गुरूप्रसाद मैनाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गुरूप्रसाद मैनाली
गुरुप्रसाद मैनालीको चित्र
जन्मनानी बाबु
वि.सं. १९५७ साल भाद्र २३
धनकुटा जिल्ला,नेपाल
मृत्युवि.सं. २०२८ साल जेठ २५
पशुपती आर्यघाट,काठमाडौं, नेपाल
साहित्यिक नामगुरूप्रसाद मैनाली
पेशाकथाकार, न्यायाधीश
राष्ट्रियतानेपाली
कालपंञ्चायत काल
विधाकथा
विषयहरूगाउँले जिवन, सामाजिक रुढिवाद र अन्धविश्वास
उल्लेखनीय कार्यहरूनासो कथासंग्रह

गुरूप्रसाद मैनानी (जन्म:वि.सं. १९५७, भाद्र शुक्ल चतुर्दशी, मृत्यु:वि.सं. २०२८ साल जेठ ५)[१] नेपाली भाषाका कथाकार थिए ।

जन्म[सम्पादन गर्ने]

उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो। उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो। उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो।

शिक्षा[सम्पादन गर्ने]

गुरूप्रसादले धेरै पढ्न सकेनन्। बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन। त्यसैले पहिले घरमै उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे। अनि स्रेस्ता पाठशालामा पढे। त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्।

जीवनयापन(सेवा)[सम्पादन गर्ने]

मैनालीले श्रेस्ता पाठशालाको पढाइ सकेपछि जागीर खाए। न्यायसेवामा उनको जागीर थियो। नौसिन्दा पदबाट मासिक रु. ११।- तलब पाउने गरी उनले जागीर खान थालेका थिए। पछि उनी विचारी, डिठ्ठा र तहबिलदार भए। त्यसपछि फेरि बढुवा भएर उनी न्यायाधीशसमेत भए। सामान्य घरको र थोरै मात्र पढेको व्यक्तिले न्यायाधीश हुनु भनेको चानचुने कुरा थिएन। राणाहरूको शासन भएको बेलामा न्यायाधीश भएकाले राणाहरूका भित्री कुरा पनि उनले थाहा पाए। न्यायाधीश भएका बेलामा गुरूप्रसाद मैनालीले धेरैवटा घरायसी मुद्दा हेर्नुपर्‍यो। त्यस्ता मुद्दाहरू हेर्दा-हेर्दा उनले नेपालका गाउँघरमा के-कस्तो स्थिति रहेछ भनेर थाहा पाए। उनी गाउँगाउँमा डुलेका पनि थिए। उनले गाउँघरमा गरीबहरू देखे, मान्छेहरू किन गरीब भएका रहेछन् भनेर थाहा पाए। लोग्नेस्वास्नीको सम्बन्ध, छिमेकी-छिमेकीको सम्बन्ध आदि धेरै कुरा उनले देखे। कैयौँ घटना त अत्यन्त मार्मिक थिए। त्यस्ता मार्मिक घटना थाहा पाएकाले तिनै घटनाहरूबाट उनलाई कथा लेख्ने प्रेरणा मिल्यो। गुरूप्रसाद मैनालीलाई त्यस्ता घटनाका विषयमा कथा लेख्न पाए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्न थाल्यो। त्यसपछि धेरै सोचविचार गरेर उनी कथा लेख्न थाले। उनले गाउँघरमा हुने शब्द र गाउँघरमा घट्ने घटनाहरू राखेर कथाहरू लेखे। उनले नेपाल र भारतका थुप्रै ठाउँ घुमेका थिए। त्यसैले गाउँघरमा भएका सानातिना घटना पनि उनले थाहा पाएका थिए। सानातिना घटनाले पनि उनको मनमा चस्स बिझाउँथ्यो। त्यसैले उनले ती घटनालाई कथामा उतारे। भारतमा गएर काम गर्ने नेपालीहरूको दुःख-दर्दका घटनाका विषयमा पनि उनले कथा लेखे।

साहित्य यात्रा[सम्पादन गर्ने]

गुरूप्रसाद मैनालीले पहिलो पटक लेखेको कथा 'नासो' हो। त्यो कथा सर्वप्रथम १९९२ सालमा 'शारदा' भन्ने साहित्यिक प्रत्रिकामा छापियो। त्यो कथा अत्यन्त प्रसिद्ध भयो। सबैतिरबाट उनलाई 'फेरि यस्तै कथा लेख्नुपर्छ' भन्न थालियो। त्यसभन्दा पहिले सामान्य घरपरिवारका सामान्य घटनालाई कथा बनाएर लेख्ने चलन नै थिएन। 'नासो' कथा छापिएपछि नयाँ चलन चल्यो र त्यो नयाँ चलन चलाउने व्यक्ति कथाकार गुरूप्रसाद मैनाली भए। त्यसपछि अरूले लेखेका सामान्य घटनाका कथाहरू उनकै सिको गरेर लेखिएका हुन्। 'नासो' कथालाई सबैले अत्यन्त राम्रो मानेपछि गुरूप्रसाद मैनालीले अरू कथाहरू पनि लेखे। 'परालको आगो', 'बिदा', 'शहीद' आदि शीर्षकका उनका कथाहरू पनि धेरै चर्चित भए। ती कथाहरू योभन्दा ऊ राम्रो र ऊभन्दा त्यो राम्रो भन्ने खालका भए, अथवा सम्पूर्ण कथाहरू एकदमै राम्रा ठहरिए। गुरूप्रसाद मैनालीले कथा लेखेर पत्रिकामा त छपाए, तर उनको पुस्तक भने छापिएको थिएन। पछि वि.सं. २०२० सालमा प्रसिद्ध समालोचक डा. तारानाथ शर्माले मैनालीका ११ वटा फुटकर कथा जम्मा पारे, अनि आफू सम्पादक बनेर 'नासो' नामको कथासङ्ग्रह निकालिदिए। गुरूप्रसाद मैनालीका छरिएका कथा एउटै पुस्तकमा पाएपछि नेपाली साहित्यका पाठकहरू पनि अत्यन्त खुसी भए। जागीर छोडेपछि मैनाली काठमाडौंमा बसोबास गर्न थाले। उनी काठमाडौंमा नै भएको समयमा वि.सं. २०२८ साल जेठ २५ गते उनको निधन भयो। उनको निधन भएपछि उनीजस्ता नेपालका ठूला कथाकारलाई नेपालले सदाका लागि गुमाउनुपर्‍यो। गुरूप्रसाद मैनालीले कथाबाहेक हास्यव्यङ्ग्यविधामा केही लेख तथा फुटकर निबन्ध पनि प्रकाशित गराएका थिए। तर ती लेख-निबन्ध पुस्तकका रूपमा निस्किएका छैनन्।‌

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

गुरूप्रसाद मैनालीले बाँचुन्जेल कुनै पुरस्कार, सम्मान र पदकहरू पाएनन्। उनको मृत्यु भएको धेरै वर्षपछि उनको नाउँबाट 'साहित्यिक पत्रकार सङ्घ' नामक साहित्यिक संस्थाले 'मैनाली कथा पुरस्कार'को स्थापना गरेको छ। गुरूप्रसाद मैनाली नेपाली साहित्यका लोकप्रिय कथाकार हुन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्ने]