वीरगन्ज महानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वीरगन्ज
नेपालको प्रवेशद्वार
वीरगन्ज महानगरपालिका
भारत-नेपाल सीमाद्वार
भारत-नेपाल सीमाद्वार
वीरगन्ज is located in मधेश प्रदेश
वीरगन्ज
वीरगन्ज
नेपालमा रहेको वीरगञ्ज महानगरपालिका
वीरगन्ज is located in नेपाल
वीरगन्ज
वीरगन्ज
वीरगन्ज (नेपाल)
निर्देशाङ्क: २७°०′उ॰ ८४°५२′पू॰ / २७.०००°N ८४.८६७°E / 27.000; 84.867निर्देशाङ्कहरू: २७°०′उ॰ ८४°५२′पू॰ / २७.०००°N ८४.८६७°E / 27.000; 84.867
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
महानगरपालिका घोषितवि.स. २०७४/२/१७
सरकार
 • प्रकारवीरगन्ज महानगरपालिका
 • मेयरराजेशमान सिंह
 • उप मेयरइम्तियाज आलम
क्षेत्रफल
 • जम्मा९०.७४ किमी (३५.०३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२८५०११
 • घनत्व३१००/किमी (८१००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४३००,४४३०१
क्षेत्रीय सङ्केत०५१
वेबसाइटbirgunjmun.gov.np

वीरगन्ज महानगरपालिका नेपालको मधेश प्रदेश (विगतमा मध्यमाञ्चल विकास क्षेत्र को नारायणी अञ्चल) स्थित पर्सा जिल्लाको एक प्रमुख सहर तथा महानगरपालिका हो। यस महानगरपालिकालाई ‘नेपालको प्रवेशद्वार’ (अङ्ग्रेजी: Gateway of Nepal) भनेर पनि चिनिन्छ। यो एउटा व्यापारिक सहर हो। यसलाई कतिपयले आर्थिक राजधानी भन्ने गरेका छन्। वीरगन्ज ट्रेड एण्ड ट्रान्जिटको केन्द्र पनि हो।

वीरगन्ज सबैभन्दा बढी भन्सार राजश्व दिने नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसँग आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखराका लागि सामान आयात निर्यात गरिन्छ।

श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगन्ज नामाकरण गरिएको हो। त्यहाँ गहवामाई मन्दिर पनि रहेको छ।

ठाकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होम समेत रहेको वीरगन्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन्। वीरगन्जको एरिया कोड ०५१ हो।

इतिहास[सम्पादन गर्नुहोस्]

अलौ पर्व[सम्पादन गर्नुहोस्]

वि.सं. १९०४ मा जङ्गबहादुरले राजा राजेन्द्रलाई गद्दिच्युत गरेपछि, जङ्गबहादुर विरुद्ध फौज खडा गरी राजेन्द्र अलौमा शिविर बनाएर बसेका थिए। जङ्गबहादुरको सेना सामु राजा राजेन्द्रको सेनाको केही लागेन र राजा राजेन्द्रलाई बन्दी बनाइयो। यस घटनालाई अलौ पर्व भनिन्छ।

वीर शमशेर[सम्पादन गर्नुहोस्]

तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगन्ज बजार स्थापना गरेको अनुमान छ। वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम वीरगन्ज रहन भएको हो भन्ने भनाइ रहेको छ। वीरगन्ज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो।

वीरगन्ज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए। कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो। [१]

जङ्गलले ढाकेको स्थानमा वीरगन्ज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगन्जमा खटाएका थिए। त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगन्जमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए। उक्त कार्यले पछि चन्द्र शमशेरको पालामा सिद्धवीर माथेमालाई मृत्युदण्डको सजायसमेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो।

चन्द्र शम्शेर[सम्पादन गर्नुहोस्]

वीर शम्शेरको वि.सं. १९५७ मा मृत्यु भए पछि श्री ३ देवशम्शेर महाराज भए। तर चन्द्र शम्शेरले चाल चली तीन महिनाभित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने। स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे। वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो।

सिद्धवीरले वीरगन्ज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो। माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजायस्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजासहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटी मारीदिनु भन्ने मृत्युदण्डको मौखिक फैसला भयो। खाइ नखाई अहोरात्र खटेर वीरगन्ज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमामाथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन्।

चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको वीरगन्ज बजारलाई समेत विस्थापित गर्न चाहेका थिए। उनी वीरगन्जको बजारलाई त्यहाँँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे। बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि वीरगन्जको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे। लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर वीरगन्जबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन्। पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो।[२]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक सहर वीरगन्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। भारत चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा र नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित उक्त सहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा छ। पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा रामगठवा, पर्सैनीविर्ता र सिर्सिया खतवाटोल गाविस र दक्षिणमा छिमेकी मुलुक भारत रहेको उक्त सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो। त्रिभुवन राजपथमहेन्द्र राजमार्ग जोड्ने पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौँ हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगन्जमा नेवार, बाहुन, क्षेत्री, मुसलमान, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, कोइरी, चमार, दुसाध, मल्लाह, मारवाडी, तामाङ आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्। वीरगन्ज पर्सा जिल्लाको सदरमुकाम हो। पर्सा जिल्लाको नामकरण यहाको महुवन् मथवलमा रहेको पारसनाथको मन्दिरको नामबाट गरिएको हो।

