रसुवागढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रसुवागढी
रसुवा जिल्लाको टिमुरे गाविस
रसुवागढी नेपाल-এ অবস্থিত
रसुवागढी
नेपालको नक्शामा रसुवागढी
निर्देशांक : २८°१६′४०″उत्तर ८५°२२′४०″पूर्व / २८.२७७८° उत्तर ८५.३७७८° पूर्व / 28.2778; 85.3778निर्देशाङ्क: २८°१६′४०″उत्तर ८५°२२′४०″पूर्व / २८.२७७८° उत्तर ८५.३७७८° पूर्व / 28.2778; 85.3778
निर्माण : बिसं १९१२
निर्माण सामाग्री : ढुंगा
वर्तमान अवस्था : भग्नावशेष
Timure, Nuwakot.jpg
टिमुरेबाट देखिएको एक दृष्य
रसुवागढीमा रहेको भगवतीको मूर्ति

रसुवागढी नेपाल-चीन सीमानामा रसुवा जिल्लाको टिमुरे गाविसमा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो। उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरूहुने दोभानमा रसुवागढी निर्माण भएको छ । बहादुर शाहको समयमा भएको नेपाल-भोट युद्धमा भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनिया फौजले नेपालीहरूलाई हराउँदै बेत्रावतीसम्म पुगेका थिए । पछि जंगबहादुरको पालामा भएको नेपाल-भोट युद्धमा तिब्बतीहरूलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरूङ र दिगर्वसम्म पुगेका थिए। बिसं १९१२ सालमा यस गढीको निर्माण भएको थियो। यही गढीको नामबाट रसुवा जिल्लाको नामाकरण गरिएको हो। रसुवा गढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्दछ । यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ। बहादुर शाहजंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाईमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युध्द जितेका थिए। प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो। लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हुँदै घरमाइती गर्ने गरेकी थिइन्। मल्लकालमा पनि रसुवागढी नाकावाट तिव्बतसँग ब्यापार हुने गरेकाले यो मुख्य परम्परागत ऐतिहासिक ब्यापारिक नाका हो। मध्यकालको उत्तरार्ध्दसम्म पनि यो ठाउँ प्रमुख ब्यापारिक मार्ग र केन्द्रको रूपमा परिचित रहेको देखिन्छ। बहादुर शाहको नायबीकालमा भएको नेपाल-भोट युध्दमा भोटको सहायताको लागि यहि बाटो हुदै आएका चिनियाँ सेना नेपाललाई हराउँदै बेत्रावतीसम्म पुगेको इतिहासमा उल्लेख छ।चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन यो गढी। ठूलाठूला ढुंगा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स-साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाई लडेका थिए। यस गढीबाट लिन्दे र केरूङ नदीको संगम भएर भोटेकोशी नदी बनेको सँगमस्थल नजीकै देख्न सकिन्छ।

रसुवागढी

इतिहास[सम्पादन गर्ने]

