सामग्रीमा जानुहोस्

सन् २००७–२००८ को वित्तीय सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २००७-२००८ को वित्तीय सङ्कट एक गम्भीर विश्वव्यापी वित्तीय सङ्कट थियो। खराब कर्जाको कारण बैङ्कहरूले अत्यधिक जोखिम लिँदा संयुक्त राज्य अमेरिकामा यो सङ्कट १५ सेप्टेम्बर २००८ मा लेहम्यान ब्रदर्स दामासाही भएसँगै र अन्तर्राष्ट्रिय बैङ्किङ सङ्कटसँगै चरम शिखरमा पुगेको थियो। यो सङ्कटले महान आर्थिक शिथिलता जस्तो विश्वव्यापी आर्थिक शिथिलता निम्त्याएको थियो जुन कोरोनाभाइरसका कारण परेको आर्थिक शिथिलता भन्दा अघि महामन्दी पछि कै ठूलो आर्थिक मन्दी थियो। [] [] [] त्यसपछस सन् २००९ को उत्तरार्धमा युनानमा र सन् २००८–२०११ आइसल्यान्डेेेली वित्तीय सङ्कट सुरु भएसँगै युरोपमा कर्जा सङ्कट देखिन थालेको थियो।

घर-जग्गा बबलमा वृद्धि

[सम्पादन गर्नुहोस्]
१९६३ र २००८ को बीच संयुक्त राज्य अमेरिकामा बिक्री गरिएका नयाँ घरको मध्यिका र औसत बिक्री मूल्य दर्शाउने ग्राफ.(नोट: यो मुद्रास्फीतिको लागि समायोजित छैन).[]

१९९७ र २००६ बीच अमेरिकी घरको मूल्यमा १२४% वृद्धि भयो। [] २००१ मा समाप्त हुने दुइ दशकको समयमा, घरको राष्ट्रिय माध्यिक मूल्य औसत घरेलू आय भन्दा २.९ देखि ३.१ रह्यो । यो अनुपात २००४ मा ४.० र २००६ मा ४.६ सम्म पुग्यो। । [] यो आवासीय बुमको परिणामस्वरूप घर जग्गाको कयौं मालिकहरूले आफ्नो घरको लागि न्यूनतम ब्याज दरमा वित्त व्यवस्थापन गरे, वा मूल्यवृद्धि द्वारा सुरक्षित द्वितीय बन्धकको साथ उपभोक्ताको व्ययमा वित्त व्यवस्थापन गरे।

यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो। त्यसैले लगानीकर्ताकरूको ध्यान अमेरिकाको घर-जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले। अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।

घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे। इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहणमा मद्दत गर्न, डेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदान गर्छ । इन्भेस्टमेन्ट बैंकहरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( Collateralized debt obligation, CDO) राखिएको थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए।[] क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।[]) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे। सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ। यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाई बिक्री गरिरहेको थियो। भने इन्भेस्टमेन्ट बैंक ती ऋणलाई जोडेर सिडिओ बनाएर लगानीकर्ताहरूलाई बेचिरहेको थियो। यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकले ऋणको जोखिम सिडिओ लगानीकर्तालाई हस्तान्तरण गरेको थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्ये धेरै सिडिओलाई "ट्रिपल ए" (एएए) रेटिङ प्रदान गरे। एएए रेटिङ सबैभन्दा उच्च रेटिङ हो, र यो रेटिङ पाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओमा झुम्मिए। सिडिओको बढ्दो माग र आकर्षण देखेर इन्भेस्टमेन्ट बैंक बैंकहरू सँग अझै धेरै ऋणको माग गर्न थाले। तर बैंकले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाई आवास ऋण दिइसकेका थिए। त्यसैले बैंकले ती मानिस हरूलाई पनि आवास ऋण दिन थाले जसले ऋण चुकाउन सक्छ्न् भन्ने कुनै निश्चितता थिए। यस्तो असुरक्षित स्तरको ऋणलाई सबप्राइम लोन भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैंक बाट धेरै कमिसन पाउने चक्करमा बैंकले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो। बैंक यी सबप्राइम लोन इन्भेस्टमेन्ट बैंकलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैंक यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो। "एएए रेटिङ"को कारणले ती सबप्राइम लोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।

