पार्थिवेन्द्र मल्ल
पार्थिवेन्द्र मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | वि.सं.१७३७ - १७४४ |
पूर्वाधिकारी | प्रताप मल्ल |
उत्तराधिकारी | भूपालेन्द्र मल्ल |
जीवनसाथी | रानी ऋद्धिलक्ष्मी |
वंश | मल्ल वंश |
बाबु | प्रताप मल्ल |
राजा पार्थिवेन्द्र मल्ल कान्तिपुरका राजा थिए। उनी प्रताप मल्लका माहिला छोरा थिए। वि सं १७३७ मा दाइ राजा नृपेन्द्र मल्लको १८ वर्षको उमेरमा निधन भएकाले उनी राजा भए । [१]
उनको शासनमा चिकुटी (देवीदास ) नामका भारदार चौतारा थिए । वि.सं. १७४० तिर पुग्दा चिकुटी धेरै कालसम्म शासनमा बसेको हुनाले उनका विरोधीहरू बढ्दै गए । उनलाई नाश गर्नुपर्छ भन्ने ठूलो भारदार समूह काठमाडौँमा खडा हुन थाल्यो । त्यसैले उनी काठमाडौँबाट भागेर कहिले पाटन, कहिले कतै गर्दै गएर कुनै बेला त त्रिशूलीपारिको बुधसिं भन्ने ठाउँमा समेत पुगे । बुधसिं त्यसबखत गोरखा राज्यअन्तर्गत पर्थ्यो । गोरखाका राजा पृथ्वीपति शाह त्यसबेला शासन गर्थे । केही समयको अन्तरालपछि चिकुटी पुनः काठमाडौँ आएर बस्न थाले । चिकुटी भागेपछि पाटनका राजा आएर नयाँ मन्त्रिमण्डल गठन गरिदिएका थिए । त्यसमा लक्ष्मीनारायण जोशी , बावत, जयकृष्ण र उनका छोरा श्रीकण्ठु गरी ४ जनाको मन्त्रिपरिषद् गठन भयो । चिकुटी पछि लक्ष्मीनारायण जोशी चौतारा भए ।
मृत्यु[सम्पादन गर्नुहोस्]
वि सं १७४४ मा खानामा विष पिलाएर चौतारा लक्ष्मीनारायण जोशी र उनकै रानी ऋद्धिलक्ष्मीले उनको हत्या गराए । लक्ष्मीनारायणले सो आरोप पूर्व चौतारा चिकुटीलाई दोषी देखाएर चिकुटी र उनका केही मानिसको हत्या गराए ।
राजाको मृत्यु भएपछी उठेको विवाद भक्तपुरका राजा जितामित्र मल्लले सुल्ट्याए।[२]
उनको मृत्यु पछि उनका छोरा भूपालेन्द्र मल्ल ८ वर्षको उमेर मा राजा बने ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५२
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५२, आइएसबिएन 99933-2-406-X।