नामाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नामाडी
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लारामेछाप
जनसङ्ख्या
 (1991)
 • जम्मा३७४६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नामाडी रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविस विघटन गरिएको थियो।

नामाडीको सामान्य परिचय

भौगोलिक अवस्थित र नामकरणः

नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने जनकपुर अञ्चल अन्तरगत रामेछाप जिल्लाको ५५ गा. वि. स. मध्ये निर्वाचन क्षेत्र नं. १, इलाका नं. ३ मा नामाडी गा. वि. स. पर्दछ । सदरमुकाम मन्थली (रामेछाप) वाट करिव ४० कि. मि. दुरीमा रहेको गा. वि. स., मन्थली (रामेछाप) वाट रामेछापको खिम्ती गा. वि. स. र दोलखा जिल्लाको जिरी गा. वि. स. वाट पैदल मार्ग हुँदै नामाडी गा. वि. स. पुग्न सकिन्छ र हाल राजधानी काठमाण्डौवाट अरनिको राजमार्ग खिम्ती सडक मार्ग हुँदै १८० कि. मि. र दोलखा जिल्लाको जिरी सडक मार्ग हुँदै २२० कि. मि. को दुरीमा यो गा. वि. स. पर्दछ । उत्तर पूर्वमा दुरागाउँ गा. वि. स., बेताली गा. वि. स., सैपु गा. वि. स., फर्पु गा. वि. स. लगाएत दोलखा जिल्लाको सहरे गा. वि. स. वडा नं. १ संगै जोडीएर रहेको गा. वि. स. हो नामाडी ।

पहिला नामाडी पञ्चायतका रुपमा रहेको यो गा. वि. स. वि. सं. २०३९ साल मा ४३ गा. वि. स. वाट ५५ गा. वि. स. निर्धारण हुँदा तत्कालीन बेताली गा. वि. स. अन्तर्गतको वोहोरी खोला वारीको केहि भाग समेटेर हालको नामाडी गा. वि. स. कायम भएको हो ।

नेपालको मध्यवर्ती पहाडी ईलाकामा पर्ने नामाडी गा. वि. स. विश्व मानचित्रमा २७ डिग्री ४ मिनेट ३० सेकेण्ड देखि २७ डिग्री ५० मिनेट ३ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री १० मिनेट १८ सेकेण्ड देखि ८६ डिग्री ० मिनेट ५० सेकेण्ड पूर्वी देशान्तरमा पर्दछ ।

यस गा. वि. स. वि.को सवैभन्दा होचो स्थान खिम्तीखोला फेदी समुन्द्री सतहवाट ८६८ मिटर र सवैभन्दा अग्लो स्थान नोर्पा डाँडा २६९४ मिटरमा पर्दछ । २३१० हेक्टर मा फैलिएको गा. वि. स. जसमा ७७३.३२ हेक्टर खेतीयोग्य जमिन, १२३.८९ हेक्टर सिंचित जमिन र ६०५.७५ हेक्टर जमिन सामुदायिक वनको रहेको छ ।

