खाँडादेवी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खाँडादेवी मन्दिर
खाँडादेवी मन्दिर
खाँडादेवी मन्दिर
Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.
निर्देशांक:२७°२७′४४″ उत्तर ८५°५५′३९″ पूर्व / २७.४६२२२° उत्तर ८५.९२७५०° पूर्व / 27.46222; 85.92750निर्देशाङ्क: २७°२७′४४″ उत्तर ८५°५५′३९″ पूर्व / २७.४६२२२° उत्तर ८५.९२७५०° पूर्व / 27.46222; 85.92750
नाम
वास्तविक नाम:खाँडादेवी
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:जनकपुर
जिल्ला:रामेछाप
स्थान:खाँडादेवी
कला र संस्कृति
मुख्य देवता:दुर्गा
प्रमुख चाडपर्व:दशैं, चैते दसैँ
खाँडादेवी मन्दिर
खाँडादेवीका पुजारी

खाँडादेवी मन्दिर(षाँडा देवी) नेपालको जनकपुर अञ्चल, रामेछाप जिल्लाको खाँडादेवी गाविसमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको स्थान हो । शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायत तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । रामेछाप जिल्लाको पश्चिमी क्षेत्र खाँडादेवी गाउँ विकास समिति वडा नम्बर ७मा खाँडादेवीको मन्दिर रहेको छ ।

किम्बदन्तिहरु[सम्पादन गर्ने]

खाँडादेवी प्रचारबाट ओझल परेको शक्ति पीठ हो । खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्वदन्तीहरु पाइन्छ । तर त्यस्ता जनश्रुति र किम्बदन्तिहरूभन्दा पनि हिमवत्खण्डमा उल्लेख भएअनुसार रोशी खोलासुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीञ्चोकमा अन्तरध्यान भएकी हुन् । खाँडादेवी मन्दिरको पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रुपमा बुझ्न सकिन्छ । मन्दिरका पुजारी अम्बरबहादुर तामाङको जीउमा बेलाबेलामा देवी चढ्ने गरेकी छन् । पुजारीमा देवी चढेको बेला बताइएअनुसार विक्रम सम्वत् १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको हो । खाँडादेवीको शक्तिबाट प्रभावित भई पकरबासका वासिन्दाहरुले मन्दिरमा चढाएको घण्टाबाट पनि यो मन्दिर निकै पूरानो हो भन्ने तथ्य पत्ता लाग्छ । विसं १५७३ सालमा चढाइएको सो घण्टामा अहिले पनि मन्दिरमा देख्न सकिन्छ ।

नेपाल एकिकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीको रुपमा किल्ला बनाएका थिए । अङ्ग्रेजसँगको लडाईँ जित्नको लागि पृथ्वीनारायणले खाँडादेवीसँग आशिर्वाद लिएको जनश्रुती पाइन्छ । सिन्धुलीगढीको लडाईमा विजयप्राप्त गरेपछि खाँडादेवीको शिलालाई राजधानीमा ल्याई राख्ने योजना राजाले बनाएका थिए । शिला ल्याउनका लागि आफ्ना सेनालाई आदेश दिए । सेनाले कतै पनि नबिसाई ल्याएको शीलालाई साँगामा ल्याएर विसाउँदा खाँडादेवीको शीला अलप भइन् । तेस्रो पटक भक्तपुरको खोपीढुंगामा ल्याएर बिसाउँदा खाँडादेवीको शीला फेरि पनि अलप भयो । कसै गरेपनि खाँडादेवीको शीला ल्याउन नसकेपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुती सुन्न पाइन्छ ।

खाँडादेवीलाई राजधानी ल्याउन नसक्नुको पनि रोचक प्रसङ्ग छ । रामेछाप गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट सुकमाया पहरी भन्ने बत्तीस लक्षणयुक्त कन्या जन्मेकी थिइन । बत्तीस लक्षणले युक्त सुकुमायालाई रानी बनाउन राजाले दरबारमा लगेछन् । दरबारमा सुकुमाया खुशी नभएपछि राजाले उनलाई गेलुमामा नै फर्काइ दिएछन् । गेलु आउने क्रममा षाँडादेवीनिर आइपुगेपछि सुकमाया अलप भइछन् र तितेपातीको छाप्रो बनाएर मान्छेदेखि अदृश्य भएर बसिन् । अहिले पनि दसैंका बेला छानो स्वरुप मन्दिरमा तितेपाती चढाइने गरिन्छ । पहरी जातिले अहिले पनि खाँडादेवीलाई आफ्नो चेलीको रुपमा पूजा गर्दछन् ।

खाँडादेवी मन्दिरमा धार्मिक पर्यटन[सम्पादन गर्ने]

