पोर्टल:नेपाल/परिचय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको झण्डा
नेपालको राष्ट्रिय चिन्ह
नेपालको नक्सा

नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख शहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुरभक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख शहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढीमहेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनैतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संबिधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।