राइटरबाजे (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्वेतभैरवी कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, मनोविज्ञान
प्रकाशकचेतना साहित्य प्रकाशन, साझा प्रकाशन
प्रकाशित मिति
२०३९ साल
आइएसबिएन978-99933-2-660-1

राइटरबाजे नेपाली साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । सुन्दरीजल बन्दीगृहमा रहेको बेलामा लेखिएको यो कथा श्वेतभैरवी कथासङ्ग्रहमा सङ्ग्रहित गरिएको छ । राइटरबाजे प्रथम पुरूष दृष्टिबिन्दु भएको कथा हो अर्थात यस कथामा पात्रले नै कथावस्तु अघि बढाएको छ । यस कथाकी प्रमुख पात्रा काठमाडौंका गल्लीहरूमा माग्दै हिड्ने एक भोटिनी हुन जसको नामसमेत लेखकले उल्लेख गरेका छैनन् । यो एउटा मनोवैज्ञानिक तथा अस्तित्ववादी कथा हो । विभिन्न पात्रहरूमार्फत कथाकारले रहरले बेश्या हुनु र परिस्थितिले बेश्या बनाउनुमा रहेको अन्तरलाई यस कथामा प्रस्तुत गरेका छन् । विभिन्न शास्त्र, पौराणिक कथाका ज्ञाता मानिने कथाकार कोइराला यस कथाको एक प्रसंगमा चिप्लिएकाछन् । पापकर्म र पुण्यकर्मबिचको अन्तर छुट्याउन नसकेर अलमलमा परेकी नायिकाको मनबाट उनले रामायणको बाली वधको प्रशंग उठाएका छन् । अंगदबालीको उस्तै अनुहार भएकाले लुकेर बाण हानी बाली हत्या गर्न बसेका रामचन्द्रले अंगदलाई माला लगाइदिए, पापकर्म र पुण्यकर्ममध्ये पुण्यकर्मले पनि माला धारण गरे मानिसलाई सहज हुने थियो भन्ने अर्थमा यो प्रशंग उठाइएको छ । तर रामायण अनुसार अंगद, बालीका छोरा थिए र रामचन्द्रले सुग्रिवलाई माला लगाइदिएका थिए । कथाको अन्त्यमा कथाकार कोइरालाले १०-१०-१९६२ (२४-६-२०१९), सुन्दरीजल बन्दीगृह लेखेकाछन् । यो कोइराला बन्दीगृहमा भएको बेलामा लेखिएको कथा हो ।

कथा सारांश[सम्पादन गर्नुहोस्]

कथाकी प्रमुख पात्रा भोटिनी अहिले मृत्युसैयामा छिन् । कुष्ठरोगले उनका अंगप्रत्यंग खाइसकेको छ । उनी आफू राइटरबाजेकी मात्र भएर रहन नसकेकोमा पछुतो पनि गरिरहेकी छिन । राइटरबाजेको पनि मृत्यु भइसकेको छ । आफूले गरेको कर्म पाप हो वा पुण्य छुट्याउन नसकिरहेको अवस्थामा उनी अतितलाई सम्झन पुग्छिन् ।

सहरमा माग्दै हिँडेकी एक बालिका माथि जब अर्का पात्र राइटरबाजेको नजर पर्छ तब उनको जीवनले नयाँ मोड लिन्छ । राइटरबाजे पूर्व तीन नम्बरको पहाडबाट काठमाडौंमा एक अड्डामा जागीर खान आएका ब्राह्मण हुन् । भोक लागेर माग्न हिडेकी भोटिनीप्रति दया पलाएपछि राइटरबाजेले उक्त बालिकालाई आफूसँगै डेरामा लिएर जान्छन् । यसरी सुरू भएको उनीहरूको सम्बन्ध पछि गएर पति-पत्नीको रूपमा परिणत हुन्छ । उनीहरूको एउटा छोरी पनि जन्मिन्छे । यसरी सहज र सरस बितिरहेको जीवनमा छोरीको मृत्युले बज्रपात हुन्छ । बिस्तारै राइटरबाजे पनि क्षयरोगको रोगी हुन्छन् । रोगकै कारणले उनको जागीर पनि छुट्छ । जीवन गुजाराको एक मात्र स्रोत गुमेपछि भएका गरगहनासमेत बेचेर पनि राइटरबाजेको उपचार हुन सक्दैन । एक त सहरमा दैनिक गुजारा चलाउनु पर्ने अर्को रोगले ग्रस्त पतिको उपचारको जिम्मेवारी पनि कथाकी मुख्य पात्राकै काँधमा आइलाग्छ । अन्य कुनै उपाय नभएपछि उनी आफ्नो जीउ बेच्न बाध्य हुन्छिन् । जति प्रयास गरे पनि क्षयरोगको कारण राइटरबाजे यस सन्सारबाट बिदा हुन्छन् । राइटरबाजेको मृत्यु पछि विधवा हुनुसँगै उनलाई कुष्ठरोग देखापर्छ । त्यसपछि उनी त्यतिकै भौंतारिँदै आजको स्थितिमा आइपुगेकी छिन् । उनको एउटा अन्तिम इच्छा छः "बरू फेरि अर्को पटक विधवा हुनुपरे पनि, कुष्ठरोग खप्नु परेपनि आफू अर्को जन्ममा पनि राइटरबाजेकै पत्नी भएर जन्म लिउँ" । अन्तमा यसकथाकी नायिका संसारबाट बिदा हुँदै आफ्ना प्रेमी राइटरबाजेको साथ पाउन जान्छिन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

