राइटरबाजे (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


श्वेतभैरवी कथासंग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाकथा
प्रकारसामाजिक, मनोविज्ञान
प्रकाशकचेतना साहित्य प्रकाशन, साझा प्रकाशन
प्रकाशन मिति
२०३९ साल

राइटरबाजे नेपाली साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । सुन्दरीजल बन्दीगृहमा रहेको बेलामा लेखिएको यो कथा श्वेतभैरवी कथासंग्रहमा संग्रहित गरिएको छ । राइटरबाजे प्रथम पुरूष दृष्टिबिन्दु भएको कथा हो अर्थात यस कथामा पात्रले नै कथावस्तु अघि बढाएको छ । यस कथाकी प्रमुख पात्रा काठमाडौंका गल्लीहरूमा माग्दै हिड्ने एक भोटिनी हुन जसको नामसमेत लेखकले उल्लेख गरेका छैनन् । यो एउटा मनोवैज्ञानिक तथा अस्तित्ववादी कथा हो । विभिन्न पात्रहरूमार्फत कथाकारले रहरले बेश्या हुनु र परिस्थितिले बेश्या बनाउनुमा रहेको अन्तरलार्इ यस कथामा प्रस्तुत गरेका छन् । विभिन्न शास्त्र, पौराणिक कथाका ज्ञाता मानिने कथाकार कोइराला यस कथाको एक प्रसंगमा चिप्लिएकाछन् । पापकर्म र पुण्यकर्मबिचको अन्तर छुट्याउन नसकेर अलमलमा परेकी नायिकाको मनबाट उनले रामायणको बाली वधको प्रशंग उठाएका छन् । अंगदबालीको उस्तै अनुहार भएकाले लुकेर बाण हानी बाली हत्या गर्न बसेका रामचन्द्रले अंगदलार्इ माला लगाइदिए, पापकर्म र पुण्यकर्ममध्ये पुण्यकर्मले पनि माला धारण गरे मानिसलार्इ सहज हुने थियो भन्ने अर्थमा यो प्रशंग उठाइएको छ । तर रामायण अनुसार अंगद, बालीका छोरा थिए र रामचन्द्रले सुग्रिवलार्इ माला लगाइदिएका थिए । कथाको अन्त्यमा कथाकार कोइरालाले १०-१०-१९६२ (२४-६-२०१९), सुन्दरीजल बन्दीगृह लेखेकाछन् । यो कोइराला बन्दीगृहमा भएको बेलामा लेखिएको कथा हो ।

कथा सारांश[सम्पादन गर्ने]

कथाकी प्रमुख पात्रा भोटिनी अहिले मृत्युसैयामा छिन् । कुष्ठरोगले उनका अंगप्रत्यंग खाइसकेको छ । उनी आफू राइटरबाजेकी मात्र भएर रहन नसकेकोमा पछुतो पनि गरिरहेकी छिन । राइटरबाजेको पनि मृत्यु भइसकेको छ । आफूले गरेको कर्म पाप हो वा पुण्य छुट्याउन नसकिरहेको अवस्थामा उनी अतितलार्इ सम्झन पुग्छिन् ।

सहरमा माग्दै हिँडेकी एक बालिका माथि जब अर्का पात्र राइटरबाजेको नजर पर्छ तब उनको जीवनले नयाँ मोड लिन्छ । राइटरबाजे पूर्व तीन नम्बरको पहाडबाट काठमाडौंमा एक अड्डामा जागीर खान आएका ब्राह्मण हुन् । भोक लागेर माग्न हिडेकी भोटिनीप्रति दया पलाएपछि राइटरबाजेले उक्त बालिकालार्इ आफूसँगै डेरामा लिएर जान्छन् । यसरी सुरू भएको उनीहरूको सम्बन्ध पछि गएर पति-पत्नीको रूपमा परिणत हुन्छ । उनीहरूको एउटा छोरी पनि जन्मिन्छे । यसरी सहज र सरस बितिरहेको जीवनमा छोरीको मृत्युले बज्रपात हुन्छ । बिस्तारै राइटरबाजे पनि क्षयरोगको रोगी हुन्छन् । रोगकै कारणले उनको जागीर पनि छुट्छ । जीवन गुजाराको एक मात्र स्रोत गुमेपछि भएका गरगहनासमेत बेचेर पनि राइटरबाजेको उपचार हुन सक्दैन । एक त सहरमा दैनिक गुजारा चलाउनु पर्ने अर्को रोगले ग्रस्त पतिको उपचारको जिम्मेवारी पनि कथाकी मुख्य पात्राकै काँधमा आइलाग्छ । अन्य कुनै उपाय नभएपछि उनी आफ्नो जीउ बेच्न बाध्य हुन्छिन् । जति प्रयास गरे पनि क्षयरोगको कारण राइटरबाजे यस सन्सारबाट बिदा हुन्छन् । राइटरबाजेको मृत्यु पछि विधवा हुनुसँगै उनलार्इ कुष्ठरोग देखापर्छ । त्यसपछि उनी त्यतिकै भौंतारिँदै आजको स्थितिमा आइपुगेकी छिन् । उनको एउटा अन्तिम इच्छा छः "बरू फेरि अर्को पटक विधवा हुनुपरे पनि, कुष्ठरोग खप्नु परेपनि आफू अर्को जन्ममा पनि राइटरबाजेकै पत्नी भएर जन्म लिउँ" । अन्तमा यसकथाकी नायिका संसारबाट बिदा हुँदै आफ्ना प्रेमी राइटरबाजेको साथ पाउन जान्छिन् ।

