अर्थशास्त्रीय दर्शन
सुखवादी दर्शन र अर्थशास्त्र
[सम्पादन गर्नुहोस्]ग्रीक शब्द हेडोन Hedone को अर्थ हुन्छ, सुख, प्रसन्नता वा मीठो । यसबाट हेडोनिज्म बनेको हो । हेडोनिज्मको समानार्थक नेपाली शब्द हुन्छ– सुखवाद । जुन सिद्धान्तले मानवीय आनन्द र प्रसन्नतालाई सर्वाधिक महत्त्व दिन्छ त्यो नै सुखवाद हो । आधुनिक अर्थशास्त्रको विकास सुखवादबाट भएको मानिन्छ ।
चार्वाक दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । यसका प्रचारक चार्वाक हुन् । चार्वाकको अर्थ हुन्छ मिठो बोली– चारु (सुन्दर) र वाक् (बोली) यी दुइ शब्द मिलेर चार्वाक बनेको छ । चार्वाक मतका लागि बृहस्पति अर्थसूत्र, कौटिलीय अर्थशास्त्र र बौद्ध पिटकहरुमा लोकायत शब्दको प्रयोग भएको छ । यसको अर्थ हुन्छ, यस लोकको सुन्दरतामा विश्वास गर्ने दर्शन ।
हेडोनिज्मको एक प्रमुख दर्शन हो चार्वाक दर्शन । यस दर्शनले जुनसुकै उपायले पनि सुख प्राप्त गर्नु पर्दछ भन्ने कुराम जोड दिएको छ ।
अर्थशास्त्रको अध्ययनको विषय के हो ʔ
[सम्पादन गर्नुहोस्]
अर्थशास्त्रको उत्पत्ति मानवीय आवश्यकता र त्यसलाई सन्तुष्ट गर्ने प्रयासबाट सुरु हुन्छ । त्यसैले अर्थशास्त्र विषयको जन्म अठारौँ शताब्दी भए पनि अर्थशास्त्रको समस्या मानवीय सभ्यताका साथ भएको हो भन्न सकिन्छ ।
अर्थशास्त्रको अध्ययन निम्न तीन प्रश्नहरूको सेरोफेरोमा घुम्दछ,
१.के–कति उत्पादन गर्ने ?
२.कसरी उत्पादन गर्ने ?
३.किन उत्पादन गर्ने ?
यसलाई अर्थशास्त्रको केन्द्रीय समस्या भन्न सकिन्छ ।
अर्थशास्त्रको अध्ययन विषयलाई मोटामोटी तीन भागमा वर्गीकरण गरिन्छ -
१. धनको अध्ययन
२. भौतिक कल्याणको अध्ययन
३. छनौटको विज्ञानएउटा अर्थशास्त्रीको दृष्टिमा धन के हो ?
धनको उपयोग
[सम्पादन गर्नुहोस्]अर्थशास्त्रीहरूले धनलाई विभिन्न दृष्टिकोणले परिभाषित गरेका छन् । विभिन्न अर्थशास्त्रीहरुका परिभाषाहरुका आधारमा धन त्यो हो जसले निम्नलिखित काम गर्छ–
1. जीवनका अनिवार्य आवश्यकता (बेसिक नीड्स) पूरा गर्ने साधन
2. मनोरञ्जनको साधन
3. आरामदायक वस्तुको साधन
4. जीवनको सुरक्षा गर्ने साधन
5. शिक्षा प्राप्तिको साधन
6. स्वास्थ्यका लागि औषधि प्राप्तिको आधार
7. यातायातको साधन
8. जीविकोपार्जनको साधन
9. व्यापार उद्योग सञ्चालनको आधार
10. जीवनोपयोगी उपकरण र मेशीन निर्माण गर्ने वा प्राप्त गर्ने साधन
11. भावी आवश्यकता पूरा गर्ने साधन जस्तै उच्च शिक्षा प्राप्त गर्ने, वृद्धावस्था बीमा आदि
12. भूकम्प महामारी आदि आकस्मिक आवश्यकता पूरा गर्ने साधन
13. सामाजिक परिचयको आधार
14. सामाजिक प्रतिष्ठाको आधार
15. व्यक्ति र समुदायसंगको व्यवहारको आधार
16. वातावरण संरक्षण गर्ने साधन
17. अरुको सहायता र सेवा गर्ने साधन
18. धार्मिक व्यवहारको साधन
19. सुख शान्ति र सन्तुष्टिको साधन
