सामग्रीमा जानुहोस्

महामन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिकागोमा एक सुप किचेनको बाहिर लामबद्ध बेरोजगार मानिसहरू
अमेरिकाको सन् १९१० देखि १९६० सम्मको वार्षिक कुल ग्राहस्थ उत्पादन, महामन्दीको वर्ष (सन् १९२९-१९३९)मा प्रकाशित
अमेरिकाको सन् १९१० देखि १९६० सम्मको बेरोजगारी दर

महामन्दी वा भीषण मन्दी (सन् १९२९-१९३९) को नामले चिनिने यो घटना विश्वव्यापी आर्थिक मन्दी थियो। यो सन् १९२९ मा सुरु हुँदै सन् १९३९-४० सम्म जारी रहेको थियो। यो बीसौँ शताब्दीको सबैभन्दा लामो, गहिरो र विस्तारित मन्दी थियो।[] यो यो मन्दी विश्वको आधुनिक इतिहासको सबैभन्दा ठूलो र सर्वाधिक बढी फैलिएको मन्दी थियो। पुन: प्राप्त गर्न धेरै वर्ष लागेको यस घटनाले सारा विश्वमा विनाशनै ल्याएको थियो।[] यसले ठूलो समष्टिगत व्यापक आर्थिक र राजनीतिक प्रभावहरू पारेको थियो। यसले फासीवादलाई वृद्धि गराउँदै अन्ततः दोस्रो विश्वयुद्धसम्म पुर्‍याएको थियो। यद्यपि यो युद्ध विश्वलाई महामन्दीबाट निकाल्ने साधन पनि बनेको थियो। यही अवधिको घटनाप्रति साहित्यकार र चलचित्र निर्माताहरू निकै आकर्षित हुँदै यस विषयमा धेरै पुस्तकहरू लेखिएका छन्। यस विषयसँग सम्बन्धि धेरै चलचित्रहरू बनेका थिए भने धेरैले लोकप्रियता पनि हासिल गर्न सफल भएका थिए।

महामन्दीको समयरेखा

[सम्पादन गर्नुहोस्]

२ अक्टोबर १९२९ मा अमेरिकी सेयर बजारमा गिरावटबाट यसको प्रारम्भ भएको थियो भने सन् १९३० देखि १९३३ को बीच यो विश्वको सबै प्रमुख देशहरूमा फैलिएको थियो।

सन् १९२९ मा सुरु भएको यस मन्दी सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएपछि नियन्त्रणमा आएको थियो।

विकासमा प्रभाव

[सम्पादन गर्नुहोस्]

सन् १९३० को दसकको महामन्दी विश्वको अहिलेसम्मको सर्वाधिक विध्वंसक आर्थिक त्रासदी मानिन्छ जसको कारणले लाखौँ मानिसको जीवन नरकमा परिणत गरेको थियो। सन् १९२९ अक्टोबर २९ मङ्गलबारको दिन अमेरिकामा सेयर मार्केटमा गिरावट आएलगत्तै यसको सुरुवात भएको थियो। यस दिनलाई कालो मङ्गलबार पनि भनिन्छ। यसपछि अर्को दशकसम्म विश्वको धेरै देशहरूमा आर्थिक गतिविधि रोकिँँदै अन्तर्राष्ट्रिय व्यापारको पनि अन्त्य भएको थियो।

मागमा भारी गिरावट आएपछि औद्योगिक विकासको चक्का अवरुद्ध भएको थियो भने लाखौँ मानिसहरूले आफ्नो जागिर गुमाएका थिए। कृषि उत्पादनमा पनि ६०% सम्म कमी आएको थियो। एक दशकसम्म हाहाकार मच्चाएपछि दोस्रो विश्वयुद्धको सुरुवातको साथ यसको प्रभाव कम हुन थालेको थियो।

महामन्दीको वास्तविक कारणहरू विवादित छन् र यसलाई विश्वव्यापी र राष्ट्रिय दुवै घटनाहरूमा पत्ता लगाउन सकिन्छ, तर यसको तत्काल उत्पत्तिलाई अमेरिकी अर्थतन्त्रको सन्दर्भमा सबैभन्दा सहज रूपमा जाँच गर्न सकिन्छ, जहाँबाट प्रारम्भिक संकट विश्वको बाँकी भागमा फैलिएको थियो।[]

