आचार्य चण्डेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आचार्य चण्डेश्वर नेपालका एक विशिष्ट प्रतिभा, विद्वान र संविधान निर्माणका आधार सूत्र मानिएका छन् । नेपालको मल्लकालीन राज्य प्रणाली चण्डेश्वरका सिद्धान्तहरुमा आधारित रहेको मानिन्छ । आचार्यको समय चौधौं शताब्दी र स्थान सिमरौनगढ मानिएको छ ।[१] उनको पिताको नाम वीरेश्वर तथा पितामहको नाम देवादित्य थियो । नेपालको वर्तमान भौगोलिक सीमानामा रचना गरिएको ग्रन्थ राजनीतिरत्नाकरमा चण्डेश्वरले आफ्नो परिचय यस प्रकार दिएका छन् [२]
मन्वादिस्मृतिराजनीतिलधेरादाय संक्षेपतो
नानानीतिनिबन्धसम्मतं चित्वा चिराय श्रमात् ।
श्रचिण्डेश्वरमन्त्रिणा विरचितो रत्नाकरो भूभुजा
भाव्योअसौ भुविभूतये भष्वता मान्यो वदान्योदयात् ।
मनु आदिका स्मृतिग्रन्थमा प्रतिपादित राजनीतिरुप समुद्रबाट सार खिचेर,अनेक नीतिनिबन्ध अनुकूल विभिन्न मतहरुलाई चिरकालसम्म परिश्रमपूर्वक छानेर श्रीचण्डेश्वर मन्त्रीद्वारा रचिएको यो राजनीति रत्नाकर राजाहरुद्वारा आदर गरिन्छ तथा उदार पुरुषहरुको उन्नति गर्ने हुनाले सम्मानित भएर पृथ्वीमा ऐशवर्य वृद्धि गर्छ ।
उपलब्ध ऐतिहासिक तथ्यहरूको विवरणबाट के स्पष्ट हुन्छ भने नेपालका लागि कौटिल्य समतुल्य यी आचार्य राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए । हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य संचालन गरेका थिए । सिमरौनगढ राज्य मध्यकालीन नेपालको अत्यन्त सभ्य र सुसंस्कृत राज्य मानिन्छ । यस विकसित राज्यको श्रेय यसै राजनीतिरत्नाकर ग्रन्थ र आचार्य चण्डेश्वरलाई जान्छ । तर राजनीति शास्त्रको रचयिता र नेपालको राजनीतिक गौरवलाई नेपालमा बिर्सिन थालिएको छ ।[३] के वी स्वामी आइयंगरले उनलाई राजधर्म ग्रन्थमा बारम्बार उदधृत गरेका छन् । यसबाट पनि उनको महत्त्व रहेको स्पष्ट हुन्छ ।
उपलब्ध ऐतिहासिक तथ्यहरूको विवरणबाट के स्पष्ट हुन्छ भने नेपालका लागि कौटिल्य समतुल्य यी आचार्य राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए । हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य संचालन गरेका थिए । सिमरौनगढ राज्य मध्यकालीन नेपालको अत्यन्त सभ्य र सुसंस्कृत राज्य मानिन्छ । यस विकसित राज्यको श्रेय यसै राजनीतिरत्नाकर ग्रन्थ र आचार्य चण्डेश्वरलाई जान्छ । तर राजनीति शास्त्रको रचयिता र नेपालको राजनीतिक गौरवलाई नेपालमा बिर्सिन थालिएको छ । चण्डेश्वरको योगदान र विद्वतालाई मूल्याङ्कन गर्दा उनलाई नेपालको एक विभूति मान्नुपर्ने देखिन्छ । किनभने उनको माध्यमबाट नेपालको सभ्यताको गौरवलाई अझ उच्च बनाउन सकिन्छ । चण्डेश्वरको ग्रन्थ राजनीति रत्नाकरलाई के वी रंगास्वामी आइयङ्गर [४] ले ज्यादै महत्त्व दिएका छन् । कौटिलीय अर्थशास्त्र जस्तो विशाल छैन, मनुस्मृति जस्तो प्राचीनतम पनि छैन, तथा शुक्रनीति जस्तो चर्चित पनि छैन तर प्राचीन नेपालको गौरवको प्रतीक यो ग्रन्थ राजनीति शास्त्री र अर्थशास्त्रीहरुका लागि महत्त्वपूर्ण र विवेचनीय छ ।[५]

राजनीति रत्नाकरको संक्षेप[सम्पादन गर्ने]

