अमरनाथ मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमरनाथ गुफा
अमरनाथ गुफा मन्दिर
अमरनाथ मन्दिर is located in जम्मु र कश्मीर
अमरनाथ मन्दिर
जम्मु र कश्मीरको नक्साभित्र स्थान
अमरनाथ मन्दिर is located in भारत
अमरनाथ मन्दिर
अमरनाथ मन्दिर (भारत)
प्राथमिक विवरण
स्थान:पहलगाम
निर्देशाङ्क३४°१२′५४″N ७५°३०′०३″E / ३४.२१४९°N ७५.५००८°E / 34.2149; 75.5008निर्देशाङ्कहरू: ३४°१२′५४″N ७५°३०′०३″E / ३४.२१४९°N ७५.५००८°E / 34.2149; 75.5008
सम्बन्धनहिन्दुत्व
देवताशिव
जिल्लाअनन्तनाग जिल्ला
राज्यजम्मु र कश्मीर
देशभारत
वेबसाइटshriamarnathjishrine.com

अमरनाथ गुफा हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थल हो। यो गुफा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित श्रीनगर सहरबाट उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ। अमरनाथ समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा रहेको छ। यस गुफाको लम्बाइ (भित्र देखि गहिराइ) १९ मिटर र चौडाइ १६ मिटर छ। गुफा ११ मिटर अग्लो छ।[१] अमरनाथ गुफा भगवान शिवसँग सम्बन्धित प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो। पौराणिक कथाहरूका अनुसार यस स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए। यसैका आधारमा अमरनाथ गुफालाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ।[२]

यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो। प्राकृतिक हिउँबाट निर्मित हुने कारणले यसलाई स्वयम्भु हिमानी शिवलिङ्ग पनि भन्ने गरिन्छ। आषाढ शुक्ल पूर्णिमाबाट शुरू भएर जनैपूर्णिमासम्म पुरै साउन महिनाभर पवित्र हिमलिंग दर्शनको लागि यहाँ लाखौं श्रद्धालु आउने गर्दछन्। [३] यस पवित्र गुफाको परिधि लगभग १५० फिट छ र यस गुफामा माथिबाट हिउँको पानीको स-सानो थोपा कुनै-कुनै स्थानमा झर्ने गर्दछ। यसै गुफामा एउटा यस्तो स्थान पनि छ, जहाँ हिउँको पानी झर्दा झर्दै त्यहाँ लगभग दश फिटको अग्लो शिवलिङ्ग बन्दछ। चन्द्रमाको आकार घटबढ अनुसार यस शिवलिङ्गको आकार पनि घट्ने-बढ्ने हुन्छ। श्रावण पूर्णिमामा यहाँ यो पवित्र शिवलिङ्ग आफ्नो पूर्ण आकारमा हुन्छ र औंसीसम्म यो छोटो हुँदै जान्छ। आश्चर्यको कुरा के छ भने यो शिवलिङ्ग ठोस हिउँबाट बनेको हुन्छ, जबकि गुफामा सामान्यत: काँचो हिउँ हुन्छ जुन हातमा राख्ने बितिकै हराउँछ। मूल अमरनाथ शिवलिङ्गदेखि केही फिटको दुरीमा गणेश, भैरवपार्वतीको यस्तै बेग्ला बेग्लै हिमखण्डहरू छन्।

जनविश्वास

अमरनाथ गुफामा हिउँबाट निर्मित प्राकृतिक शिवलिङ्ग
अमरनाथ गुफामा हिउँबाट निर्मित प्राकृतिक शिवलिङ्ग

यहाँको जनआस्था अनुसार यसै गुफामा माता पार्वतीलाई भगवान शिवले अमरकथा सुनाएका थिए जसलाई सुनेर सद्योजात शुक-शिशु शुकदेव ऋषिको रूपमा अमर भएका थिए। गुफामा आज पनि परेवाको एक जोडी देखिन्छ भन्ने गरिन्छ जसलाई श्रद्धालुहररू अमर पक्षी भन्ने गर्दछन्। ती परेवाहरू पनि अमरकथा सुनेर अमर भएको विश्वास गरिन्छ। त्यहाँ यस्तो मान्यता छ कि जुन श्रद्धालुलाई ती परेवाको दर्शन हुन्छ, तीनलाई शिव पार्वतीले आफ्नो प्रत्यक्ष दर्शनबाट गौरवान्वित गरेर त्यस प्राणीलाई मुक्ति प्रदान गर्छन्। यो पनि विश्वास रहँदै आएको छ कि भगवान शिवले आफ्नो जीवनसाथी पार्वतीलाई यस गुफामा एउटा यस्तो कथा सुनाएका थिए, जसमा अमरनाथको यात्रा र त्यसको मार्गमा आउने विभिन्न तिर्थस्थलको बारेमा जानकारी रहेको थियो। यो कथा कालान्तरमा अमरकथाको नामले विख्यात भएको थियो।

