भक्ति गीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
  • भजन
  • गध्यात्मक तथा पध्यात्म ईश्वर प्रार्थना

नेपालमा भक्तिगीत तथा भजनहरू[सम्पादन गर्ने]

काठमाडौँ उपत्यकाभित्र भजनको परम्परा लिच्छविकालदेखि नै भएको हुनुपर्दछ। किनभने केही लिच्छविकालीन अभिलेखहरूमा ईश्वर प्रार्थनाका हरफहरू फेला परेका छन्। उदाहरण स्वरूप हाँडीगाउँ सत्यनारायण स्थानको अभिलेखलाई लिन सकिन्छ। उक्त अभिलेखको ७३ औँ हरफमा "भगवत्तो द्धैपायनस्य स्तोत्रङकृत मनप्ररमेण" भनी अनुपरम भन्ने व्यक्तिले भगवान् द्धैपायन अर्थात् कृष्णको स्तुति गरेको पाइन्छ। लिच्छविकालीन नेपालमा बोलचालको भाषा के थियो भन्ने निश्चित नभए पनि संस्कृत भाषा भने राज्यको भाषाको रूपमा रहिसकेको देखिन्छ। त्यसबेलाको बोलचालको भाषामा केही भक्तिगीत, श्लोक, प्रार्थना र भजनहरू थिए होलान्।

लिच्छविकालपछिको अन्तरिमकाल अथवा ठकुरीकालमा काठमाडौँ उपत्यकाभित्र धेरै धार्मिक तथा साँस्कृतिक नाचगानहरू देखा पर्न थाले जसमा नृत्येश्वरको वन्दना स्वरूप लयबद्ध गरी प्रार्थना गीत गाउने चलन पनि चल्न थाल्यो। वास्तवमा भगवान्को वन्दना पनि भजन नै हो। उपत्यकाभित्र ठकुरीकालदेखि चलिआएको नाचगानहरू जस्तै किलागलको देवीनाच, भक्तपुरको देवीनाच, नरदेवीको श्वेतकाली नाचहरूको सुरुमा नृत्येश्वर र सम्बन्धित देवदेवीहरूको स्तुति गरी वन्दना गरेको पाइन्छ।

नेपाल संवत्को आरम्भ अर्थात् आजभन्दा ११ सय वर्षअघि नै भारतको उडिसा र बङ्गाल राज्यहरूमा त्यतिबेला नै प्रसिद्धि पाइसकेका तान्त्रिकहरूले रचेका "चर्यागीत"हरू सोहीबेला नेपाल उपत्यकाभित्र पनि आइसकेका थिए। यी चर्यागीत नेपालमा "चचा" गीतको नामले अझै हाम्रा बौद्ध मन्दिर तथा विहारहरूमा बेलाबखत पर्वमा गाउने चलन चलिरहेको छ।

बाहौँ शताब्दीमा जयदेवले "गीत गोविन्द"को रचना गरेपछि यसको प्रचारप्रसार नेपाल उपत्यकाभित्र महìवकासाथ हुन थाल्यो। यसको गीत गोविन्दका भक्तिगीतहरू हाम्रा मन्दिर तथा भजनघरहरूमा गाइँदै छन्। केही पछि गएर चैतन्य र मिरावाईका भक्तिगीतहरूले पनि नेपाल उपत्यकाभित्र प्रसिद्धि पाए।

