शरभ

शरभ हिन्दु धर्ममा आठवटा खुट्टा भएको आधा सिंह र आधा चराको रूप भएको एक देवता हुन्। संस्कृत साहित्यमा उनलाई सिंह वा हात्तीभन्दा पनि शक्तिशाली र एकै उफ्राईमा उपत्यका पार गर्न सक्ने क्षमता भएको रूपमा वर्णन गरिएको छ। पछिल्ला साहित्यहरूमा शरभलाई आठवटा खुट्टा भएको मृगको रूपमा पनि वर्णन गरिएको छ।[१][२]
शैव शास्त्रहरूका अनुसार, वैष्णव सम्प्रदायद्वारा पुजिने विष्णुको उग्र मानव-सिंह अवतार नरसिंहलाई शान्त पार्न भगवान शिवले शरभको रूप धारण गरेका थिए। यो स्वरूपलाई लोकप्रय रूपमा शरभेश्वर ("भगवान शरभ") वा शरभेश्वरमूर्ति भनिन्छ।[३]
वैष्णवहरूले भने नरसिंहलाई शरभ शिवद्वारा पराजित गरिएको कुरालाई अस्वीकार गर्छन् र शरभलाई विष्णुको एक नामको रूपमा मान्छन्। नरसिंह पुराण जस्ता केही वैष्णव शास्त्रहरूले विष्णुले दुईवटा टाउको भएको भयानक चरा गण्डभेरुण्ड को रूप धारण गरेको र जसले शरभलाई पराजित गरेको उल्लेख गरेका छन्।[४]
बौद्ध धर्ममा, शरभ जातक कथाहरूमा बुद्धको अघिल्लो जन्मको रूपमा देखा पर्छन्। यो तिब्बती बौद्ध कलामा पनि देखिन्छ, जसले प्रयासको पूर्णतालाई प्रतीक गर्दछ। शक्ति र महिमाको पात्रको रूपमा शरभ धेरै प्रतीक चिन्हहरूमा प्रयोग गरिएको छ।
विकास र मूर्तिकला
[सम्पादन गर्नुहोस्]प्रारम्भिक संस्कृत साहित्यमा, शरभलाई सुरुमा पहाडी र वन क्षेत्रमा गर्जने र अन्य जनावरहरूलाई डराउने एक आक्रामक जनावरको रूपमा वर्णन गरिएको थियो। पछिल्लो हिन्दु महाकाव्य महाभारतमा, शरभलाई आठवटा खुट्टा भएको, टाउकोमा आँखा भएको र जङ्गलमा बस्ने तथा काँचो मासु खाने सिंह-हन्ता प्राणीको रूपमा वर्णन गरिएको थियो। यसलाई राक्षसको रूपमा नभई क्रौञ्च पर्वतमा बस्ने प्राणीको रूपमा पनि उल्लेख गरिएको छ। अर्को विवरणमा, शरभ गन्धमादन पर्वतमा सिंह र बाघहरूसँगै बस्ने एक साधारण जनावर हो। यस महाकाव्यले शरभलाई 'मृगजाति' (खाद्य जनावरहरूको सूची) मा पनि समावेश गरेको छ, जसमा मृग, खरायो, भालु, रुरु मृग, साम्बर, गयाल, बँदेल र भैँसी समावेश थिए। शरभ मुख्यतया भगवान शिवको अवतारको रूपमा देखा पर्दछन् भने रामायणमा एक बाँदर-राजाको नामको रूपमा, साथै नायकहरू र नागहरूको नामको रूपमा पनि आउँछ। यो भगवान विष्णु र बुद्धको नामहरू मध्ये एक पनि हो। संस्कृत साहित्यमा योद्धाहरूलाई शरभसँग तुलना गरिएको पाइन्छ।[५][६] १२औँ शताब्दीको सुश्रुत संहिताको डल्हणको टीकामा शरभलाई कास्मिरका मृगहरूको सूचीमा पनि राखिएको छ। यद्यपि, त्यहाँ ऊँटको आकारको, ठूला सिङ भएको र आठवटा खुट्टा भएको जनावरको रूपमा यसका विशेषताहरू बताइएको छ, जसलाई हिमालयन बोकाको रूपमा अनुमान गरिएको छ।[७]
शिवको अवतार