रितिथिति[सम्पादन गर्नुहोस्]

वि.सं. २०१० मा नगरपालिका घोषणा भएको वीरगन्जमा विशेषगरी दशैं, तिहार, छठ, मकर संक्रान्ति, रामनवमी, फागु, कृष्णाष्टमी, भीमसेन जात्रा, शिवरात्रीश्रीपञ्चमी आदि चाडपर्व मनाउने हिन्दु, बौद्ध, इस्लाम, जैनईसाई धर्मावलम्वी छन्। धार्मिक सहिष्णुता रहेको उक्त महानगरपालिकामा हिन्दुधर्म र दर्शनको दिग्दर्शन हुने शंकराचार्य द्वार (वीरगन्ज), वौद्ध चैत्य-विहार, सङ्गीतमय फोहरासहित घडिअर्वा पोखरी, गहवामाई मन्दिर, नैतले काली मन्दिर, घण्टाघर (वीरगन्ज), भारतीय रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र सुख्खा बन्दरगाह (बिरगञ्ज आन्तरिक सुक्खा बन्दरगाह ), तरण ताल (स्वीमिंग पुल), महावीर मन्दिर, विर्तामाई मन्दिर, हनुमान मन्दिर (वीरगन्ज)अलखिया लगायत विविध धार्मिक तथा पर्यटकीय स्थल छन् भने काठमाडौँ बाहिर भारतीय महावाणिज्य दूतावास र परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगन्जमा मात्र स्थापना भएको छ। विशेषगरी भोजपुरी, नेपाली, नेवारी, मैथिलीमारवाडी भाषाभाषी बसोबास गरेको वीरगन्ज महानगरपालिका ३५ वर्ग कि.मी.मा फैलिएको र १९ वडामा विभाजित छ। राष्ट्रिय जनगणना २०५८ अनुसार ६० हजार ९ सय ५६ पुरूष र ५१ हजार ५ सय २८ महिला गरी कुल एक लाख १२ हजार ४ सय ८४ जना जनसङ्ख्या भएको उक्त महानगरपालिकामा कुल १९ हजार ९ सय १० घरपरिवार सङ्ख्या छ भने ४ दशमलव ८९ प्रतिशत जनसङ्ख्या वृद्धि दर छ।

नगर[सम्पादन गर्नुहोस्]

घण्टाघर वीरगन्ज

नगरपालिकाको घोषणा भएपछि नगरप्रमुखमा क्रमशः केशरबहादुर मानन्धर (२०१०-२०१८), स्व. पशुपति घोष (२०१९-२०२५), गणेशबहादुर रावल (२०२५-२०३०), स्व. गोपालप्रसाद प्रधान (२०३०-२०३८) र विमलप्रसाद श्रीवास्तव (२०३९-२०४६) कार्यरत रहनु भएको थियो। बहुदलीय प्रजातन्त्र प्राप्त भएपछि २०४९ सालमा नगर प्रमुखमा नेपाली काँग्रेसका स्व. माधवलाल श्रेष्ठ र उपप्रमुखमा अजय द्विवेद्वी निर्वाचित हुनु भएको थियो भने २०५४ को दोस्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विमलप्रसाद श्रीवास्तव नगरप्रमुख र नेपाली काङ्ग्रेसका कृष्णमुरारी रौनियार उपप्रमुखमा निर्वाचित हुनु भएको थियो। वि.सं. २०६० पछि करिव एक वर्ष श्री ५ को सरकारले राप्रपाका गोपाल गिरीलाई प्रमुख र कृष्णमुरारी रौनियारलाई उपप्रमुख पदमा मनोनयन गरेकोमा २०६० माघ १ गते नगर प्रमुख गिरीलाई माओवादीले गोली हानी हत्या गरेपछि सरकारले राप्रपाका प्रदीपकुमार सुवेदीलाई नगरप्रमुखमा मनोनयन गरेको थियो। वि.सं. २०७४ मा सम्पन्न स्थानिय निर्वाचनमा महानगरपालिकाको प्रमुखमा बिजय सरावगी र उपप्रमुखमा शान्ति कार्की निर्वाचित हुनु भएको थियाे भने २०७९ मा सम्पन्न निर्वाचनमा महानगरपालिकाकाे प्रमुखमा राजेशमान सिंह र उपप्रमुखमा इम्तियाज आलम निर्वाचित हुनु भएकाे छ । सिंह ४६२१५ मत ल्याउँदै प्रमुखमा निर्वाचित हुनुभएकाे हाे भने आलमले २३६७१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]