यस गा. वि. स. को मुख्य नामाडी भन्ने स्थान हालको वडा नं. ४ र ७ मा पर्दछ । जहाँ श्री कमला देवि उ. मा. वि. र नामाडी बजार रहेको छ । परापूर्व कालमा यो ठाउँ जंगल एरिया रहेको र विभिन्न प्रकारका जडिवुटीहरु पाइने, त्यसमा पनि नासको जडिवुटी वढि पाइने भएकाले अन्य गाउँ, टोलवाट नासको औषधि खोज्न धेरै मानिसहरु आउने गरेको हुँदा, ति मानिसहरुले त्यो औषधि उखेलेर माडमुड वनाएर लैजाने गरेको हुँदा, यसरी लैजादा त्यो औषधि मासिंदै जाने देखेर यस गाउँमा वसोवास गर्ने एक जना वृद्धाले औषधि खोज्न आउने मानिसहरुलाई यस्तो औषधि नउखेली नमारी हिफाजत गरेर लैजानु भनेको हुँदा, यस ठाउँवाट त्यस्तो औषधि लिएर जाने मानिसहरु सँग अरु मानिसहरुले यस्तो जडिवुटी कहाँ पाँईन्छ भनि सोधखोज गर्दा नमारीमा पाईन्छ भनि भनेको हुँदा, उक्त वृद्धाको नमारी भन्ने शव्दबाट पछि गएर नामाडी गाउँको रुपमा चिनिएको हो भन्ने भनाई रहेको छ । गाउँघरतीर प्रचलित कतिपय कथन अनुसार र अन्य ठाउँहरुको पनि नामाकरणका आधारमा भन्ने हो भने नामाडीलाई नमाडेको ठाउँ अथवा गाँडा, गोर्चा, ढिस्का, डाडा भएकाले नमाडिएको ठाउँ भन्दा भन्दै नमाडी हुदै नामाडी रहन गयो । अझै पनि धेरै जसोले नामाडीलाई नमाडी नै भनेर भन्ने गर्दछन् । नामाडीका भु-भागहरु यसरी नै कहि अग्लो कही होचो ढिस्का ढिस्का परेका छन । हुन त पहाडी गाउँहरुको बनोट नै यस्तै हुने गर्दछ तै पनि छिमेकी अन्य गाउँहरुको तुलनामा नामाडीमा अलि बढी हो की अथवा टाढाबाट त्यस्तो देखिएर अन्य गाउँका मानिसहरुले त्यसो भनेका हुन की । नामाडीमा रहेका केही ठाउँका नामाकरण पनि नामाडीको नामाकरण भए जसरी नै भएका छन् । जस्तो भित्तरी - भित्तो अथवा कुनामा भएको गाउँ भएकाले । भुल्भुले - भुलभुल गरेर पानी उम्रने ठाउँ भएकाले । नाँगी - केही नभएको नाङ्गो डाँडो भएकाले । गैरागाउँ - गहिरो ठाउँमा भएको गाउँ भएकाले । कालीमाटी - कालोमाटो भएको ठाउँ भएकाले । खाल्सा खाली तथा खाल्सो परेको ठाउँ भएकाले । पँयश्वरा - सम्म फैलिएको श्वाँरा भएकाले । कल्लेरी - कान्ला कान्ला भएकाले । छापगाउँ - छाप लगाएर मात्र चलने गाउँ भएकाले । खहरे - खहरे बग्ने ठाउँ भएकाले ।

सुनुवार भाषाका गाउँहरुमा नामाडीलाई नामादि भनेर भनिदो रहेछ । यसको पनि केही अर्थ हुनसक्छ नामाडीको नामाकरणको सम्बन्धमा साथै तामाङ्ग भाषाबाट पनि केही अर्थ लाग्न सक्छ किनकी सुनुवार र तामाङहरु यस क्षेत्रका सबभन्दा पुराना बासिन्दा हुन त्यसैले यस बारे थप अध्ययन अनुसन्धान हुनु आवश्यक देखिन्छ ।