20. समस्त लौकिक साधन र प्राप्तिको साधन
21. समस्त पारलौकिक कुरा प्राप्तिको साधन (धर्मशास्त्र)
धर्मशास्त्रले समेत के मान्दछ भने पारलौकिक प्राप्तिमा धन सहायक छ । धर्मशास्त्रले पनि धनलाई अनावश्यक ठान्दैन । तर यसले धर्मपूर्वक आर्जन गरिएको अर्थलाई मात्र जीवनका लागि उपयोगी भनी स्वीकार गर्दछ । त्यसैले अर्थ मानवीय जीवनमा महत्त्वपूर्ण छ ।
अर्थ, काम र धर्म मध्ये काम मानवीय मनोविज्ञान हो । किनभने यो प्राकृतिक विशेषता हो । तर अर्थको सिर्जना मानिसले आफ्नो कामना पूर्तिमा सुविधाका लागि गरेको हो । त्यसैले यो मानवकृत हो । धर्मलाई नानाथरी तरिकाले व्याख्या गरिन्छ संक्षेपमा धर्मले मानिसको विचारलाई सन्तुलित बनाई उचित बाटो देखाउँछ । यसले मानवकृतलाई प्रकृतिसंग समन्वय गराउने आधार प्रदान गर्छ । यसले अर्थ र कामलाई सन्तुलित बनाउने दृष्टिकोण बनाउन सघाउँछ । यसले व्यक्तिको दृष्टिकोण समाजसंग र व्यष्टिको दृष्टिकोणलाई विराट्संग समन्वय गराउने विचार प्रदान गर्छ ।
कौटिल्यको आर्थिक दर्शन
[सम्पादन गर्नुहोस्]अर्थशास्त्रका जन्मदाता एडम स्मिथले अर्थको कारण र प्रकृतिको खोजी गर्ने विद्या नै अर्थशास्त्र हो भनेका थिए । आजभन्दा लगभग २५०० वर्ष अघि कौटिल्यले पनि अर्थको बारेमा गम्भीर रूपले विचार गरेका थिए । उनले भनेका छन्–
- सुखस्य मूलं धर्मः ।
- धर्मस्य मूलं अर्थः ।
- अर्थस्य मूलं राज्यम् ।
- राज्यस्य मूलं इन्द्रियजयः ।
- इन्द्रियजयस्य मूलं विनयः ।
- विनयस्य मूलं वृद्धोपसेवा ।
यी छ वटा सूत्रमा कौटिल्यको आर्थिक दर्शन अभिव्यक्त भएको छ । उनले वर्तमान मानव जीवनलाई दुखी बनाएर स्वर्गको संसारमा घुम्न प्रेरित गरेका छैनन् । मानव जीवन सुखपूर्ण हुनु पर्छ भन्नेमा उनी स्पष्ट मात्र छैनन्, सुखलाई अर्थशास्त्रको उद्देश्य मानेका छन् । व्यक्तिका प्रयास सुखका आकांक्षातर्फ उन्मुख हुन्छन् । यो मानवीय मनोविज्ञान हो । तर यसको मूल कौटिल्यले अर्थमा होइन धर्ममा पहिल्याएका छन् । त्यसैले उनले भनेका छन् सुखस्य मूलं धर्म अर्थात् सुखको मूल धर्म हो । तर उनी धर्मशास्त्री होइनन् । अर्थशास्त्री हुन् । त्यसैले धर्मको मूलमा उनले अर्थ छ भन्ने कुरा स्पष्ट गरेका छन् ।
धर्मस्य मूलं अर्थः अर्थात् धर्मको मूल अर्थ हो । अर्थको मूल राज्य हो । उचित राज्य व्यवस्थाको आधार शासक (राजा) को इन्द्रिय संयम हो । इन्द्रिय संयमको मूल विनम्रता हो । विनम्रताको मूल वृद्धको सम्मान हो । सुखको आधार धर्मलाई बताइएको छ ।
