रसुवागढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रसुवागढी
लाङटाङ राष्ट्रिय निकुञ्जको भाग
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
रसुवागढी
रसुवागढी is located in बागमती प्रदेश
रसुवागढी
रसुवागढी
रसुवागढी is located in नेपाल
रसुवागढी
रसुवागढी
निर्देशाङ्क२८°१६′४०″N ८५°२२′४०″E / २८.२७७८°N ८५.३७७८°E / 28.2778; 85.3778निर्देशाङ्कहरू: २८°१६′४०″N ८५°२२′४०″E / २८.२७७८°N ८५.३७७८°E / 28.2778; 85.3778
साइट जानकारी
अवस्थाभग्नावशेष
साइट इतिहास
निर्मितवि.सं. १९१२
सामग्रीढुङ्गा
भत्काइयोवि.सं. २०७२

रसुवागढी नेपाल-चीन सीमानामा बागमती प्रदेशको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. २ साविक टिमुरे गाविसमा अवस्थित डेढ शताब्दी पुरानो ऐतिहासिक गढी हो।[१] उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरु हुने दोभानमा रसुवागढी निर्माण भएको छ। बहादुर शाहको समयमा भएको नेपाल-भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ फौजले नेपालीहरूलाई हराउँदै बेत्रावतीसम्म पुगेका थिए। पछि जङ्गबहादुरको पालामा भएको नेपाल-भोट युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए। वि.सं. १९१२ सालमा यस गढीको निर्माण भएको थियो।[२] यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो। रसुवागढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ र यसलाई नेपाली इतिहासको साक्षी पनि मानिन्छ। बहादुर शाहजङ्गबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाइँमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युद्ध जितेका थिए। प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो। लिच्छवि कालमा अंशुवर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन्। मल्लकालमा पनि रसुवागढी नाकावाट तिब्बतसँग व्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक व्यापारिक नाका हो।[३] मध्यकालको उत्तरार्द्धसम्म पनि यो ठाउँ प्रमुख व्यापारिक मार्ग र केन्द्रको रूपमा परिचित रहेको देखिन्छ। बहादुर शाहको नायबीकालमा भएको नेपाल-भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ सेना नेपाललाई हराउँदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ।चीनसँगको लडाइँका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि यो गढी बनाएका थिए। ठूलाठूला ढुङ्गा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स-साना ४७ वटा प्वाल र ६० फिट लम्बाइ ६ फिट उचाइ र ६ फिट चौडाइको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाइँ लडेका थिए।[४] यस गढीबाट लिन्दे र केरूङ नदीको सङ्गम भएर भोटेकोशी नदी बनेको सङ्गमस्थल नजिकै देख्न सकिन्छ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल तिब्बतबीच शताब्दीदेखि व्यापारिक र साँस्कृतिक सम्बन्ध रहि आएको छ। स्रोङ्चन गम्पोले अंशु वर्माकी छोरी भृकुटीलाई विवाह गरेपछि नेपाल र तिब्बतबीच सम्बन्ध बनेको थियो तर बेला बेलामा नेपाल र तिब्बतबीच चिसोपन आई रहयो। चिसोपनकै परिणाम नेपाल र तिब्बतबीच पटकपटक डरलाग्दा युद्धहरू भएका थिए। त्यसवेला नेपाली फौजले हिमाली भञ्ज्याङहरू नाघी तिब्बतको सिगात्से र डिगर्चासम्म पाइला हालेका थिए। सोही क्रममा सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवागढी बनेको हो। युद्धले थिलथिलो भएपछि जयप्रकाश मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्रा चलाएपछि त्यसले विवाद मच्चिएको थियो। यस विवादपछि नेपाल र तिब्बतबीच युद्ध भई सन्धि समेत भइसकेको थियो। तर पछि स्याहमर्पा लामा सिक्किमको बाटोहुँदै राजनीतिक शरणार्थीका रूपमा नेपाल पसेपछि फेरि तिब्बतले नेपालसँग निहु खोज्यो। पञ्चेन लामाको हरहिसाब खोजेपछि स्याहमर्पा आफुसँग भएको धनसम्पत्ति अनुयायी र केही पचिर सहित नेपाल आउँदा नायब बहादुर शाहले उनलाई राजनीतिक शरणार्थीका रूपमा स्वीकारी वि.