केही विद्वानहरूको मत छ कि भगवान शंकर जब पार्वतीलाई अमर कथा सुनाउन गइरहेका थिए, त्यस समय उनले स-साना अनन्त नागहरूलाई अनन्तनाग भन्ने स्थानमा छोडे, निधारको चन्दनलाई चन्दनवाडीमा राखे, तथा घाँटीमा रहेको शेषनागलाई शेषनाग नामक स्थानमा राखेका थिए। यी सबै स्थलहरू आज पनि अमरनाथ यात्राको क्रममा भेटिन्छन्। अमरनाथ गुफालाई सबैभन्दा पहिले सोह्रौँ शताब्दीको पूर्वार्धमा एउटा मुसलमान समूहले खोजेका थिए। [४] अमरावती नदीको बाटोमा अगाडि जाँदा समय समय अरू पनि साना-ठूला धेरै गुफाहरू देखिन्छन्। ती सबै हिउँले ढाकिएका हुन्छन्।

अमरनाथ यात्रा

अमरनाथ यात्रामा जाने मुख्य दुई वटा मार्गहरू छन्। एउटा पहलगाम हुँदै र अर्को सोनमार्ग बलटाल हुँदै जान सकिन्छ। तसर्थ पहलगाम र बलटालसम्म कुनै पनि साधन प्रयोग गरेर पुग्न सकिन्छ, त्यहाँबाट अगाडि जानका लागि आफ्नो खुट्टाको प्रयोग गर्नुपर्दछ। अशक्त वा बृद्धहरूका लागि सवारीको प्रबन्ध गर्न सकिन्छ। पहलगामदेखि जाने बाटोलाई सरल तथा सुविधाजनक मानिन्छ।

बलटालदेखि अमरनाथ गुफाको दुरी १४ किलोमिटर मात्रै छ तर यो एकदमै कठिन बाटो रहेको छ र सुरक्षाको दृष्टिले पनि संदिग्ध छ। त्यसकारण भारत सरकारले पनि यस मार्गलाई सुरक्षित मान्दैन र बढीभन्दा बढी यात्रीहरूलाई पहलगामको बाटो अमरनाथ जान प्रेरित गर्दछ। तर रोमान्च तथा जोखिम लिने खालका शौखिन यात्रीहरू यस मार्गबाट यात्रा गर्न बढी रुचाउँछन। यो मार्ग प्रयोग गरेर जाने यात्रीहरू आफ्नो ज्यान जोखिममा राखेर यात्रा गर्छन्। बाटोमा हुने कुनै प्रकारको क्षतिको जिम्मेवारी भारत सरकारले लिंदैन।

पहलगामदेखि अमरनाथ

अमरनाथ यात्रा शिविर

पहलगाम जम्मुदेखि ३१५ किलोमिटरको दूरीमा रहेको छ। यो एक प्रख्यात पर्यटनस्थल हो। यहाँको प्राकृतिक सौन्दर्य अत्यन्तै मनमोहक छ। पहलगामसम्म जानको लागि जम्मू-कश्मीर पर्यटन केन्द्रद्वारा संचालित सरकारी बस उपलब्ध रहेको छ। पहलगाममा गैरसरकारी संस्थाहरूको तर्फबाट लंगरको व्यवस्था गरिएको छ। तीर्थयात्रीहरूको हिडाई यहीँदेखि प्रारम्भ हुन्छ।

पहलगामपछि पहिलो आउने चोक चन्दनवाडी हो, जुन पहलगामदेखि आठ किलोमिटरको दूरीमा रहेको छ। पहिलो रात तीर्थयात्रीहरू यहीं बस्छन्। यहाँ रात्रि निवासको लागि तम्बु लगाउने गरिन्छ। त्यहाँबाट अर्को दिन पिस्सु उपत्यकाको यात्रा सुरु गरिन्छ। भनिन्छ पिस्सु उपत्यकामा देवताहरूराक्षसहरूका बीचमा घमासान युद्ध भएको थियो जसमा राक्षसहरूको पराजय भएको थियो। लिद्दर नदीको छेउ-छेउ यो पहिलो चरणको यात्रा गर्ने गरिन्छ। यहाँसम्मको यात्रा त्यति कठिन छैन। चन्दनवाडीबाट १४ किलोमिटर टाढा शेषनाग अर्को रोकिने मार्ग हो। यो मार्ग सिधै ९०° को चढाइमा रहेको छ त्यसैले यो ज्यादै खतरनाक छ। यहाँबाट पिस्सू उपत्यकाको दर्शन हुन्छ। अमरनाथ यात्रामा पिस्सू उपत्यका ज्यादै जोखिम भएको स्थल हो। पिस्सू उपत्यका समुन्द्र सतहदेखि ११,१२० फिटको उचाइमा अवस्थित छ। यात्रीहरू शेषनाग पुगेर यात्राको थकान मेटाउँछन्। यहाँ पर्वत तथा हिमश्रृङ्खलाको बीचमा नीलो पानीको एउटा सुन्दर ताल रहेको छ। यो ताल करीब १.५ किलोमिटर लम्बाइमा फैलिएको छ।