मल्लकालको सुरुदेखि नै धार्मिक नाटकहरूको प्रचलन हुन थालेको देखिन्छ। राजा अरिमल्ल देवको समय नेपाल संवत ३२१ (वि.सं.१२०१) देखि ३३६ (वि.सं.१२१६)मा लेखिएको "मही रावणवध्" नाटकले यो कुराको पुष्टि गर्दछ। मल्लकालभरि करिब ४०० वर्षसम्म यस्ता धेरै नाटकहरू रचिए र मञ्चन गरिए। यी सबै नाटकहरू भक्तिगीतहरूले भरिपूर्ण हुन्थे। मल्लकालमा संस्कृत, मैथली, नेवाः, भोजपुरी र अवधि भाषामा समेत भक्तिगीतहरू रचिएका थिए। नेवाः भाषामा भक्तिगीतहरूको रचना नेपाल संवत् ६१६ अर्थात् वि.सं. १४९६मा राजा रायमल्लको समयमै विकसित भैसकेको देखिन्छ। त्यतिबेलाको जयदेवको गीत गोविन्दलाई नेवाः भाषा र अक्षरमा सारिएको हस्तलिखित ग्रन्थ नेपाल राष्ट्रिय अभिलेखालयमा छ। सन् १६२८ (वि.सं.१५७१)मा राजा जगत्ज्योर्ति मल्लद्वारा रचिएको "गीता पञ्चशिका" र सन् १५०२ (वि.सं. १४४५)मा राजा जगत्प्रसाद मल्लद्वारा रचित "पद्यसमुचय" का भक्तिगीतहरूले पनि निकै प्रसिद्धि पाएका थिए। मल्लकालमा जनस्तरमा पनि धेरै भक्तिगीतहरू रचिएका थिए। त्यस बेलाका प्रसिद्ध भक्तिगीतकारहरू मध्ये पण्डित जयत (ई.१३८०), (वि.सं.१३२३) मानिक (ई.१३७७), (वि.सं.१३२२) धर्म गुप्त(ई.१६३०), (वि.सं.१५७३) मैथिली कवि वंशमणि जो प्रताप मल्लका समकालीन थिए, गणेश र धनपति जो रणजीत मल्लका समकालीन थिए।

मल्लकालीन समाजमा भक्तिगीत तथा भजनको ठूलो महìव र महिमा थियो। टोलटोलमा भजनघरहरू बन्ने, मन्दिर र सत्तलहरूमा पनि साँझ बिहान भजन गाउने चलन व्यापकरूपमा चल्न थाल्यो। मल्ल राजाहरू स्वयं भक्तिगीतहरू रच्दथे। त्यस बेलाको राजकीय भाषा मैथली र नेवाः भाषामा प्रशस्त भजनहरू रचिएका र गाइएका थिए। पाटनका राजा सिद्धिनरसिंह मल्ल भक्तिगीतकार थिए भने राजा योगनरेन्द्र मल्ल प्रख्यात सङ्गीतकार थिए। सिद्धिनरसिंह मल्लले 'श्री सिद्धिनरसिंह स्वामिको गीत' शीर्षकमा २२ वटा भजनहरूको हस्तलिखितग्रन्थ नेपाल राष्ट्रिय अभिलेखालयमा राखिएको छ। भगवान् श्री कृष्णको जीवनीसँग सम्बन्धित यी भजनहरू नेवाः भाषा र नेवाः लिपिमा लेखिएका छन्। प्रत्येक भजनको अन्तमा राजा सिद्धिनरसिंह मल्लले आफ्नो नाम उल्लेख गरेको छ। त्यस्तै काठमाडौँका राजा प्रताप मल्ल पनि प्रसिद्ध कवि थिए। उनी आफूलाई कवीन्द्र अर्थात् कविहरूको राजा भन्न रुचाउँदथे। मल्लकालमा रचिएका र गाइएका भजनहरू अझै उपत्यकाका विभिन्न भजन घरहरूमा, मठमन्दिरहरूमा गाइँदैछन्।

मल्लकालीन राजाहरू श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल, भूपालेन्द्र मल्ल आदि राजाहरूले पनि भक्तिगीतहरू रचेका थिए। भक्तपुरका राजाहरू जयस्थिति मल्ल, जगत्ज्योर्ति मल्ल, जगत्प्रकाश मल्ल, सुमति जयजितामित्र मल्ल, रणजीत मल्ल त्यस युगका प्रसिद्ध कवि तथा नाटककारहरू मध्ये गनिन्थे। मल्लकालको भक्तिगीतहरूमा राजा भूपतीन्द्र मल्लद्वारा निर्माण गरिएको पाँचतल्ले मन्दिरको गुणगान र वर्णन गरिएका भजनहरू भक्तपुरमा अझै गाइन्छन्। राजा भूपतीन्द्र मल्लले लेखेका नाटकहरू जस्तै "विद्याविलाप", "महाभारत" आदिमा भक्तिगीतहरू प्रशस्त थिए भने राजा रणजीत मल्लले पनि धेरै नाटक तथा भक्तिगीतहरू रचेका थिए। राजा भूपतीन्द्र मल्लले लेखेको मैथली भाषाका गीतहरूको सङ्ग्रह नेपाल राष्ट्रिय अभिलेखालयमा छ। महिन्द्र मल्ल (सन् १५६०-१५७४)का कृष्णका भजनहरू र राजा भूपालेन्द्र मल्लकी श्रीमती रानी ऋद्धिलक्ष्मी (सन् १६८७-१७००)ले लेखेका भक्तिगीतहरू अझै उपत्यकाका भजनघरहरूमा गाइन्छन्। १८ औँ शताब्दीका प्रसिद्ध कवि अमृतानन्द पण्डितले पनि धेरै भक्तिगीतहरू रचेका थिए। कृष्णको रासलीलासँग सम्बन्धित कवि विद्यापतिका भक्तिगीतहरू अझै प्रसिद्ध छन्। यी गीतहरू प्रत्येक महिनाजसो फरकफरक मात्र होइन त्यस महिनाको प्रमुख देवदेवीहरूको समेत गुणगान गरी गाइएका पाइन्छन्।