धर्मका विविध अर्थ हुन्छन् । तर मुख्य अर्थ कर्तव्यपरायणता, नैतिकता र शास्त्र अनुकूलता हो । तर धर्मको आधार सम्पन्नता हो । भोको मानिसले धर्म उपदेश सुन्दैन । बुद्धका जीवनको घटनालाई पुस्तकहरूमा बारम्बार उल्लेख गरिन्छ– शिष्यहरूले एक जना भोको मानिसलाई लिएर उसका लागि उचित धर्मदेशना गर्न अनुरोध गरे । बुद्धले शिष्यहरूलाई भने जाउ भोजन लिएर आउ । उनीहरूले खानेकुरा लिएर आए । त्यस पछि बुद्धले त्यस भोकोलाई पेट भरि खाना खान अनुरोध गरे । जब उ अघायो अनि उसलाई धर्म देशना गरे । शिष्यहरूलाई भने भोकोलाई धर्म देशना निरर्थक हुन्छ । धर्मको मूल अर्थ हुने कारण यही नै हो । तर मानवकृत हो त्यसैले सुव्यवस्थित मानव समाजले जति सजिलोसंग अर्थ आर्जन गर्न सक्छ अव्यवस्थित र अराजक राज्यमा सर्वसाधारणले त्यो सुविधा प्राप्त गर्न सक्दैन ।
कौटिल्यले भनेको अर्थस्य मूलं राज्यम् अर्थात् राज्य नै अर्थको आधार हुन्छ भन्ने कुरालाई एउटा उदाहरणद्वारा स्पष्ट गर्न सकिन्छ । मानिसहरूले परिश्रम गर्दा सबै ठाउँमा एक समान सम्पत्ति आर्जन गर्न सक्दैनन् । त्यही काम गर्दा कुनै ठाउँमा उनीहरूले बढी सम्पत्ति आर्जन गर्छन् र कुनैमा कम । यो नियम देशको सन्दर्भमा पनि लागू हुन्छ, उत्ति काम गर्दा कुनै राज्यमा धेरै धन आर्जन हुन्छ जबकि अर्को देशमा त्यही परिश्रमले कम अर्थार्जन हुन्छ । किन ? यसको कारण कौटिल्यको यही सूत्र हो– अर्थस्य मूलं राज्यम् ।
राज्य अर्थात् स्थिर राज्यव्यवस्था । न्यायपूर्ण दण्ड व्यवस्था । त्यो राज्य व्यवस्था जहां कमजोर सुरक्षित हुन्छ । राम्रो गर्ने पुरस्कृत हुन्छन् र राज्यलाई खराब गर्ने दण्डित हुन्छन् । यसलाई महाभारतमा राजधर्मानुशासन भनिएको छ । कौटिलीय समयमा राज्य र राजालाई पर्यायवाची मानिन्थ्यो । त्यसैले कल्याणकारी राज्यव्यवस्थाको सञ्चालक राजाको विशेषता बताइएको छ । यस अनुसार यस्तो कल्याणकारी राज्य त्यस अवस्थामा हुन्छ जब त्यहांको शासक इन्द्रिय संयमी हुन्छ ।
इन्द्रिय संयमको आधार विनयशीलतालाई मानिएको छ । आफूभित्र विनय गुण विकास गर्न वृद्धहरूको सम्मान गर्नु पर्छ भनिएको छ । संस्कृत साहित्यमा वृद्धको दुई अर्थ हुन्छ, वयोवृद्ध र ज्ञानवृद्ध । वयोवृद्धबाट अनुभव प्राप्त हुन्छ भने ज्ञानवृद्धबाट शास्त्र ज्ञान । त्यसैले शासकलाई शास्त्र ज्ञान पनि आवश्यक छ ।
आचार्य चाणक्यको मान्यता के छ भने प्रत्येक सभाको शोभा वृद्ध र अनुभवी व्यक्ति हो । जुन सभामा वृद्ध व्यक्तिको अभाव हुन्छ, त्यो सभा जस्तो हुंदैन । कुनै गम्भीर कुरा निर्णय गर्नु परे वा कुनै समस्याको विगतमा कसरी समाधान गरिएको रहेछ भन्ने कुरा जान्नु परे अनुभवी व्यक्तिको आवशयकता पर्छ, त्यो वृद्ध व्यक्ति हुन्छ । त्यसैले आयुमा आफूभन्दा वरिष्ठलाई सम्मान गर्नु पर्छ । साथै ज्ञानमा विशिष्टता प्राप्त आचार्य, गुरु र पुरोहितलाई पनि सम्मान गर्नु पर्छ भनिएको छ । ज्ञानमा वृद्ध व्यक्तिसंग शास्त्रीय समाधान हुन्छन् । कुनै समस्याको समाधानका लागि शास्त्रमा के उल्लेख गरिएको छ र त्यसको व्यावहारिक महत्त्व के छ त्यो जान्न ज्ञानवृद्ध मानिसको आवश्यकता पर्छ ।
