गेहेन्द्र शमशेर जङ्गबहादुर राणा
जर्नेल गेहेन्द्र शमशेर | |
|---|---|
गेहेन्द्र शमशेर आफ्नी श्रीमतीसँग | |
| जन्म | १८७१ कलकत्ता |
| मृत्यु | १९०६ सेतो दरबार |
| मृत्युको कारण | रहस्यमय |
| वासस्थान | सेतो दरबार |
| राष्ट्रियता | नेपाली |
| अन्य नाम | Rana |
| चिनारीको कारण | |
| पिता | वीर शमशेर |
जनरल श्री श्री श्री महाराजकुमार गेहेन्द्र शमशेर राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा हुन्। उनले विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए।[१]गेहेन्द्र शमशेरलाई नेपाल को पहिलो वैज्ञानिक मानिए पनि उनी केवल प्राविधिक मात्र थिए।
श्री ३ देवले गुप्तचर विभागको प्रमुखमा र पुलिस विभागको इन्चार्ज गेहेन्द्रशमशेरलाई नियुक्त गरेका थिए।[२] तर देव शमशेरलाई पदच्युत गर्न चन्द्र शमशेरले रचेको षडयन्त्रमा उनी पनि संलग्न थिए। उनकै दरबारमा देव शमशेरलाई गिरफ्तार गरियो र राजिनामा लेख्न लगाइएको थियो। आखिरमा उनी पनि चन्द्र शमशेर कै षडयन्त्रमा मारिएको शंका गरिन्छ ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]
गेहेन्द्रको जन्म कलकत्तामा वि.सं. १९२८ मा भएको थियो जहाँ उनका पिता वीर शमशेर नेपालको वकिल (Diplomatic Envoy) थिए। वीर शमशेरको विवाह श्री ५ माहिला साहेब ज्यू उपेन्द्रकी छोरीसँग भएको थियो। र गेहेन्द्रशमशेर, धर्मशमशेरको जन्म भयो। वीर शमशेरले जेठी पत्नीलाई माया नगर्ने हुँदा नजरबन्दमा राखेका थिए।
१९५६ मा श्री ३ वीरको जेठा छोरा जनरल गेहेन्द्र शमशेरले 'निजायत अड्डा'बाट पटक-पटक गरी सो वर्षभरमा जम्मा ६ लाख रुपियाँ झिकी मासेको थाहा पाई वीरशमशेर ले छोरा गेहेन्द्र शमशेरलाई तेरो उमेरमा मैले ६ रुपियाँ पनि खच गर्न पाउँदिनथें, तैले ६- ६ लाख रुपियाँ मास्ने भनी रिसाए । गेहेन्द्र शमशेरले पनि तुरुन्तै - “बुवा प्रधान सेनापतिको छोरा भएकाले शायद बुवालाई सो ६ रुपियाँ पनि बढी भयो, तर म त श्री ३ महाराजको छोरा भएबाट ६ लाख रुपियाँ नमासे अरू कसले मास्ने ? भनी जवाफ दिए । श्री ३ वीर चुप लागे, तर केही दिनपछि नै छोरा जनरल गेहेन्द्र शमशेरले “स्वचालित मेशिनगन' बनाई तयार गरी सो चलाएर श्री ३ वीरलाई देखाए । सो 'मेशिनगन' देखी श्री ३ वीर छोरा जनरल गेहेन्द्र शमशेरसँग अति खुशी भए। निजले श्री ३ वीरसँग उपरोक्त ६ लाख रुपियाँ यस्तै कार्यमा खर्चे गरेको हुँ भने। गेहेन्द्र शमशेरले वैज्ञानिक तरक्की गरेर बाबुलाई खुसी पारे। त्यहीँ खुसीयालीमा "के माग्छस् दिन्छु" भन्दा गेहेन्द्रले "मेरी मामुलाई नजरबन्दबाट मुक्त गरिपाऊँ" भनी मुक्त गराए।[३]
श्री ३ वीरले आफ्ना छोरा गेहेन्द्रशमशेरको नेतृत्वमा जङ्ग नरसिंह, देवनरसिंह, दीपनरसिंह राणा, भक्तबहादुर बस्न्यात, बालनरसिंह रायमाझी, हेमबहादुर राजभण्डारीहरूलाई जापान र भारतको रुड्कीमा पढ्न पठाए।[४]
श्री ३ देवले गुप्तचर विभागको प्रमुखमा वीरका जेठा छोरा गेहेन्द्रशमशेरलाई नियुक्त गरेका थिए।[२]
निर्माण
[सम्पादन गर्नुहोस्]उनले वि.सं. १९५६ मा फोर्ड मोटर कम्पनीबाट उनले मोटर कार आयात गरी त्यसलाई खोलखाल गरी नयाँ गाडी बनाउने प्रयास गरे।
आफ्नो छोटो जीवनकालमा उनले गेहेन्द्र राइफल, गे-गन, पिताको नाममा वीरगन, ज्यु बुबा धीर शमशेर राणाको नाममा धीरगन, तोप, मेसिनगन, गोली, गोला, कार्टिज, चारनाले तोप जस्ता हातहतियार र खर-खजाना निर्माण गरेका थिए। यसबाहेक उनले धान कुट्ने मिल, हावाबाट चल्ने मिल र बालाजुमा छाला प्रशोधन कारखाना स्थापना गरेका थिए। त्यसैबेला अत्यन्त चमत्कारपूर्वक पानीमुनि बिजुली बत्ती बालेर नेपालीहरूलाई आश्चर्यचकित पारेका थिए।[५] उनले आफ्ना सहयोगीहरू डस्नर, काजीमान, हल्मारत्न, वीरमान, कुलमान, कालू, लाल, चीता एवम् मुसे थापा र टेकबहादुरको सहायता लिई जमल (सेतो दरबार) सुन्दरी जल र बालाजुमा स्थापित प्रयोगशालाबाट व्यवस्थित वैज्ञानिक अनुसन्धान र आविष्कारको कार्य थालेको देखिन्छ।[६][७]
