खोकना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Khokana
खोकना
—  गाँउ विकास समिति  —
Dyo Pukhu 01.jpgDyo Pukhu Jatra
Khokana is located in Nepal
Khokana
Khokana
नेपालको नक्सामा खोकना अवस्थित क्षेत्र
निर्देशाङ्क: २७°३८′उत्तर ८५°१७′पूर्व / २७.६४° उत्तर ८५.२९° पूर्व / 27.64; 85.29निर्देशाङ्क: २७°३८′उत्तर ८५°१७′पूर्व / २७.६४° उत्तर ८५.२९° पूर्व / 27.64; 85.29
देश  नेपाल
अञ्चल बागमती
जिल्ला ललितपुर जिल्ला
जनसङ्ख्या (1991)
 - जम्मा ४,२५८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ८ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो। यो बस्ती तोरीको तेलका लागि अति प्रख्यात थियो। खोकनामा झण्डै एक हजार घर छन। यस गाविसको एकदेखि आठ वडासम्मको ठाउँलाई ठूलो खोकना भनिन्छ। नौ नम्बर वडा केहीमा छ, यसलाई सानो खोकना भनिन्छ।

खोकनाबासी दसैंमा किन आराम गर्छन[सम्पादन गर्ने]

दसैंका बेला खोकनाको सबभन्दा ठूलो सिद्धिकाली जात्रा पर्छ। पुरानो बस्तीमा भने दसैं मनाइन्थ्यो रे। नयाँ बस्तीमा सर्नेबित्तिकै त्यो चलन हट्यो। यसका पछाडि ‘तान्त्रिक शक्ति’को हात रहेको उनीहरूको विश्वास छ। रुद्रायणी मन्दिर खोकनाको मध्य भागमा पर्छ। धेरै वर्षअघि महिसासुर नामक दैत्यले देवतालाई निकै दुःख दियो। एक दिन होइन, दुई दिन होइन। सधैं दैत्यहरूले विध्वंस गर्न थालेपछि देवताहरूको बैठक बस्यो। उनीहरूले निर्णय गरे, सबभन्दा पहिला महिसासुर कहाँ छ – पत्ता लगाउने। भैरवले अन्तरध्यान भएर महिसासुरको खोजी गरे, तर सकेनन्। त्यसपछि कुमारले प्रयास गरे। उनले पनि सकेनन्। सिङ्नी-व्याङ्नी पनि असफल भए। नागराजको पनि केही लागेन। गणेश, रुद्रायणी, कुमारी, ब्रह्मायणी, नारायण, काली, वाराही, महालक्ष्मी, हनुमान कसैले पनि महिसासुरलाई खोज्न सकेनन्।त्यसपछि फेरि देवताहरूको बैठक बस्यो। अब के गर्ने? सबैको चिन्ताको विषय यही थियो। उनीहरूले फेरि व्यापक छलफल गरे। उनीहरूले धान भुटेर त्यसको लाभाले मायादेवीको क्षमापूजा गर्ने निर्णय गरे। पूजा गर्न भैरवले महादेवको रूप धारण गरे। काली विष्णु बनिन्, वाराहीले ब्रह्माको रूप लिइन्।

यसरी पूजा गर्दा पनि समस्या समाधान नभएपछि बलि दिने निर्णय भयो। बलि त दिने, तर भोग लिने कसले भन्ने कुरा आयो। रूप फेरेका भैरव, काली र वाराही फेरि आफ्नै स्वरूपमा आए। त्यसमा कुमारी देवतासमेत थपेर चारजना पुर्‍याइयो। पूजा सुरू भयो। राँगा, बोका र हाँसको बलि दिइयो। चारजना देवताले भोग लिए। समस्या समाधान भयो।केही वर्षपछि समस्या फेरि बल्भि्कयो। भोग दिएका जनावर र पक्षी राक्षसहरूले लुटेर खान थाले।

राक्षसहरूको दुःखबाट बच्न बस्ती नै सारियो, अहिलेको खोकनामा। पुरानो बस्ती खोकनाबाट १५ मिनेट दुरीमा छ। बस्ती सार्दा तान्त्रिक हिसाबले देवीलाई पनि नयाँ बस्तीमा सारियो, जुन अहिले सिद्धिकाली रुद्रायणी मन्दिरको नाउँले चिनिन्छ। तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट हेर्दा नयाँ मन्दिरमा बस्न देवी राजी भइन्, तर प्रसाद लिन मानिनन्। त्यसैले भोग नयाँ मन्दिरमा दिए पनि प्रसाद चढाउन पुरानै मन्दिर लगिन्छ। त्यति गरेपछि अहिलेसम्म राक्षसहरूले दुःख दिएका छैनन्।बस्ती सार्दा तान्त्रिकहरूले सिद्धिकाली जात्राको मिति पनि सारे। पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो। बस्ती सरेपछि देवीलाई यो स्वीकार्य भएन। नयाँ देवीलाई मन्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा पर्‍यो। त्यसपछि हामीले दसैं मनाउन भ्याएनौं। खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन्। नाममात्रको दसैं। उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ।

सिद्धिकाली जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरू भई नवमीसम्म चल्छ। यतिखेर उनीहरूलाई दसैंको होइन, सिद्धिकाली जात्राको चटारो छ।परम्पराअनुसार तृतीयाको दिन तीनवटा राँगा बलि दिइन्छ। राँगाको रगत सिफल चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ। चौथीको दिन बाजागाजासाथ ४६ जना देवताको विधिपूर्वक पूजा हुन्छ। पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ। गाउँलेहरू आ-आफ्नो इच्छाले पशु-पक्षी बलि चढाउँछन्। सरकारी पूजा पनि यही दिन हुन्छ। गाविसले यो दिन एउटा राँगा बली दिन्छ। ४६ जना देवतालाई भोज पनि ख्वाउँछ। यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर लगिन्छ।षष्ठीमा ४६ जनै देवताले मन्दिर घुम्छन्। मूर्ति ल्याएर गाउँको चोकचोक घुमाइन्छ। सप्तमीमा नाच लिला हुन्छ भने अष्टमीको दिन रुद्रायणी मन्दिरमा मूर्ति स्थापना गरिन्छ। नवमीमा नाचका सामान, पोसाक र गहना थन्क्याइन्छ। मुकुट मन्दिरमा राखिन्छ, अनि दशमीको दिन पूर्ण विश्राम लिइन्छ।जात्राका बेला उनीहरू आफ्ना सबै नातेदारलाई डाकेर भोज गर्छन्। हुन त यसैलाई दसैं भन्दा पनि हुन्छ। तर, अरूजस्तो उनीहरू टिकाजमरा लगाउँदैनन्। टाढा रहेका आफन्तकहाँ टिका थाप्न जाँदैनन्, न टिका लगाउन कसैलाई घरमा निम्तो दिन्छन्।किन भने जात्राभरिको थकान दशमीको दिन मेट्छन,आराम गर्छन|त्यस दिन देवताको टिका लगाउँछन|


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]


समाज
धर्म
संस्कृति
भूगोल

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]