नेपाल तिव्वतबीच सदियौ देखि व्यापारिक र साँस्कृतिक सम्वन्ध रहि आएको छ। सङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीलाई विवाह गरेपछि यस्तो सम्बन्ध रहि आएको हो। तर बेला बेलामा नेपाल र तिव्वत बीच चिसोपन आई रहयो। चिसोपनकै परिणाम नेपाल र तिव्वत बीच पटकपटक डरलाग्दा युद्धहरू भए। त्यसवेला नेपाली फौजले हिमाली भञ्ज्याङहरू नाघी तिव्वतको सिगात्से र डिगर्चासम्म पाइला हालेका थिए। सोही क्रममा सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवा गढी बनेको हो। युद्धले थिलथिलो भएपछि जय प्रकाश मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्रा चलाएपछि त्यसले विवाद मच्चिएको थियो। यस विवाद पछि नेपाल र तिव्वत बीच युद्ध भई सन्धि समेत भईसकेको थियो। तर पछि स्याहमर्पा लामा सिक्किमको बाटो हुँदै राजनितिक शरणार्थीका रूपमा नेपाल पसेपछि फेरि तिब्बतले नेपालसँग निहु खोज्यो। पञ्चेन लामाको हरहिसाव खोजेपछि स्याहमर्पा आफुसँग भएको धनसम्पत्ति अनुयायी र केही पचिर सहित नेपाल आउँदा नायव बहादुर शाहले उनलाई राजनितिक शरणार्थीका रूपमा स्वीकारी १८४४को असार ५मा लिन रणजित पाण्डेलाई खटाएका थिए। बहादुर शाहले तिब्बतसँग बदला लिने उपयुक्त मौका यसैलाई ठाने। उनी चाहन्थे सिक्किमतिरको बाटो वन्द गराएर कुती र केरुङको बाटो खुलाओस्। यस बारे वारम्वार पत्राचार भए पनि तिव्वतले यस प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो। स्याहमर्पा लामा प्रकरणपछि तिव्वतमा नेपाली व्यापारीहरू लुटिन लागेका थिए। तिव्वतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा वलभद्र शाहलाई सुम्पेका थिए। यहि आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमान सिंह बस्नेत खटिएका थिए। नेपालमा भोटु पाण्डे तिव्वती सेनाव्दारा प्रक्राउ परेपछि नेपालले थप सैनिक पठायो। अन्तत: तिब्बत नेपालसँग सझौता गर्न वाध्य भयो। सझौंता अनुसार चिनिया प्रतिनिधिलाई साक्षी राखेर तिव्वतले बर्षेनी ५० हजार एक रूपैयाँ हर्जना तिर्नु पर्ने भयो। पहिलो बर्षमा हर्जना तिरेपछि १८४७को साउनमा रकम वुझाउँन आनाकानी गर्यो र पछि २५ हजार रूपैया मात्र वुझाउन तयार भयो। पछिल्लो पटक तिब्बतले स्याहमर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ताटोलीका सदस्यहरूलाई घेरा हाली पक्रियर काठमाडौं ल्यायो भने झुगाँको किल्ला कब्जा गर्यो। यसपछि चीन समेत नेपालसँग क्रुद्ध हुन पुग्यो। चीनले आफ्नो विशाल सेनासहित १९४९को असार ११मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोश वरको रसुवागढीमा नेपाली सेना आई पुग्यो। चिनियाँ सेनाले दपेट्दै ल्याउँदा नेपाली सेना टिमुरेमा आईपुग्यो। काठमाडौंबाट हिडेको थप सैन्यदल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुबेशीमा भेट भयो। ठूलो संख्यामा रहेका चिनिया सेना सिरानको बाटो भई भोटेकोशी नदी तरेपछि उनीहरूसँग मुकाविला गर्न नसक्ने देखिएपछि नेपाली सेना धुन्चे आए। त्यहाँको देउराली डाँडामा किल्ला बनाई उनीहरू वसे तीन दिन तीन रातको लडाईमा दुईपटक चिनिया सेनालाई नेपालले बलपूर्वक धपाए पनि उनीहरूको संख्या ठूलो भएका कारण नेपालीहरू फेरि पछि हटन वाध्य भए। नेपाली सेना फेरि कमारेगढमा आए। अघिल्लो दिन नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि भोलिपल्ट ठूलो संख्यामा चिनियाँ सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आईपुगे। त्यो समयमा दामोदर पाँडे चोक्देमा तैनाथ थिए। दुई पक्षबीच लडाई चल्दै जाँदा चिनिया सेना नेपाली सेनालाई पेल्दै नुवाकोट बेसी आइपुगे। यस्तो अवस्था आएपछि बहादुर शाहले चीन तिब्बतसँग सझौंता गर्नुपर्ने आवश्यकता महशुस गरे। तर, चिनियाले स्याहमर्पालाई खोजेपछि सझौंता हुन सकेन। नेपालले स्याहमर्पाले आत्महत्या गरिसकेको बताए पनि चिनिया सेनापतिले चित्त बुझाएनन्। त्यस बेलामा चिनिया सेना बेत्रावतीपारि आइसकेका थिए। उनीहरूलाई बेत्रावती नाध्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयं नुवाकोट पुगेका थिए। चिनियाँ सेनालाई रोक्न नेपाली सेना चोक्दे, दुधे थुम्को र गेर्खुमा किल्ला बनाएर बसेका थिए। घमासान लडाई भयो। नेपाली सेना पहाडको टुप्पामा थियो भने चिनियाँ सेना भिरालोमा। मध्य वर्षातमा बेत्रावतीमा डरलाग्दो भेल बगिरहेको थियो। चिनियाँ सेनाले रसदपानीको अभावको सामना गर्न थालिसकेको थियो। नेपाली सेनाको पराक्रमले चिनियाँ सेना थप अगाडि वढ्न सकेन र चिनियाँ सेनापति तुङ थ्वाङलाई नेपालसँग सन्धि गर्नुपर्ने बाध्यता आइलाग्यो। अन्तत : अनुयायी र परिचरलाई लिएर वि.सं. १८४९ भदौ ११मा स्वदेश फिर्ता हुनुपर्यो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]