११ औँ देखि १७ औँ शताब्दीसम्म उपत्यकाभित्र धेरै साहित्यिक गतिविधिहरू भए। त्यसमध्ये भक्तिगीत र सङ्गीतको पनि ठूलो विकास र प्रवर्द्धन भयो। मल्ल राजाहरूले भक्तिगीतहरू आफैँले रचना मात्र नगरी तत्कालीन दरबारीया कवि तथा गीतकारहरूलाई आफ्नो नाम समावेश गर्न लगाई रच्न र गाउन लगाए। यो परम्परा शाह र राणाकालसम्म चलिनै रहृयो।

शाह राजाहरू र समकालीन भारदारहरूले पनि नेपाली र नेवाः भाषामा भक्तिगीतहरू रचेका थिए। शाहवंशका प्रथम राजा पृथ्वीनारायण शाह स्वयंले पनि बाबा गोरखनाथको एउटा भजन रचेको पाइएको छ -"बाबा गोरखनाथ सेवक सुषदाये, भजुहुँ तो मनलाये। बाबा चेला चतुर मन्छिन्द्रनाथको, अधबुध रूप बनाए।। आदि। राजा रणबहादुर शाहले देवी भगवतीको प्रार्थनाको लागि दुईवटा मालश्री रचेका छन्। तीमध्ये एउटा मालश्री अझै दसैँताका गाइएको सुन्न पाइन्छ। तीमध्ये भीमसेन थापाका भाइ रणवीरसिंह थापा जो पछि स्वामी अभियानन्दको रूपमा प्रख्यात भए उनले ब्रज भाषा, नेपाली भाषा र नेवाः भाषामा धेरै भक्तिगीतहरू रचेका थिए। स्वामी अभियानन्द (नेपाल संवत् ९१०-९८३), पछि भक्तिगीतकारहरू धेरै देखा परे। तीमध्ये सरदार हरिभक्त माथेमा (ने. सं. ९३९-१०१५), वीरबहादुर मल्ल (ने. सं. ९६८-१०२४), दरोगा बखतबहादुर जोगिचा श्रेष्ठ (ने. सं. ९५१-१०७०ं), डिठ्ठा मोतिलाल श्रेष्ठ (ने. सं. ९७१-१०४०), मानलाल माय्के (ने.सं. ९९७-१०३७) आदि हुन्। यिनीहरूमध्ये प्यूठान निवासी डिठ्ठा मोतिलाल श्रेष्ठले ने. सं. १०३४मा वनारसबाट "ज्ञान भजनसङ्ग्रह, प्रकाशित गरी प्यूठानजस्तो पहाडी जिल्लामा भजनको परम्परा बसाएका थिए। वीरबहादुर मल्लले बनारसबाट ने. सं. १०१९मा "निर्गुण सागर" नाम भजनसङ्ग्रह प्रकाशित गरे। त्यस्तै डरोगा बखतबहादुर जोगिचा श्रेष्ठले ने. सं. १०४८मा आगराबाट हिन्दी, नेपाली र नेवाः भाषाका भक्तिगीतहरूको सङ्ग्रह "वखत विनय भजनावली" प्रकाशित गरेका थिए।

आधुनिक कालमा नेवाः भाषामा भक्तिगीतको सुरुवात महाकवि सिद्धिदास अमात्यबाट नै भएको मान्नुपर्छ। उनका धेरैजसो रचनाहरू धार्मिक तथा सामाजिक छन्। प्रसिद्ध भजन गीतका रचयिता ब्रहृमानन्दको प्रेरणाबाट नै उनले भक्तिगीतहरू लेख्न थालेको देखिन्छ। उनको मालिनी छन्दमा लेखिएको गणेशस्तुति अति नै प्रसिद्ध छ।