कौटिलीय अर्थशास्त्र, शुक्रनीति, मनुस्मृतिनारदस्मृतिको विषय वस्तुसंग मिल्दो जुल्दो ग्रन्थ भएको यस ग्रन्थमा १६ अध्याय छन् । जसलाई उनले तरङ्ग नामकरण गरेका छन् । यस ग्रन्थको संक्षिप्त विषय वस्तु यस प्रकार छ–

१. राजा र राज्यको उत्पत्ति[सम्पादन गर्ने]

चण्डेश्वरले राज्यका उत्पत्तिको दुइ सिद्धान्त व्यक्त गरेका छन्–
१. नियुक्तिको सिद्धान्त,
२. समझौता सिद्धान्त ।
उनी मनुको कुन मतसंग सहमत छन् भने राज्यलाई अराजकताको अन्तका लागि पितामह ब्रह्माले नियुक्त गरेका हुन् । साथै प्रजाको सुरक्षा गरीदिए बापत उसलाई जे जति पारिश्रमिक दिने करार गरिएको छ, त्यसलाई समझौताको सिद्धान्त भनिन्छ । यस सिद्धान्तको उपप्रमेय के हो भने यदि राजाले शान्ति सुरक्षा गरेन भने त्यसलाई करार अनुसार कर तिर्नु अनिवार्य छैन ।
अध्याय १२ मा राजाका काम, अध्याय १४ र अध्याय १६ मा उत्तराधिकारको निर्धारण र राज्याभिषेकका नियमहरु, तथा अध्याय १५ मा असामान्य अवस्थाको राज्यारोहणलाई वर्णन गरिएको छ । राज्यलाई राजनीतिरत्नाकरमा अविच्छिन्न उत्तराधिकारयुक्त संस्था मानिएको छ । यो निरन्तर रहने हुनाले यसको वर्तमान सञ्चालकले समयमा नै उत्तराधिकार निश्चित गरिसक्नु पर्छ । राजा वृद्ध भएमा, रणभूमिमा मारिएमा, लामो बिरामी भएमा राज्याभिषेक गरिएका राजपुत्रलाई राजा बनाउनु पर्छ भनिएको छ । हुनत, ज्येष्ठ पुत्रलाई राज्याभिषेक गर्नु पर्छ भनिएको छ तर साथै नगरवासी, मन्त्री, पुरोहित आदिको अनुमोदन प्राप्त गर्नु पर्छ भन्ने निर्देश दिएर अनुमोदनको सिद्धान्त पनि प्रतिपादन गरिएको छ । असामान्य अवस्थामा भने ज्येष्ठ बाहेकका अन्यलाई पनि राजा बनाउन सकिन्छ भनिएको छ । [६]

२. मन्त्री परिषद[सम्पादन गर्ने]

राज्य सञ्चालकले एक्लै राज्य सञ्चालन गर्न सक्दैन । उसलाई सहयोग गर्न, सुझाव दिन र गलत निर्णयबाट बचाउन अमात्यको आवश्यकता बताइएको छ । अमात्य भनेको मन्त्री परिषद हो जसको प्रमुखलाई प्रमुख अमात्य भनिन्छ । अमात्यमा निश्चित गुणहरु हुनु पर्छ भनिएको छ । उनीहरु लामो समयदेखि राज्य सञ्चालनका सहयोगी हुनुपर्छ । शास्त्रविद्, निर्भीक, युद्धविद्यामा कुशल, र कुलीन हुनुपर्छ । सन्धि र विग्रह दुवै अवसरमा सहयोगी हुनुपर्छ । राजकीय निर्णयका बारेमा स्मृति र शास्त्रहरुमा निश्चित नियमहरु बनाइएका छन् । एकान्त स्थानमा र गोपनीय राखेर मन्त्रणा गर्नुपर्छ भनिएको छ । जबसम्म सन्धि विग्रहको परिणाम प्राप्त हु“दैन त्यस बेलासम्म राजकीय निर्णयहरु गोपनीय राख्नु पर्छ भनिएको छ । [७] अध्याय २ मा मन्त्रिपरिषदसंगको छलफलको विधि बताइएको छ । यस अनुसार सबभन्दा पहिले अमात्यसंग, त्यसपछि विद्वान् ब्राह्मणसंग, र अन्तमा सबै कुरा विचार गरेर आफैं निर्णय गर्नुपर्छ भन्ने निर्देश दिइएको छ ।

३. पुरोहित[सम्पादन गर्ने]

