४२ सालको पर्व
४२ सालको पर्व | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
वीर शमशेर र भाइहरू |
रणोद्दीप सिंह ⚔ जगतजङ्ग राणा ⚔ | ||||||
सेनापतिहरू | |||||||
वीर शमशेर खड्ग शमशेर | जगतजङ्ग राणा |
४२ सालको पर्व भनेर बि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री लगायतको हत्या भएको घटनालाई चिनिन्छ। रोलक्रम अनुसार शासनसत्तामा शमशेर खलकको पालो आउन सम्भव थिएन। त्यसकारण शमशेर खलक शासनमा आउन अवसरको प्रतीक्षामा थिए।
प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो।
त्यसको जिम्मेवारी वीर शमशेरलाई दिइएको थियो। वीर शमशेरले आफूसँग रहेका सैनिक हरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जङ्गबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल) को समेत हत्या गरियो। जङ्गबहादुरको छोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरूको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो। यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।[१]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]१९२४ माघ सुदि १० रोज २ मा बनाएको उत्तराधिकारीको रोलक्रममा लेफ्टिनेन्ट कर्नेल वीर शमशेर सोह्रौ रोलमा थिए। उनी भन्दा अगाडि उनका भतिजाहरू युद्धप्रतापजंग लगायत (जङ्गबहादुरका नाति) तथा दाइहरू (ठुलो बुबाका छोराहरू) थिए। त्यसकारण शान्तिपुर्ण तरिकाले उनी सत्तामा आउन र प्रधानमन्त्री बन्न यो रोलक्रमको नियम अनुसार सम्भव थिएन।[२]
३८ सालको पर्वमा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो। तर पछि उनी त्यहाँबाट उम्केर काठमाडौँ आए। उनलाई यहाँ सफाईको मौका मिल्यो। काठमाडौँमा प्रधानमन्त्री रणोद्दीप सिंह अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो।[३]
बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए। दोस्रो स्थानमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए।[४]
घटना
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री रणोद्दीप सिंहको समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेड (क्याम्प अफ एक्सरसाइज)मा सहभागी हुन नेपाललाई समेत निम्तो दियो। यो परेड सन् १९८५ डिसेम्बर २६ देखि १९८६ जनवरी २६ तारिखसम्म (१६ पुस १९४२ देखि १६ माघ १६ सम्म) एक महिना लामो हुँदै थियो । यसमा भारतभरका सैनिक पल्टन, घोडचढी सैनिक, विभिन्न रेजिमेन्टसहित गरेर १४ घोडचढी सैनिक पल्टन, २६ पैदल रेजिमेन्टसहित ७ हजार सैनिक र २५ हजार आमन्त्रित सैनिकहरू जम्मा भएका थिए ।[५]
क्याम्प अफ एक्सरसाइजका लागि श्री ३ रणोद्वीपले केही दिनअगाडि मात्र गुरु पुरोहितसँगको छलफलमा वीर शमशेरको नेतृत्वमा ३ हजार सैनिक दिल्ली पठाउने तय गरिएको थियो । सैनिकहरू सबै तयार भएर टुँडिखेलमा पाल लगाएर बसिसकेका थिए । यता १७ भाइ यही मौकामा ठूलो बुबा रणोद्दीप सिंहको हत्या गर्न सल्लाह गर्न थाले । वीर शमशेर केही हच्किइसकेका थिए, तर माहिला भाइ खड्गले हौस्याएपछि तयार भए । तत्कालै पण्डितसँग यसबारेमा सल्लाह पनि गरे ।
पण्डितले कात्तिक शुक्ल पूर्णिमा सोमबारको रात अर्थात् ९ मंसिर १९४२ आइतबार सबै कारणले उपयुक्त हुने र कार्य सफल हुने भनिएपछि कामको भागवण्डामा लागे । नारायणहिटीमा प्रधानमन्त्रीको सुरक्षाको लागि बिजुली गारत सैन्य टुकुडी थियो। वीरले बिजुली गारत हेर्ने भए । चन्द्र अलि कमजोर र उनकी रानी गर्भवती भएको हुँदा (गर्भमा मोहन शमशेर थिए ।) गोली हान्न तयार भएनन् । तसर्थ खड्ग, डम्बर र भीम तीन जना दरबारभित्र प्रवेश गर्ने र गोली हान्ने तय भयो । तीन जनामध्ये डम्बर भित्रिनेतर्फका छोरा भएको हुँदा पहिलो गोली हान्ने जिम्मा दिइएको थियो । किनकि उनलाई ठूलोबुबालाई गोली हानेको पाप कम लाग्छ भन्ने आकलन थियो ।