यसरी बैंकले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैंकले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैंकहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए। बैंक, इन्भेस्टमेन्ट बैंक को साथसाथै क्रेडिट रेटिङ एजेन्सी पनि निकै मुनाफा कमाइरहेका थिए। मुडिज (Moody's Investors Service ), एक अमेरिकी क्रेडिट रेटिङ एजेन्सी कम्पनी थियो, को मुनाफा २००० देखी २००७ को बिचमा ४ गुणाले बृद्धि भएको थियो । बैंक, इन्भेस्टमेन्ट बैंक र क्रेडिट रेटिङ एजेन्सी को मिलिभगतको काम २००८ को सुरुवातसम्म यसरी नै चलिरह्यो ।

एआइ जी (AIG American International Group ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ। त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ। त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो। र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो। सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले। सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे। जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प्रिमियम रकम बुझाउनु पर्थ्यो । यदि सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो। सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मचारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजीले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा कहिल्यै सोचेन ।

बैंकले दिएको धेरैजसो ऋण समायोज्य दरको ऋण थियो। समायोज्य दरको ऋणको ब्याजदर सुरुवातको केहि समय त निकै न्युन हुन्थ्यो तर केहि वर्ष पछी निकै धेरै हुन्छ। धेरै जसो सबप्राइम लोन ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र बैंकले पनि यसको बारेमा केहि जानकारी दिएको थिएन। जो व्यक्तिले समायोज्य दरमा सबप्राइम लोन लिएका थिए, उनीहरूले सुरुमा त निकै कम ब्याज तिर्नुपर्‍यो तर केहि वर्ष पछी (३-४ वर्षपछि) खासगरी २००७ पछी उनीहरूले लिएको ऋणको ब्याज निकै बढी भयो। धेरै जसो ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र ब्याजदर बढ्ने बित्तिकै जसले सबप्राइम लोन लिएका थिए, उनीहरूलाई बढेको यो ब्याज तिर्न निकै मुस्किल पर्न थाल्यो र उनीहरूले लोन डिफल्ट गर्न सुरु गरे अर्थात उनीहरूले ऋण चुकाउन बन्द गरे।

तब बैंकहरूले धितोको घर बेचेर त्यो ऋण असुल गर्न थाले। अर्थात बैंकहरूले आफ्नो पैसा ती घरहरू बेचेर उठाउन सुरु गरे। यो यसकारणले भइरहेको थियो किनभने बैंकले उनीहरूको जाँच बिना र उनीहरूको ऋण तिर्न सक्ने क्षमता बिना नै उनीहरूलाई ऋण प्रदान गरिरहेको थियो। धेरै जसो ऋणीहरूसँग त लगातारको कमाइ (ढुक्कको कमाइ) पनि थिएन। तैपनि बैंकहरूले उनीहरूलाई आवास ऋण दिइरहेको थियो। यहाँ बैंकहरूले अर्को गल्ती पनि गरे। आवास खरिदको लागि ऋणीहरूले सबै पैसा बैंकबाट ऋण लिएका थिए। २००५ मा ५०% ऋणीहरूले घर किन्न आफ्नो तर्फबाट केही लगानी गरेका थिएनन् र बैंकबाट नै सबै पैसा राखेका थिए । जबकि सामान्यतया घर किन्नको लागि ऋणीले केही पैसा आफ्नो तर्फबाट राख्नु पर्थ्यो र बाँकी पैसा बैंकले ऋण दिने गर्थ्यो।