ऐतिहासिक पृष्ठभूमिः

नामाडीको प्राचिन कालदेखिको इतिहासलाई खोजी गर्दा यस क्षेत्र किरात भूमि भएको तथ्य फेला पयो । किरातहरुको मुख्य बसोबासको क्षेत्र मध्ये ओल्लो किरात क्षेत्रमा मुख्य बसोबासको रुपमा आफुलाई कोइँच किरात भन्न रुचाउने सुनुवारहरको बसोबास पाइन्छ । यस क्षेत्र लगायत किरात क्षेत्रहरुमा उपत्यका शासन गरेका किरातहरु लिच्छवीहरुको उपत्यका प्रवेशसंगै युद्धमा पराजित भई भागेका र उपत्यकाबाट पूर्व लागि नयाँ ठाउँ खोजी गर्दै बसोबास गर्ने क्रममा यस क्षेत्रमा आई बसोबास गरेका र यि क्षेत्रहरुमा आफ्नै स्वतन्त्र राज्यहरु स्थापना गरी राज्य संचालन गरेका कुरा विभिन्न इतिहासकारहरुले पनि उल्लेख गर्नु भएको छ । रामेछाप र त्यस वरपरका क्षेत्रहरुमा पहिल्यै देखि तामाङ्गहरुका स्वतन्त्र राज्यहरु थिए । सुनुवारहरु कोइँचबाट सुनुवार भई पूर्व लाग्दा दोलखाको किरातीछाप, सुनखानी, चिवथेम क्षेत्रमा खुर्पेठ्याक लगाई सीमा बाधी “ नाम्दोपालु” राज्य स्थापना गरी धेरै पुस्ता किरातीछापलाई राजधानी बनाई बसेका थिए । सुनुवारहरुले विभिन्न हो माहोपो ( राजारानी) का नाममा विभिन्न स्वतन्त्र कोट राज्यहरु स्थापना गरी राज्य संचालन गरेका थिए । त्यसमध्ये बुजकोट (भुजी), तेलपोङकोट ( तिल्पुङ), बियोलकोट (बिजुलीकोट) आदि कोट राज्यहरु थिए । दोलखा छुट्टै नेवार राज्य थियो । मल्लकालिन अवस्थामा दोलखाको मल्ल राज्य निकै शक्तिशाली थियो । दोलखाका मल्ल राजाहरुले किरात कोइँच कोट राज्यहरुमा आक्रमण गर्नु अघि यो क्षेत्र विजयपुरको सेन राज्यबाट शाषित थियो । किरात कोइँच (सुनुवार) कोट राज्यहरु पटक-पटक स्वतन्त्र र अधिनस्त भएका थिए । मल्लकालको अन्त्यतिर नेपाल एकिकरण हुनुभन्दा अघि दोलखाका मल्ल राजाहरुले कोट राज्यहरुमा आक्रमण गरी आफ्नो राज्यमा कायम गरेको पाइन्छ। दोलखाका राजाहरुले यो क्षेत्र आफ्नो अमालका रुपमा शासन गर्दथे । दुधकोशी सम्मको प्रशासन हेर्ने नाल्दुमगढी दक्खल (सन् १७५४ भएपछि माझ किराँत र पल्लो किराँत कब्जा गर्न गोर्खाली सैन्य फौज जाँदा रामेछाप जिल्ला भएरै गएको थियो । पुर्व पट्टिको पहाडमा बाटोघाटो असजिलो भएको हुनाले भरिया बन्दोबस्त मिलाउनको निम्ती पृथ्वीनारायण शाहले सैनिकमा भर्ना नहुने यस जिल्ला क्षेत्रका तामाङ्ग, सुनुवार र थामीलाई समेत पाखावाली हुने जग्गा किपट दिई लडाईको काममा रसद, हतियार आदि बोक्ने काम ठेकिएका थिए । बाटो असजिलो हुँदा सैनिकको भन्दा किपटियाको संख्या तेब्बर थियो ।

नेपालमा खासगरी पृथ्वीनारायण शाहको “ एकिकरण अभियान" को समय देखि बृहद रुपमा प्रचलित किपट जग्गा सम्बन्धी व्यवस्था नेपालका पूर्वि पहाडी भू-भागहरु जहाँ किराँतहरुको बसोबास छन् ती ठाउँहरुमा प्रचलनमा थियो । किपट भनेको कुनै जाति विशेषलाई जग्गाको नियन्त्रण र भोग चलन गर्न भनी दिएको अधिकार र स्वामित्व हो । यस व्यवस्था अर्न्तगत खेती योग्य जमिनका अलावा अन्य बाँझो जमिन र वनले ढाकेको जमिन पनि किपटका रुपमा बाढिन्थ्यो । कहिले देखि यो भूमि किपटका रुपमा स्थापित भयो यकिन छैन । सुनुवारहरुलाई किपट भूमि र मुखिया मानपदवी विजयपुर सेन राज्यकालमै प्रचलित थिए । पछि गिर्वाणयुद्ध बीक्रम शाहको राज्यकाल (सन् १७९७-१८१६) बाट लालमोहरद्धारा साविक किपट भूमि अनुमोदन ( थमौती) गरीदिएका थिए ।

