामी मन्दिर (सुरुङ्गा गाविस वडा ९)[सम्पादन गर्ने]

यस मन्दिरले प्रत्येक वर्ष धार्मिक अनुष्ठानहरू गरेर आफ्नो सक्रियता देखाइरहेको छ । प्रणामी संप्रदायका धर्मानुयायीका साथै शैव, शाक्त, वैष्णव सबैबाट मन्दिर निर्माणमा गच्छे अनुसारको सहयोग प्रप्त भएको देखिन्छ तापनि चिरञ्जीवी उप्रेतीको योगदान सर्वोपरि रहेको पाइन्छ भने बालकृष्ण उप्रेतीको योगदान अविस्मरणीय रहेको छ ।

गोकर्णेश्वर शिव पाञ्चायन मन्दिर (सुरुङ्गा ७ तुलसीबारी)[सम्पादन गर्ने]

स्व.कुलबहादुर कार्कीकी धर्मपत्नी टङ्कमाया कार्की, छोरा तोयाबहादुर कार्की र निजकी श्रीमती भगवती कार्की समेतले यस मन्दिरलाई जग्गा दान गरेर महŒवपूर्ण सहयोग गरेको देखिन्छ भने सोही वडाका र सुरुङ्गा गाविस क्षेत्रका धर्मप्रेमी महानुभावहरूको पूर्ण सहयोगमा यो सुन्दर शिव पाञ्चायन मन्दिर बनेको छ ।

जामुन खाडी (सुरुङ्गा ३)[सम्पादन गर्ने]

जामुनखाडी सिमसारक्षेत्र पनि सुरुङ्गाको महत्त्वपूर्ण पर्यटकीय स्थल हो । अहिले यो विकासको गतिमा छ । यसले सम्पन्न गर्नुपर्ने पूर्वाधारहरू क्रमशः पूरा हुँदै जानेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । नौका विहार, वनभोज स्थल, फूलबारी, वनजंगल, केही वन्यजन्तुको दृश्य आदिबाट यो खाडी आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गदेखि सो क्षेत्रसम्म बनेको पक्की सडकले त्यहाँ पुग्न निकै सुगम बनेको छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने देखिन्छ । यसबाट प्राकृतिक एवं पर्यावरणीय महत्त्व बुझ्ने स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो लाग्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । यहाँ पनि एउटा मन्दिर हुनु आवश्यक देखिन्छ ।
उपर्युक्त महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलहरूका अतिरिक्त सतासीधाम, चिल्लागढ पोखरी, स्वार्गाश्रम नेपाल, अर्जुनधारा, विराट पोखर, किचक बध, कचन कवल, कृष्ण थुम्की, साधुटार, पाण्डवपुर, पातालगङ्गा जस्ता धार्मिक स्थलहरूको गहन अध्ययन, अनुसन्धान गरी तिनलाई सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय स्थलका रूपमा समेत विकास गर्दै लानुपर्ने देखिन्छ । यसो गर्नसके यी स्थानहरूप्रति विदेशी पर्यटक समेतको आकर्षण बढ्ने र विदेशी मुद्रा आर्जनद्वारा समग्र देशको अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्नसक्ने कुरामा दुई मत छैन ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. आप्टे, वामन शिवराम (र्इ १९६९ : १११६), दिल्ली : मोतीलाल बनारसीदास पब्लिसर्स