यी सबै कुराले अर्थशास्त्रको कौटिलीय दर्शनलाई व्यक्त गर्छ । यसका पनि तीनवटा सूत्र प्रमुख छन् ।
- सुखस्य मूलं धर्मः ।
- धर्मस्य मूलं अर्थः ।
- अर्थस्य मूलं राज्यम् ।
सुखको आधार धर्म अर्थात् कर्तव्य परायणता हो । धर्मको आधार आर्थिक सम्पन्नता हो । बिना आर्थिक समृद्धि कर्तव्य परायणता, परोपकार जस्ता उदात्त भावनाहरु विकास हुनसक्दैनन् । र यी दुवैको आधार राज्य हो । जुन राज्यमा सज्जनको रक्षा र दुर्जनलाई दण्ड दिइन्छ, त्यहां यी दुवै कुरा सजिलो गरी उपलब्ध हुन्छन् ।
यी तीन सूत्र कौटिलीय अर्थशास्त्रको सार हुन् भन्न सकिन्छ ।
व्यक्तिगत स्वार्थ
[सम्पादन गर्नुहोस्]अर्थशास्त्रका जन्मदाता एडम स्मिथले अर्थको मूल व्यक्तिगत स्वार्थ हो भनेका छन् । उनले भनेका छन्– हुनत, बेकरीवालाले ग्राहकको सेवा गरेको छु भन्छ तर उसले तपाईँको सेवाका लागि उत्पादन गर्दैन । उसले बिक्री गर्ने पाउरोटी उसको स्वार्थलाई प्रेरित गरेर प्राप्त हुन्छ । यसै स्वार्थले व्यापार सञ्चालित छ । यो स्वार्थ हो धन आर्जन । एडम स्मिथको वेल्थ अफ् नेशन्स नपढीकन पनि कवि शिरोमणि लेखनाथ पौड्यालले धनको महत्त्व यसरी व्यक्त गरेका छन्–
लिएर शास्त्रीय ठूला किताप
बढाउने हो किन व्यर्थ ताप,
त वर्गका अन्तिम वर्ण खाली
पढी दुईटा बन भाग्यशाली ।
एडम स्मिथको कुरामा सत्यता छ तर यो कति बढी कटु भयो भने नैतिकतावादीहरूले चारैतिरबाट धनको यस दर्शनलाई निर्मम प्रहार गर्न थाले । त्यसैले मार्शलले यसलाई थोरै सुधार गरे । मार्शलले समाजमा धनको आर्जन र धनको उपयोग भौतिक कल्याणको प्राप्तिका लागि गरिन्छ भनी तर्क गरे । तर मानिसले अनेक खर्च यस्ता पनि गर्छन् जसले कल्याण प्रदान गर्दैन । मानिसले चुरोट र फलफूल दुवैमा खर्च गरिरहेका छन् । फलफूलमा गर्ने खर्च कल्याणदायक छ । तर चुरोटमा खर्च गर्नेले पनि केही न पाइकन त्यसमा खर्च त गर्दैन । त्यो कुरा कल्याणदायक न भएपनि आनन्ददायक अवश्य हुन्छ ।
त्यसैले रबिन्सले अर्थ (साधन) र अर्थको आवश्यकता सन्तुष्टिमा उपयोग (साध्य) दुई कुराको सम्बन्धको रूपमा अर्थशास्त्रको व्याख्या गरे । उनको विचारमा, दुर्लभ साधन र अनन्त आवश्यकताको उचित समन्वय, छनौट, र उपयोगद्वारा लक्ष्य प्राप्त गर्नु अर्थशास्त्रको दर्शन । यसबाट प्राप्त हुने सन्तुष्टि अधिकतमीकरणको व्याख्या गर्ने शास्त्रलाई अर्थशास्त्र भनिन्छ ।
यसले एक नयाँ दृष्टिकोण अर्थशास्त्रीहरूलाई प्राप्त भयो । तर यसमा पनि केही कमजारी रहे । यदि असीमित आवश्यकता र दुर्लभ साधनको तर्कलाई विषय वस्तुको आधार मान्ने हो भने अर्थशास्त्र सधैं असन्तुष्टिको शास्त्र हुन जान्छ । अभाव र गरीबीको वर्णन । सधैं नपुग्ने कुराको व्याख्या । सन्तोष पाउने थोरै तर असन्तोष असीमित । किनभने मानिसका आवश्यकताहरु अनन्त हुन्छन् र साधन सीमित हुन्छन् । अब अनन्त आवश्यकता (अर्थात् कहिल्यै पूरा नहुने) लाई अत्यल्प साधनसंग तुलना गर्नु पर्छ । किनभने हाम्रा आवश्यकता सन्तुष्ट गर्ने शक्ति साधनमा निहित छ ।