पृथ्वीनारायण शाहको “" एकिकरण अभियान” सँगै यस क्षेत्रमा खस क्षत्रीहरुको बस्ति विकास हुने क्रम बढ्दै गयो । पछि विस्तारै किराँत कोइँच (सुनुवार) हरुको अधिकारहरु उनीहरुले खोस्दै जान थाले किराँत कोइँचहरु बिस्तारै खसहरुको धर्म संस्कृतिलाई अंगाल्न थाले । पछि सुनुवारहरुलाई आफ्नो काज किरिया साथै अन्य कर्महरुमा बाहुनको आवश्यकता हुन थाल्यो र बाहुन पुज्नका लागि राजा समक्ष बिन्तिपत्र हालेकाले राज्यको खर्च बढीरहेको अवस्थामा सुनुवार किपट क्षेत्रका खेत किपटबाट झिकी सुनुवारहरुलाई लालमोहरद्वारा बाहुन पुज्ने व्यवस्था मिलाइएको पाइन्छ तर बाह्र गाउँ सोह्रथुम किपट क्षेत्र कुन समयमा कस्ले दिएको एकिन गर्न सक्ने दस्तावेज हालसम्म कतै प्राप्त हुन सक्ने अवस्था देखिन्न । बिक्रम सम्बत १८८२ साल मार्ग सुदी १० रोज् ३ को लालमोहर अनुसार १८८३ सालका बाली देखि भुजि गाउँ १, रस्नालु गाउँ १, गैरी गाउँ १, दार्खा गाउँ १, हावा गाउँ १, हलुवा गाउँ १, नामाडी गाउँ १, साब्रा गाउँ १, प्रीति गाउँ १, काति गाउँ १, नासुके गाउँ १ र एकाङ गाउँ १, गरी बाह्र गाउँ किपट र किपट अर्न्तगतका थुमहरुको खेत किपट झिकी पाखो, वन, बुटेन, खर्चरी मात्र किपट सरह थमौती भए । माथि लेखिएका बाह्र गाउँ किपटहरुको अधिनमा रहेका थुमहरुमा ठूलो प्राप्चा सानो प्राप्चा थुम- १, केरावारी जिर्कु - १, लिस्पु-१, ओखरबोट धुस्यानी साल्मे-१, यलुङ खोला-१, घ्याम्पे जेसे-१, नेवारबोटे-१, याता वसन्तपुर-१, मैवले दुजुङ-१, खोल्मेदुरे र आँपचौर -१, बिजोलकोट नागी-१, बन्दीपुर नाङथली-१, खिजी - १, रगनी -१, चप्लेति - १, वाप्चु - १ जम्मा १६ सोरै थुम गाउँमा सुनुवारहरुका नै बस्ती किपट छन् ।

बिक्रम सम्बत् १८८२ सालको लालमोहरको नक्कल

स्वस्ति श्री गिरिराज चक्र चुडामणि नर नारायणेत्यादि विविध बिरुद्धवली बिराजमान मानोन्तः श्री मान महाराज धिराज राजेन्द्र बीरबिक्रम शाहा बहादुर शमशेर जंग देवनना सदा समर विजयीनाम मार्फत उदया गिरीः आग्ये दोलखा पुराणा अमाल मध्ये भुजि गाउँ १, रस्नालु गाउँ १, गैरी गाउँ १, दार्खा गाउँ १, हावा गाउँ १, हलुवा गाउँ १, नमाडी गाउँ १, साव्रा गाउँ १, प्रीति गाउँ १, काती गाउँ १, नासुके गाउँ १, एकाङ गाउँ समेत जम्मा १२ गाउँका सुनुवार गैह के तिमी हरुको किपट खेत ६२ सालमा किपटका सरह संग केही गरी पल्टन कम्पनी लाई दरी बक्सेको हो | आज तिमीहरुलाई बाम्ह्ह्ण पुज्नु चाक चाक्वी माफ गरी बक्सेका लालमोहरका थिति थामी बक्सनु भयाँ हाम्रा बाकी रहेका किपट कम्पनी खेत चढाउछौं पाखोस्की सच्चा मा गछौं भनी तिमीहरु हाम्रा हजुरमा बिन्ती गर्न आउदा अब उप्रान्त ८३ सालका बाली देखि रहेका किपट कम्पनी खेत सबै झिकी ब्राम्हण पुज्नु चाक चाक्वी माफ भन्ने लालमोहरको थिति रिति पुर्खा हरले आज सम्म किपट भनी खाई चली आएको पाखो स्वारो खर्क मह भीर र घरबारी माथि बक्सी ज्यु लागेको सेर्मा दै दस्तुर रित भाँत अलामी मानी आफ्नो खातीर जामा संग भोग गर