यसरी गोली हान्न तयार भएका तीनै जनालाई वीर शमशेरले बाहत्ताको पापमोचनका लागि १-१ लाख दिने भयो । रण शमशेर अलि रक्स्याहा भएको हुँदा उनलाई हजुरिया जर्नेल ध्वजनरसिंह (बद्री नरसिंहका सन्तान जसलाई रणोद्दीपले धर्मपुत्र पालेका थिए) का साथ रक्सी पिउँदै हजुरिया जर्नेललाई भुलाइराख्ने जिम्मा दिइएको थियो । देव शमशेर रणवीर जङ्गलाई भुलाउन थापाथली दरबारमा अल्झिए ।
राति ८ बजेपछि टुँडिखेलमा पालबाट निस्किएका वीर, खड्ग, चन्द्र, भीम र डम्बरले नारायणहिटीमा रहेको लक्ष्मीनारायण मन्दिरमा गएर कार्यसिद्धिका लागि भाकलसमेत गरे । दरबारभित्र श्री ३ रणोद्वीपको लङमा जानका लागि सहज थिएन । तसर्थ राजा पृथ्वी वीरविक्रम शाहकी कान्छी मुमा बागकी मैया, विष्णु दिव्येश्वरी देवी (जगत शमशेरकी छोरी) को मद्दतले दरबारभित्र छिरे । बडामहारानीको लङबाट श्री ३ महाराजको लङमा छिरे । ललित राज्येश्वरी देवी र बहिनी विष्णु दिव्येश्वरी देवी केही दिनका लागि हनुमानढोका राजदरबारबाट श्री ३ को दरबार नारायणहिटीतर्फ गएका थिए । यही मौकाको फाइदा उठाउँदै धीरका छोराहरूले श्री ३ महाराजको हत्या गरेर सत्ता खोस्ने दाउ गरेका थिए । यसमा जित हासिल भयो भने सत्ता हात लाग्थ्यो । श्री ३ महाराज भइन्थ्यो । हार भएमा मृत्यु वा सदाका लागि सर्वस्वसहित देशनिकाला हुन्थ्यो ।
वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भिम शमशेर सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे
रणोद्दीप सिंहको हत्या
[सम्पादन गर्नुहोस्]त्यसबेला प्रधानमन्त्री रणोद्दीप सिंह कोठामा थिए, आफूलाई तेलले मालिस गराइरहेका थिए।[४] पेटको बल सुतेर सिरानी छातीमा राखेर रामनाम लेख्दै गरेका थिए । सँगै सुब्बा बलवान् सिंहले छापामा समाचार पढेर सुनाउँदै थिए । ढोका ढकढक्याएर एकैचोटि तीन भतिजाहरू हतियारसहित पसे । किन पसेको भनेर महाराजले सोध्नासाथ डम्बरले स्वास्नीको कमारा भई राजकाज गर्ने जोइटिङ्ग्रेलाई सजाय दिन आएको भन्दै पहिलो गोली हानिहाले । यो गोली चिउँडोमा लाग्यो । दोस्रो गोली खड्गले हाने । "पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए। त्यो गोली सिधै छाती छेडेर गयो । तेस्रो गोली भीमले हाने । सो गोली भुँडीमा लाग्यो । केही बोल्न नपाउँदै महाराज लडे । भुँडी बाहिरियो, रगतको आहाल जम्यो । सुब्बा बलवान् सिंह थरथर काँपे । तीनै जनाले एकैचोटि सुब्बा बलवान्लाई पनि लास घिसार्न मद्दत मागे । चार जना मिलेर लास घिसार्दै भर्याङबाट तल गुल्ट्याए ।
मनोहरा दरबारमा जगतजंग राणाको हत्या गरियो।
सैनिक विद्रोह गरी श्री ३ रणोद्दीप सिंहको हत्या गराई बागदरबार पुगेपछि वीर शमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियार समेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए। भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबार भित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘कोतपर्व’को स्मरण गर्न थाले। वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए।
वीर शमशेरलाई श्री ३ सलामी
[सम्पादन गर्नुहोस्]जगतजङ्ग राणा को हत्या
[सम्पादन गर्नुहोस्]खड्गशमशेरले तुरुन्त ठाउँ–ठाउँमा गारत–सैनिक जवानहरूका टोली खटाई पठाए, तर ती गारतका कमान्डरहरू र सेनाका जवानलाई निज खड्गशमशेरले देख्नासाथै गोली हानी हत्या गरिदिनू भन्ने आदेश दिई पठाए।
गारतमध्ये एक गारत मनहरा दरबार पुगी भूतपूर्व प.क.ज. जगतजंग राणाको नोभेम्बर २१ ता. १८८५ ई. का दिन जम्मा ३७ वर्ष ८ महिनाको उमेरमा ‘सैनिकद्वारा’ गोली हानी हत्या गरियो।
नाति जर्नेलको हत्या
[सम्पादन गर्नुहोस्]जगतजङ्ग राणाका छोरा द.क.ज. युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैङ्क सिंह महल)बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ (लैनचौर) मा शरण लिन पुगिसकेका थिए। त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, हरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के। त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टर(जङ्गी अड्डा)तर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै युद्धप्रतापजङ्गले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे।