प्रथम विश्वयुद्ध पछि, १९२० को दशकले संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपमा पर्याप्त सम्पत्ति ल्यायो।[] सुरुमा, १९२९ वर्ष राम्रो आर्थिक सम्भावनाहरू सहित सुरु भयो: २५ मार्च १९२९ मा सानो दुर्घटना भए पनि, बजार सेप्टेम्बरसम्म बिस्तारै सुधार हुँदै गएको देखिन्थ्यो। सेप्टेम्बरमा स्टकको मूल्य घट्न थाल्यो र महिनाको अन्त्यमा अस्थिर थियो।[] अक्टोबरको मध्यमा स्टकको ठूलो बिक्री सुरु भयो। अन्ततः, २४ अक्टोबर, ब्ल्याक बिहीबार, अमेरिकी स्टक बजार उद्घाटन घण्टीमा ११% ले क्र्यास भयो। बजारलाई स्थिर बनाउने कार्यहरू असफल भए, र २८ अक्टोबर, ब्ल्याक सोमबार, बजार अर्को १२% ले क्र्यास भयो। भोलिपल्ट ब्ल्याक मंगलबारको दिन आतंक चरम सीमामा पुग्यो, जब बजारले अर्को ११% गिरावट देख्यो।[][] हजारौं लगानीकर्ताहरू बर्बाद भए, र अर्बौं डलर गुमाए; धेरै स्टकहरू कुनै पनि मूल्यमा बेच्न सकिएन।[] बुधबार बजारले १२% कमायो, तर त्यतिन्जेलसम्ममा उल्लेखनीय क्षति भइसकेको थियो। यद्यपि बजार १४ नोभेम्बर देखि १७ अप्रिल १९३० सम्म पुनर्प्राप्तिको अवधिमा प्रवेश गर्यो, सामान्य स्थिति लामो समयसम्म मन्दीको रूपमा रह्यो। सेप्टेम्बर १९२९ देखि ८ जुलाई १९३२ सम्म, बजारले आफ्नो मूल्यको ८५% गुमायो।[]

वालस्ट्रिट धरासायी भए पश्चात वालस्ट्रिटमा जम्मा भएका मानिसहरू

अमेरिकी सेयर बजारमा गिरावटको मनोवैज्ञानिक असरका कारण त्यहाँका मानिसहरूले आफ्नो खर्चमा १० प्रतिशतसम्म कम गरेका थिए भने त्यसबाट माग प्रभावित भएको थियो। मानिसहरूले बैंकको कर्जा तिर्न बन्द गरेकाले बैंकिङ व्यवस्था हल्लिएको थियो। कर्जा पाउन बन्द भएपछि मानिसहरूले बैङ्कबाट पैसा निकाल्न सुरु गरे भने यसबाट कयौँ बैङ्कहरू टाट पल्टिएर बन्द भएका थिए।

सन् १९३० को सुरुवातमा अमेरिकामा भएको खडेरीका कारणले कृषि क्षेत्रमा क्षति पुगेपछि कृषि अर्थव्यवस्था कमजोर भएको थियो। अमेरिकाको यस मन्दीले पछि अन्य देशलाई पनि आफ्नो चपेटमा लिएको थियो भने देख्दादेख्दै यो मन्दी; महामन्दीमा परिणत भएको थियो।

प्रमुख परिवर्तन

[सम्पादन गर्नुहोस्]

साम्यवादतर्फ झुकाब

[सम्पादन गर्नुहोस्]

कम्युनिस्ट राष्ट्र भएकाले सोभियत सङ्घले आफूलाई पूँजीवादी प्रणालीबाट अलग राखेको थियो। पूँजीवादी देशहरू सोभियत सङ्घसँग सम्बन्ध राख्न चाहदैन्थे तर यसमा सोभियत सङ्घलाई फाइदा भएको थियो भने सोभियत सङ्घ हामन्दीबाट उम्किएको थियो। यस अवधिमा सोभियत सङ्घमा औद्योगिक विस्तार भएको थियो। यसले मार्क्सवादमा प्रतिष्ठा प्राप्त हुँदै पूँजीवादको विकल्पको रूपमा देखा परेको थियो। यही कारणले गर्दा धेरै प्रभावित देशहरूमा यसबाट प्रेरित भएर सामाजिक र साम्यवादी प्रदर्शन र आन्दोलनहरू भएका थिए।

फासीवादको बढावा

[सम्पादन गर्नुहोस्]

धेरै विशेषज्ञहरूका अनुसार फासीवादको उदयमा यो ठूलो महामन्दीको नै भूमिका थियो। फासीवादी नेताहरूले सम्बन्धित आफ्नो देशहरूमा प्रचार गर्दै देशहरूमा जनताको नराम्रो अवस्थाको लागि त्यहाँका पुँजीवादी नेताहरू जिम्मेवार बताइएको थियो भने यस्तो अवस्थाबाट फासीवादले नै बचाउन सक्नेे उनीहरूको ठम्याई रहेको थियो। जर्मनीमा हिटलरले यस महामन्दीको बाहानामा आफ्नो पकड बलियो बनाएका थिए। जापानका हिरुहितोले महामन्दीबाट राहत पाउन सकिन्छ कि भन्ने आधारमा चीनको मन्चुरियामा आक्रमण गरी खानीहरू विकास गरेका थिए तर यसले दोस्रो विश्व युद्ध निम्त्याएको थियो।

