महाकाव्यकार माघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

संस्कृत भाषाका श्रेष्ठ कविहरूमा महाकाव्यकार 'माघ'को नाम प्रतिष्ठापित भएको छ । उनको समय लगभग ६७५ ई. निर्धारित गरिएको पाइन्छ । उनको सुप्रसिद्ध रचना ‘शिशुपालवध’ नामक महाकाव्य हो । यसको कथा पनि किरातार्जुनीयम्झैं महाभारतबाट लिइएको छ । यस ग्रन्थमा युधिष्ठिरद्वारा गरिएको राजसूय यज्ञका बेला कृष्णद्वारा चेदि नरेश शिशुपालको वध गरेका कथाको काव्यात्मक वर्णन गरिएको छ । माघ कवि वैष्णव मतानुयायी भएकाले इनको इच्छा पनि अफ्नो वैष्णव सम्प्रदायलाई काव्यका माध्यमबाट शैव मतावलम्बी महाकाव्यकार भारविभन्दा अग्रगण्य हुनु थियो । यसका लागि उनले धेरै प्रयत्न पनि गरेको पाइन्छ । उनले आफ्ना ग्रन्थको रचना किरातार्जुनीयम्को पद्धति अनुसार गरेका छन् । भारविले जस्तै उनले पनि 'शिशुपालवध'को आरम्भ ‘श्री’ शब्दबाट नै गरेका छन् । [१]

काव्यशैलीका आचार्य[सम्पादन गर्ने]

महाकाव्यकार माघ अलंकृत काव्य शैलीका आचार्यका रूपमा प्रतिष्ठापित छन् । उनले कुशलतापूर्वक अलंकारद्वारा सुसज्जित पदहरूको प्रयोग गरेका छन् । उनी प्राकृतिक दृश्यहरूको वर्णन गर्न पनि दक्ष रहेका पाइन्छन् । पूर्वीय आचार्यहरूले माघलाई उपमामा कालिदास सरह, अर्थगौरवमा महाकाव्यकार भारवि सरह र पदलालित्यमा दण्डी सरह मान्दै भनेका छन्र ः

उपमा कालिदासस्य भावेरर्थगौरवम्

दण्डिनः पदलालित्यं माघे सन्ति त्रयो गुणाः ।।

बहुमुखी प्रतिभाका धनी[सम्पादन गर्ने]

माघ कवि नवीन चमत्कारिक उपमाहरूको सृजना गर्न निपुण देखिन्छन् । उनी व्याकरण, दर्शन, राजनीति, काव्यशास्त्र, संगीत आदि सबै विषयका प्रकाण्ड विद्वान् थिए । उनका ग्रन्थमा उपर्युक्त सबै विशेषताहरू यथा यथा स्थानमा रहेको पाइन्छ। उनीमा व्याकरण सम्बन्धी ज्ञान अगाध थियो । पदहरूको रचनामा उनले नयाँ-नयाँ शब्दहरूको चयन गरेका छन् । उनको काव्यलाई शब्दहरूको विश्वकोश मान्न सकिन्छ । माघ कविका विषयमा यो उक्ति प्रसिद्ध छ उनको कृति शिशुपालबधको नबौं सर्ग समाप्तिपछि कुनै नयाँ शब्द बाँकी रहेको थिएन भन्ने संस्कृत विद्वान्हरूको भनाइ रहेको छ । भनिएको छ - नवसर्ग गते माघे नवशब्दो नविद्यते । उनको शब्द विन्यास विद्वत्तापूर्ण हुनुका साथै मधुर एवं सुन्दर पनि थियो । माघका कवितामा ललित विन्यास पनि अध्ययन गर्न सकिन्छ । यसरी हेर्दा माघ कवि बहुमुखी प्रतिभाका धनी कविका रूपमा देखिन्छन् । उनीभन्दा पछिका कविहरूले उनको अलङ्कृत शैलीको अनुकरण गरेको पनि पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य सन्दर्भ[सम्पादन गर्ने]

[१] [२]