[सम्पादन गर्नुहोस्]पौराणिक साहित्यमा, शरभ भगवान शिवसँग सम्बन्धित छन् र विष्णुको उग्र रूपलाई शान्त पार्न अवतार लिन्छन्। शरभ र नरसिंह (विष्णुको मानव-सिंह रूप) बीचको युद्धको कथाले विष्णुका भक्तहरू (वैष्णव सम्प्रदाय) र शिवका भक्तहरू (शैव सम्प्रदाय) बीचको ऐतिहासिक प्रतिद्वन्द्वता र बहसलाई उजागर गर्दछ।[१][८] शिव पुराणले शरभलाई सिंहको अनुहार भएको, जटाधारी, पखेटा र आठवटा खुट्टा तथा हजारौँ हात भएको रूपमा वर्णन गरेको छ।[१][९] शरभ उपनिषद्ले शरभलाई दुईवटा टाउको, दुईवटा पखेटा, तिखो नङ्ग्रा भएका सिंहका आठवटा खुट्टा र लामो पुच्छर भएको चित्रण गर्दछ।[१०] कालिका पुराणका अनुसार शरभ कालो रङको, विशाल शरीर भएको, चारवटा खुट्टा तल र चारवटा खुट्टा माथि फर्केको स्वरूपमा हुन्छ। यसको लामो अनुहार, नाक, आठवटा खुट्टा, आठवटा दाह्रा र लामो पुच्छर हुन्छ। यो पटक-पटक उच्च उफ्रिँदै चर्को आवाज निकाल्छ।[११][१२]
शरभेश्वरमूर्तिको मूर्तिकला विशेष गरी कामिकागम र श्रीतत्त्वनिधि जस्ता ग्रन्थहरूमा परिभाषित गरिएको छ। कामिकागममा शरभलाई सुनौलो रङको चराको रूपमा वर्णन गरिएको छ, जसमा दुईवटा माथि उठेका पखेटा, दुईवटा राता आँखा, जमिनमा छोएका सिंहका चारवटा खुट्टा र माथितिर नङ्ग्रा भएका चारवटा खुट्टा हुन्छन्। शरीरको माथिल्लो भाग मानिसको जस्तो तर अनुहार सिंहको जस्तो देखाइन्छ। यसले शरभको खुट्टा मुनि अञ्जली मुद्रामा रहेका नरसिंहलाई पनि चित्रण गर्दछ।[१३]
श्रीतत्त्वनिधिमा शरभेश्वरमूर्तिका तीसवटा हातहरू हुने व्यवस्था गरिएको छ। दायाँ हातहरूमा बज्र, मुष्टि, अभय, चक्र, शक्ति, दण्ड, अङ्कुश, तरबार, खट्वाङ्ग, परशु, अक्षमाला, हड्डी, धनुष, मुसल र अग्नि हुन्छन्। बायाँ हातहरूमा पाश, वरद, गदा, बाण, झण्डा, सर्प, कमलको फूल, कपाल, पुस्तक, हलो र मृदङ्ग हुन्छन् भने एउटा हातले दुर्गालाई आलिङ्गन गरेको देखाइन्छ। यो स्वरूपले सौभाग्य ल्याउने, सबै रोग निको पार्ने र शत्रुहरूको विनाश गर्ने विश्वास गरिन्छ।[१४]
तमिलनाडुको चोल वंश शैव सम्प्रदायप्रति विशेष अनुदार थियो। कुम्भकोणम नजिकै विक्रम चोलद्वारा निर्मित विक्रमसोलीश्वरम मन्दिरमा शरभको सबैभन्दा पुरानो मूर्ति पाइन्छ। अन्य मूर्तिहरू दारासुरम र कुलुत्तुङ्ग चोल तृतीयद्वारा निर्मित त्रिभुवनमको कम्पहरेश्वरर मन्दिरमा रहेका छन्, जहाँ शरभको छुट्टै मन्दिर छ।[१५]
कर्नाटकको बेलुरको चेन्नाकेशव मन्दिरमा एउटा रोचक दृश्य कुँदिएको छ। त्यहाँ एउटा मृगलाई अजिङ्गरले निल्छ, जसलाई हात्तीले उठाउँछ र सिंहले हात्तीमाथि आक्रमण गर्छ। त्यसपछि सिंहलाई शरभले खाइरहेको देखाइन्छ र अन्तिम दृश्यमा विष्णुसँग पहिचान गरिएको दुई टाउको भएको चरा गण्डभेरुण्डले शरभलाई विनाश गरेको देखाइन्छ।[१६]