अब ब्याजदरमा वृद्धि भएपछि लोन डिफल्ट गर्ने अथवा ऋण नचुकाउने ऋणीहरूको संख्य बिस्तारै बढ्दै गयो। तब बैंकले सबै घरलाई लिलामीमा बेच्न थाल्यो। डिफल्ट गर्नेहरू धेरै भएकाले बैंकले धेरै घरहरू लिलामीको लागि निकाल्यो। २००७-०८ मा ब्याजदर पनि ५% मा आइसकेको थियो। बैंकले धेरै मानिसहरूलाई ऋण दिइसकेको थियो। त्यसैले लिलामी निकालिएको ती घरको लागि कोही ग्राहक भेटिएनन्। जसको कारण घरको मूल्य निकै घट्ययो र निकै कम स्तरमा आयो। जो मानिसहरूले घर किन्नको लागि ऋण लिएका थिए उनीहरूको ऋण घरको भाउ भन्दा निकै धेरै थियो। उनीहरूले जब घर खरिद गरेका थिए, घरको भाउ निकै उच्च थियो तर अब घर-जग्गामा निकै गिरावट देखिएको थियो। सेप्टेम्बर २००८ सम्ममा , औसत अमेरिकी आवास मूल्य मध्य २००६ को उच्च बिन्दुबाट २० % भन्दा धेरैले घटेको थियो।[][१०] त्यसैले आवास लोन डिफल्ट गर्ने ऋणीहरूको संख्या बढ्दै गयो। यो डिफल्टको कारणले बैंकमा पैसा आउन बन्द भयो

आर्थिक पूर्वानुमानको भूमिका

[सम्पादन गर्नुहोस्]

मूलधारका अर्थशास्त्रीहरूले अर्थतन्त्रको ठूलो नियमनको बारेमा कुरा गरे तर वित्तीय संकटको व्यापक रूपमा पूर्वानुमान गरेका थिएनन्। असंख्य गैरशास्त्रीय अर्थशास्त्रीहरूले विभिन्न तर्कहरूका साथ संकटको भविष्यवाणी गरेका थिए। आफ्नो शोधमा डर्क बेजेमरले[११] संकट १२ अर्थशास्त्रीहरू [डीन बेकर (अमेरिका), विन गोडले (अमेरिका), फ्रेड ह्यारिसन (युके), माइकल हडसन (अमेरिका), एरिक जानजेन (अमेरिका) , स्टीभ किन (अष्ट्रेलिया), ज्याकब ब्रोसनर म्याडसेन र जेन्स कजायर सोरेन्सन (डेनमार्क), कर्ट रिचबेकर (अमेरिका), नुरिएल रुबिनी (अमेरिका), पिटर शिफ (अमेरिका) र रोबर्ट शिलर (अमेरिका)] लाई संकटको भविष्यवाणी गर्ने श्रेय दिएका छ्न्। अन्य विज्ञहरूले पनि आर्थिक संकटको संकेत गरेका थिए।[१२][१३][१४]

विश्व अर्थतन्त्रमा प्रभाव

[सम्पादन गर्नुहोस्]

अमेरिकामा प्रभाव

[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकामा श्रमिक र सम्पत्तिद्वारा उत्पादित वस्तु तथा सेवाको निर्यात सन् २००८ को चौथो त्रैमास र सन् २००९ को पहिलो त्रैमासमा ६ प्रतिशतको वार्षिक दरले गिरावट हुन पुगेको थियो। [१५] अमेरिकामा बेरोजगारी दर अक्टोबर २००९ मा १०.२% सम्म पुगेको थियो जुन सन् १९८३ यताकै उच्चतम बिन्दु थियो। यो सङ्कट पूर्वको स्थिति भन्दा दोब्बर थियो। प्रति सप्ताह कामको औसत घण्टा ३३ सम्म घट्न पुगेको थियो जुन सन् १९६४ देखि सरकारद्वारा तथ्याङ्क सङ्ग्रह आरम्भ गरेपछिको न्यूनतम विन्दु थियो।[१६][१७]

वैश्विक प्रभावहरू

[सम्पादन गर्नुहोस्]

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। सबैभन्दा ठूलो अर्थतन्त्रमा असर परेपछि यससँग जोडिएका सबै अर्थतन्त्रहरू प्रत्यक्ष -अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए। सन् २००८ को वित्तीय सङ्कटले सम्पूर्ण विश्वमा असर पारेको र यसको फलस्वरूप विश्वव्यापी आर्थिक मन्दीको सुरुवात भएको थियो।