पुरोहितको योग्यता, कार्य, र नियुक्तिको बारेमा अध्याय ३ मा उल्लेख छ । राजनीति रत्नाकरमा पुरोहितलाई समस्त शुभकार्यहरुको आधार बताइएको छ । वेद वेदाङ्गको ज्ञाता, जप हवनमा लागिरहनु पुरोहितको योग्यता बताइएको छ । पुरोहितको सहयोगका लागि ऋत्विजहरु पनि नियुक्त गर्नु पर्छ भनिएको छ । [८]

४. न्यायालय[सम्पादन गर्ने]

न्याय व्यवस्थाको प्रमुखलाई प्राड्विवाक भनिएको छ । प्राड्विवाकको अर्थ हुन्छ अन्य सभ्यहरुका साथ मिलेर विवादका तथ्यहरुको राम्ररी अवलोकन गरेर त्यसमाथिको विश्लेषण गर्ने व्यक्ति । यस विभागबाट गरिएको निर्णयलाई राजाले अनुमोदन वा पुनरावलोकन गर्न सक्ने अधिकार दिइएको छ । न्याय दिनका लागि उनले तीन सदस्यीय समिति बनाउने सुझाव दिएका छन् । यदि तीन जनाको राय बाझिन्न भने त्यो निर्णय उचित हुन्छ । अध्याय १३ मा नियम कानुनको वर्णन छ । अन्य स्मृतिकारहरुले जस्तै चण्डेश्वरले पनि यस विभागको प्रमुखको योग्यतामा कुलीनता, शीलसम्पन्नता, सत्यभाषी, गुणवान्, र धर्मनिरत हुनुलाई योग्यता मानेका छन् । [९]

५. सभा[सम्पादन गर्ने]

राजनीतिरत्नाकरमा अध्याय ५ मा सभाको गठन गर्ने तरीका व्याख्या गरिएको छ । सभाका दस अंग बताइएका छन्– राजा, अधिकारी, समासद, धर्मशास्त्र, गणपूरक, लेखक, सुन, आगो, जल, दण्डधारी । सुन, आगो र जल शपथ ग्रहणका लागि प्रयोग गरिन्थ्यो । यी सदस्यहरुमा विशेष योग्यता आवश्यक मानिएको छ । यदि सभासद् शुद्ध छैनन् भने गरिएका निर्णयहरु पनि शुद्ध हुंदैनन् । सभाको सदस्यलाई सभ्य भनिएको छ । प्राचीनकालमा गणपूरक एक यस्तो अधिकारी हुन्थ्यो जसले सभामा उपस्थित मानिसहरुको अभिलेख राख्थ्यो । यसलाई गणक पनि भनिन्थ्यो । [१०]

६. दुर्ग र सैन्य व्यवस्था[सम्पादन गर्ने]

चण्डेश्वरले अध्याय ६ मा दुर्गको महत्त्व वर्णन गरेका गरेका छन् । दुर्गको वास्तु सम्बन्धी विवरण अध्याय ९ र १० मा उल्लेख छ । सेनाको महत्त्व युद्धलाई मात्र होइन शान्ति कालमा पनि स्वीकार गरिएको छ । मनुका अनुसार दुर्गमा बसेको एक जना योद्धाले बाहिरका सय जनालाई पनि जित्न सक्छ । त्यसैले दुर्गको निर्माण आवश्यक हुन्छ । यसले राज्यको सुरक्षा गर्छ । दुर्ग पनि अनेक प्रकारका बताइएका छन्– औदक, पार्वत, धान्व, वनदुर्ग । अमात्य, पुरोहित आदि जस्तै सेनापतिलाई पनि राज्यको एक अंग बताइएको छ । सेनालाई दण्ड पनि भनिन्छ । हस्ति, अश्व, रथ, र पैदल आदिलाई यसका विभिन्न अंग बताइएको छ । सेनापतिलाई अमात्य र पुरोहित सरहको मर्यादाक्रम दिइएको छ । राष्ट्र र दुर्गको रक्षा गर्नका लागि विजीगिषु राजाले सेनाको गठन गर्नु पर्ने बताइएको छ । सेनाको युद्ध अभियानका निश्चित रणनीतिक र ज्योतिषीय नियमहरु बताइएका छन् । [११] तर हिन्दु पोलिटी Hindu Polity मा जायसवालले आफ्नो भिन्न मत व्यक्त गर्दै सेनापतिलाई युद्ध मन्त्री र सेनाको प्रमुखलाई नायक भनेका छन् । '

७. दण्ड[सम्पादन गर्ने]