म पात्रः कथाकारले एक भोटिनीलाई म पात्रको रूपमा उभ्याएका छन् । सडकमा माग्दै हिड्ने उनी अर्का पात्र राइटरबाजेको साथ पाएपछि बिस्तारै आफू फक्रँदै गएको अनुभव गर्छिन् । राइटरबाजेको एक्लो जीवनमा सहाराको रूपमा प्रवेश गरेर प्रेम बन्धनमा बाँधिन पुग्छिन् । राइटरबाजेले उनलाई आफ्नो सम्पत्तिको साँचो हस्तान्तरण गरेपछि उनी एक गृहिणीको रूपमा आफूलाई पाउँछिन् । दिदीहरूले उनलाई सबै पुरूष एकै हुन् बाहुनसँग बसेर हुन्न भन्दै आफूहरू जस्तै जीवन बिताउन आग्रह गर्दा त्यसलाई बेवास्ता गर्दै उनी राइटरबाजेलाई नै चुन्न पुग्छिन् । राइटरबाजेसँगको जीवनमा चरम सुखको अनुभुति गर्दै आफ्ना दिदीहरू यो सबबाट बञ्चित रहेको अनुभव गर्छिन् । तर उनको जीवन सधैँ त्यस्तो रहँदैन । छोरीको मृत्युसँगै राइटरबाजेलाई पनि क्षयरोग लाग्छ र उनको जीवन दुखको सागरमा डुब्न पुग्छ । पतिको जागीर पनि नभएपछि घर चलाउने र पतिको उपचारको जिम्मासमेत यिनकै काँधमा आइलाग्छ । अन्य कुनै उपाय नभएपछि अन्तमा शरीर बेचेर पैसा जोहो गर्छिन् । उनको यही कदम पाप थियो कि पुण्य उनले कहिल्यै छुट्याउन सकिनन् । पैसा जम्मा गरेर उपचारको लागि जाँदा धेरै ढिला भएको हुनाले यिनको पतिको मृत्यु हुन्छ । वैधव्यस्थितिमा प्रवेशसँगै उनमा कुष्ठरोग देखापर्छ र उनी घर छोडेर हिड्छिन् । अन्त्यमा कुष्ठरोगका कारण नै यिनको मृत्यु हुन्छ ।

राइटरबाजेः कोइरालाले राइटरबाजेको रूपमा पूर्वी पहाडबाट जागीर खान सहर पसेको एउटा बाहुन युवकलाई उभ्याएका छन् । बाटोमा माग्दै हिड्ने केटीप्रति दया पलाए पछि आफूसँगै डेरामा ल्याएर पाल्नुले उनी एक दयालु पात्र थिए भन्न सकिन्छ । तत्कालीन समाजले नमान्ने बिजातीय नारीलाई अर्धाङ्गिनी बनाउने दुब्ला, पातला, खपटे राइटरबाजे केही प्रगतिशील विचारका भएको प्रष्ट हुन्छ । म पात्रबाट कथाकारले राइटरबाजेलाई अबोध, निरिह, अन्जान षुरूषको संज्ञा दिलाएकाछन् । पुत्रीवियोगको एक महिना हुन नपाउँदै क्षयरोगले ग्रस्त भएपछि जागीरबाट पनि निस्कासित भएका उनको क्षयरोगकै कारणले मृत्यु हुन्छ ।

दिदीहरूः कथाकारले नाम उल्लेख नगरिकन म पात्रका तिन दिदीहरूलाई पनि यस कथामा उभ्याएका छन् । जेठी हेलम्बुमा चारजनाकी पत्नी भएर रहेकी छिन् । उनलाई खानलाउनको कुनै चिन्ता छैन । उनी बहिनी पनि आफू जस्तै विवाह गरेर घरजम गरी बसोस भन्ने चाहन्थिन् । माहिली दिदी बौद्धमा भट्टी पसलका साथमा देहव्यापार गरेर बसेकी छिन् । भट्टीमा दिनप्रतिदिन ग्राहकहरू बढिरहेका हुनाले कान्छी बहिनी पनि भट्टीमै बसेर ग्राहकहरूको सेवा गरोस भन्ने उनको चाहना छ । त्यस्तै साहिली दिदी एक दरवारमा हिरा-जवाहरातले सजिएर नोकर-चाकरले घेरिएर रहेकीछिन् । कान्छी बहिनी पनि रूपवती भएकी हुनाले दरवारमा राम्रो पकड बनाउन सक्ने उनको धारणा छ । कथाकारले यी तिनैजनालाई रूपजिवीको संज्ञा दिएकाछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]