अब रबिन्सको अर्थशास्त्रको यस दर्शनलाई लिउं । अनन्त आवश्यकताको अर्थ हो यदि त्यसबाट केही आवश्यकता पूरा हुन्छन् भने पनि बांकी अनन्त नै रहन जान्छन् । गणितमा अनन्त एक यस्तो एकाई हो जसमा जति धेरै घटाए पनि अनन्त बा“की रहन्छ । यसको अर्थ हो मानिसले सबै आवश्यकता कहिल्यै पूरा गर्न सक्दैन । केही आवश्यकता भने पूरा गर्न सक्छ । अर्थात् नगण्य सन्तुष्टि प्रँप्त हुन्छ तर अनन्त असन्तुष्टि रहनजान्छ ।
गणितको थोरै ज्ञान हुने प्रत्येकलाई के थाहा छ भने असीमितबाट थोरै घटाउंदा सधैं असीमित बांकी रहन्छ । समुद्रबाट एक बाल्टिन् पानी घटाउ“दा समुद्रमा असीमित पानी रहन्छ । अर्थात् सीमित साधनको प्रयोग पछि असीमित आवश्यकता असन्तुष्ट नै रहन जान्छन् । अर्का शब्दमा प्राप्त भएको सन्तुष्टि नगण्य हुनेछ र प्राप्त हुन बा“की असन्तुष्टि असीमित हुने छ । त्यसो भए अर्थशास्त्रीय दर्शनका आधारमा मानिसले आफ्नो जीवनमा कति सन्तुष्टि प्राप्त गर्छ ? नगण्य ।
यस प्रकार अर्थशास्त्र एक यस्तो विषय हुन जान्छ जसले थोरै सन्तुष्टिको अध्ययन गर्छ । त्यो भन्दा धेरै असन्तुष्टिलाई बेवास्ता गर्छ । त्यसैले अर्थशास्त्र एक डिसमेल साइन्स (दुखदायी विज्ञान) हुनजान्छ ।
त्यसो भए यसलाई सन्तुष्टिशास्त्र कसरी बनाउन सकिन्छ ? सन्तुष्टि प्राप्त गर्नु छ भने आवश्यकताहरु कम गर्दै आवश्यकताविहीनतामा पुग्नै पर्छ । त्यसो भए मात्र यो सन्तुष्टिको शास्त्र हुनसक्छ । त्यसैले इलाहाबाद विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर मेहताले अर्थशास्त्रलाई आवश्यकताविहीनतामा पुग्न सिकाउने शास्त्र बनाउने प्रयास गरेका थिए । निश्चित रूपमा उनको यो दर्शन अर्थशास्त्र पनि हो र अध्यात्मशास्त्र पनि ।
आवश्यकताहरु असीमित हुन्छन् र सबै आवश्यकता कहिल्यै पूरा हुन सक्दैन भन्ने कुरा अर्थशास्त्रको आधार हो । धर्मशास्त्रहरूको अध्ययन गर्ने सबैलाई के थाहा छ भने आध्यात्मिक शास्त्रले यस कुरालाई बारम्बार उल्लेख गरेको छ । आवश्यकताका पछाडि दगुरेर शान्ति प्राप्त गर्न सकिंदैन भनेको छ । अर्थशास्त्र र धर्मशास्त्रको बाटो एउटै छैन । फरक के मा छ भने अर्थशास्त्रले आविष्कारको आधार आवश्यकतालाई मान्दछ र आवश्यकताको सन्तुष्टिलाई शान्तिको आधार मान्छ तर अध्यात्मले शान्तिको आधार आवश्यकता विहीनतालाई मान्दछ ।
उपयोगिताको अवधारणा अर्थशास्त्रको आधारभूत अवधारणा हो । मागका सिद्धान्तको आधार र उपभोक्ता व्यवहारको व्याख्याका लागि प्रमुख उपकरण । उपयोगिता, कल्याण र मानवीय सन्तुष्टिको अवधारणा अर्थशास्त्रको विषय वस्तु भए तापनि यी सबै धर्मशास्त्रबाट नै अर्थशास्त्रमा लिइएको हो । आर्थिक क्रियाकलापको अन्तिम लक्ष्य सुख प्राप्त गर्नु हो । अध्यात्मको व्याख्या पनि त्यही हो । मानव जीवनको उद्देश्य सुख प्राप्त गर्नु हो । यसलाई हेडोनिज्म भनिन्छ ।