नेवाः भाषामा भजनका रचनाकारहरूमध्ये सरदार हरिभक्त माथेमा (वि. सं. १८७८-१९५२) र उनका छोरा काजीनारायणभक्त माथेमाहरूको पनि ठूलो देन छ। सरदार हरिभक्त माथेमाका केही प्रसिद्ध भजनहरूमध्ये। "हरि थन दु पासा", "हे शिव शंकर गन नापलाय् रे ", "नारायण चरणसं जिगु मन सरण" "नारायण गुरू शिष्य सो कहि हे जाहाँ देखो ताँहा आफैँ है", "गोविन्द हरे भगतको विपत हरे", "हरि रसामृत पीओ मृगवा, तवही अचल तुम होइ" आदि। सरदार हरिभक्तका छोरा काजी नारायणभक्तले पनि धेरै नेवाः भाषामा गीतहरू रचे र ती दुवै बाबुछोराहरूका भजनहरू काठमाडौँको ओमवहाल टोल र अडकोनारायण स्थानका भजन घरहरूमा अझै गाइँदैछन्। नारायणभक्त माथेमाले नेपाली भाषामा पनि भजनहरू रचेका थिए। जस्तै "स्थिर छैन मेरो मन जपतप ध्यानमा, तनमन लगाइ देउ प्रभुको भजनमा" आदि। त्यसै समयका अर्को एक प्रशासनिक व्यक्तित्व बडाकाजी रत्नमान श्रेष्ठले पनि केही भक्तिगीतहरू रचेका छन्।

नेवाः बौद्धमार्गीहरूमा बौद्ध ग्रन्थहरू जातक तथा अवदानहरूबाट प्रेरित भक्तिगीतहरू रच्ने र गाउने परम्परा प्राचीन भए तापनि राणाकालमा यो खुलेयाम बाहिर आउन सकेको थिएन। नेवाः भजन खलहरू विभिन्न टोल, वहाल तथा विहारहरूमा भए तापनि ठहिटी टोलका मानन्धरहरूको भजन खलकले राणाकालमा समेत निकै प्रसिद्धि पाएका थिए। बौद्ध ग्रन्थहरूको अलावा नेवाः भजन खलकहरूले शिव र कालीका भजनहरूमा तन्त्रको यथेस्ट प्रभाव परेका हुन्छन् त्यस किसिमका भजनहरूले पनि धेरै प्रसिद्धि पाए। उपत्यकाका पवित्र नदीहरू बाग्मती र विष्णुमतीले पनि यस्ता भजनहरूमा धेरै प्रशंसा पाएका थिए। साथै उपत्यकाका वरपरका देवदेवीका वासस्थान रहेका डाँडाहरू जस्तै चोभार, फुल्चोकी, स्वयम्भू आदि डाँडाहरूको प्रशंसामा पनि धेरै भक्तिगीतहरू रचिए। उपत्यकाका नेवाःहरूले पञ्च पाण्डवहरूमध्ये एक भीमसेनको प्रशंसा र गुणगानमा पनि प्रशस्तै भक्तिगीतहरू रचि गाउन थाले। पछि गएर कान्छाबुद्ध बज्राचार्य र अन्य व्यक्तिहरूले नेवाः भाषामा भक्तिगीतहरू लेखी ज्ञानमाला भजन नामक संस्थालाई निकै धनी बनाउन सफल भए। ज्ञानमाला भजनको सुरुवात भने वि.सं.१९९४मा भिक्षु अमृतानन्दले लेखेको बौद्ध भजनका गीतहरूको सङ्ग्रह "भजनमाला" पुस्तक प्रकाशित भएपछि भएको हो। काठमाडौँं उपत्यकाका बौद्धमार्गी नेवाःहरूले विभिन्नखालका बाजाहरू बजाई बुद्धगीत, चर्यागीत, स्तोत्र (तुतः) आदि पाठ गरी शास्त्रीय भजन गाउने चलन धेरै पुरानो भए तापनि गत आधा शताब्दीदेखि नेपाली बौद्ध समाजमा ज्ञानमालाका भजन गीतहरू ज्यादै लोकपि्रय छन्। नेवाः भाषामा रचिएका भक्तिगीतहरू राणाकाल र त्यसपछि पनि नेपालमा टेलिभिजन नआएसम्म देशभरका नेवाःहरूको बाक्लो बस्ती भएको सहर, बजार तथा गाउँघरका भजन घरहरू, मन्दिर तथा विहारहरूमा गाइन्थे। यो परम्परा सन् ४०को दशकसम्म पनि धेरै ठाउँहरूमा रहेको थियो तर २०४५ सालपछि यस्ता भजन घरहरू विस्तारै विस्तारै बिलाएर जान थाले।