मृत्यु
[सम्पादन गर्नुहोस्]वि.सं. १९६४ भदौ सुदि ४ मा द.क.ज. गेहेन्द्रशमशेर राणालाई मदिरामा विष मिसाई पिउन दिने षड्यन्त्र गरी मृत्यु गराइएको थियो।[८] ३६ वर्षको युवा उमेरमै गेहेन्द्र शमशेरको असामयिक र दुःखद् मृत्यु भयो।
उनको मृत्यु भएपछि चन्द्र शमशेर उनको शव हेर्न सेतो दरबार पुगे। सिंहदरबार फर्किएपछि सबै भारदारहरूका अगाडि "अब भने म साँच्चै नेपाल अधिराज्यको सर्वेसर्वा भएँ।" भने। त्यसैले उनको मृत्युमा चन्द्र शमशेरद्वारा कुकर्म गराएको शंका हुन्छ।[९]
आफ्नै काका तथा तानाशाह चन्द्र शमशेरको शासनकालमा ठूलो दमन र प्रहार सहँदै नेपालको वैज्ञानिक विकासमा लागिपरेका गेहेन्द्र शमशेरको मृत्युपछि चन्द्र शमशेरको दमन अभियान निकै चर्कियो। यसैको मारमा परेर गेहेन्द्र शमशेरका सहयोगी वैज्ञानिक प्रतिभा कोही जेलमा सडे, कोही देश निकालामा परे। मूसे थापा र टेकबहादुरलाई चन्द्र शमशेरले देश निकाला गर्यो भने कालू नामक मिस्त्री आयल इन्जिनको लोतामा परेर मर्यो। कतिले जेलको सजाय भोग्नुपर्यो। विज्ञान र प्रविधिमाथि शासकको यो प्रहारमा नेपालमा सर्वप्रथम हवाईजहाज र रेल बनाउने विमान पण्डितजस्ता गेहेन्द्र शमशेरका समकालीन वैज्ञानिकमाथि पनि परेको थियो।[१०]
त्यसबेला गेहेन्द्र शमशरेरजस्तै विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विमान पण्डित, प्रसिद्ध गणितज्ञ गोपाल पाण्डे र धातु विशेषज्ञ देवराज शाक्य एवम् नरबहादुर भारती जस्ता ग्रामोफोन रेकर्डका निर्माता वैज्ञानिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासकको प्रहारको शिकार भएका देखिन्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ JBR, PurushottamShamsher (१९९०), Shree Teen Haruko Tathya Britanta (Nepaliमा), Bhotahity, Kathmandu: Vidarthi Pustak Bhandar, आइएसबिएन 99933-39-91-1।
- 1 2 राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २४८ ।
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २४६ ।
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २४६-२४७ ।
- ↑ "नेपालकै पहिलो वैज्ञानिक यस्ता थिए- रोचक तथ्य" [Interesting facts about Nepal's first scientist], nepaliheadlines.com (Nepaliमा), अन्तिम पहुँच १७ अगस्ट २०१६। अभिलेखिकरण १५ जनवरी २०२२ वेब्याक मेसिन
- ↑ Koselee's Social Studies and Population Studies, Grade 7 (Revised संस्करण), Koselee Prakashan, २०१४, पृ: 43–44, आइएसबिएन 99946-50-87-4।
- ↑ "History of IOE", ioe.edu.np, Institute of Engineering, Tribhuvan University, अन्तिम पहुँच १७ अगस्ट २०१६, "As a result of this, his son, Gehendra Shamsher, along with other 5 students were sent to Japan for higher engineering study." अभिलेखिकरण २७ मे २०१८ वेब्याक मेसिन
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २५३, आइएसबिएन 99933-2-406-X।
- ↑ शम्शेर ज ब राणा, पुरुषोत्तम (२०४७), श्री ३ हरुको तथ्य वृत्तान्त, पृ: 65।
- ↑ Walters, John (२००५), Guns of the Gurkhas (Englishमा), Tharston Press, आइएसबिएन 978-0946696451, एसएसआइएन 0946696454।