धार्मिक हिसावले मात्र नभई पर्यटकीय दृष्टिले पनि खाँडादेवीको डाँडो मनै लोभ्याउने खालको रहेको छ । रातै लाली गुराँस फुल्ने खाँडादेवीबाट दक्षिणतर्फ विशाल महाभारत पर्वत श्रृङ्खला, नागबेली परेको नीलो सुनकोशी नदी र नदी आसपासका टारहरू र खाँडादेवीबाट उत्तरतर्फ दोरम्बागाल्पाका पहाडी हरिया डाँडाले खाँडादेवीलाई मनमोहक बनाएको छ । खाँडादेवी वरपरका घना पहाडी वस्तीहरुको भ्रमणले पनि खाँडादेवीको यात्रालाई सार्थक नै बनाउँछ । मझुवा, राकाथुम, गागल, माकादुम, भीरपानी, पकरबास, आँपचौरलगायत स्थानीय गाउँहरु पर्यटकका लागि भ्रमणको गन्तव्य बन्न सक्ने प्रसस्त सम्भावनाहरु छन् । खाँडादेवीको आसपासमै पवित्र धार्मिकस्थलहरु कुशेश्वर महादेव मन्दिर, मुकुटेश्वरी, सहस्रधारा, सुनापति, थानापति रहेकाछन् ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट धुलिखेल, सिन्धुलीहुँदै बर्दिबास जोड्ने १५८ किलोमिटर लामो बीपी राजमार्गहुँदै खाँडादेवीको यात्रा तय गर्न सकिन्छ । काठमाडौंबाट करिव १०० किलोमिटरको यात्रापछि खाँडादेवीको गन्तव्यमा पुग्न सकिन्छ । धुलिखेलबाट भकुण्डे बेसीसम्मको नागबेली सडकहुँदै नेपालथोकसम्मको करिव ८० किलोमिटरको यात्रा पूरा गरेपछि प्रसिद्ध कुशेश्वर महादेवको दर्शन गर्न सकिन्छ । त्यसपछि खैरेनी घाटमा सुनकोशी नदी तरेर कच्ची सडकको यात्राहुँदै पनि खाँडादेवी पुग्न सकिन्छ । खैरेनीबाट जाँदा राकाथुमको डाँडैडाँडा राताम्य गुराँसका बोट, रमाइला गाउँ हेर्दैको यात्रा साँच्चै अविस्मरणीय नै हुन्छ ।

खाँडादेवी मन्दिर पुग्न अरु पनि बाटाहरु छन् तर फरक बाटोका फरक स्वाद खाँडादेवी यात्राको विशेषता नै हो । बीपी राजमार्गकै मूल्कोटको झोलुङ्गे पूल तरेर सित्खाहुँदै कच्ची बाटोबाट पनि खाँडादेवी पुग्न सकिन्छ । यहाँबाट जाँदा घना र रमणीय नेवार वस्ती भिरपानीको चिसो पानी चाख्दै महाभारत लेकको चिसो हावाले हम्कदै खाँडादेवी माईको दर्शन गर्दाको आनन्दने बेग्लै छ । त्यस्तै मूल्कोट गैरीपुछारको डप्खाघाटमा रहेको झोलुङ्गे पुल तरेर पनि खाँडादेवीको यात्रालाई पूरा गर्न सकिन्छ । डप्खामा रहेको घना माझी बस्तीको अवलोकन जनजीवन अध्ययन यो बाटोको अलग्गै विशेषता छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट २१ किलोमिटरको यात्रापछि पनि खाँडादेवी पुग्न सकिन्छ ।

गेलुका पहरीहरुले बडादसैंमा फूलपातीको दिन केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दुर, टिका चढाउने गर्दछन् । अहिले गेलुका पहरीले गेलुमै नै खाँडादेवीको मन्दिर स्थापना गरी पूजा चलाई आएका छन् । खाँडादेवीको पूजामा अनियमितता भएपछि दरवारको आदेशमा नै पूजालाई व्यवस्थित गरेको पाइन्छ । गेलुका लालबहादुर पहरीले विक्रम सम्वत् १९९१मा नियमित पूजा व्यवस्थापनको माग राख्दै तत्काली सरकारसँग विन्तीपत्र हालेको लेखोट पाइन्छ । यसले पनि खाँडादेवीको ऐतिहासिक पक्ष र इतिहासलाई जोगाएर राख्ने काम गरेको छ । षाँडादेवीको आसपासमा तीन देवीहरु रहेका छन् । सिद्धदेवी, सिद्धकाली र सिरहदेवीको थानमा पनि पूजाआजा भक्तजनको भक्ति रहेको पाइन्छ । खाँडादेवीको केही तल दुर्गा नदीको रुपमा पुजिने अर्को तीर्थ पनि रहेको छ । त्यहींको जलले दिनहुँ खाँडादेवीलाई नुहाउने गरिन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. खाँडादेवी मन्दिर, मधुसुदन रायमाझी, हिमालय टेलिभिजन