संस्कृत शब्द दण्डको अर्थ हुन्छ– सेना, सजाय, युद्ध, चार नीति (साम, दाम, भेद र दण्ड) मध्ये एक इत्यादि । शान्ति सुव्यवस्थाका लागि सबै प्राचीन विचारकले दण्डनीतिलाई प्रमुख मानेका छन् । दण्ड नीतिको अर्थ हो राज्यको शक्ति दर्शाउने नीति । कौटिलीय अर्थशास्त्रमा सेनाको अर्थमा पनि दण्ड प्रयोग गरिएको छ तर राजनीतिरत्नाकरमा मुख्यतया अपराधका सजायंको अर्थमा दण्ड शब्दको प्रयोग गरिएको छ । देश, काल, शक्ति, अवस्था, कार्य, र आर्थिक अवस्था हेरी अपराधको दण्ड दिनु पर्दछ भनिएको छ ।[१२]

८. आन्तरिक सुरक्षा र बाह्य सम्बन्ध[सम्पादन गर्ने]

देशको आन्तरिक शान्ति सुव्यवस्था र वैदेशिक सम्बन्धबारे चण्डेश्वरले दूत निरुपण अध्याय ११ मा ज्यादै विस्तृत विचार विमर्श गरेका छन् । हुनत, दूतको अर्थ सन्देशवाहक हो तर चण्डेश्वरले यसको विस्तृत अर्थ गरेका छन् । राजनीति रत्नाकरमा दूतलाई दुइ अर्थमा प्रयोग गरिएको छ– गुप्तचर तथा राजदूत । आन्तरिक शान्ति सुव्यवस्थाका लागि गुप्तचरहरुको ठूलो योगदान भए जस्तै राजदूतले वैदेशिक सम्बन्ध स्थिर राख्छ । यति मात्र होइन उसले छिमेकी राष्ट्रहरुका कमजोरीहरु पत्ता लगाउन पनि सक्छ । [१३]

९. राजकीय कोष[सम्पादन गर्ने]

राजकीय कोषको बारेमा राजनीति रत्नाकरमा अध्याय ८ मा उल्लेख छ । तर यो ज्यादै संक्षिप्त छ । उनले राजकीय कोषका सिद्धान्तका लागि आफ्नो आदर्श कामन्दकलाई मानेका छन् । स्वयं कामन्दक कौटिलीय विचारधाराका अनुयायी हुन् । त्यसैले चण्डेश्वरको राजकीय कोष सिद्धान्त प्रकारान्तरले कौटिलीय सिद्धान्त हो भन्न सकिन्छ । राजकीय कोषको उद्देश्य धर्म, अर्थकामको प्राप्ति हो भनिएको छ । राजकीय कोषलाई प्राचीन विचारकहरुले कोष र आय व्यय दुवै रुपमा प्रयोग गरेका छन् । रत्नाकरमा यस्तो कोषलाई श्रेष्ठ मानिएको छ जसमा खर्च कम र आय (जम्मा) बढी हुने गर्छ । यसरी चण्डेश्वर राजकीय खर्चमा बचतका समर्थक देखिन्छन् ।[१४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. रेग्मी, डी आर, सन् १९६५,मेडिएभल नेपाल, कलकत्ता, के एल मुखोपाध्याय ।
  2. चण्डेश्वरविरचित राजनीतिरत्नाकर, (सन् १९७०), वाचस्पति गैरोला एवं तारिणीश झा (अनु.), वाराणसी ः चौखम्बा संस्कृत सिरीज
  3. पाण्डे, एल एम, सन् २०१०, चण्डेश्वरर्स राजनीति रत्नाकर अन हिन्दु पोलिटी, प्रजावाल्मिीकी ब्लग, २८ जुलाई २०१०
  4. Rajadharma, Aiyangar, 1940, 204,210
  5. ज्ञवाली, बाबु राम, सन् २०१३, ओरिएन्टल इकोनोमिक्स, रिभिजिटेड , रुपन्देही ः ज्ञानज्योति प्रकाशन,ISBN ९७८–९९३७–२–७३६३
  6. राजनीतिरत्नाकर, सन् १९७०, ११, १५
  7. राजनीतिरत्नाकर, सन् १९७०, १९,२०
  8. राजनीतिरत्नाकर, सन् १९७०, २९
  9. राजनीतिरत्नाकर, सन् १९७०, २०
  10. राजनीतिरत्नाकर, सन् १९७०, ३६–३७
  11. राजनीतिरत्नाकर, सन् १९७०, अध्याय १२, अध्याय ५७
  12. राजनीतिरत्नाकर, सन् १९७०, अध्याय १२, अध्याय ५७
  13. राजनीतिरत्नाकर, सन् १९७०, अध्याय ११
  14. राजनीतिरत्नाकर, सन् १९७०, अध्याय ८