सामग्रीमा जानुहोस्

बुङमती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बुङ्गमतिबाट अनुप्रेषित)
बुङमती
पूर्व गाविस
बुङमती is located in बागमती प्रदेश
बुङमती
नेपालको नक्सामा बुङमतीको अवस्थिति
बुङमती is located in नेपाल
बुङमती
बुङमती (नेपाल)
निर्देशाङ्क: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E / 27.62; 85.37निर्देशाङ्कहरू: २७°३७′N ८५°२२′E / २७.६२°N ८५.३७°E / 27.62; 85.37
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
जनसङ्ख्या
 • जम्मा५,९६६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बुङमती नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९६६ रहेको थियो जसमध्ये २९८१ पुरुष र २९८५ महिला रहेका थिए भने यहाँ १३०४ घरधुरी रहेको थियो।[१][२]

इतिहास[सम्पादन गर्नुहोस्]

बुङ्मती खोकनाको पूर्वमा फुल्चोकी फुचोमाजु डाँडा र नख्खु खोला पश्चिममा चम्पादेवी ध्यानाचो र बाग्मतीबीचको ऐतिहासिक बस्ती बुङ्मती खोकना ललितपुर चक्रपथबाट ८ कि।मि। दक्षिणमा रहेको छ ।

असमान खाल्टा ढिस्का र रमणीय फाँटमा अवस्थित बुङ्मति र खोकना राजा अंशुवर्माको राज्यकालदेखि चर्चामा आएको क्षेत्र हो । नेपालभाषामा ँबुङ्’ भन्नाले खेत ग भन्नाले अखडा र मतीको अर्थ वाला खेतैखेत भएको क्षेत्र नै कालान्तरमा बुङ्मती हुन गएको हो भन्ने भनाइ छ । ऐतिहासिक किम्बदन्तीअनुसार राजा नरेन्द्र देवको राज्यकाल इ.सं. ६४३-६९०मा नेपाल मण्डल काठमाडौँ उपत्यकामा १२ वर्षसम्म पानी नपरी खडेरी र अनिकालबाट हाहाकार मच्चिन थालेछ । कान्तिपुर दे बहालका प्रख्यात तान्त्रिक बन्धुदत्त आचार्यसँग सल्लाह गर्दा उनले भनेछन्- गुरु गोरखनाथ रिसाएर नौ नागको आसन बाँधी बसिदिएका कारण यस्तो अनिकाल निम्त्याउन पानी नपरेको हो यसका लागि गोरखनाथका पनि गुरु मच्छिन्द्रनाथलाई कामरूपकामाक्षा आसामबाट नेपाल ल्याउनुपर्छ। सोही सल्लाहअनुसार राजा नरेन्द्रदेव बन्धुदत्त आचार्य र ललित ज्यापू तण्डुकार तीन जना कामरूपकामाक्ष आसाम पुगी मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा विराजमान गराएको भन्ने आख्यान पाइन्छ ।

मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरुको सम्मानमा गोरखनाथ उठिदिँदा नाग फुक्का भई सहकाल ल्याउने गरी वर्षा भएको कारण बंङ्मतीको बुंगद्योलाई सहकालका देवता भनिने परम्परा बस्न पुगेको बताइन्छ । बुङ्मती देशमा मानव बस्ती बसाउन काठमाडौँ ललितपुर र भक्तपुरबाट एक-एक सय गरी जम्मा तीन सय परिवार ल्याइएको थियो । हाल हजारौं जनसङ्ख्या पुगिसकेको बुङ्मती क्षेत्रफलको हिसाबले सानो छ। सानै भए पनि मच्छिबहाल मुननि तःननि वरेननि चाहलननि गुठननि मोंखा इखा बोंछ चाछें झ्वछें पदमपुर अनरापुर दिपङ्कर बुद्ध विहार द्यो क्यवः बै क्यवः नाय क्यवः झुमु खाझ पाउली देगचा जाहोलाखेल नाउँका टोल छन् । त्यसैगरी यहाँ चुनिखेल सतः टोल कोटालाछी ताफः तातु आगंतुं नायतुं नःपुखु देपुखु खाः पुखु द्योखा पिने पुखु चोगाँ न्ह्वथा खान गाः स्वेंचा फुसिदोल ख्वेमल चाँहमूल लगायतका टोल पनि यहीं छन्। यति धेरै टोल अटाएकॊ बुङ्मतीलाई टोलैटोलको नगर भन्दा फरक पर्दैन ।

भृङ्गपाद रातो मच्छिन्द्रनाथ बुंगद्यः मुलुककै प्रथम बुद्ध सम्मेलन भएको ऐतिहासिक बुङ्मतीमा रातो मच्छिन्द्रनाथको शिखरशैलीको मन्दिर ठडिएको छ । अवलोकितेश्वर करुणामय भृङ्गपात मच्वहनजस्ता अनेकन नाउँबाट पूजिने बुंगद्यः रातो मच्छिन्द्रनाथ मुगलशैलीमा नौवटा गजुर २२ वटा प्रदक्षिणा ढुंगेस्तम्भ र गजुरमा शंख चक्र गदा पद्मसहित छन् । मूल देवता अवलोकितेश्वर तोरणमा बोधिसत्व माजुश्री बुंगद्यः रातो मच्छिन्द्रनाथ राजा नरेन्द्रदेवको कार्यकालमा निर्माण भएको हो । रातो मच्छिन्द्रनाथलाई राजा श्रीनिवास मल्लले व्यवस्थित ढंगमा पुनःनिमार्ण गराएको पनि बताइन्छ । नेपाल सम्पदा संघले यस क्षेत्रमा ने.सं. ७ सय ९५ ८ सय ४४ र ८ सय ९१ का अभिलेख प्राप्त गरेको छ । श्रीनिवास मल्लले पाटन तःबहालमा अर्को तीनतल्ले पेगोडाशैलीको मन्दिर निर्माण गराइ छ-छ महिनामा पालैपालो बुङ्मती र पाटनमा मच्छिन्द्रनाथको देवता राख्ने र १२ वर्षको एकपल्ट मात्र बुङ्मतीबाट रथारोहण गराउने प्रबन्ध गरेको बताइन्छ । भगवान् मच्छिन्द्रनाथकै हस्तलिखित मानिने वीर पुस्तकालयमा रहेको कौल ज्ञान निर्णयमा मच्छिन्द्रनाथलाई कौल सम्प्रदायको बोधिसत्व भएको उल्लेख गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति