भुजुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुजुङ
देश : नेपाल
अञ्चल :गण्डकी अञ्चल
जिल्ला :लमजुङ जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा३,२१२
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

भुजुङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये 'एक गाउँ एक गाविस'ले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ। सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ। यो गाउँ जिल्लाकै सबैभन्दा ठूलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ। समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाईमा रहेको यस गाउँको पूर्वमा घले गाउँ,(उत्तरकन्या गाविस) घनपोखरा गाविस, पश्चिममा पसगाउँ गाविस, दक्षिणमा भोंजे गाविस, पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ। करिब ३६२ घरधुरी रहेको उक्त गाउँमा ९०% गुरुङ र १०% अन्य जातीहरू बसोवास गर्दछन्। २१००को हाराहारीमा यहाँको जनसङ्ख्या रहेको छ। " न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु " भन्ने भनाई पनि प्रचलित रहेको छ। यस गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ। घरहरूको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ। खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ।

यहाँका मानिसहरूको मुख्य पेशा भनेको कृषि हो। यस गाउँका मानिसहरूले पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेका छन्। मिहेनती र लगनशिल छन् यहाँका मानिसहरू, फुर्सदको समयमा पुरुषहरूले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरूले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरू बनाउँछन्। बेलायत, भारत र नेपाली सेनामा भर्ती हुने वैदेशीक रोजगार र होटल व्यावसाय थप आय आर्जनका स्रोतहरू हुन्। यहाँका ८०% मानिसहरू साक्षार छन्।

परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रूपमा घाँटु(कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा, नृत्यहरू यहाँको विशेष आर्कषण हुन्। शुभ पुटपुटे, छेवर, दिनभरिको थकान मेट्ने अनि शुख दुख बांड्ने पवित्र थलो रोधिं पनि यहाँ रहेको छ। लाली गुँरास युवा क्लव, युम्वो विकाश आमा समुह, वाहेक संरक्षण र विकाशलाई स्थानिय स्थरवाटै गरिनु पर्दछ भन्ने उद्देश्यले २०५० सालमा स्थापित राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ण् संरक्षण क्षेत्र आयोजना, यस अर्न्तगत रहने संरक्षण क्षेत्र व्यवस्थापन समिति, पर्यटन व्यवस्थापन उपसमिति, भुजुङ्ग लघु जल विद्युत व्यवस्थापन समिति, भुजुङ्ग उप स्वास्थ्य चौकि खानेपानी व्यवस्थापन समिति जस्ता विभिन्न सङ्घ संस्थाहरू गाउँको विकाशको गर्नलाई लागि परि रहेको छ। वैकल्पिक पदयात्राको लागि विभिन्न स्थानवाट पुग्न सकिने भुजुङमा २५ घरमा पाहुना राख्ने व्यवस्था पनि रहेको छ। यस गाउँको वन क्षेत्रमा विभिन्न लोपोन्मुख जंगली जीव जनावारहरू, पशुपंक्षी, जडिवुटी, फलफूल र विभिन्न प्रजातिका पुतलीहरू पाईन्छ। ग्रामिण पर्यटन विकाशमा टेवा पुर्‍याउने उदेश्यले नेपाल पर्यटन बोर्ड, जि.वि.स, गा.वि.स र स्थानिय सङ्घ संस्थाहरूको सक्रियतामा "ग्रामिण पर्यटकिय गाउँ भुजुङ्को आर्कषण, स्थानिय कला संस्कृतिको संरक्षण" भन्ने मुल नाराका साथ २०६४ सालमा सभासद श्री पृथ्वी सुब्बा गुरुङ्को प्रमुख अतिथ्यमा प्रथम भुजुङ् महोत्सव सफलताका साथ सम्पन्न गरिएको थियो। अहिले चिया वगान पनि यहाँको प्रमुख आकर्षण बनेको छ। शिक्षा, खानेपानी, विद्युत, टेलिफोन, टेलिभिजन, स्वास्थ्य आदिको सुविधावाट गाउँलेहरू र गाँउमा आउने पर्यटकहरू लाभान्वित भएका छन्। यजम्रो, भयरा, योरी, शिल्दो, युम्बो, सलिया, अजम्रो यहाँका मानिसहरूले पुज्ने देवताहरू हुन्। आफुले चिताएको कुरा पुर्‍याईदिने हुनाले यजम्रो (सन्तानेश्वर महादेव) लाई यहाँका मानिसहरूले सब भन्दा ठूलो देवताको रूपमा मान्ने गर्दछ। गाउँ देखि उत्तरीमोडामा पर्ने घना जंगलको सुनसान ठाउँमा एउटा ठूलो ढुगाँ माथि सँधै पानी जमि रहने विचमा यजम्रो देवता रहेको छ।

भुजुङमा एउटा गुफा पनि रहेको छ, जुन २०५७ सालमा श्री त्रिभुवन माविका शिक्षक र विद्यार्थीहरूको सक्रियतामा पत्ता लागेको थियो। त्यस गुफाको नाम ऐतिहासिक त्रिभुवन गुफा राखिएको छ। स्थानीय वृद्धाहरूको भनाई अनुसार परापुर्वकालमा भालेलाई खुट्टामा धागो वाँधेर छोड्दा करीव २०० मिटर तलको चमेरे भन्ने ओडारमा भाले निस्किएको थियो।

धार्मिक, ऐतिहासिक, सांस्कृतिक विविधता अनि प्राकृतिक छटाले भरिपुर्ण् घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण, हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरू, दक्षिणतर्फ नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यि यस्ता कुराहरूले सबैलाई हषिर्त एवं आनन्दित तुल्याउँछ। गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरूको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको छ। कला संस्कृतिलाई नजीकवाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा पुर्‍याउनको निम्ति एक पटक भुजुङ गाउँ जानै पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार भुजुङको जनसङ्ख्या १६३० छ।[१] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]