अर्थशास्त्रीहरु द्वारा पूर्वानुमान

[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रीहरू, विशेष गरी मूलधारको अर्थशास्त्रका, प्रायः संकटको भविष्यवाणी गर्न असफल भए।[१८]

त्यस्ता अन्य अर्थशास्त्रीहरू थिए जसले आसन्न संकटको चेतावनी दिएका थिए।[१९]

भारतीय रिजर्भ बैंकका पूर्व गभर्नर रघुराम राजनले सन् २००५ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री हुँदा संकटको भविष्यवाणी गरेका थिए। २००५ मा, यूएस फेडरल रिजर्भको अध्यक्षको रूपमा सेवानिवृत्त हुन लागेका एलन ग्रीनस्प्यानलाई सम्मान गर्ने समारोहमा, राजनले वित्तीय क्षेत्रको आलोचना गर्ने विवादास्पद पेपर प्रस्तुत गरेका थिए।[२०] त्यो कागजमा, राजनले "विपत्ति आउन सक्छ" भनेर तर्क गरेका थिए।[२१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gopinath, Gita (अप्रिल १४, २०२०), "The Great Lockdown: Worst Economic Downturn Since the Great Depression", अन्तर्राष्ट्रिय मुद्रा कोष
  2. Eigner, Peter; Umlauft, Thomas S. (जुलाई १, २०१५), "The Great Depression(s) of 1929–1933 and 2007–2009? Parallels, Differences and Policy Lessons", Hungarian Academy of Science, एसएसआरएन 2612243
  3. Eichengreen; O'Rourke (मार्च ८, २०१०), "A tale of two depressions: What do the new data tell us?", VoxEU.org
  4. "संग्रहीत प्रति", मूलबाट २० मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०
  5. "CSI: credit crunch | Economist.com", २००८, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २००८
  6. Ben Steverman and David Bogoslaw (अक्टोबर १८, २००८), "The Financial Crisis Blame Game - BusinessWeek", Businessweek.com, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २००८
  7. "The Giant Pool of Money", This American Life, मे ९, २००८।
  8. "The Giant Pool of Money", This American Life, मे ९, २००८।
  9. Clifford, Gomez (नोभेम्बर ३०, २०११), Banking and Finance: Theory, Law and Practice, PHI Learning, आइएसबिएन 9788120342378
  10. "A Helping Hand to Homeowners", The Economist, अक्टोबर २३, २००८।
  11. Bezemer, Dirk J (जून २००९), "“No One Saw This Coming”: Understanding Financial Crisis Through Accounting Models", Munich Personal RePEc Archive, मूलबाट २५ दिसंबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टूबर २००९
  12. "अमेरिका में मंदी" द इकोनॉमिस्ट, 15 नवम्बर 2007.
  13. रिचर्ड बर्नर, "परफ़ेक्ट स्टॉर्म फ़ॉर द अमेरिकन कन्ज़्यूमर", मॉर्गन स्टेनली ग्लोबल इकोनॉमिक फ़ोरम, 12 नवम्बर 2007.
  14. कबीर चिब्बर, "गोल्डमैन सीज़ सबप्राइम कटिंग $2 ट्रिलियन इन लेंडिंग", Bloomberg.com 16 नवम्बर 2007.
  15. "BEA Press Releases", मूलबाट २९ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०
  16. "BLS-Historical Unemployment Rate Table", मूलबाट २५ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जून २०२०
  17. "Business Week-Unemployed lose with hour and wage cuts", मूलबाट २३ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०
  18. Coy, Peter (अप्रिल १६, २००९), "What Good Are Economists Anyway?", Bloomberg Businessweek
  19. "Recession in America", The Economist, नोभेम्बर १५, २००७।
  20. Rajan, Raghuram (नोभेम्बर २००५), "Has Financial Development Made the World Riskier?", NBER Working Paper No. 11728, डिओआई:10.3386/w11728
  21. Lahart, Justin (जनवरी २, २००९), "Mr Rajan Was Unpopular (But Prescient) at Greenspan Party", The Wall Street Journal

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]