गारतका जवानहरूले युद्धप्रतापजंग लुकेको देखी पक्रे। पहिले त युद्धप्रतापजङ्गलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. श्री ५ महाराजाधिराज सुरेन्द्रकी जेठी शाहज्यादी तर्फका नाति, स्व. श्री ३ महाराज जङ्गबहादुरका छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा, जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर जनरल ललितमानसिंह बस्नेतले हत्याए। यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो।
हत्या हुँदा युद्धप्रतापजंग राणाजीको उमेर जम्मा बीस वर्षको थियो। उनको जन्म वि.सं. १९२२ मङ्सिर ७ गते भएको थियो।[६]
अन्य सदस्य
[सम्पादन गर्नुहोस्]जङ्गबहादुरका माइला सन्तान जितजङ्ग राणाले कानको औषधी गर्ने बहानामा केही चल सम्पत्ति भारत लैजान सफल भए। पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग र केही ब्रिटिस लिगेसनमा शरण लिएर बाँचे,"[७]
जनरल पद्म सुरक्षाको आश्वासन पाई राजदूतावासबाट घर फर्के। पूर्व कमाण्डर जनरल केदारनरसिंहलाई आफ्नो सम्पत्ति लिई जान दिइयो।[८]
वीरशमशेरको प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]वीरशमशेरले जगतजंगको हत्याको सूचना पाएपछि ‘पक्रनू भनेको किन हत्या गरेको ?’ भनी खड्गशमशेरसँग प्रश्न गर्दा निजले, ‘पक्री ल्याउनू भनेकोमा हत्या नै गर्नुपर्ने अवस्था परेबाट गारतले हत्या गरेछ’ भनी जवाफ दिए। वीरशमशेरले पनि निजको हत्या भएकोमा त्यति चिन्ता गरेनन्। पछि जुद्धप्रतापजंगको हत्या भएको सूचना पाई वीरशमशेरले ज्यादै दुःख माने, कारण उनी ज्यादै मिलनसार र नम्रभाषी थिए।[९]
त्यसपछि
[सम्पादन गर्नुहोस्]४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जङ्गबहादुरका अर्का छोरा रणवीरजङ्गले ब्रिटिस सरकार समक्ष जङ्गबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले। त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो। तर, वीरशमशेरले जङ्गबहादुरको असली उत्तराधिकारी आफूहरू भएको उत्तर पठाउने क्रममा "अब उप्रान्त शमशेरहरूले नामका पछाडि जङ्गबहादुर राणा (जबरा) लेख्ने" नयाँ जुक्ति निकाले। यसपछि नै जङ्गबहादुरका सन्तानलाई "जबरा" लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ।
आफुहरू जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरूले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे। वीर शमशेर प्रधानमन्त्री भए। खड्ग शमशेर प्रधान सेनापति बने। जङ्गबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरूले आफ्नो नाममा पारे। जङ्गबहादुरका सन्तानहरूलाई चार भन्ज्याङ भित्र आउन रोक लगाइयो। [१][७]
भारतमा औषधि गर्न गएका जितजङले गभर्नर जनरल डफरिनसँग भेटी नेपालमा आफ्नो वैधानिक अधिकारको याचना गरेका थिए तर त्यो कुरा अगाडि बढेन।[८]
चलचित्र
[सम्पादन गर्नुहोस्]सेतो बाघ[१०]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ सामान्य ज्ञान : भिम राना जिज्ञासु
- ↑ पूर्णिमा ८७ पूर्णाङ्क २२ वर्ष ३ अङ्क सम्पादक महेशराज पन्त, दिनेशराज पन्त।
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ
- ↑ ४.० ४.१ प्रकाश ए राज (शनिबार, ०५ फागुन २०७४ |), "‘गोरा जर्नेल’ र ४२ साल पर्व", नागरिक, नागरिक, अन्तिम पहुँच ०५ फागुन २०७४।
- ↑ कथा, सुनील उलक, "बयालीस साल पर्व र हामीले नसुनेका कथा", बयालीस साल पर्व र हामीले नसुनेका कथा (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२६।
- ↑ पुर्णिमा पुर्णाक ९३ वर्ष २४ अङ्क १ संशोधन मण्डल सम्पादक महेशराज पन्त , दिनेशराज पन्त
- ↑ ७.० ७.१ जंग भर्सेज शमशेर http://nepal.ekantipur.com/news/2015-03-29/8259.html वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०९ मिति - नवीन अर्याल
- ↑ ८.० ८.१ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४४, आइएसबिएन 99933-2-406-X।
- ↑ पुरुषोत्तमशमशेर जबराको श्री ३ हरूको तथ्य वृत्तान्त
- ↑ https://www.youtube.com/watch?v=sGjBlXcQD98