भक्ति सङ्गीतमा नेपालका सन्त, महन्तहरूको पनि ठूलो देन छ। जोसमणी सन्तहरूमा शशिधरदेखि ज्ञानदिलदाससम्मका सन्तहरूले प्रशस्त भजनहरू रचेका छन्। तिनमा सबैभन्दा धेरै रचना ज्ञानदिलदासको देखापरेको छ। नेपालमा भक्ति सङ्गीतको लहर फैलाउनमा आदिकवि भानुभक्त आचार्यको ठूलो देन छ। उनले सरल नेपाली भाषामा रामायणलाई लय हाली गाउन सम्भव बनाए। त्यस्तै मोतिराम भट्टको "म्हैपी स्तुति र दक्षिणकालीको प्रार्थना", शम्भुप्रसाद ढुङ्गेलको "शम्भु भजनमाला" सङ्गीत- चन्द्रोदय आदि प्रसिद्ध छन्। कवि शिरोमणी लेखनाथको भक्ति रचना "वैराग्य वल्ली" र महाकवि देवकोटाले आफ्नो जीवनको अन्तिम समयमा रचेको श्रीकृष्णलाई सर्मपित एउटा भजन नेपाली भजन साहित्यका अमर रचना हुन्। पूर्वका किराँत, राई, लिम्बूहरूको मुन्धुम पनि भक्तिसङ्गीत हो। दिङलाका एक कवि प्रभुनाथ अधिकारीले पनि धेरै स्तुति र भक्तिसङ्गीतहरू रचेका छन्। हाम्रो देशमा भक्तिगीतहरू धेरै प्रकारका पाइन्छन् जस्तै भजन चुडका, वालन, घमारी, फाग आदि।

सन्दर्भ सामाग्री ः

१) इन्द्र माली, पुंलाकसिः न्हुगु दापु, त्रिवेणी साहित्य प्रतिष्ठान, ये, ने.सं. ११७७ (ई.१९९६)

२) इन्द्र माली, नेपाल भाषा माध्यमिक कालया छुं,, ये, ने.सं.१११९ (ई.१९९९)

३)शमशेरबहादुर थापा, रणवीरसिंह थापा, जगदम्बा प्रकाशन, ल.पु., वि.सं.२०२३

४) कालीभक्त पन्त, हाम्रो संस्कृति इतिहास, भैरहवा, नेपाल वि.सं.२०२५

५) सूर्यविक्रम ज्ञवाली, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, (ई.८७९ देखि १७६८ सम्म) रायल नेपाल एकेडेमी, काठमाडौँं वि. सं. २०१९

६) क्ष्भनाचष्भमीष्भलजबचम, क्यलनक या ल्भउबस् िब्ल ब्लतजययिनथ या ल्भधबच ँयपिकयलनक बलम ज्ymलक, म्भजिष्, ज्ञढढद्द

७. रामशरण दर्नाल, नेपालीसङ्गीत-संस्कृति, ने.रा.प्र.प्र. २०४५ काठमाडौँं

८. माथेमा सामाजिक गुठी, सरदार हरिभक्त माथेमा (वि.सं.१८७८-१९०५) वि.सं.२०६१ काठमाडौँ

९. श्री चित्तधर 'हृदय', कवि सिद्धि व अमर कृति, नेपाल (ऋतु पौं) दँ २, ल्या : ६, पूर्ण सङ्ख्या १२, नेपाल -१०७४ शिशिर, पेज ३३-३९

१०. पूर्णरत्न बज्राचार्य, राजा सिद्धिनरसिंह मल्लको एक सङ्गीत ग्रन्थ अभिलेख, वर्ष ३, अङ्क ३, २०४२ पेज १-१९

  • [१] संगीत/कला समीक्षा, डा. साफल्य अमात्य ,मधुपर्क २०६६ भदौ