हतियार अर्थव्यवस्थाको उदय

[सम्पादन गर्नुहोस्]

यस महामन्दीको फलस्वरूप अमेरिका जस्ता देशहरूले अर्थ व्यवस्था सुदृढ पार्न एक ठूलो कोष हात पारेका थिए। अमेरिकालगायत विभिन्न देशहरूमा सैनिक प्रचार-प्रसारले रोजगारीको ढोका खोलिदिएपछि हतियार उत्पादनद्वारा अर्थतन्त्रमा सुधार आएको थियो। यसले सन् १९३० को दशकको उत्तरार्धमा महामन्दीबाट निस्कन मद्दत पुर्‍याएको थियो।

बलियो पुँजीवाद

[सम्पादन गर्नुहोस्]

महामन्दीको समयमा पूँजीवादसँगको मोहको अवस्थालाई बुझेर संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध पछि पश्चिमी देशहरूलाई सुदृढ पार्ने योजना लागु गरेको थियो। 'सैन्य योजना' भनेर चिनिने कागजमा यो योजना दोस्रो विश्वयुद्धबाट पीडित देशहरूलाई पुनर्निर्माण गर्न सहयोग गर्ने उद्देश्य थियो तर वास्तविक उद्देश्य भनेको साम्यवादको सम्भावित विस्तार रोक्न थियो। यस अन्तर्गत युरोपेली देशहरूलाई १७ अरब डलरको वित्तीय र प्राविधिक सहायता प्रदान गरिएको थियो तर यसको बाबजुद पनि सोभियत सङ्घको बढ्दो शक्तिलाई रोक्न सकिएन।

विश्वमा आर्थिक सङ्कटको प्रभाव

[सम्पादन गर्नुहोस्]
जर्मनीमा प्रभाव

आर्थिक सङ्कटको परिणामस्वरूप जर्मनीमा बेरोजगारी अत्यधिक मात्रामा बढेको थियो। सन् १९३२ सम्म ६० लाख मानिस बेरोजगार भए भने बेरोजगारी दर २५ प्रतिशतसम्म पुगेको थियो।[] हिटलरले यसको फाइदा उठाएर सत्तामा आएका थिए। यस प्रकार आर्थिक मन्दीमा जर्मनीमा नाजीवादको शासन स्थापित भएको थियो।[१०]

बेलायतमा प्रभाव

सन् १९३१ मा आर्थिक मन्दीको कारणले बेलायतले स्वर्णमानको परित्याग गर्नु गरेको थियो भने सरकारले सुनको निर्यातलाई पनि बन्द गरेको थियो। सरकारले आर्थिक स्थिरीकरणको नीति अपनाउँदा बेलायतलाई आर्थिक मन्दीबाट मुक्त हुन सहयोग पुगेको थियो। व्यापारमा संरक्षणको नीति अपनाएर व्यापारको सन्तुलन बेलायतको पक्षमा भएको थियो। बेलायती सरकारले सस्तो मुद्रा दर अपनायो जसले गर्दा बैंंक दरमा कमी आफ्नो थियो। यसले विभिन्न उद्योगलाई प्रोत्साहन मिलेको थियो।

फ्रान्समा प्रभाव

अन्य देशको तुलनामा फ्रान्समा महामन्दीको प्राभाव कम परेको थियो भने सबैभन्दा ठूलो प्रभाव १९३१ मा देखिएको थियो।[११] फ्रान्सको आर्थिक स्थिति जर्मनीबाट प्रथम विश्वयुद्धको अत्यधिक क्षतिपूर्तिको कारण बलियो थियो त्यसैले आर्थिक मन्दीले फ्रान्समा अधिक प्रभाव पारेन। फ्रान्सेली मुद्रा फ्रेन्क आफ्नो विश्वसनीयता जोगाउन सफल भएको थियो।

रूसमा प्रभाव

स्तालिनको आर्थिक नीति तथा पञ्चवर्षीय योजनाहरूको कारणले सोभियत सङ्घको आर्थिक स्थिति सुदृढ थियो। तसर्थ त्यो आर्थिक मन्दीले खासै प्रभावित भएन।[१२] यसले संसारमा कम्युनिस्ट प्रणालीको शक्ति, मजबूती र पूँजीवादी प्रणालीको खोक्रोपनलाई अगाडि पर्दाफास गरेको थियो।