किम्बदन्ती अनुसार शेषनाग ताल मा शेषनागको वास छ र चौबीस घन्टामा एकपटक शेषनागले तालबाट बाहिर निस्केर दर्शन दिन्छन्, तर केही तीर्थालुहरूलाई मात्र शेषनागको दर्शन प्राप्त हुन्छ भन्ने भनाई रहेको छ। तीर्थयात्रीहरू यहाँ रात्रि विश्राम गर्छन् र यहींबाट तेश्रो दिनको लागि यात्रा सुरू गर्छन्।

शेषनागबाट पन्चतरणी आठ माइलको दूरीमा रहेको छ। मार्गमा बैववैल टाकुरा र महागुणास फाँटलाई पार गर्नुपर्छ, जसको उचाइ समुद्र सतहदेखि क्रमश: १३,५०० फिट र १४,५०० फिट छ। महागुणासदेखि पन्चतरणीसम्म बाटो ओरालो रहेको छ। यहाँ पाँच स-साना नदीहरू भएको कारणले गर्दा नै यस स्थानको नाम पन्चतरणी राखिएको हो। यो स्थान चारैतिरबाट अग्ला-अग्ला टाकुराले घेरिएको छ। उचाइ बढी भएको हुनाले यहाँ अत्यन्तै चिसो हुन्छ। अक्सिजनको कमी हुने भएकोले तीर्थयात्रीहरूको लागि यहाँ सुरक्षाको राम्रो बन्दोबस्त गरिएको छ।

अमरनाथको गुफा यहाँदेखि मात्र आठ किलोमिटर टाढा छ र बाटोमा हिउँ नै हिउँ जमेको हुन्छ। यस दिन गुफाको नजिक पुगेर राति बस्ने बन्दोबस्त गर्न सकिन्छ जसले अर्को दिन बिहानै पूजा अर्चना गरेर पन्चतरणी फिर्ता आउन सकिन्छ। केही यात्री बेलुकासम्म शेषनाग पनि फर्किन्छन्। यो बाटो ज्यादै कठिन रहेको छ, तर अमरनाथको पवित्र गुफामा पुग्नासाथ बाटोको थकान अभुतपुर्व तरिकाले सौम्य हुँदै जान्छ र अद्भुत आत्मिक आनन्दको अनुभूति हुन्छ।

बलटालदेखि अमरनाथ

बलटाल जम्मूदेखि ४०० किलोमिटरको दूरीमा रहेको छ। जम्मूदेखि उधमपुरसम्म रेल, बस आदी सवारी साधनहरू सुविधा रहेको छ। उधमपुरबाट बलटालको लागि जम्मू कश्मीर पर्यटक स्वागत केन्द्रको बस भेटिन्छ। बलटाल शिविरदेखि तीर्थयात्री एक दिनमा अमरनाथ गुफाको यात्रा गरेर फर्किन सक्छन्। तर यो मार्ग ज्यादै कठिन भएको हुनाले कोहि कोही तीर्थालु मात्र यस मार्गबाट जान्छन्।

चित्रहरू

सन्दर्भ सामग्री

  1. "अमरनाथ यात्रा : प्रकृति दर्शन र अध्यात्मको योग", अन्तिम पहुँच ४ मार्च,२००९ 
  2. "अमरत्वको बाटो देखाउँदै अमरनाथ धाम", अन्तिम पहुँच ३ अगस्त,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२७ मिति
  3. "भगवान शिवको तीर्थस्थल", अन्तिम पहुँच ३ अगस्त,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति
  4. "सुफिवाद र काश्मिर", अन्तिम पहुँच ३ अगस्त२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-०९ मिति

बाह्य कडीहरू

  1. श्रद्धा तथा रोमान्चले भरिएको अमरनाथ यात्रा, दैनिक जागरण (जून २७, २००६) वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति \
  2. अमरनाथ यात्राको आधिकारिक वेबसाइट
  3. यात्रा २००९ को विषयमा जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-३१ मिति
  4. यात्राको विषयमा विस्तृत जानकारी
  5. हिन्दू समाजको आस्था र एकताको प्रतीक - अमरनाथ यात्रा (पाञ्चजन्य)
  6. पापमोचक रोमान्चक अमरनाथ यात्रा