त्रिवेणी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • तीन नदी मिसिएको स्थान
  • उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको सँगममा रहेको शक्तिपीठ। यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ। त्रिवेणीमा दसैको अष्टमीमा नुहाउने चलन छ|
  • नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी एकै थलोमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र पुरातात्विक पर्यटनको आनन्द लिन चाहनेहरूका लागि गतिलो गन्तव्य हो |

हरेक साँझ् यहाँका मठमन्दिरमा हुने पूजापाठ, आरती, वरपर फैलने धूपको सुवास तथा शङ्ख-घण्टको आवाजले अद्वितीय तरङ्ग पैदा गर्छ। नजीकैका स्नानघाटहरूको दृश्य अझ् लोभलाग्दा छन्। गण्डक व्यारेजमा ताल परेर समुद्रजस्तो बनेको नारायणी नदीमा वरपर बलेका बत्तीहरूको छायाँ टल्किँदा आकाश र ताराहरूले धर्तीमै बसाइँ सरेजस्तो लाग्छ।

धार्मिक आस्थासहित गएकाहरूले रातभर भजन-कीर्तन गाएर जाग्राम बस्न पनि सक्छन् भने बिहानै उठेर शिवालयको दर्शनपछि घुमघाम शुरु गर्नु राम्रो। त्यहाँबाट निस्किएपछि डुङ्गा चढेर नारायणी नदी पार गरी जङ्गलैजङ्गल आधा घण्टा हिँडेपछि चितवनतर्फको वाल्मीकि आश्रम पुग्न सकिन्छ। आश्रममा रामायणकालीन ग्रन्थसँग मिल्दोजुल्दो विशेषता बोकेका प्राचीन अवशेषहरू छन्। त्यस्ता पुरातात्विक महत्वका अवशेषबारे रुचि भएकाले थाहै नपाई यहाँ घण्टौं बित्छ। आश्रममा वाल्मीकि ऋषिको तपोस्थल, सीताको कुटी र उनले प्रयोग गरेको विश्वास गरिने इनार तथा ढुङ्गाका विभिन्न औजारहरू देख्न पाइन्छ। त्यस अतिरिक्त रामका पुत्रहरू लव-कुशको पाठशाला, उनीहरूले गरेका साहसी कामको किम्वदन्ती खोतल्ने सामानहरू पनि त्यहाँ छन्। उत्खनन् गर्दा फेला परेका पुराना मूर्तिहरूसहित सीता र हरिहरका दुई छुट्टाछुट्टै मन्दिर पनि छन्।

शिवालय र वाल्मीकि आश्रमसँगै जोडिएको अर्को तीर्थ भारत भैंसालोटनतर्फको जटाशङ्कर मन्दिर हो। त्यहाँबाट नरदेवी र लवकुशघाट हुँदै नेपालकै रानीनगर आइपुग्दा घुम्नुपर्ने ठाउँ अझै बाँकी नै हुन्छन्। गढीमाई, शिवपुर, केउलानीमाई, बेङ्कटेश, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर हुँदै सुरुआतको शिवालय मन्दिरमै पुगेपछि यात्रा समाप्त हुन्छ। यी मठमन्दिरहरू सबै परिक्रमा गरिसक्दा पाँच कोष अर्थात् १५ किलोमिटर दूरी हिँड्नुपर्छ। त्यही कारण यो धार्मिक रुटको नाम नै पञ्चकोशी परिक्रमा राखिएको छ। यसरी परिक्रमा गर्नेहरू अरू बेला कम देखिए पनि माघे औंसी, शिवरात्रि र हरिबोधनी एकादशीको मेलामा चाहिँ प्रशस्त हुने गरेको ४० वर्षदेखि यहाँ बस्दै आएका नलराज शर्मा (६७) बताउँछन्। उनका अनुसार चार वर्षयता ११ घण्टा लगाएर परिक्रमा गर्नेहरूको सङ्ख्या निकै बढेको छ।

शिवरात्रिमा पशुपति र विवाहपञ्चमीमा जानकी मन्दिर पुग्ने यात्रीले पनि त्रिवेणीमा पञ्चकोशी परिक्रमा नगरेसम्म मागेको फल पाउँदैनन् भनिन्छ। त्रिवेणीधामको परिक्रमा गाडी चढेर पनि गर्न सकिन्छ। यस्तै वाल्मीकि आश्रमबाट फर्किंदा गण्डक व्यारेजमा डुङ्गा चढेर जलविहार पनि गर्न सकिन्छ। जाडो महिनामा डुङ्गा चढेर घाम ताप्ने र डुङ्गामै बसेर खाई-पिई रमाइलो गर्न पनि पाइन्छ। चितवन राष्ट्रिय निकुञ्जको हरियाली हेर्दै र नारायणीको पानीमा खेल्दै खाइने त्यस किसिमको सुख्खा पिकनिकमा स्थानीय माछाका परिकार, ड्राईफुड र हल्का पेय बढी चल्तीमा छ।

पूर्व-पश्चिम राजमार्गको बर्दघाट त्रिवेणी/भैंसालोटन प्रवेश गर्ने मुख्य नाका हो। नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी पुग्न दुई घण्टा धुले सडकमा यात्रा गर्नुपर्छ। बर्दघाटबाट त्रिवेणीका लागि बिहान सातदेखि साँझ् पाँच बजेसम्म घण्टा-घण्टामा बस छुट्छन्। नारायणगढ वा बुटवलबाट मध्यान्हतिर हिँड्यो भने बेलुका उज्यालैमा त्रिवेणी बजार पुगिन्छ। त्यहाँ खाना र बासका लागि केही स-साना होटलका अतिरिक्त तीन लज र त्यति नै सङ्ख्यामा धर्मशालाहरू छन्।

शक्तिपीठ