अमरनाथ मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अमरनाथ गुफा
अमरनाथ गुफा is located in India
अमरनाथ गुफा
अमरनाथ गुफा
जम्मु काश्मिरमा रहेको अमरनाथ गुफा
निर्देशांक: ३४°१२′५४″उत्तर ७५°३०′०३″पूर्व / ३४.२१४९° उत्तर ७५.५००८° पूर्व / 34.2149; 75.5008निर्देशाङ्क: ३४°१२′५४″उत्तर ७५°३०′०३″पूर्व / ३४.२१४९° उत्तर ७५.५००८° पूर्व / 34.2149; 75.5008
नाम
वास्तविक नाम: अमरनाथ गुफा मन्दिर
अवस्थिति
देश: भारत
स्थान: पहलगाम, अनन्तनाग
उचाई: ३,८८८ मी (१२,७५६ फिट)
कला र संस्कृति
मुख्य देवता: शिव
ऐतिहासिक पृष्ठभुमि
निर्माणकर्ता: प्राकृतिक रूपले उत्पन्न
वेबसाइट: shriamarnathjishrine.com

अमरनाथ हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थलको रूपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर सहरको उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा अवस्थित छ । यस गुफाको लम्बाइ (भित्र देखि गहिराइ) १९ मिटर र चौडाइ १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ ।[१] अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यसै स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए ।[२]

यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो । प्राकृतिक हिउँबाट निर्मित हुने कारणले यसलाई स्वयम्भु हिमानी शिवलिङ्ग पनि भन्ने गरिन्छ । आषाढ शुक्ल पूर्णिमाबाट शुरू भएर जनैपूर्णिमासम्म पुरै साउन महिनाभर पवित्र हिमलिंग दर्शनको लागि यहाँ लाखौं श्रद्धालु आउने गर्दछन् । [३] यस पवित्र गुफाको परिधि लगभग १५० फिट छ र यस गुफामा माथिबाट हिउँको पानीको स-सानो थोपा कुनै-कुनै स्थानमा झर्ने गर्दछ । यसै गुफामा एउटा यस्तो स्थान पनि छ, जहाँ हिउँको पानी झर्दा झर्दै त्यहाँ लगभग दश फिटको अग्लो शिवलिङ्ग बन्दछ । चन्द्रमाको आकार घटबढ अनुसार यस शिवलिङ्गको आकार पनि घट्ने-बढ्ने हुन्छ । श्रावण पूर्णिमामा यहाँ यो पवित्र शिवलिङ्ग आफ्नो पूर्ण आकारमा हुन्छ र औंसीसम्म यो छोटो हुँदै जान्छ । आश्चर्यको कुरा के छ भने यो शिवलिङ्ग ठोस हिउँबाट बनेको हुन्छ, जबकि गुफामा सामान्यत: काँचो हिउँ हुन्छ जुन हातमा राख्ने बितिकै हराउँछ । मूल अमरनाथ शिवलिङ्गदेखि केही फिटको दुरीमा गणेश, भैरवपार्वतीको यस्तै बेग्ला बेग्लै हिमखण्डहरू छन् ।

जनविश्वास

अमरनाथ गुफामा हिउँबाट निर्मित प्राकृतिक शिवलिङ्ग
अमरनाथ गुफामा हिउँबाट निर्मित प्राकृतिक शिवलिङ्ग

यहाँको जनआस्था अनुसार यसै गुफामा माता पार्वतीलाई भगवान शिवले अमरकथा सुनाएका थिए जसलाई सुनेर सद्योजात शुक-शिशु शुकदेव ऋषिको रूपमा अमर भएका थिए । गुफामा आज पनि परेवाको एक जोडी देखिन्छ भन्ने गरिन्छ जसलाई श्रद्धालुहररू अमर पक्षी भन्ने गर्दछन् । ती परेवाहरू पनि अमरकथा सुनेर अमर भएको विश्वास गरिन्छ । त्यहाँ यस्तो मान्यता छ कि जुन श्रद्धालुलाई ती परेवाको दर्शन हुन्छ, तीनलाई शिव पार्वतीले आफ्नो प्रत्यक्ष दर्शनबाट गौरवान्वित गरेर त्यस प्राणीलाई मुक्ति प्रदान गर्छन् । यो पनि विश्वास रहँदै आएको छ कि भगवान शिवले आफ्नो जीवनसाथी पार्वतीलाई यस गुफामा एउटा यस्तो कथा सुनाएका थिए, जसमा अमरनाथको यात्रा र त्यसको मार्गमा आउने विभिन्न तिर्थस्थलको बारेमा जानकारी रहेको थियो । यो कथा कालान्तरमा अमरकथाको नामले विख्यात भएको थियो ।