पात्रहरू[सम्पादन गर्ने]

म पात्रः कथाकारले एक भोटिनीलार्इ म पात्रको रूपमा उभ्याएका छन् । सडकमा माग्दै हिड्ने उनी अर्का पात्र राइटरबाजेको साथ पाएपछि बिस्तारै आफू फक्रँदै गएको अनुभव गर्छिन् । राइटरबाजेको एक्लो जीवनमा सहाराको रूपमा प्रवेश गरेर प्रेम बन्धनमा बाँधिन पुग्छिन् । राइटरबाजेले उनलार्इ आफ्नो सम्पत्तिको साँचो हस्तान्तरण गरेपछि उनी एक गृहिणीको रूपमा आफूलार्इ पाउँछिन् । दिदीहरूले उनलार्इ सबै पुरूष एकै हुन् बाहुनसँग बसेर हुन्न भन्दै आफूहरू जस्तै जीवन बिताउन आग्रह गर्दा त्यसलार्इ बेवास्ता गर्दै उनी राइटरबाजेलार्इ नै चुन्न पुग्छिन् । राइटरबाजेसँगको जीवनमा चरम सुखको अनुभुति गर्दै आफ्ना दिदीहरू यो सबबाट बञ्चित रहेको अनुभव गर्छिन् । तर उनको जीवन सधैँ त्यस्तो रहँदैन । छोरीको मृत्युसँगै राइटरबाजेलार्इ पनि क्षयरोग लाग्छ र उनको जीवन दुखको सागरमा डुब्न पुग्छ । पतिको जागीर पनि नभएपछि घर चलाउने र पतिको उपचारको जिम्मासमेत यिनकै काँधमा आइलाग्छ । अन्य कुनै उपाय नभएपछि अन्तमा शरीर बेचेर पैसा जोहो गर्छिन् । उनको यही कदम पाप थियो कि पुण्य उनले कहिल्यै छुट्याउन सकिनन् । पैसा जम्मा गरेर उपचारको लागि जाँदा धेरै ढिला भएको हुनाले यिनको पतिको मृत्यु हुन्छ । वैधव्यस्थितिमा प्रवेशसँगै उनमा कुष्ठरोग देखापर्छ र उनी घर छोडेर हिड्छिन् । अन्त्यमा कुष्ठरोगका कारण नै यिनको मृत्यु हुन्छ ।

राइटरबाजेः कोइरालाले राइटरबाजेको रूपमा पूर्वी पहाडबाट जागीर खान सहर पसेको एउटा बाहुन युवकलार्इ उभ्याएका छन् । बाटोमा माग्दै हिड्ने केटीप्रति दया पलाए पछि आफूसँगै डेरामा ल्याएर पाल्नुले उनी एक दयालु पात्र थिए भन्न सकिन्छ । तत्कालीन समाजले नमान्ने बिजातीय नारीलार्इ अर्धाङ्गिनी बनाउने दुब्ला, पातला, खपटे राइटरबाजे केही प्रगतिशील बिचारका भएको प्रष्ट हुन्छ । म पात्रबाट कथाकारले राइटरबाजेलार्इ अबोध, निरिह, अन्जान षुरूषको संज्ञा दिलाएकाछन् । पुत्रीवियोगको एक महिना हुन नपाउँदै क्षयरोगले ग्रस्त भएपछि जागीरबाट पनि निस्कासित भएका उनको क्षयरोगकै कारणले मृत्यु हुन्छ ।

दिदीहरूः कथाकारले नाम उल्लेख नगरिकन म पात्रका तिन दिदीहरूलार्इ पनि यस कथामा उभ्याएका छन् । जेठी हेलम्बुमा चारजनाकी पत्नी भएर रहेकी छिन् । उनलार्इ खानलाउनको कुनै चिन्ता छैन । उनी बहिनी पनि आफू जस्तै विवाह गरेर घरजम गरी बसोस भन्ने चाहन्थिन् । माहिली दिदी बौद्धमा भट्टी पसलका साथमा देहव्यापार गरेर बसेकी छिन् । भट्टीमा दिनप्रतिदिन ग्राहकहरू बढिरहेका हुनाले कान्छी बहिनी पनि भट्टीमै बसेर ग्राहकहरूको सेवा गरोस भन्ने उनको चाहना छ । त्यस्तै साहिली दिदी एक दरवारमा हिरा-जवाहरातले सजिएर नोकर-चाकरले घेरिएर रहेकीछिन् । कान्छी बहिनी पनि रूपवती भएकी हुनाले दरवारमा राम्रो पकड बनाउन सक्ने उनको धारणा छ । कथाकारले यी तिनैजनालार्इ रूपजिवीको संज्ञा दिएकाछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]