अमेरिकामा प्रभाव
बेरोजगार मानिसहरूको र्‍याली, टोरन्टो, क्यानडा

यस महामन्दीका कारण अमेरिकामा बेरोजगारी १५ लाखबाट बढेर १ करोड ३० लाख पुगेको थियो। युरोपमा आर्थिक मन्दीको कारणले अमेरिकाको युरोपेली ऋण डुब्ने स्थितिमा आएको थियो। सन् १९३२ को चुनावमा आर्थिक सङ्कटको कारणले रिपब्लिक पार्टीका हर्बर्ट हुबर पराजित भएका थिए। डेमोक्र्याटिक पार्टीका उम्मेदवार फ्र्यांकलिन डी रुजवेल्टले आर्थिक सुधार कार्यक्रमको घोषणाको आधारमा नै चुनाव जितेका थिए।

अमेरिकी राष्ट्रपति रुजवेल्टको नयाँ सम्झौता

[सम्पादन गर्नुहोस्]

आर्थिक मन्दीबाट माथि आउनका लागि अमेरिकी राष्ट्रपतिले नयाँ डिलको घोषणा गरेका थिए। उनले नयाँ डिलका उद्देश्यहरूलाई यी शब्दहरूमा संक्षेपमा प्रस्तुत गरे,

हामी हाम्रो अर्थव्यवस्था मार्फत कृषि र उद्योग बीच सन्तुलन ल्याउन चाहन्छौँ। हामी मजदुर-कामदार, रोजगारदाता र उपभोक्ताहरू बीच सन्तुलन कायम गर्न चाहन्छौँ। हाम्रो उद्देश्य यो पनि हो कि हाम्रो आन्तरिक बजारहरू समृद्ध र ठूलो रहुन् र अन्य देशहरूसँगको हाम्रो व्यापार बढोस् ।

रुजवेल्टको नयाँ डिलले अमेरिकी अर्थव्यवस्थामा क्रान्तिकारी सुधारको सङ्केत देखिन थालेको थियो। औद्योगिक र कृषि उत्पादनमा वृद्धि भएपछि निश्चित न्यूनतम ज्याला दर र अधिकतम काम घण्टा तय गरिएको थियो। यस प्रकार अमेरिका बिस्तारै आर्थिक मन्दीबाट मुक्त हुनतर्फ गएको थियो।

  • हार्ड टाइम्स
  • गोल्ड डिगर्स अफ १९३३
  • इट इज ए वन्डरफुल लाइफ
  • क्रेडल विल रक
  • ओ ब्रदर, ह्वेर आर यु?
  • द पर्पल रोज अफ काइरो

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Charles Duhigg, "Depression, You Say? Check Those Safety Nets", The New York Times, March 23, 2008.
  2. के सन् १९२९ को महामन्दी दोहोरिएला ?, अन्तिम पहुँच २८ अप्रिल २०२१, (नेपाली) भाषामा)।
  3. Patel, Kiran Klaus (२०१६), The New Deal: A Global History, Princeton University Press, पृ: 1–45, आइएसबिएन 978-0-691-14912-7, जेएसटिओआर j.ctt1h4mhhp, डिओआई:10.2307/j.ctt1h4mhhp
  4. George H. Soule, Prosperity Decade: From War to Depression: 1917–1929, (1947).
  5. "Timeline: A selected Wall Street chronology", PBS, मूलबाट २३ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० सेप्टेम्बर २००८ अभिलेखिकरण २३ सेप्टेम्बर २००८ वेब्याक मेसिन
  6. Post, Special to Financial (२४ अक्टोबर २०११), "The Great Crash of 1929, some key dates", Financial Post (en-CAमा), अन्तिम पहुँच २२ जुलाई २०२०
  7. 1 2 "Market crash of 1929: Some facts of the economic downturn", The Economic Times, Times Inernet, २२ अक्टोबर २०१७, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९
  8. According to the Federal Reserve Bank of St. Louis Economic Data website, based on a monthly timeseries 1929 September – 1932 June, the Dow Jones Industrial Average lost 87.1% while the Cowles Commission and S&P's all stock index lost 85.0%: https://fred.stlouisfed.org/graph/?g=qj2m , https://fred.stlouisfed.org/graph/?g=qj2l.
  9. About the Great Depression अभिलेखिकरण २००८-१२-२० वेब्याक मेसिन, University of Illinois
  10. Adam Tooze, The Wages of Destruction: The Making and Breaking of the Nazi Economy (2007)
  11. Laufenburger, Henry (१९३६), "France and the Depression", International Affairs 15 (2): 202–224, जेएसटिओआर 2601740
  12. Robert William Davies, Mark Harrison, and Stephen G. Wheatcroft, eds. The economic transformation of the Soviet Union, 1913–1945 (Cambridge University Press, 1994)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]