केही विद्वानहरूको मत छ कि भगवान शंकर जब पार्वतीलाई अमर कथा सुनाउन गइरहेका थिए, त्यस समय उनले स-साना अनन्त नागहरूलाई अनन्तनाग भन्ने स्थानमा छोडे, निधारको चन्दनलाई चन्दनवाडीमा राखे, तथा घाँटीमा रहेको शेषनागलाई शेषनाग नामक स्थानमा राखेका थिए । यी सबै स्थलहरू आज पनि अमरनाथ यात्राको क्रममा भेटिन्छन् । अमरनाथ गुफालाई सबैभन्दा पहिले सोह्रौं शताब्दीको पूर्वार्धमा एउटा मुसलमान समूहले खोजेका थिए । [४] अमरावती नदीको बाटोमा अगाडि जाँदा समय समय अरू पनि साना-ठूला धेरै गुफाहरू देखिन्छन् । ती सबै हिउँले ढाकिएका हुन्छन् ।

अमरनाथ यात्रा

अमरनाथ यात्रामा जाने मुख्य दुई वटा मार्गहरू छन् । एउटा पहलगाम हुँदै र अर्को सोनमार्ग बलटाल हुँदै जान सकिन्छ । तसर्थ पहलगाम र बलटालसम्म कुनै पनि साधन प्रयोग गरेर पुग्न सकिन्छ, त्यहाँबाट अगाडि जानका लागि आफ्नो खुट्टाको प्रयोग गर्नुपर्दछ । अशक्त वा बृद्धहरूका लागि सवारीको प्रबन्ध गर्न सकिन्छ । पहलगामदेखि जाने बाटोलाई सरल तथा सुविधाजनक मानिन्छ ।

बलटालदेखि अमरनाथ गुफाको दुरी १४ किलोमिटर मात्रै छ तर यो एकदमै कठिन बाटो रहेको छ र सुरक्षाको दृष्टिले पनि संदिग्ध छ । त्यसकारण भारत सरकारले पनि यस मार्गलाई सुरक्षित मान्दैन र बढीभन्दा बढी यात्रीहरूलाई पहलगामको बाटो अमरनाथ जान प्रेरित गर्दछ । तर रोमान्च तथा जोखिम लिने खालका शौखिन यात्रीहरू यस मार्गबाट यात्रा गर्न बढी रुचाउँछन । यो मार्ग प्रयोग गरेर जाने यात्रीहरू आफ्नो ज्यान जोखिममा राखेर यात्रा गर्छन् । बाटोमा हुने कुनै प्रकारको क्षतिको जिम्मेवारी भारत सरकारले लिंदैन ।

पहलगामदेखि अमरनाथ

अमरनाथ यात्रा शिविर

पहलगाम जम्मुदेखि ३१५ किलोमिटरको दूरीमा रहेको छ । यो एक प्रख्यात पर्यटनस्थल हो । यहाँको प्राकृतिक सौन्दर्य अत्यन्तै मनमोहक छ । पहलगामसम्म जानको लागि जम्मू-कश्मीर पर्यटन केन्द्रद्वारा संचालित सरकारी बस उपलब्ध रहेको छ । पहलगाममा गैरसरकारी संस्थाहरूको तर्फबाट लंगरको व्यवस्था गरिएको छ । तीर्थयात्रीहरूको हिडाई यहीँदेखि प्रारम्भ हुन्छ ।

पहलगामपछि पहिलो आउने चोक चन्दनवाडी हो, जुन पहलगामदेखि आठ किलोमिटरको दूरीमा रहेको छ । पहिलो रात तीर्थयात्रीहरू यहीं बस्छन् । यहाँ रात्रि निवासको लागि तम्बु लगाउने गरिन्छ । त्यहाँबाट अर्को दिन पिस्सु उपत्यकाको यात्रा सुरु गरिन्छ । भनिन्छ पिस्सु उपत्यकामा देवताहरूराक्षसहरूका बीचमा घमासान युद्ध भएको थियो जसमा राक्षसहरूको पराजय भएको थियो । लिद्दर नदीको छेउ-छेउ यो पहिलो चरणको यात्रा गर्ने गरिन्छ । यहाँसम्मको यात्रा त्यति कठिन छैन । चन्दनवाडीबाट १४ किलोमिटर टाढा शेषनाग अर्को रोकिने मार्ग हो । यो मार्ग सिधै ९०° को चढाइमा रहेको छ त्यसैले यो ज्यादै खतरनाक छ । यहाँबाट पिस्सू उपत्यकाको दर्शन हुन्छ । अमरनाथ यात्रामा पिस्सू उपत्यका ज्यादै जोखिम भएको स्थल हो । पिस्सू उपत्यका समुन्द्र सतहदेखि ११,१२० फिटको उचाइमा अवस्थित छ । यात्रीहरू शेषनाग पुगेर यात्राको थकान मेटाउँछन् । यहाँ पर्वत तथा हिमश्रृङ्खलाको बीचमा नीलो पानीको एउटा सुन्दर ताल रहेको छ । यो ताल करीब १.५ किलोमिटर लम्बाइमा फैलिएको छ ।