सं. १८४४ असाढ ५ मा लिन रणजीत पाँडेलाई खटाएका थिए। बहादुर शाहले तिब्बतसँग बदला लिने उपयुक्त मौका यसैलाई ठानेका थिए। उनी सिक्किमतिरको बाटो बन्द गराएर कुती र केरुङको बाटो खोल्ने दाउमा रहेका थिए। यस बारे पटक पटक पत्राचार भए पनि तिब्बतले यस प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो। स्याहमर्पा लामा प्रकरणपछि तिब्बतमा नेपाली व्यापारीहरू लुटिन लागेका थिए। तिब्बतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा वलभद्र शाहलाई सुम्पेका थिए। यहि आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमान सिंह बस्नेत खटिएका थिए। नेपालमा भोटु पाण्डे तिब्बती सेनाद्वारा प्रक्राउ पर्नसाथ नेपालले थप सैनिक पठाएपछि अन्तत: तिब्बत नेपालसँग सझौता गर्न बाध्य भएको थियो। सम्झौता अनुसार चिनिया प्रतिनिधिलाई साक्षी राखेर तिब्बतले वर्षेनी ५० हजार एक रूपैयाँ हर्जना तिर्नु पर्ने भयो। पहिलो वर्षमा तिब्बतले हर्जना तिरेपछि वि.सं. १८४७ साउनमा रकम बुझाउँन आनाकानी गरेको थियो तर पछि २५ हजार रूपैया मात्र बुझाउन तयार भयो। पछिल्लो पटक तिब्बतले स्याहमर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ता टोलीका सदस्यहरूलाई घेरा हाली समातेर काठमाडौँ ल्याएको थियो भने झुगाँको किल्ला कब्जा समेत गरेको थियो। यसपछि चीनसमेत नेपालसँग क्रुद्ध हुन पुगेको थियो। चीनले आफ्नो विशाल सेनासहित वि.सं. १९४९ असाढ ११ मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोश वरको रसुवागढीमा नेपाली सेना आएर बसेको थियो। चिनियाँ सेनाले दपेट्दै ल्याउँदा नेपाली सेना टिमुरेमा आइ पुगेको थियो। काठमाडौँबाट हिडेको थप सैन्यदल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रूमा भेट भएको थियो। ठूलो सङ्ख्यामा रहेका चिनियाँ सेना सिरानको बाटो भई भोटेकोशी नदी तरेपछि उनीहरूसँग सामना गर्न नसक्ने देखिएपछि नेपाली सेना धुन्चे आएर बसेको थियो। त्यहाँको देउराली डाँडामा किल्ला बनाई उनीहरू तीन दिन तीन रातको लडाइँमा दुईपटक चिनियाँ सेनालाई नेपालले बलपूर्वक धपाए पनि उनीहरूको सङ्ख्या ठूलो भएका कारण नेपालीहरू फेरि पछि हटन बाध्य भएका थिए। नेपाली सेना फेरि कमारेगढमा आए र अघिल्लो दिन नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि त्यस्को भोली ठूलो सङ्ख्यामा चिनियाँ सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आइ पुगेको थियो। त्यो समयमा दामोदर पाँडे चोकतेमा तैनाथ थिए। दुई पक्षबीच लडाइँ चल्दै जाँदा चिनियाँ सेना नेपाली सेनालाई पेल्दै नुवाकोट बेँसी आइपुगेको थियो। यस्तो अवस्था आएपछि बहादुर शाहले चीन तिब्बतसँग सम्झौता गर्नुपर्ने आवश्यकता महसुस गरे तर, चिनियाँले स्याहमर्पालाई खोजेपछि दुवै पक्षबीच सम्झौता हुन सकेन। नेपालले स्याहमर्पाले आत्महत्या गरिसकेको बताए पनि चिनियाँ सेनापतिले चित्त बुझाएनन्। त्यस बेलामा चिनियाँ सेना बेत्रावती पारि आइसकेका थिए। उनीहरूलाई बेत्रावती नाघ्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयं नुवाकोट पुगेका थिए। चिनियाँ सेनालाई रोक्न नेपाली सेना चोक्दे, दुधे थुम्को र गेर्खुमा किल्ला बनाएर बसेका थिए। दुवै पक्षबीच घमासान लडाइँ भयो जसमा नेपाली सेना पहाडको टुप्पामा थियो भने चिनियाँ सेना भिरालोमा रहेको थियो। मध्य वर्षातमा बेत्रावतीमा डरलाग्दो भेल बगिरहेको थियो। चिनियाँ सेनाले रसदपानीको अभावको सामना गर्न थालिसकेको थियो। नेपाली सेनाको पराक्रमले चिनियाँ सेना थप अगाडि वढ्न सकेन र चिनियाँ सेनापति तुङ थ्वाङलाई नेपालसँग सन्धि गर्नुपर्ने बाध्यता आइलाग्यो र अन्तत: चिनियाँ पक्षले आफ्नो अनुयायी र परिचरलाई लिएर वि.सं. १८४९ भदौ ११ मा स्वदेश फिर्ता हुनुरेको थियो।[६]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. थापा, कृष्ण, "ऐतिहासिक रसुवागढी भत्कियो", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  2. "रसुवाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी", नेपाल पत्र (नेपालीमा), २०२०-०५-०५, अन्तिम पहुँच २०२३-०४-१७ 
  3. शर्मा, भुवन, "एकीकरण युद्ध इतिहासका साक्षी गढी–किल्ला विलय उन्मुख", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  4. "रसुवागढी भत्कियो", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  5. "नेपाली सेनाले रसुवागढीमा फहराइयो राष्ट्रिय झन्डा", प्रशासन (नेपालीमा), २०२३-०४-१७, अन्तिम पहुँच २०२३-०४-१७ 
  6. धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकिय स्थल/स्थानहरू, जीविस रसुवा.