ईति सम्बत् १८८२ साल मार्ग सुदी ३ शुभम्

सुनुवार किपट क्षेत्रहरु पछि सम्म पनि सुनुवार मुखियाहरुकै अधिनमा थियो । खस जातिले पनि बिस्तारै आफ्नो प्रभाव बढाउँदै लगेको थियो । यी पहाडी क्षेत्रहरुमा प्रत्यक्ष केन्द्रको निगरानीमा दोलखाबाट प्रशासन सञ्चालित थियो । पछि पुर्व २ नम्बर भनेर नामाकरण गरी रामेछाप, दोलखा र सिन्धुलीका भु-भागहरु मिलाई छुट्टै प्रशासन निर्माण गरेको पाइन्छ ।

वि.सं. २००४ सालमा ऐन निर्धारण गरेर गाउँ, नगर र जिल्ला पञ्चायतको संरचना बनाई अधिकार तोकेको थियो । तथा वि.सं. २००६ सालमा गाउँ पञ्चायत ऐन बनाई गाउँहरुलाई केही न्यायीक अधिकार प्रत्यायोजन गरेको भए पनि व्यहारमा कार्यान्यन हुन सकेन । राणकालिन अवस्थामा शक्ति तथा अधिकार जनतालाई दिने भन्ने कुरा अति टाढाको विषयवस्तु हुन्थ्यो त्यसैले ऐन बनाए पनि कार्यान्वयन गरिएन वा कार्यान्वयन गर्नका लागि ऐन बनाएकै थिएन ।

हावापानी तथा जलवायु:

यस गा. वि. स. को भूभाग ८६८ मिटर देखि २६९४ मिटर सम्मको उचाईमा अवस्थित रहेकाले सुक्ष्म रुपमा धेरै प्रकारका हावापानी पाईएता पनि वृहत रुपमा यस गा. वि. स. को हावापानी २ भागमा विभाजन गर्न सकिन्छ । सामान्यतयाः १५०० मिटर भन्दा कम उचाईको क्षेत्रमा उपोष्ण हावापानी पाईन्छ । यस क्षेत्रमा उष्ण, आद्र र लामो गृष्म तथा सुख्खा न्यानो र छोटो हिउँद ऋतु रहन्छ। यस्तो हावापानी पाईने क्षेत्रको औषत तापक्रम गृष्म याममा २५ डिग्री सेल्सियसको आसपास र हिउँदमा १३ डिग्री सेल्सियसको आसपास रहन्छ । यसै गरी १५०० मिटर भन्दा माथिको क्षेत्रमा आर्द्र गृष्म ऋतु र चिसो, सुख्खा हिउँद ऋतु हुन्छ । यस्तो क्षेत्रमा हिउँद र गृष्म यामको अवधि झन्डै वरावर हुन्छ र गृष्म यामको औषत तापक्रम १८ देखि २५ डिग्री सेल्सियस तथा हिउँदको औषत तापक्रम ५ डिग्री सेल्सियसको अनुपातमा रहन्छ । यो गा. वि. स. पुरै मनसुनी वायूको प्रभाव क्षेत्रमा पर्ने भएकाले गृष्म ऋतुमा वर्षा हुने गर्दछ । वार्षिक वर्षाको ८५ प्रतिशत जति वर्षा ज्येष्ठ, आषाढ, श्रावण र भाद्र महिनामा हुने गर्दछ । यसको वार्षिक मापन ८५ - ३०० मिलिमिटर सम्म अनुमान गरिएको छ । हिउँद याममा गा. वि. स. को वेसी क्षेत्रमा हल्का हुस्सु समेत लाग्ने गर्दछ ।

नदीनाला तथा ताल पोखरी:

पश्चिम दक्षिण तर्फ फर्किएको भूभाग यस गा. वि. स. को सवै जल खिम्ती खोला (कोशी) नदीमा मिसिन पुग्दछ । यस गा. वि. स. का सवै खोलाहरु खिम्ती खोला (कोशी) नदी प्रवाहमा प्रदछन् । यस गा. वि. स. का सिमाना खोला वोहोरी र फर्पु खोला पर्दछन् । प्रमुख खोलाको रुपमा हलुवा खोला, अम्फे खोला, फर्पु खोला, वोहोरी खोला, कामी खोला, खहरे खोला चिनिन्छन् । यी मध्ये, वोहोरी खोला, कामी खोला, हलुवा खोलामा मिसिदै खिम्ती खोला (कोशी) नदीमा मिसिन पुग्दछन् भने अम्फे खोला, फर्पु खोलामा मिसिदै खिम्ती खोला (कोशी) नदीमा मिसिन पुग्दछन् ।

स्रोत[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]