शिव र विष्णुको द्वन्द्वको मूर्तिकलामा शरभको स्वरूपमा काली र दुर्गाका पखेटाहरू थपिएका हुन्छन् जसले शिवको स्त्री शक्ति (शक्ति) लाई जनाउँछन्। शरभलाई कहिलेकाहीँ चराको टाउको र चुच्चोमा सर्प च्यापेको अवस्थामा पनि देखाइन्छ।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Pattanaik, Devdutt (२००६), "Shiva to Shankara decoding the phallic symbol", Sharabha (Shiva Purana) (Indus Source), पृ: 123–124, आइएसबिएन 978-81-88569-04-5।
- ↑ "शरभ", Monier Williams Sanskrit-English Dictionary, पृ: १०५७, अन्तिम पहुँच १८ जनवरी २०१०।
- ↑ Waradpande, N. R. (२०००), "The mythical Aryans and their invasion", Sharabha (Books & Books), पृ: 43, 46, आइएसबिएन 978-81-85016-57-3, अन्तिम पहुँच २०१०-०१-०९।
- ↑ Narayan, Aiyangar, Essays On Indo-Aryan Mythology-Vol. (अङ्ग्रेजीमा), Asian Educational Services, पृ: 252, आइएसबिएन 978-81-206-0140-6।
- ↑ Hopkins, E. Washburn (२००८), Epic mythology, Encyclopedia of Indo-Aryan Research, पृ: 18–19, आइएसबिएन 978-1-4437-7716-2, अन्तिम पहुँच २०१०-०१-१५।
- ↑ Mihira, Sree Varaha (१९८६), Brihat Jataka of Varahamihira, Motilal Banarsidass Publishers, पृ: ५८३, आइएसबिएन 978-81-208-1396-0।
- ↑ Zimmermann, Francis (१९९९), Volume 4 of Indian medical tradition Alternative Medicine Series, Motilal Banarsidass Publishers, पृ: ८२, आइएसबिएन 978-81-208-1618-3।
- ↑ Blurton, T. Richard (१९९३), "Hindu art", Sharabha (Harvard University Press), पृ: १२३, आइएसबिएन 978-0-674-39189-5।
- ↑ David Knipe (१९८९), Criminal gods and demon devotees, SUNY Press, पृ: १५३, आइएसबिएन 978-0-88706-981-9।
- ↑ Rao, T. A.Gopinatha (१९९७), Elements of Hindu iconography, Volume 2, Motilal Banarsidass Publishers, पृ: 171–173, आइएसबिएन 978-81-208-0878-2।
- ↑ Roy, Janmajit (२००२), Bhagavata Purana, Atlantic Publishers & Distributors, पृ: 93–95, आइएसबिएन 978-81-269-0169-2, अन्तिम पहुँच २०१०-०१-१५।
- ↑ Shastri, Biswanarayan (१९९४), Kalika purana, Motilal Banarsidass Publ, पृ: 25–27, आइएसबिएन 978-81-208-1124-9।
- ↑ Rao pp.172–173
- ↑ Rao p.173
- ↑ Smith, David (२००३), The Dance of Siva, Cambridge University Press, पृ: १९३, आइएसबिएन 978-0-521-52865-8।
- ↑ "Gandaberunda- The Two Headed Bird", Kamat Potpourri, मूलबाट २०१४-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०१-१०।
- ↑ Kramrisch, Stella (१९९४), The Presence of Siva, Princeton University Press, पृ: ४३६, आइएसबिएन 978-0-691-01930-7।