उपसंहार
[सम्पादन गर्नुहोस्]अर्थशास्त्रको दर्शनलाई यस प्रकार व्यक्त गर्न सकिन्छ–
अर्थशास्त्रं भवेद् गौरं सारिकावदनं शुभम् ।
अक्षसूत्रं फलं बिभ्रदन्नाहारं कमण्डलुम् ।।
अर्थशास्त्रको (स्वरूप कस्तो छ भने, यसको) एक हातमा पुरुषार्थको फल, अर्को हातमा रुद्राक्ष्ँ माला, तेस्रो हातमा भोज्य सामग्री र चौथो हातमा कमण्डलु धारण गरेको छ । यसको अनुहार उज्यालो छ तथा यसले मैना जस्तो शुभ वचन बोल्ने गर्छ ।
पुरुषार्थको फलको प्रतीकात्मक अर्थ हो– परिश्रमपूर्वक काम गरेर प्रतिफल प्राप्त गर्नु । परिश्रम र सो अनुरुप नै उपलब्धि हु“दा त्यसले वास्तवमा सन्तोष दिन्छ । अर्थशास्त्रको यो महत्त्वपूर्ण दर्शन हो । यसले कमाइलाई होइन इमानदार कमाइलाई महत्त्व दिन्छ । कमण्डलु स्वच्छ जलको पात्र हो । जल पात्र पूर्णता र ज्ञानको प्रतीक पनि मानिन्छ । रुद्राक्ष माला पनि ज्ञानको निरन्तरताको प्रतीक हो । माला जप्नु भनेको ज्ञानार्जनमा निरन्तर लागिरहनु । यसमा दुई कुरा अरु थप गरिएका छन्– प्रसन्नचित्त अनुहार तथा शुभ वचन ।
सन्दर्भ ग्रन्थ सूची
[सम्पादन गर्नुहोस्]Amarkosh. (?), Illustrator Kulchandra Gautam, Balkrishnacharya, Benaras:Yasoda Pustakalaya.
Clark, B.(1998). Political Economy- a comparative approach, : CT Pregaer.
Dasgupta, AK.(1993).A History of Indian Economic Thought, London: England, Routeldge.
Friedman, David D.(2002).The encyclopedia of economics, accessed, October 21, 2007.
Gewali, B R (2003), Orienatl Economics Revisited, Rupandehi : Gyanjyoti Prakshan.
Lancone, Laurance R.(1998).Introduction to the economics of religion, Journal of Economics Literature, 36 (3, pp.1465-1495)
Kautilya's Arthashastra.(1967). R Shamashastry, : Printing and Publishing House. (www.sdstate.edu>projectsouthasia)
Kautiliya Arthashastra I-III.(2003). : Motilal Banarasi Das.
Robbins, L.(1935).An essay on the nature and significance of economic science, Second edition, London: Macmillan.
Samuelson PA, and Nordhaus WD.(2002).Economics, Washington : McGraw Hill.
Smith Adam.(1776). An inquiry into the nature and causes of the wealth of nations. (en.wikipedia.org/wiki/The_Wealth_of_Nations)
Srivastava, SK.(1981).History of economic thought, Delhi: S Chand and Company.
Vaishya, MC.(1972).Arthik vicharo ka itihasa (History of Economic Ideas), agra :Ratan Prakashan Mandir.