किम्बदन्ती अनुसार शेषनाग ताल मा शेषनागको वास छ र चौबीस घन्टामा एकपटक शेषनागले तालबाट बाहिर निस्केर दर्शन दिन्छन्, तर केही तीर्थालुहरूलाई मात्र शेषनागको दर्शन प्राप्त हुन्छ भन्ने भनाई रहेको छ । तीर्थयात्रीहरू यहाँ रात्रि विश्राम गर्छन् र यहींबाट तेश्रो दिनको लागि यात्रा सुरू गर्छन् ।

शेषनागबाट पन्चतरणी आठ माइलको दूरीमा रहेको छ । मार्गमा बैववैल टाकुरा र महागुणास फाँटलाई पार गर्नुपर्छ, जसको उचाइ समुद्र सतहदेखि क्रमश: १३,५०० फिट र १४,५०० फिट छ । महागुणासदेखि पन्चतरणीसम्म बाटो ओरालो रहेको छ । यहाँ पाँच स-साना नदीहरू भएको कारणले गर्दा नै यस स्थानको नाम पन्चतरणी राखिएको हो । यो स्थान चारैतिरबाट अग्ला-अग्ला टाकुराले घेरिएको छ । उचाइ बढी भएको हुनाले यहाँ अत्यन्तै चिसो हुन्छ । अक्सिजनको कमी हुने भएकोले तीर्थयात्रीहरूको लागि यहाँ सुरक्षाको राम्रो बन्दोबस्त गरिएको छ ।

अमरनाथको गुफा यहाँदेखि मात्र आठ किलोमिटर टाढा छ र बाटोमा हिउँ नै हिउँ जमेको हुन्छ । यस दिन गुफाको नजिक पुगेर राति बस्ने बन्दोबस्त गर्न सकिन्छ जसले अर्को दिन बिहानै पूजा अर्चना गरेर पन्चतरणी फिर्ता आउन सकिन्छ । केही यात्री बेलुकासम्म शेषनाग पनि फर्किन्छन् । यो बाटो ज्यादै कठिन रहेको छ, तर अमरनाथको पवित्र गुफामा पुग्नासाथ बाटोको थकान अभुतपुर्व तरिकाले सौम्य हुँदै जान्छ र अद्भुत आत्मिक आनन्दको अनुभूति हुन्छ ।

बलटालदेखि अमरनाथ

बलटाल जम्मूदेखि ४०० किलोमिटरको दूरीमा रहेको छ । जम्मूदेखि उधमपुरसम्म रेल, बस आदी सवारी साधनहरू सुविधा रहेको छ। उधमपुरबाट बलटालको लागि जम्मू कश्मीर पर्यटक स्वागत केन्द्रको बस भेटिन्छ । बलटाल शिविरदेखि तीर्थयात्री एक दिनमा अमरनाथ गुफाको यात्रा गरेर फर्किन सक्छन् । तर यो मार्ग ज्यादै कठिन भएको हुनाले कोहि कोही तीर्थालु मात्र यस मार्गबाट जान्छन् ।

चित्रहरू

सन्दर्भ सामग्री

  1. "अमरनाथ यात्रा : प्रकृति दर्शन र अध्यात्मको योग", अभिगमन मिति ४ मार्च,२००९ 
  2. "अमरत्वको बाटो देखाउँदै अमरनाथ धाम", अभिगमन मिति ३ अगस्त,२००७ 
  3. "भगवान शिवको तीर्थस्थल", अभिगमन मिति ३ अगस्त,२००७ 
  4. "सुफिवाद र काश्मिर", अभिगमन मिति ३ अगस्त२००७ 


बाह्य लिंकहरू

  1. श्रद्धा तथा रोमान्चले भरिएको अमरनाथ यात्रा, दैनिक जागरण (जून २७, २००६) \
  2. अमरनाथ यात्राको आधिकारिक वेबसाइट
  3. यात्रा २००९ को विषयमा जानकारी
  4. यात्राको विषयमा विस्तृत जानकारी
  5. हिन्दू समाजको आस्था र एकताको प्रतीक - अमरनाथ यात्रा (पाञ्चजन्य)
  6. पापमोचक रोमान्चक अमरनाथ यात्रा